ध्वनि – अन्तर्ध्वनि कवितासङ्ग्रहको प्रवृत्तिगत मूल्याङ्कन
डा. अशोक थापा
नेपाली केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर
नेपाली साहित्यको श्रृवृद्धिमा नेपालबाट मात्र नभएर विदेशबाट पनि उल्लेखनीय
योगदान पुग्दै आएको छ।त्यसमा पनि छिमेकी राष्ट्र भारतको सिक्किम, दार्जिलिङ, सिलोङ आदि
स्थानका साहित्यकारहरू नेपाली साहित्यको सेवामा अनवरत सेवारत छन्। त्यस्ता
सर्जकहरूको माझमा वीरभद्र कार्कीढोली (ज. सन् १९६४, सिक्किम)
चर्चित नाम हो।वीरभद्र कार्कीले नेपाली भाषामा मात्र होइन हिन्दी, अङ्ग्रेज़ी तथा असमिया भाषामा पनि
साहित्य लेखेका छन्।उनका सात कविता-सङग्रह एवं एक कथा सङ्ग्रह प्रकाशित छ। यस लेखको
उद्देश्य ढोलीको पछिल्लो प्रकाशित कविता सङ्ग्रह ध्वनि – अन्तर्ध्वनि (सन् २०११) को कवितात्मक प्रवृत्तिको अनुरेखाङ्कन गर्नु
रहेको छ।
ध्वनि – अन्तर्ध्वन कविता सङ्गहमा बयालीस (४२) फुटकर कविताहरू सङ्कलित
छन्।तिनीहरू गद्यलयमा लेखिएका छन् तर त्यसमा अन्तर्लयको संयोजन भने रहेको देखिन्छ।मानवीय
जीवनको त्रासद अनुभूतिलाई यस कविता सङ्ग्रहको मूल भावभूमि बनाइएको छ।मानवीय जीवन
प्रति तीव्र चिन्ताबोध, बिम्बात्मक दृष्टकोण, मिथकीयता र प्रणयमूलकता दृष्टिले यस
कविता सङ्ग्रह सफल देखिन्छ।मानवीय संवेदना र राजनीतिक चेतना अनि राष्ट्रवादी
चेतनाबाट पनि यस कविता सङ्ग्रह अनुप्रेणित छ।यस कविता सङ्ग्रहमा अन्तर्भूत
कवितात्मक प्रवृत्तिहरूलाई यस प्रकार उल्लेख गरिएको छ।
१) मानवीय मूल्यको खोजी: आजको समाज बिरामी छ।चिन्तन बिरामी छ।मान्छेले मान्छेको
भावनलाई कदर गर्ने समय होइन यो। आजको मान्छे विसङ्गत जीवबोध सहित आफैँमा हराएको छ।आज
मान्छेले बाँचेको जीवन मानवीय लाग्दैन, विश्वास टुटेको छ आज, मानवीय संवेदना
क्रक्रिट जस्तै बन्दै छ। मानव जीवन जिउने क्रममा पाइलै पिच्छे त्रासता छ, मानवीय
जीवन मूल्य स्खलने घायल छ। मान्छेको जीवन अभाव र विकरालको चिसोमा निस्सासिँदो छ
भन्ने धारणा कार्कीको यस सङ्कलनमा अभिव्यक्तिएको पाइन्छ।मान्छेले जीवनमा प्रस्ट र
उत्साहपूर्ण जीवन बाँचेको छैन र भनिएको छ- मान्छे चिसो नमीठो जीवन बाँचेको छ:
अति चिसो छौ।हिमाल नाम बचाएर
चिसो, कहिले सम्म बाँचिरहने यस्तरी (हिमालअगि म, पृ. ११)।
मानवले जीवन जिउने क्रममै आफ्नो स्पेस निर्माणका लागि निरन्तर सङ्घर्ष गरिरहेको
छ।उसले कहिले आफूमा व्यापक शक्तिको अनुभूत गर्छ त कहिले आफूमा लघुताभाषको
साम्राज्य देख्छ। जीवनमा कहिले त्रासले पग्लिनु पर्ने, कहिले पलायन भएर भाग्न मन
लाग्ने हराउन मन लाग्ने स्थितिको सिर्जना पनि आजको मानवले प्रत्यक्ष देखेको छ।जीवनमा
अन्तर्भूत मानवीय अन्तर धरातलको तुलनात्मक अस्तित्वको खोजका क्रममा उसको अनुभूति
यस्तो हुन्छ भन्दै कार्की भन्छन्:
धेरै पग्लिएँ।कति हो कति पग्लिएँ।
पग्लिसक्ने रहेछु।त्रासले
तिम्रो अगि उभिनदेखि
तिम्रै अघिबाट भाग्न तर्खरिँदैछु (हिमालअगि म, पृ. ११)।
यस कविता सङ्ग्रहमा जीवनको शून्यताका साथै यसभित्रको रहस्यको खोजीको कुरा
गरिएको छ। जस्तासुकै अभाव र दु:खमा पनि अस्तित्वको सवाल वज्र बनाएर ढोलीका कवितामा
आउँछन्।परिवर्तित सन्दर्भमा समाजमा परिवर्तन र रूपान्तरणको रौस देखिन्छ र मानवतामा
खडेरी आएको छ।प्राकृतिकपन संसारबाट नस्ट हुँदैछ।हिजोको गाउँको प्राकृतिकपन,
मौलिकता आज भेटिँदैन।गाउँमा आप्राकृतिक र विभिन्न प्रकृतिका आडम्बरले वास गर्दै
छ।गाउँमा अशान्ति व्यप्त हुँदैछ।मानवीय सुरक्षामा गम्भीर प्रकृतिका प्रहारहरू
हुँदैछन्।हिजोको जस्तो प्राकृतिक र आत्मीय परिवेश आजको मानव समुदायले अनुभूत गर्न
नपाएको सन्दर्भ ‘मेरो गाउँमा अचेल’ शीर्षकको कवितामा यसरी व्यक्त भएको छ:
मेरो गाउँमा खै कहिलेदेखिन्
के के पस्यो पस्यो।
मेरो गाउँमा उड्ने यौटै परेवा छैन।अचेल
मेरो गाउँको धुरीमा घुर्ने यौटा परेवा
छैन।अचेल
जसको घुराइमा हरेक बिहान
हरेक घर ब्यूँझन्थ्यो।
--- पुस बितेर जान्छ, माघ वितेर जान्छ।
त्यो जाडो बोकेर पुस आउँदैन (मेरो
गाउँमा अचेल पृ.४४)
जीवन दैनन्दिन रूपमा जटिल बन्दै छ।हिजो फेरिएको स्वस्थ हावामा आज मिसावट छ।मानव
जीवन यान्त्रिक छ।स्वचालित मेसिन जस्तो रुग्ण पनि छ।आजको जिन्दगी जीवन भन्न लायक
छैन।अपनत्वपूर्ण जीवन नहुँदा मान्छे सुख्खा र उजाड जङ्गलमा व्याकुल हुँदै गरेको
स्थिति सिर्जना भएको छ।मान्छेमा सबै भौतिक सुख व्याप्त रहे पनि जिन्दगी विखर्ची
जस्तो छ।मानवीय मानसिकता पराजित जस्तो, युद्धमा हारेको सिपाइ जस्तो देखिन्छ।जीवनको
अस्तित्वको लडाइँमा पराजित भएर विसङ्गति बोध हुने गरेको प्रसङ्ग ढोलीका कवितामा
यसरी अभिव्यक्तिएको छ:
बिखर्ची! रूटिनजस्तो
हुँदैन जिन्दगी !
