सुनेका, देखेका र भोगेका ‘काइँला’ - डा. अशोक थापा

लेखसार

प्रस्तुत लेख नेपाली साहित्यमा आयामेली कविका रूपमा छुट्टै छवि बनाएका बैरागी काइँला (तीलविक्रम निम्वाङ, वि.सं. १९९६) को योगदानमा केन्द्रित छ । योगदान भन्नासाथ समग्रताको अध्ययन हुने भएकाले कुनै कृति विशेषमा केन्द्रित हुने कुरा भएन । समग्रताको मूल्याङ्कन गर्दा लेख सूचनामूलक हुनु स्वाभाविक छ । यस लेखको ध्येय पनि काइँलाको समस्त योगदानलाई नियाल्नु हो । नेपाली कविता साहित्यमा काइँलाको कृतित्वको गौरव अक्षीण छ । यस लेखमा समीक्षात्मक निबन्ध ढाँचामा वर्णनात्मक विधि अवलम्बन गरिएको छ र काइँलाले लेखनाथ-बालकृष्ण-लक्ष्मीप्रसाद आदिका कविताभन्दा भिन्न शैलीमा कविता सिर्जना गरेका हुन् भन्ने निष्कर्षण गरिएको छ ।   

आरम्भ

    नेपालको पूर्वी पहाडमा शिक्षाको दीयो पहिले उदायो । यस तथ्यलाई पुष्‍टि गर्न दुई तर्क मनासिब देखिन्छन् । पहिलो नेपालको प्रशासनिक संरचनामा सापेक्षित रूपमा पूर्वमा पहिले जागरण आएको हो । दोस्रो अङ्ग्रेज शासनको समयदेखि नै दार्जिलिङको शैक्षिक रापले पूर्वी नेपाल (झापा, इलाम, पाँचथर) लाभान्वित छ । हो यसै पूर्वी पहाडको पाँचथरमा जन्मेका बैरागी काइँलाको वास्तविक नाम तिलविक्रम नम्वाङ हो । उनको कविताको प्रस्फुटन सं.२०१८ सालको 'फूल पात पतकरशीर्षकको कविताबाट भएको कुरा केन्द्रप्रकाश बरालले उल्लेख गरेका छन् । सं. २०२० अगि बैरागी काइँलालाई साहित्यकारका रूपमा चिन्ने निकै कम व्यक्तिहरू थिए । यद्यपि उनले गद्यकवितालाई सम्पुष्‍ट पार्दै नेपाली साहित्यमा स्थापित गरे ।

सुनेको

    सुनेको कुरा कि त सकारात्मक लाग्छन् कि त नकारात्मक । सकारात्मक भावसहित काइँलाका विषयमा मैले सं. २०५५ सालतिर सुने । त्यस समय म नेपाली विषयमा स्‍नातक गर्दै थिएँ पोखरामा । उनको समूहले चलाएको तेस्रो आयाम भन्ने आन्दोलन पाठ्यक्रममा समाविष्‍ट थियो । उनको चर्चित कविता मातेको मान्छेको भाषण' शीर्षकको कविता पनि पढ्नुपर्ने थियो । गुरु रघुनाथ अधिकारीले पहिलोपटक उनको बारेमा सुनाएका थिए कक्षामा । उनले सडक शब्दलाई सटककिन भने होलान् भन्ने जिज्ञासा मनमै राखेर मैले स्‍नातक सक्काएँ । अझै पनि त्यसको उत्तर मसँग छैन । बैरागी काइँलाका बारेमा बनिबनाउ मिथ त सुनिएन तर उनी आधुनिक, दुर्बोध्य कवि हुन् भन्ने व्यापकै सुनियो । उनका विषयमा सुनेको तथ्य के हो भने उनी जटिल गद्य कविताबाट नेपाली साहित्यलाई उचाइमा पुर्‍याउने कवि हुन् ।    

