सुनेका, देखेका र भोगेका ‘काइँला’ - डा. अशोक थापा
लेखसार प्रस्तुत लेख नेपाली साहित्यमा आयामेली कविका रूपमा छुट्टै छवि बनाएका बैरागी काइँला (तीलविक्रम निम्वाङ , वि.सं. १९९६) को योगदानमा केन्द्रित छ । योगदान भन्नासाथ समग्रताको अध्ययन हुने भएकाले कुनै कृति विशेषमा केन्द्रित हुने कुरा भएन । समग्रताको मूल्याङ्कन गर्दा लेख सूचनामूलक हुनु स्वाभाविक छ । यस लेखको ध्येय पनि काइँलाको समस्त योगदानलाई नियाल्नु हो । नेपाली कविता साहित्यमा काइँलाको कृतित्वको गौरव अक्षीण छ । यस लेखमा समीक्षात्मक निबन्ध ढाँचामा वर्णनात्मक विधि अवलम्बन गरिएको छ र काइँलाले लेखनाथ-बालकृष्ण-लक्ष्मीप्रसाद आदिका कविताभन्दा भिन्न शैलीमा कविता सिर्जना गरेका हुन् भन्ने निष्कर्षण गरिएको छ । आरम्भ नेपालको पूर्वी पहाडमा शिक्षाको दीयो पहिले उदायो । यस तथ्यलाई पुष्टि गर्न दुई तर्क मनासिब देखिन्छन् । पहिलो नेपालको प्रशासनिक संरचनामा सापेक्षित रूपमा पूर्वमा पहिले जागरण आएको हो । दोस्रो अङ्ग्रेज शासनको समयदेखि नै दार्जिलिङको शैक्षिक रापले पूर्वी नेपाल (झापा , इलाम , पाँचथर) लाभान्वित छ । हो यसै पूर्वी पहाडको पाँचथरमा जन्मेका बैरागी काइँलाको वास्तविक नाम तिलविक्रम नम्वा