त्यसो त जिन्दगी
जिन्दगी जस्तो पनि हुनसक्दैन ।
(विखर्ची! रुटिङ् जस्तो नहुँदो रहेछ जिन्दगी पृ .४८)
मानवमा मानव हुनुको गर्वबोध हुन आवश्यक छ, अपनत्व हुनु आवश्यक छ।आजको मान्छेको
जिन्दगी गर्व गर्न लायक छैन।मान्छेले मान्छे हुनुमा आफूलाई खुशी साथ बाँच्न सकेको
छैन।आफूमा गर्व बोध र अपनत्व नभएपछि मानवमा एकतामा विखण्डन आउने गरेको छ। एकता
नभएकाले पहिचानसहित मावन बाँच्न सकेको छैन।पहिचानको सङ्कट पनि यसै कारण रहने गरेको
हो भन्ने निष्कर्ष कवि ढोलीको रहेको छ।मान्छेले मान्छे हुनुको महत्त्व बोध
नगरेसम्म उसले मान्छेको साक्षत जीवन बाँच्दैन भन्दै बिम्बात्मक रूपमा यस्तो भाव
व्यक्त गरिएको छ:
गर्वले नामोच्चारण गर्छन् कागहरू (पृ. ५२)।
एकता आवश्यक छ--- कागहरू एक्लै उठ्दैनन्।नितान्त
एक्लै (पृ. ५२)।
आफ्नो पहिचानको महत्त्व छुट्टै हुन्छ।
कागहरू काला हुन्छन् ।र नै
चिन्हारी छ।कागहरूको, काग नहुनुको (कागहरूका काग नाम, पृ . ५२)।
अपनत्व नभएको समाज र गर्वबोध नभएको समाजले विकासमा छलाङ् मार्न सक्दैन।जबसम्म
हामी हौँ, हामी छौँ, हाम्रो महत्त्व अनिवार्य रूपमा सार्थक छ भन्ने दृष्टिकोण नभए
सम्म समुदायमा सही र सङ्गठित स्थिति देख्न सकिँदैन।यस कवितात्मक पङ्तिहरूमा आफ्नो
पहिचानमा गर्वबोध पनि हुन आवश्यक छ भन्ने भावना पनि उत्तिकै प्रगाढ रूपमा आएको
छ।त्यसको पुनर्पुस्टिका लागि ढोली भन्न पुग्छन्:
कति आफ्नोत्व छ।स्वरहरू भाकाहरू कागहरूमा
गर्वले नमोच्चारण गर्दछन्।कागहरू (कागहरूका काग नाम पृ. ५२)
आज मानवीय जीवन जडवत र चट्टानसरी बनेको छ।मान्छे मान्छेको कोटिमै राख्ने खालको
छैन।मान्छेभित्र महानायक र अप्रिय खलस्वभाव पनि छ।मानव अमूर्त परिस्थिति जन्य
घटनाले थिनिएको, निस्सासिएको, एकाङ्गी बन्दै गएको छ।यो आजको मानवले यापन गर्दै
आएको वास्तविकता हो।मानवीयताको ह्रास, मानवीय स्वभाव जड र ठोस अमूर्त हुँदै गएको छ
भन्ने एक अर्को सन्दर्भमा ढोली यस्तो कवितात्मक धारणा व्यक्त गर्छन्:
मान्छे कति प्रिय हुन्छ !
मान्छे कति अप्रिय हुन्छ !!