देखेको

    देखेको कुरा गर्नु पर्दा मैले काइँलालाई सं २०५९ सालमा देखेँ । सक्रिय राजतन्त्रको विरुद्धमा साहित्यकारहरूले मोर्चाबन्दी गरेको समय थियो त्यो । लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च भन्ने एउटा समूहमा वरिष्‍ठकनिष्‍ठ धेरै साहित्यकारहरू जम्मा हुन्थे त्यहाँ काइँलाको उपस्थिति रहन्थ्यो । त्यस बखत नेपाल बार एसोसियसनको सभाहलमा मैले पनि कविता सुनाएको थिएँ । पहिलो सुनाइमै काइँलाको ओजनदार प्रस्तुतिले म उनीप्रति आकर्षित भएँ । त्यस मञ्चमा प्रजातान्त्रिक र प्रगतिशील भनिने दुबै कित्तामा मान्छेहरू उपस्थित थिए । दोस्रोपटक काइँलालाई नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा देखेँ । उहाँलाई हामीले नै आमन्त्रण गरेका थियौँ । उहाँ कार्यक्रममा समयमै आउनु भएको थियो । आफ्ना गहकिला र फरासिला प्रवचन दिएर हामीलाई मख्ख पारिदिनु भएको थियो उहाँले । विभागमा अध्ययनरत विद्यार्थीको साझा संस्था साहित्यकुञ्जले त्यो कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछि त उहाँसँग आकलझुकल भेट भैरह्यो । उहाँसँग मेरो चिनजान राजाको जस्तो चिनजानमात्र रह्यो उहाँले मलाई चिन्नुहुँदैन । मेरो बानी सँगै तस्वीर खिचेर, पटकपटक झिज्याएर चिनजान गर्ने बानी छैन । जेहोस् मैले उहाँलाई एउटा अब्बल र जिम्मेबार साहित्यकारको रूपमा देख्छु र देखिरहन्छु ।   

भोगेको

    जब एकेडेमीमा काइँलाको उपस्थिति रह्‌यो धेरै समय र सन्दर्भमा उहाँसँग भेट हुन थाल्यो । एम्.एको पाठ्यक्रममा पनि काइँलालाई दुई तरिकाले पढ्न थालियो एउटा प्रयोगशील कविता रूपमा र कहिले साहित्य आन्दोलनका अभियान्ताका रूपमा । उहाँलाई नसम्झि नहुने तेस्रो आयाम भन्ने अभियानले हो । तेस्रो आयामपछि नेपाली साहित्यमा एकखालको जागरणको लहर नै आएको हो । यद्यपि साहित्य अभियान्ताभन्दा काइँलालाई कविको रूपमा नियाल्नु राम्रो हुन्छ । काइँलाले सार्वजनिक समरोहमा आफ्ना रचनाहरू पस्किन्छन् र एउटा कविता भन्न छुटाउँदैनन् त्यो हो माया र मफलर

मेरो माया मफलर भए

बाँधिहिड्थेँ गलामा !

कैलेकाहीँ त मन नहुँदा

टाँगिंहिड्थेँ किलामा ! 

यी कवितांशहरू सामन्य कोरा प्रेमका अभिव्यक्ति मात्र लाग्दैनन् । यसभित्र लुकेको अन्तर्य निकै गहिरो छ । प्रेमलाई साध्य र साधन, वस्तुपक्षलाई आत्मपक्षसँग जोडेर कवितात्मक प्याकेज भनिरहन्छन् यी पङ्तिले । यो सरलताभित्रको गहनताले गर्दा नै पाठकको रोजाइमा परेको हुनुपर्छ यो कविता र सायद काइँला आफैँलाई पनि यो कविता बढी सुरुचिपूर्ण लागेको हुनुपर्छ । मजस्ता भावकले भोगेका कवि व्यक्तित्वलाई झन् उजागर गरिरहन्छ उनका यस प्रकृतिका कविताहरूले । 

पढेको

    उनलाई धेरैले कविका रूपमा पढे । मैले पनि उनका कविता रहरवाध्यता र जिम्बारीबोध गरी तीन प्रक्रिया पढेँ । पाठ्यक्रममा उनका कवितालाई हाडेओखर, दुर्बोध्य, कठोर, अभेद्य आदिआदि उपमा दिइन्थ्यो त्यसैले वाध्यताले परीक्षा उत्तीर्ण गर्न ध्येयले पढियो । जब विश्वविद्यालयमा प्राध्यापन पेसामा प्रवेश गरियो त्यसपछि उनका कविता जिम्मेबारीबोध र लामा प्रयोगशील कवितालाई बुझ्ने मनसायले पढिलो । कविचेतलाई बढी संवेदनशील भएर पढियो । अब आएर उनका कविता आक्कल झुक्कल पढिन्छ रहरले । 

    उनका कवितामा वौद्धिकता देखिन्छ । विभिन्न बिम्बप्रतीककको प्रयोगका साथै मानव जीवनका अडबाङ्गा विसङ्गतिलाई पनि कवितामा अनुबन्ध गरेको देखिन्छ । प्रेममय बिम्बहरूमा काइँला निकै खुल्छन् । उनका कवितामा प्रयोग भएका प्रेमिल बिम्बमा उछृङ्खलता भेटिन्न बरु तलाउको बीचमा फुलेको सुन्दर कमलको फूल जस्ता उनका काव्यिक हरपहरू । उनको धेरै पढिएको कवितामा पर्छ मेरो मायाशीर्षकको यो कविता जहाँ कविले शलभ वा सलहलाई बत्ती वा दीयोसँगको सम्बन्धको आलाङ्कारिक रूप दिएर मिठास भरेका छन् । अवनि या पृथ्वीसँगको आकाश वा व्योमको क्षितिजीय सम्बन्धलाई निकै मार्मिक रूपमा प्रस्तुत गरेका छन् । यसै गरी उदधि या समुन्द्रसँग स्रोतको सम्बन्ध भन्ने प्रेमपत्रको मर्म, भावना, गहनतालाई निकै मार्मिक रूपमा प्रस्तु गरेका छन् । 

    मेरो माया शलभसितको दीपको प्रेमपत्र

    मेरो माया अवनिसितको व्योमको प्रेमपत्र

    मेरो माया उदधिसितको स्रोतको प्रेमपत्र

    मेरो माया अब हजुरको प्रेमको प्रेमपत्र

कवि काइँला कवितामा विविध खालका दृश्टान्त र रूपकहरूको प्रयोग गर्छन् । चोटिला अभिव्यक्तिले नै उनलाई जीवन्त कवि बनाएको हो । थोरै सिर्जेर धेरै चर्चित हुने काइँला एउटै रहस्य भनेको अद्वितीय सम्प्रेषण क्षमता हो । अल्पसिर्जनाबाट चीर स्थायी प्रभाव पार्न सक्ने थोरै साहित्यकारमा काइँला पर्छन् । कविता जति सम्प्रेष्य बन्छ त्यति नै टिकाउ हुन्छ । उनलाई पटकपटक जीवित राख्ने अर्को कविता हो चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामाशीर्षकको कविताः

       आज, मेरो हजुरको

       दर्शनार्थधृष्टता गरौँकि भनेर       

       इः, यसरी गुन्डिएर आएकोथिएँ

       आज, मेरो हजुरको

       सेवार्थ केके भनौँकि भनेर

       इः, यसरी झुन्डिएर आएको थिएँ

       शिष्टताका निम्ति साधुवाद ।

       चियाका निम्ति धन्यवाद ।

       अरू के भनौँ

       सब बिर्सिएँ, जेजे भनौँ भनेर आएको थिएँ ।

       हेर्नुहोस्

       यी आँखामा जो लजाइरहेका तस्बिर थिए

      मेरो हजुरकै हुन् कि भनेर

       चिनाउन आएको थिएँ ।

    काइँला चिनिएका कविताले मात्र होइन, उनलाई चर्चित बनाएको चिन्तनले हो । विचारले हो र नेपाली साहित्य परम्परामा क्रमभङ्गताले । उनले तेस्रो आयमाको वैचारिक पक्षलाई स्थापना गर्न सघाए र त्यस चिन्तनले व्यापकता पायो पनि । आज तेस्रो आयाम नेपाली साहित्य आन्दोलनमा एक अब्बल अनि टिकाउ अभियान ठानिन्छ । नेपाली साहित्यमा भर्खर आधुनिकताले बामेसर्दै गरेको समयमा तेस्रो आयामले थप पुनर्बल दिएर गति दिएको हो । कतिपयले यस आन्दोलनलाई आत्मसचेत आधुनिकताको पहिलो अभिव्यक्त पनि भनेका छन् । यस आन्दोलनले नेपाली साहित्यको एउटा परम्परागत सम्प्रदायलाई पुनर्संरचना गर्न सक्यो भन्नेहरू पनि छन् । यद्यपि यस आन्दोलनलाई यदुनाथ खनालजस्ता समीक्षकले तेस्रो आयाममा आधुनिकताको संवेदना र साहित्यको बढी जटिल रूप पत्ता लगाउनु पर्छ भन्ने आग्रहबाहेक खास नवीनता छैनभनी आलोचना गरेका छन् । खासमा एकरूप र एकरसको ढाँचामा बाँधिएको नेपाली साहित्यले नवीनता खोजिरहेको थियो । त्यसको केही सङ्केत आयामेली आन्दोलनमा भेटियो र अभियान झट्टै चर्चाको शिखरमा पुग्यो । त्यस आयामेली आन्दोलनका एक हस्ती थीए काइँला । 

बैरागी काइँलाको आर्थिक अवस्था सन्तोषजन नभएको भए लिम्बूवानतिर हराउने थिए राष्ट्रिय परिचय बन्ने थिएन उनको । उनले बाँचेको समाज र दार्जिलिङतिरको पाठशालीय सरसङ्गतले उनमा छुट्टै प्रभाव पार्‍यो  । उनी साहित्यतिर समर्पित भए । आफ्नो जातीय पहिचानको मुन्दुमलाई उनले आदर्श माने त्यसैको सेरोफेरोमा उनको व्यक्तित्व विकास भयो र नेपालको राष्ट्रिय प्रतिभाको छवि बन्यो र आज उचाइमा छ ।