त्यस्तो त ढुङ्गा हुँदैन।
(मान्छेसित ढुङ्गाको कुरा, पृ. ८२)
चेतनाले अभिसिञ्चित व्यक्तिले यथार्थ बोध गर्दै वास्तविकताको आँकलनमा लाग्छ तर
पश्चाताप बाँच्दैन।जीवनबोध गर्ने सन्दर्भमा थुप्रै भ्रमहरू बाँचिन्छन्।भ्रमलाई
वास्तविकतामा परिणत गर्ने अनेक प्रपञ्चहरू पनि समाजमा रचिन्छन्।झुट वेइमानी र
छलकपटबाट वास्तविकतालाई छोप्ने प्रयास पनि केही समयमात्र टिक्न सक्छ अन्तत: त्यसको
वास्तविकताको उजागर भएपछि व्यक्तिमा आत्मविश्वास बढ्न थाल्छ र अतीतमा भोगेका
भ्रमपूर्ण दु:खद क्रियाकलापमा पछुतो मानिँदैन भन्ने धारणा यस कविता सङ्ग्रहमा यसरी
व्यक्त भएको छ:
मैले रातलाई रात मानेर
घृणा कहिले गरिनँ।
तर मेरा निश्चित आकारहरू
रातभर पिसेर मिठो बनाउन आएँ
जाँतो रातहरू रातभर नै।
र पनि रातलाई घृणा दृष्टिले मबाट
कहिले हेरिएन (त्यो रात! घृणा
कहिल्यै गरिनँ,पृ. ४६)
यसरी ढोलीको ध्वनि अन्तर्ध्वनि कविता सङ्ग्रहमा मानवीय जीवनको मूल्यमा आएको
ह्रास, जीवनभित्रकै वितृष्णा, उदासिनता र कुण्ठा जस्ता विषयलाई प्रस्तुत गरिन्छ।
अधिकांश मानवीय जीवन मूल्यमा देखिएको ह्रासकै कारण ढोलीका यस सँगालोका कविताहरू
मानवीय जीवन मूल्यका विविध पक्षका विषयमा बुलन्द भएका छन्:
२) बिम्बात्मकता
बिम्ब एक प्रकारको चित्र हो।प्रतिच्छाया हो।साहित्यकारले समाजमा देखेका विविध
खालका प्रत्यक्ष अप्रत्यक्ष बिम्बहरूलाई कवितामा विन्यस्त गर्ने गर्छ।कवितामा
प्रस्तुत हुने बिम्ब काव्य बिम्ब हो (गौतम, पृ. १)। कवि ढोलीले पनि यस कविता सङ्ग्रहमा प्रशस्त बिम्बहरू सिर्जना गरेका
छन्।यस सँगालोमा हिमालले अटलता, प्राकृतिक रूप र आत्मविश्वासको प्रतीकात्मक बिम्ब,
आँधी हुरी, पहिरोले, भूकम्पले अशुभ र विखण्डन, काँडाहरू दुष्ट्याइँ तथा विषालु
अभिषाप, जून तरालाई लक्ष्य र रातलाई अशुभको प्रतीकात्मक बिम्बका रूपमा प्रस्तु
गरेका छन्। प्रतीकात्मक बिम्बको उपास्थानका सन्दर्भमा चराहरू त्यसमा पनि कागलाई
गर्वबोधी पंक्षी र पहिचानवादी चराको प्रतीकात्मक अर्थमा प्रयोग गरिएको छ भने
लाटेकोसेरो जस्ता पंक्षीलाई संवेदना र कारुणिकताको बिम्ब, पर्खाल अवरोधका रूपमा,
ढुङ्गालाई जडवत बिम्ब, पहाड, बालुवाको छाप अस्थिर क्षणिक परिस्थितीय बिम्ब, चरा
निष्कलङ्कता, साँझ तथा फूललाई प्रणय बिम्बको रूपमा अगाडि सारिएको छ। घमण्ड,
निष्कपट र निष्कलङ्क, प्राकृतिक पन, एउटा गहिरो ज्ञानको शास्त्र आदि जस्ता
बिम्बहरूलाई प्रस्तुत गर्न कवि ढोलीले विविध अप्रस्तुत बिम्बको प्रयोग गरेको
देखिन्छ।राधा कृष्ण, राम सिता, रावण लक्ष्मण आदि आदीम पात्रलाई ढोलीले मिथकीय
बिम्बहरूको पनि प्रयोग गरेका छन्।यस प्रकृतिका विविध प्रकारका बिम्बहरूको
उपस्थानमा यस कविता सङ्ग्रह अब्बल देखिन्छ। हिमालको निष्कलङ्क सेतो रंगभित्र अन्य
के कस्ता अर्थ र विशेषता लुकेको छ? भन्ने प्रश्न बिम्बात्मक प्रश्न प्रस्तुत यसरी
गरेका छन्।
अनि तिम्रो यो निक्खुर सेतो रङ्गभित्र
कुन कुन रङ्गहरू छन् लुकेका?
विषय विशेषता, बताऊ।(हिमालअगि म, पृ. १२)।
ढोलीले यस सङ्ग्रहको अधिकांश कवितामा चराहरूलाई प्रतीकात्मक रूपमा मानवीय
बिम्बका रूपमा प्रस्तुत गरेर तिनीहरूको बानी, व्यवहार, निष्चलताबाट प्रभावित भएर
मनका कुरा कविले यसरी व्यक्त गरेका छन्:
पखेटा भएका जति मात्र
चराहरू होइनन्! चराहरू हुँदैनन् (चराउहरू कराउन थालेपछि, पृ. ५९)
३) प्रणय चेतना
प्रेम प्राकृतिक भावना हो।आस्तिक
व्यक्तिहरूले यसलाई भगवानको बरदानका रूपुमा पनि लिने गरेका छन्।मानवीय सभ्यताको
उत्पत्तिसँग प्रेमको पनि सृष्टि भएको हो भन्ने विश्वास गरिन्छ।प्रेम अनुबन्धित
नभएर स्वतन्त्र हुन पर्छ भन्ने सामाजिक मान्यता विस्तार हुँदैछ।सामाज सापेक्ष
साहित्यमा पनि प्रेमको उपस्थितिलाई स्वाभाविक मानिन्छ। ढोलीको यस
कविता सङ्ग्रहमा पनि प्रणय र त्यस भित्रका विप्रलम्भात्मक भाव प्रस्फुटित
छ।प्रेममा सधैँ मिलन हुन्छ भन्ने छैन।कहिले मिलन त कहिले विछोडको सङ्घारमा कवि
ढोली रोमाञ्चित र सापेक्षित रूपमा व्याकुल पनि बन्न पुग्छन।यसै सन्दर्भमा प्रेमिकालाई
तिमी भन्ने सम्बोधन गर्दै उनी भन्न पुग्छन्:
तिमी गएपछि
ससाना हुरीले पनि उडाउँछ।मलाई नै
ससाना हुरीले पनि रेट्न खोज्छ।मलाई नै
हेर न, छापैछाप छ।हुरीहरूको
हेर न दागैदाग छ।छुरीहरूको
र त विर्सनै सक्दिनँ।ती हुरीहरूलाई
अहँ! भुल्नै सक्दिनँ।ती छुरीहरूलाई (तिमी गएपछि साच्चै, पृ. १६)
प्रेमको महत्त्वको विषयमा पनि यस सङ्ग्रहका कविताहरू प्रशस्त बोलेका छन्।प्रणय
चेतना सर्वव्यापि र सार्वकालिक रहने गर्छ।यो प्राकृतिक चेतना र संवेग भएकाले
मनभित्र यसले पार्ने प्रभाव पनि सोही स्तरको रहने गर्छ।प्रेम विविध खालका रहने गरे
पनि प्रेम र प्रमिकाको विषयमा हुनु यावत मिलन र छुटाइका साथै रहँदामा प्रेमको
न्यून मूल्य रहने गरे पनि छुटाइमा त्यसको महत्त्व निकै बढेर जान्छ भन्ने
सन्दर्भलाई ढोली आफ्नो कवितामा यसरी पोखिन्छन् र भन्छन्:
हुरीहरूले लापत्ता बनाए मलाई
रेटेर छुरीहरूले चोटैचोट पारे, मलाई
गुहार कहिल्यै कराइनँ पलभर
सोध, गुहार सुन्ने छन् कि कोही
(तिमी गएपछि साच्चै, पृ.१८)
प्रेमिकाको छुटाइमा प्रताडित कवि अझै पनि विश्वस्त छन् कि उनी आफू भन्दा धेरै
टाढा पुगेकी छैनन्।हरेक पल आफ्ने वरिपरि र आफ्नै स्मृतिमा प्रेमिकाको प्रगाढ
स्पर्श रहेको अनुभूति कविमा देखिन्छ।आफ्नो स्मृतिमा छाया बनेर बसेकी प्रेमिकालाई
क्षितिज नाघ्दै गरेको नभएर आफूमा जताततै उनी रहेको कुराको उल्लेख गरेका छन् यसर्थ प्रणयको
अर्को नमुनका रूपमा उनको तिमी आयौ भने भन्ने कविताको भाव यसरी सलबलाएको
देखिन्छ:
क्षितिज होइहालेको त होइनौ नि।
छाया छायामा छौ
कहीँ कहीँ पनि छौ
नभएको कहीँ कहीँ छैनौ। (तिमी आयौ भने, पृ. १९)
प्रेमको सफलतामा भन्दा यसको असफलतामा यसको महत्त्व झन् गाढा भएर जान्छ।आफ्नो अन्तर्मनमा रहेको प्रताडना, छटपटी र विरक्तिको भावनालाई उनले आफ्नो कवितामा यत्रतत्र प्रयोग गरेका छन्।आफ्नो आत्मामा प्रेमिकाको विछोडले पारेको प्रभाव र आफ्नो छाती छिरेर जाने प्रेमिकाको भन्दा त्यस समयको तत्क्षण बिम्ब बारम्बार आफ्नो मानसपाटलमा आउने गरेको कुरा कवि ढोली यसरी व्यक्त गर्छन्।
यो छाती! चिरै चिरा पारेर जाने
त्यो भूकम्पको नाम थाहा छैन।ऐले मलाई
तर छाती चिरिएको समय-पीडा भने
(तिर निशानी र मेरो छाती पृ.२१)
प्रेमको हुरीले व्यक्तिलाई अभ्यस्त बनाउदै लग्ने हो।प्रारम्भमा प्रणय चेतना
सामन्य लाग्ने गरे पनि त्यसको यथार्थ बोधले आफूलाई पीडा सहन सबल बनाउनाका साथै
त्यस पीडासँग जुध्न सक्षम पनि बनाउँदो
रहेछ भन्दै उनले प्रणयको विखण्डनको बिम्बको रूपमा भूकम्पलाई (२२) त कहिले अधेँरी
रातलाई छनोट गर्छन्।विश्वासमा आएको भूकम्पलाई उनी यसरी व्यक्त गर्छन्:
यति हो।ती भल, पहिरो र भूकम्पको आयु
चाल पाउन सक्ने भएँ
(तीरको निशानी र मेरो छाती पृ .२२)
प्रणय वेदनामा वास्तविक चोट भ्रम भन्दा भिन्नै हुन्छ भन्ने कुरा ढोलीले यस
कविता सँगालोका केही कवितामा व्यक्त गेरेका छन। प्रेमको दुर्घटना र अप्राप्तिमा
आँखाबाट तप्प तप्प आँसु खस्नु र भावुक बन्नु पर्ने कुनै भ्रम नभएर वास्तविक चोटको
परिणाम थियो भन्दै उनी थप्छन्:
तप्प! तप्प! आँसु खस्नु
विना पीडा फगत् भ्रम, मिथ्या।कोरा भावुकता
थिएन।
होइन थिँदै थिएन।
(तीरको निशानी र मेरो छाती पृ .२२)
प्रेम आजको मान्छेले गर्ने जस्तो दैहिक र भौतिक नभएर भावनात्मक प्रेममा समर्पण
र प्रतीक्षाको अटल लगाव रहने कुरामा कवि ढोली विश्वस्त छन्।आत्मिक प्रेम अजेय
हुन्छ, कालजयी र दीर्घ स्मृतिमा अट्ने खालको हुन्छ भन्दै प्रणयको स्मरण सुरक्षित
रहेको कुरा कवितामा यसरी व्यक्त गर्छन्:
यौटा पात! अझै छ।यथावत
लेख्ने टेबलमा मेरो
राखेको छु।तर थिचेर ऐलेसम्म
पेपरवेटले (पातहरू खस्दा पनि, पृ. १०८)
प्रणय व्याकुलतामा आफ्ना अक्षरहरू महत्त्वपूर्ण हुन्छन्।त्यति हो भगवान आस्तिक
मान्छेहरूका ढुकढुकी बन्लान् तर अक्षरहरू भित्र पनि नास्तिक भाव मात्र रहँदैन।आउँ
अक्षरभित्रको अपनत्व र भगवानरूपी भावनाको कदर गर यस विसङ्गत जीवनमा दु:खको सारथि
मात्र हो भगवान भन्ने धारणा राख्दै आफ्ना अक्षरको
मूल्य पढ भन्न पुग्छन् ढोली:
यति हो, मनका कोठाहरूमा
श्रद्धाले झुन्ड्याएका भगवान्का तस्वीर
अटाएर
नास्तिक शब्दका ठूल्ठूला अक्षरचित्र
झुण्ड्याएको छु।आऊ, पढ तिमी पनि
ती भगवान्हरूभन्दा कम प्रभावी छैनन्।
यी शब्दहरू! (भगवान भन्दा नास्तिक शब्दचित्र, पृ. २५)।
इश्वर संसारका मान्छेहरूले सबै भन्दा बढी खोजेको चिज हो।तर सबै भन्दा कमले दर्शन पाएको वस्तु पनि सायद इश्वर नै हो।इश्वरकै आप्राप्तिका सन्दर्भमा इश्वर प्रति आक्रोस व्यक्त गर्छन्।उनको विरोध गर्छन्।धेरैजसो मानिसहरू आप्रप्य इश्वरको फगत खोजमा छन् तर अदृश्य भगवानको पूजामा समर्पित मान्छेहरू हो।अमूर्त शिक्तिको पछाडि कुद्नुको कुनै अर्थ छैन।इश्वरीय गुण मानवीय आत्माभित्र रहन्छ भन्दै यसो भन्न पुग्छन् ढोली:
मानवहरू इश्वरको विरोधमा छन्।धेरैजसो
मानवहरू अदृश्य ईश्वरको खोजमा छन्।प्राय:जसो
मानवहरू ईश्वर अप्राप्तिको आक्रोशमा छन्।
मानवहरू अदृश्य ईश्वर पूजन-भजनमा छन् (तिर्खाले ईश्वर, पृ. २७)।
प्रणय चेतनाकै सन्दर्भमा भगवानलाई साँच्चि राखेर मन्दिर भत्किनुमा जति भय र त्रास छ।प्रेम इश्वरीय वस्तु भए पनि यसको सफलताको सही र सार्थक मार्गमा असफलताका उत्तिकै धेरै सङ्केतहरू छन्।प्रेम निकै दुर्घटित स्थितिमा पनि देखिन्छ।वर्तमान सामजमा भावनात्मक प्रेमको खडेरी नै परेको छ।जताततै अविशवास नै अविश्वासको जन्जिरले बेरिएको छ। भौतिकवादले आध्यात्मिक चिन्तन र ईश्वरीय आस्थामा धावा बोल्दै छ भन्ने कुरा पनि यस सङ्ग्रहको यस कवितामा अभिव्यक्तिएको देखिन्छ:
जति भय छ।यो मन्दिर भत्किनुको तिमीमा
किञ्चित भय छैन।अहँ छँदैछैन
त्यो मन्दिर भत्किनुको ईश्वरमा
भनिदिएँ, आज बिहानै पुजारीलाई!
तिम्रो ईश्वर तिर्खाले बिसञ्चो भएछ। पृ
.२९
निश्चित संयमता छ।नरित्तिनु रित्याएर
पनि
नकिच्चिनु, किच्याएर पनि
(तिमी गएपछि साच्चै, पृ. १७)
मानव जीवनमा प्राप्तिमा सफलता र आप्राप्तिमा निराशाका भाव पैदा हुन्छ।यो
संसारको सर्वव्यापि नियम पनि हो।प्रेमको विफलतामा मान्छे घायल बनेको सन्दर्भमा
तिम्रो आगमनले आफूमा लागेको प्रणयको रोग पनि निको हुने कुरामा कवि विश्वस्त
बन्छन्।उनको आगमनले प्रेमीलाई साविक अवस्थामा नै फर्काउँछ भन्ने कुरा यस सङ्ग्रहको
कविता यसरी व्यक्तिन्छ:
तिमी आयौ भने
म फेरि बनिन्छु। होला
निको हुन्छु।होला लाग्दैन।
तिमी आयौ भने, म त्यै वीर!
त्यै भद्र!
बन्छु।होला लाग्दैन।
तिमी आयौ भने
म फेरि त्यै वीरभद्र नै हुन्छु।होला लाग्दैन। (तिमी आयौ भने, पृ. २०)
प्रेममा समर्पण नै प्राप्तिको प्रमुख आधार हो भन्ने दृष्टिकोण पनि यस कविता
सङ्ग्रहमा देखिएको छ।प्रणयलाई सफल बनाउनका लागि प्रेमी जे पनि गर्न तयार छ।डाँडा
काँडा भिर पहारा तथा सहरको कुनै पनि गल्ली चहर्न तयार भएको भावना पनि यस सँगालोमा
व्यक्त भएको छ।आफू प्रेमका लागि सजिलै बेचिन पनि तयार भएको कुरा पनि यस सन्दर्भमा
अभिव्यक्तिएको देखिन्छ:
भीर-पहरा जहाँ भन
त्यहाँ पनि हिँड्न म तयार छु।
जतिचोटि छिनाउन चाहन्छौ, छिनाऊ
उतिपल्ट छिन्न म तयार छु। (तयार छु, पृ. ४०)।
४) संवेगात्मकता
ढोलीको कवितामा देखिने अर्को विशेषता भनेको मानवीय संवेगात्मकताको प्रयोग हो।मानवीय आवेग र अहम् हरेक मान्छेमा अनिवार्य रूपमा विद्यमान छन्।त्यसको नियन्त्रण गर्न आवश्यक छ।अनियन्त्रिक संवेगले मान्छेलाई दुर्घटना तिर हुत्याउँछ।मान्छेको सफलता पनि सही संगेगको सही नियन्त्रणसँग जोडिएको छ।अमह् मास्नै पर्ने चिज हो।यसले मान्छेलाई क्षती होइन फाइदा नै पुग्छ।संवेग अमूर्त हुने भएकाले निटक भनिएका व्यक्तिलाई पनि विश्वास नगर भन्ने ढोली संवेग र अहम् नियन्त्रणमा राख्नु पर्छ भन्ने मान्यता यसरी राख्छन् :
अहम् मासेपछि रित्तो हुँदैन।मान्छे।
ममा पनि विश्वास
नराख बरू
तर म,
ऐना जसरी बाँच्न
सक्दिनँ
ऐना जसरी फुट्न
मान्दिनँ!!
जत्ति म मैजसरी
बाँच्न मान्छु!
(अहम् मासेपछि रित्तो हुँदैन, मान्छे!, पृ .३२)।
मान्छे रूपमा समान देखिएला, तर ऊ भित्र कुत्सित भावना लुकेर रहेको पनि
हुनसक्छ।मान्छेको रगत सबैको रातो भए पनि सारमा मान्छे बहुस्वभाव र बहुरङ्गी छ
भन्ने भाव ढोलीका कवितामा व्यक्त भएका छन्।पानीले पनि आप्नो रङ सुरक्षित राख्न
नसकेर बहु रङमा बग्नु पर्ने आजको परिवेशमा मान्छेले विश्वास गुमाउँदै गएको
सन्दर्भलाई कवितामा उनले यसरी व्यक्त गरेका छन्:
देखिएका जति छन्।रङ्गहरू
अधिक होलान्।अदृश्य अझ्झ रङ्गहरू
पानीले पनि आफ्नो रङ्ग
सुरक्षित राख्न नसक्दोरहेछ।कहिल्यै
मान्छे र अमान्छेको रगतमा पनि
रगतको रङ्ग, भिन्नै रङ्ग तर हुन सक्दैन।
(रङहरूसित रगत रङ्गको कुरा पृ. ३४)।
अनुभवले मान्छेलाई सज्जन र दुर्जनको निर्क्यौल गराउँछ।दुर्जनहरू अघोषित
हत्याराहरू हुन् जसले सज्जनको स्वाभिमानमा धक्का पुर्याइरहेको हुन्छन्।समाजमा
सज्जन विचारका मान्छेहरूले व्यापक अन्याय र शोषण वेहोरे पछि ती दुर्जनको सफायकै
लागि भने पनि सज्जनहरू बाँच्नु पर्छ।तर सही र खरावको निर्क्यौल गर्नका लागि पनि
व्यक्तिसँग समय चाहिन्छ।अनुभव चाहिन्छ अनि अभ्यास चाहिन्छ भन्दै कवि यस्तो भाव
व्यक्त गर्न पुग्छन्:
कसरी बन्नु अब त्यो पनि जान्दछु
कोकोसित नबग्नु त्यो पनि मान्दछु
यतिमात्र हो।बगेर पलहरूसित कहिले कहाँ
पुगिने हो।
त्यतिमात्र हो।अहँ! नजान्दो छु। (हत्याराहरूकै निम्ति पृ . ३६)
मान्छेभित्रका कुविचार वा दुर्विचारलाई मास्न आवश्यक छ।कुविचारले मानवीय
अन्तस्चेतनालाई तर बिगार्छ त्यसले समाजलाई पनि सही मार्गमा लग्दैन भन्ने धारणा
ढोलीले व्यक्त गरेका छन्।समाजमा विद्यमान खराव आचरणको विपक्षमा उभिने मान्छेको
हामीले सधैँ सत्कार गर्नु पर्छ।दुर्विचार राख्नेहरूलाई अपराधीलाई झैँ दुत्कार्नु
पर्छ भन्दै उनले यस्तो भावना व्यक्त गर्छन्:
काँडाहरू मास्ने हातहरूलाई
अपराधी घोषित गरेको पनि छैन।
भन, काँडा संरक्षित फूलहरू, फलहरू
मैले काँडाहरू मासिदिएर के बिराएँ?
(काँडाहरू मासिदिएर के बिराएँ पृ. ३८)।
५) मिथकीयता: प्राचीन पुराकथाका तत्त्वहरू वर्तमानमा नयाँ अर्थका साथ प्रयोग गरिएको छ भने
त्यसलाई मिथक भनिन्छ। लोकमा प्रचलित मूल्य मान्यताबाट मिथकको
जन्म हुने गर्छ। प्राचीन कालमा स्थापित धार्मिक मूल्य मान्यताको वा विश्वासको
प्रयोग वर्तमानका केही विशिष्ट विषय बोधका लागि मिथकको प्रयोग गरिन्छ।मिथ सत्यको
पुनर्सिर्जन हो। मिथकीय पात्रको उपास्थान गरेर वर्तमान समाजमा सहजीकरण र
साधरणीकरणको प्रयास गर्ने प्रयासमा ढोलीको यस कविता सङ्ग्रह अग्रसर देखिन्छ। विशेष
गरी यस सँगालोमा महाभारकालीन मिथ, रामायण कालीन मिथ र पुराणा कालीन मिथको प्रयोग
ज्यादा देखिन्छ।मिथकीय पात्रको प्रयोग यस सँगालोको यी पङ्तिहरूमा यस प्रकार आएका
छन्:
उफ्! नहुँदो हो, रामरूप हनुमान
कत्रो छल! राम युद्धमा
श्रीकृष्ण छलिनुको
श्रीकृष्ण अन्तर मात्र राधा! हुनुको
श्रीकृष्णमा! राधामा!
कतिसम्मन् होलान् पीर खपिनसक्नुको
आगो अदृश्यमा (राधा! कृष्ण उफ् राम! सीता, पृ. ४२)
मिथकीय पात्रको उपास्थनको एक अर्को सन्दर्भमा रामायणमा रामलाई देवत्वकरण गर्ने
र रावणलाई दानवत्व प्रदान गर्ने चिन्तन र दृष्टिकोणमा आएको फरक पनले मात्र हो।यदि
रामको सट्टा रावणकी श्रीमती रामले हरण गरेको भए सायद रावणले सीताको अग्नि परीक्षा
लिने थिएनन् होला भन्ने धारणा पनि यस कविता सँगालोको व्यक्तिन्छ:
लागरिरहेछ मनलाई, बुद्धिलाई
वस्तुत: रावणले सीता हरेकै होइन।
यस्तरी रामले रावणको सीता हरेको हुँदो
हो??
(दुई तस्वीर छन् कोठामा पृ. ५५)।
६) मानवीय आचारणको कुरा
बिहानले दिनको सङ्केत गरेजस्तै मान्छेको व्यवहारले उसको बानि ब्यहोराको सङ्केत
गर्ने हो।उसको आचरणको प्रतिच्छाया उसले गर्ने क्रियाकलापमा देखिन्छ।व्यवहारले फल
प्रदान गर्ने हो।एक पटकको टुष्ट व्यवहारले सबै चिजलाई हेर्ने दृष्टिकोण बनाउनु
हुँदैन भन्दै बिचल्ली परेर कुनै चरा शीर्षकमा ढोली लेख्छन्:
तर कुन्नै चीलले, गिद्धले, बाजले
त्यस्तो क्षति गरेको छैन।मान्छेको
जस्तो क्षति ती चराहरूले गरेका छन्।मान्छेलाई
मान्छेका मानसिक बालीहरूलाई
(बिचल्ली परेर कुनै चरा, पृ .५७)
मानवीय जीवनमा सङ्घर्ष अनिवार्य छ।द्वन्द्वले पनि जीवन अस्तित्वका लागि
सङ्घर्ष अनिवार्य वस्तु हो भनेको छ।सङ्घर्षहीन जीवन वास्तवमा जीवन नभएर जीवनका
नाममा एउटा भ्रमपूर्ण जडवत वस्तु मात्र हो।सङ्घर्ष जीवनका लागि, अस्तित्वका लागि र सार्थक जीवनका लागि भन्ने विकासवादी
चिन्तनले पनि यही कुरा व्यक्त गर्छ।सङ्घर्ष मृत्युसम्म आवश्यक छ भन्दै कमिला जस्ता
साना जीवबाट पनि मानवले सिक्नु पर्छ भन्दै यस कविता सङ्ग्रहको यस कविताले
क्रियात्मक सङ्घर्षको पक्षमा यस्तो मान्यता राख्छ:
कुन्नि कसको मृत शरीर!
बोकेर जाँदै थिए।कमिलाहरू
लासैले थिचिएर मरे, तीहरू
उफ्! सामूहिक एकताका स्थितिहरू
(चराहरू कराउन थालेपछि पृ. ५९)।
वास्तविक यथार्थको पहिचान पश्चात् भ्रमको दुत्कार गर्न आवश्यक छ भन्ने
काव्यात्मक अभिव्यक्ति ढोलीका कवितमा देखिन्छ।समय सान्दर्भिक सही समयमा बुलन्द
गरिएको आवाजको मात्र सार्थक र सही हुन्छ भन्ने धारणा पनि उनको छ।
चराहरू भड्किएर जब
रातमा कराउँछन्।समयले
सतर्कताको सूचना दिन्छ।
खबरदार प्राणीहरू खबरदार
चराहरू कराउन थालेपछि यस्तरी
खबरदार कागहरू खबरदार!!
(चराहरू कराउन थालेपछि, पृ. ६०)
आजको समय रोमाञ्चित छैन, पहिलाको शान्त वस्तीमा खैलावैला र अशान्तिको निगुढ
क्रन्दन छ।मानवले मानवीय वस्तीबाटै शङ्काको ज्वाला निस्कँदै गरेको यथार्थ देख्न र
भोग्नु परेको छ।समाज समाजभन्दा भिन्न उच्चाट लाग्दो शून्यतामा परिणत भएको छ। भन्दै
लाटेकोसेरोलाई भड्कँदै गएको मानवताको रूपमा यस कविता सङ्ग्रहमा प्रस्तुत गरिएको छ:
साँझसित डराउँछन्।अचेल पक्षीहरू
पक्षीहरू पहिले पहिले
साँज उडेर रमाउँथे।
(लाटेकोसेरा! सम्झिएर अचेल पृ. ६६)
७) राजनीतिक चेतना
राजनीतिले समाज निर्देशित छ।नीतिहरूको पनि नीति राजनीति भएकाले समाजमा राजनीतिले
केकस्तो प्रभाव पर्दछ भन्ने कुरामा ढोलीका कविताहरू केन्द्रित छन्।परिवार्तनको
संवाहकका रूपमा पनि राजनीति मूल हतियार हो।राष्ट्रियताको रक्षाका लागि राजनीति
अपरिहार्य छ।परिवर्तनका लागि राजनीतिको विद्रोहको पनि आवश्यकता छ।रानीतिक
परिवर्तनका लागि क्रियाशील व्यक्तिले निराशालाई जिन्तु पर्छ।सानो सङ्घर्षले
राजनीतिक परिवर्तन हात नलाग्न सक्छ त्यसका लागि प्रतीक्षा अदम्भ साहस पनि चहिन्छ
भन्दै ठूलाले सानालाई शोषण गर्ने, बलियाले निर्बलमाथि अत्याचार गर्ने शृङ्खलाको
अन्त्यका लागि पनि राजनीति गर्नु आवश्यक छ भन्दै ढोली यस्तो विचार प्रकट गर्न
पुग्छन्:
ससाना माछाहरू निलेर
ठूला भएका ठूला माछाहरू
मलाई पनि नजीकदेखि देख्न मन लागेको छ।
लाश लडेको।लाश चलमलाएको।
एक दृश्य! एक झल्को! (पानी र माछाका कुराहरू, पृ.१०६)
राजनीतिक सङ्घर्ष लामो समयसम्म चल्ने गर्छ।दीर्घ कालसम्म चल्ने भएकाले पनि
राजनीतिक सङ्घर्षमा सफलता हात पर्छ नै भन्ने छैन।राजनीतिक परिवर्तन र सङ्घर्षमा
जुध्ने मान्छे कहिले सफलता र कहिले विफलतामा अनिर्णित भएर फर्कन्न बरु वेखबर
हुन्छ, लपत्ता हुन्छ।भन्दै एक अर्को सन्दर्भमा कवि यसो भन्छन्:
एकक्षण नदी रोख्छु।भनेर गएको
त्यो मान्छे!
फर्किएन उ आफै।
--- शब्दलाई चाबुक लाउने
त्यो मान्छे!
धेरै भो, लापत्ता छ।बेखबर छ।
(बेखवर मान्छे, पृ. १०२-१०३)
८) राष्ट्रवादी चेत:
राष्ट्रवाद एक यस्तो चिन्तन हो जहाँ आफ्नो देशलाई सबै भन्दा बढी
प्राथमिकतामा राखिन्छ। राष्ट्रवादमा आफ्नो जन्मे बाँचेको राष्ट्रको हरेक चिजसँग भावनात्मक
नाता रहेको ठानिन्छ। आफ्नो भाषा संस्कृति र समुदायको विषयमा भावनात्मक नाता
रहने चिन्तन नै राष्ट्रवाद हो।प्रस्तुत कविता सङ्ग्रहमा पनि केही राष्ट्रवादी
चेतनाका कविताहरू देखिन्छन् त्यस मध्ये यस कवितालाई एक नमुनाका रूपमा लिन सकिन्छ।जहाँ
आफू जन्मेको देशलाई आफ्नो मुटुसँग तुलना गरिएको छ।
यो यौटै मुटु छ। मसित
सिर्फ मेरो मुटु!
यो यौटै भूमि छ। सिर्फ मातृभूमि!
यो यौटै देश छ।जन्मिएर जहाँ
त्यहीँ मेरो देश! छ।
(यति छ।भिन्नता म र मेरो देशमा, पृ. ७९)
राष्ट्र सबल भए त्यहाँका नागरिक सबल हुने हुन्।तसर्थ समुन्नत राष्ट्र
निर्माणका लागि र भोलिका पुस्ताका लागि आजैबाट श्रम र पसिना बगाउनु आवश्यक छ भन्ने
धारणा यस सँगालोका राष्ट्रवादी चिन्तनका कवितामा उल्लेख गरिएको छ।यस्तै
राष्ट्रियताको सवाल नै ओ देश! मेरो देश! शीर्षकको कवितामा पनि अभिव्यक्तिएको छ:
मेरो देशको उज्जल भविष्यको निम्ति
वर्तमानको निम्ति
मेरो पिँढी पिँढीले बूँद-बूँद पसिना
मेरो देशको माटोमा चुहाउँछ पनि !
(ओ देश! मेरो देश!, पृ. ७६)
निष्कर्ष
ढोली बिम्बात्मक रूपमा मानवीय जीवन मूल्यको यथार्थ चित्रण गर्दै आजको समाजको
दुरुस्त प्रकटी गर्ने कवि हुन्।आजको समाजको परिवर्तित सन्दर्भमा भत्कँदै गएको
आस्था, विशृङ्खल बन्दै गएको मौलिक समाज र भावनात्मक रूपमा आएको स्खलन प्रति तीव्र
असन्तोष व्यक्त गरेका छन्।उनका कवितामा आधुनिक युगका यावत प्रतिच्छायाहरू
भेटिन्छन्।आधुनिक कविताको गद्य अन्तर्लयलयले उनका कवितामा मिठास भेटिन्छ।यस युगको
मान्छेले भोगेका जीवनका निराशा र कुण्ठाको अभिव्यक्ति ढोलीका कवितामा अधिक प्रयोग
भएको विषयवस्तु हो।प्रणयमूलकतामा ढोलीभित्र केही गुनासाहरू पनि छन्।प्रणय उनले
सोचेजस्तो सही, सफल मार्गमा हिँडेको देख्दैनन्।मानवीय संवेगको कुरा पनि उनका कवितमा
यत्रतत्र भेटिन्छ।आजको विखण्डित समाजमा ईश्वरीय आस्थामा पनि व्यापक प्रश्न चिन्ह
उठ्ने गरेको छ।इश्वरको खोजीमा लागेका भक्तहरूलाई ढोली इश्वर भनेको आपत्तिको वेलाका
सारथि भएकाले इश्वर प्राप्तिमा विश्वस्त नहुन आग्रह गर्छन्।ढोलीले यस कविता
सङ्ग्रहमा व्यापक रूपमा बिम्बहरूको प्रयोग गरेका छन्।प्रतीकात्मक रूपमा बिम्बहरूको
प्रयोग गरेकाले पनि ढोली व्यापक बिम्ब प्रयोग गर्ने बिम्बात्मक कवि हुन् भन्न
सकिन्छ।प्रकृतिको क्यानभासमा कविता सिर्जना गर्ने ढोली प्रकृति प्रेमी कवि पनि
हुन्।
मानवीय जीवन तथा प्रणय, पुँजीवाद अनि उपभोगवादका
कारण विलीन हुँदै गएको मानवता र त्यसका बीचमा पनि सङ्घर्षको पौठेजोरी खेल्ने कविका
रूपमा कार्की अब्बल देखिका छन् किनभने उनले यसै प्रकृतिको दर्जनौँ कविता सिर्जका गरेका
छन्।जीवनको निराशता र विसङ्गतिलाई ढोलीले आफ्नो काव्यात्मक प्रस्थानको आधार मान्छन्।ढोलीले
प्राप्त थुप्रै पुरस्कारले यस कुराको पुष्टि गर्छ।ढोलीका कविताहरू काव्य गुणले
ओतप्रोत रहे पनि अनावश्यक पूर्ण विराम चिन्ह जस्ता सङ्केतले कविता पठनमा वाधा त
पुगेकै देखिन्छ भने अर्थको अनर्थ लाग्नेको कि भन्ने खतरा पनि उत्तिकै छ।भाषिक
दृष्टिले ढोलीका कवितामा सिक्किमेली भाषिकाको प्रयोगमा सिर्जित छ।अनौपचारिक र कम
प्रचलित भाषिक प्रयोगले कवितामा केही पठन बोधमा समस्या भएको सजिलै अनुभूत हुन्छ। समग्रमा यस कविता सङ्ग्रहको सापेक्षतामा ढोली आजको समाजमा
मानवीय आस्था र विश्वासमा ज्वारभाटा सिर्जना गर्ने कवि हुन् भन्न सकिन्छ।
सन्दर्भ सूची
कार्कीढोली, वीरभद्र ढोली (सन् २०११), ध्वनि – अन्तर्ध्वनि, सिक्किम:
कर्णबहादुर चाम्लिङ ।
गौतम, लक्ष्मणप्रसाद, (२०६०) समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, ललितपुर: साझा
प्रकाशन, पृ.१ ।
Comments
Post a Comment