विधिध विधामा कलम चलाए पनि बैरागी काइँलाले कवितामा अधिक मसी खर्चिएका छन् । हुन त उनले गैरसाहित्यिक क्षेत्रमा पनि फाट्टफुट्ट कलम चलाएका छन् । काइँलाले कविता लेख्न थाल्दा नेपाली साहित्य दिग्गज त्रिमुर्ती लेखनाथ, देवकोटा र समको कवितालेखन सिथिल भैसकेको थियो । त्यतिमात्र होइन कवितालेखनको ढाँचामा पनि केही परिवर्तन भइसकेको थियो । छन्द कविता र बढी शास्त्रीय कविताले जरा गाडिरहेको समयमा त्यसलाई चुनौती दिन प्रयोगशील कविका रूपमा काइँलाहरूको उदय भएको हो । उनको सरसङ्गत, शिक्षा र दार्जलिङे परिवेशमा घुलमिल भएका काइँलाले सही समयमा आफूलाई उभ्याए र कविको रूपमा छोटै समयमा स्थापित भए ।

काइँलाले कविता लेखे । गद्यमा निबन्धकथा पनि सिर्जे । उनले कविता विधामा बढी जाँगर चलाए । उनले पद्यमा पनि लेख्ने प्रयास गरे तर उनलाई गद्य कविता बढी फापेको देखिन्छ । कवि स्थापित हुनका लागि समय र मिहिनेत दुबै पक्ष अनुकूल हुनुपर्छ । काइँलाको विषयमा पनि प्रयोगशील गद्य कविता युगले मागिरहेको समयमा उनको उपस्थिति हुनपुग्यो । उनले धेरै मिहिनेत पनि गरे । पूर्वी पहाडको साहित्यिक हावामात्र होइन दार्जिलिङको चिया कमानमा बहने साहित्यिक स्वच्छता मिसिएको हरकले उनी थप ताजगी बने । उनका कविताको विषय केही मानवीय प्रेममा आधारित देखिन्छ भने अन्य समकालीन युगजीवन र समाजलाई हेर्ने दृष्टकोण देखिन्छ । 

धेरै सम्मान थापेका स्रस्टामध्ये अग्रस्थानमै पर्छन् काइँला । उनले निकै प्रतिष्ठित जगदम्बा श्री पुरस्कार पनि थापे । संस्थागत उपस्थितिका दृष्‍टिले पनि उनी अवसरको लिस्नो मज्जाले चढेका कवि हुन् । उनले नेपाल एकेडेमीजस्तो संस्थाको कुलपतिजस्तो पदमा रहेर कार्य गरे । मूल्यवान् कुरो उनी जहाँ रहे आफ्नो सादगी जिन्दगी र मिजासलाई डगमगाउन दिएनन् । विवादित कुरा गरेर राजनीतिको रोइलो पनि गरेनन् काइँलाले । अब ऋषितुल्य बनेका काइँला युवापुस्ताका रोलमोडल कवि, एउटा वौद्धिक मुन्दुमे छवि बोकेर बसेका छन् ।

निष्कर्ष

    काइँलालाई समालोचक ताना शर्माले दुरुह कवि भनेका छन् । वासुदेव त्रिपाठीले गहिराइमा जोड दिने आधुनिक कवि भनेका छन् । म के भन्छु भने बैरागी काइँला दुरुह पनि होइनन् पढ्न चाहनेले काइँलालाई सजिलै पहिल्याउँछन् । दुरुह कवि भएको भए पाठकमा यति लोकप्रिय हुने थिएनन् । उनी गहिराइमा भन्दा पनि कवितामा जटिल बिम्बहरूलाई उठाउने कवि भने हुन् । उनलाई सुनेको, देखेको र भोगेको आधारमा म के भन्न सक्छु भने उनी खासमा नेपाली साहित्यका अब्बल कवि हुन् । उनलाई नेपाली साहित्यमा लामो समयसम्म पढिनेछ 

सन्दर्भसूची

काइँला, बैरागी, बैरागी काइँलाका कविताहरू, ललितपुरः साझा प्रकाशन, २०३१ ।

.....‘अन्धा मान्छेहरू र हात्ती, काठमाडौः साङ्ग्रिला प्रकाशन, २०६८ ।

बराल, केन्द्रप्रकाश, बैरागी काइँलाको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, स्नातकोत्तर शोधपत्र, कीर्तिपुरः नेपाली केन्द्रीय विभाग, २०६० ।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन