नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक (CRITIQUE ON BAL KRISHANA SAMA 'Andhabega')
-अशोक थापा, उप-प्रा
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
सार सङ्क्षेप:
नेपाली नाटक साहित्यमा
गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको
विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र
दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय
समालोचना यस लेखमा गरिएको छ।नाट्य तत्त्वका आधारमा प्रस्तुत नाटकको विवेचना गर्नु
यस लेखको ध्येय रहेको छ।
जीवनीसार: डमर शमशेरका नाति तथा शमरशमशेर अनि माता कीर्ति राज्य लक्ष्मी देवीका माहिला सुपुत्रका रूपमा बालकृष्ण समको जन्म वि.स. १९५९ साल माघ २४ गते शुक्रवार दिन काठमाडौँको ज्ञानेश्वरमा भएको हो।बालककाल देखि नै साहित्य सिर्जनामा लगेका बालकृष्ण समले आइ.एस्सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ; तर उनले स्वअध्ययनबाट ज्ञान, विज्ञान, संस्कृति, कला जस्ता क्षेत्रबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाएका छन्।उनी राणा परिवारका शमशेर भए पनि २००७ सालपछि जनतालाई दु:ख दिने राणाहरूले लेख्ने शमशेरबाट ‘शेर’ काटेर सम थर राखेका हुनाले उनलाई सोही (बराबर) नामबाटै बढी चिनिन्छ। उनले चित्रकला, निर्देशन, अभिनय, कविता, निबन्ध तथा जीवनी लेखन जस्ता क्षेत्रमा कलम चलाए पनि उनको सफलताको क्षेत्र भनेको नाट्यक्षेत्र नै हो।पूणाङ्की तथा एकाङकी दुवै क्षेत्रमा उत्तिकै कुशलताको साथ कलम चलाउने बालकृष्ण समले ऐतिहासिक, पौराणिक, सामाजिक तीनै विषयवस्तुका नाटकहरू लेखेका छन्।उनको एकाङ्की लेखन पनि दु:खान्त, सुखान्त, ऐतिहासिक, प्रयोगशील प्रवृत्तिमा विन्यस्त छन्।समले मुटुको व्यथा (१९८६), अन्धवेग (१९९६), प्रेमपीण्ड (२००९), अमरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२) जस्ता दुःखान्न नाटकहरू लेखेका छन् भने ध्रुव (१९८६), प्रह्लाद (१९९४), मुकुन्द इन्दिरा (१९९४), म (२००२), ऊ मरेकी छैन (२०३५) जस्ता सुखान्त नाटकहरू पनि लेखेका छन्।उनको स्वास्नी मान्छे (२०३३) जस्तो प्रयोगशील नाटक पनि प्रकाशित छ। उनको आगो र पानी खण्डकाव्य तथा चीसो चुल्हो महाकाव्य पनि प्रकाशित छ। बालकृष्ण समका प्रतिनिधि कविता नामक कवितासङ्ग्रह पनि उनको प्रकाशित देखिन्छ।हाम्रा राष्ट्रिय विभूतिहरू (२०२४) नामक जीवनी सङ्ग्रह पनि उनले प्रकाशित गराएका छन्।दुई दर्जन भन्दा बढी एकाङ्की सिर्जना गर्ने बालकृष्ण सम एकाङकीका तहमा पनि तीनै खालका (सामाजिक, पौराणिक, ऐतिहासिक) विषयवस्तुहरू अवलम्बन गर्छन्।बौद्धिक तथा शास्त्रीय पारामा नाटक तथा एकाङकी सिर्जना गर्ने सम रेडियो नेपालका डाइरेक्टर निर्देशक) पृथ्वी प्रज्ञा पुरस्कारका विजेता तथा एक सफल लेखक तथा स्रस्टा हुन्।नाट्य सम्राट समले त्रिभुवन विश्व विधालयबाट महाविधावारिधिको सम्मान पाउनाका साथै लामो समयसम्म साहित्य सेवा गर्दागर्दै वि.सं. २०३८ साल श्रावण ६ गते यस संसारबाट विदा हुन पुग्छन्।
समका नाट्यप्रवृत्तिहरू
·
नेपाली नाटकलाई आधुनिकतामा
पुर्याउने आधुनिक नाटककार,
·
गद्य तथा पद्य दुवै शैलीमा
नाटक लेख्ने नाटककार,
·
सुखान्त दु:खान्त दुवैखालका
नाटक लेख्ने नाटककार,
·
ऐतिहासिक पौराणिक तथा सामाजिक
तीनै प्रकारका नाटक लेख्ने नाटककार,
·
परिष्कारवादी शैली शिल्पको नाटक लेख्ने
नाटककार,
·
दार्शनिक बौद्धिक नाटककार,
·
पूर्वीय पाश्चात्य दुवै
ढाँचामा नाटक लेख्ने नाटककार आदि।
अन्धवेग नाटक: अन्धवेग बालकृष्ण समको मुटुको व्यथा नाटक पछि प्रकाशित दोस्रो दु:खान्त नाटक
हो।यो वि.स. १९९६ सालमा मृगेन्द्र
शमशेरको भूमिका सहित प्रकाशित देखिन्छ।मञ्चमा प्रसिद्धि कमाएको यो नाटक
मनोवैज्ञानिक दु:खान्त नाटकका रूपमा सुपरिचित छ।नाटकीय रचना विधानका आधारमा यस
नाटको विश्लेषण यस प्रकार गरिन्छ:
कथानक: सामाजिक विषयवस्तुको अन्धवेग नाटकको कथानक पात्र गरुडध्वज र पम्फाको
पारिवारिक स्थितिमा भानिज भाइ जयवीरको उपस्थितिबाट प्रारम्भ हुन्छ।पम्फाभित्रको
कामुक चेतना जयवीरलाई देख्नासाथ उम्लेर आउँदै गरेको परिस्थिति नाटकको सुरुवातमै
हुन्छ।पम्फाले टिपिक्क परेको चोलो लगाउँदै दमैलाई हकार्दै गरेको स्थिति पनि नाटकमा
देखिन्छ।जयवीर पम्फा प्रति आकर्षित हुँदै
जानु र आफन्तमा यस्तो अनैतिक कार्य राम्रो नहुने भन्दै पात्र मुगा र बैकुण्ठमानले
सम्झाउदै गरेको घटनाबाट यस नाटकको कथानको विकास हुन्छ।जयवीरले चेतन मनले भाउजू
प्रति कुदृष्टि लगाउन नहुने कुरा बोध गरे पनि वास्तविक जीवननमा पम्फाबाट टाढा रहन
नसक्नु र गरुडध्वजले आफ्नी श्रीमती पम्फालाई देवरसँग लहसिने श्रीमतीलाई सम्झाउन
नसक्ने स्थितिमा नाटकको कथानले विकसित रूप लिन्छ।यतिमात्र नभएर एकादशीका दिन
पशुपति जाँदै गरेको घटनाले नाटकको विकसित रूपको सङ्केत गर्छ।पम्फा, जयवीर र
मुगालाई लिएर पशुपति दर्शनका लागि जानु, बाटैबाट पम्फा पशुपति नगएर मुगालाई एक्लै
पशुपति जान लगाउनु र आफू बैकुण्ठको कोठामा फर्केर जयवीरसँग यौन लिप्सामा बस्ने
दुर्नियतले नाटकले गति लिन्छ।बैकुण्ठको कोठामा पम्फा र जयवीर ढोका लाएर बस्नु र
सोही समयमा गरुडध्वज बैकुण्ठको कोठामा आइपुग्नु र आक्रोशित बन्दै जयवीरलाई चापीले प्रहार
गरी मार्नु, गरुडध्वज स्वयंले पनि आत्महत्या गर्नु र पम्फा पनि दुर्घटनामा परेर
मर्नु यस यस नाटकको कथानको अन्त्य तथा समाप्ति हो।यसरी यस नाटकमा प्रमुख तीन
पात्रको मृत्युसहित नाटकको समाप्ति हुनाले यो दु:खान्त नाटक बन्न पुगेको छ।
द्वन्द्व: द्वन्द्व नाटकको निकै सबल तत्त्व हो।समको अन्धवेग नाटकमा आन्तरिक र बाह्य
द्वन्द्व दुवैको प्रयोग गरिएको छ।यस नाटकका प्रमुख पात्र त्रय गरुडध्वज, पम्फा र
जयवीर बीचको त्रिपक्षीय द्वन्द्वले विशेष र विकसित रूप लिएको छ।पम्फा र जयवीर एक पक्षमा
र गरुडध्वज प्रतिपक्षमा रहेर द्वन्द्वको सिर्जना गरेका छन्।अन्धवेग नाटकमा
परम्परागत संस्कार र पश्चिमी आयातिक संस्कारका बीच पनि द्वन्द्व रहेको
देखिन्छ।पारिवारिक व्यवस्थापन र कामवासनका बीचमा द्वन्द्वको स्थिति यस नाटकमा
देखिन्छ।भावनात्मक प्रेम र वासनात्मक प्रेमका बीचमा द्वन्द्वको स्थिति यस नाटकमा
देखिएको छ।श्रीमतीले बाटो बिराएपछि गरुडध्वजमा मानसिक द्वन्द्व उत्पन्न भएको
छ।फलत:उसले आफ्नै भानिज भाइ जयवीरलाई मार्न पुगेको छ।पम्फमा पनि तीव्र काम बासनाले
जयवीरसँग लहसिँदा सुन्दर पारिवारिक जीवन र यौन जीवनका बीचमा व्यापक मनोद्वन्द्व
सिर्जना भएको छ।यसै गरी जयवीरमा पनि नयाँ विवाह गरेर सुन्दर जीवन व्यथित गर्नु
पर्नेमा भाउजूसँग लहसिँदा व्यापक मनोद्वन्द्व सिर्जना भएको छ।पम्फाले आफूभित्र आगो
छ भन्नु, जयवीरलाई नपाए मर्छु भन्नुले पनि मनोद्वन्द्वको चरम रूप देखिन्छ।चरित्रमा
देखिएको त्रिपक्षीय अन्तबाह्य द्वन्द्वका कारण अन्धवेग नाटक द्वन्द्वात्मक सफल
नाटक बन्न सकेको छ।
पात्र वा चरित्र: नाटकमा चरित्रको विशद् महत्त्व रहन्छ।पूर्वीय नाट्य शास्त्रले वस्तु नेता र
रसलाई मूख्य नाटकीय तत्त्व मान्ने क्रममा नेता अन्तर्गत चरित्रलाई विशेष रूपमा
उठाएको छ र पाश्चात्य नाट्य शास्त्रले पनि चरित्र वा क्यारेक्टराइजेसन भनी
परिभाषित गरिएको छ।अन्धवेग नाटकमा लिङ्गका आधारमा स्त्री पुरुष, कार्यका आधारमा
प्रमुख सहायक गौण र प्रवृत्तिका आधारमा अनुकूल र प्रतिकूल स्वभावका पात्रहरूको
प्रयोग देखिन्छ।यद्यपि यस सन्दर्भमा मुख्य भूमिकामा रहेका प्रमुख चार पात्रको
मात्र चर्चा गरिन्छ:
पम्फा: पम्फा यस नाटककी प्रमुख स्त्री चरित्र हो।ऊ नाटकको प्रारम्भमा आफ्ना
सन्तानलाई ज्यादा माया गर्ने अनुकूल प्रकृतिकी देखिए पनि युवा जयवीरसँग प्रेममा
परेपछि प्रतिकूल प्रकृतिकी देखिएकी छ।ऊ यौनको आवेगको नियन्त्रण गर्न नसक्ने कामुक
चरित्र हो।धर्मलाई स्वार्थका रूपमा हेर्ने पम्फा सामाजिक मर्यादामा अडिन नसक्ने
चरित्र पनि हो।उमेर ढक्लेकी स्त्री भएर पनि टिम्के चोली लगाउन रुचाउने ऊ नक्कली
चरित्र हो। जयवीरको विवाह भाँड्दै युवकहरूसँग लहसिने पम्फा अन्ध प्रेममा होमिने
प्रकृतिकी चरित्र हो।गृहणी, पत्नी र माताको दायित्वबोध गर्दा गर्दै बहकिएकी
पात्रको रूपमा लिन सकिन्छ।समयको अन्तरालमा पम्फाको चरित्रमा केही नाजायज परिवर्तन
हुन थाल्छन्।श्रीमान्बाट यौन तृप्ति प्राप्त गर्न नसकेपछि पम्फामा यौनकेन्द्री
मनोविज्ञानको विकास हुन्छ र उसको पतन वा मृत्युको कारण पनि यो बन्छ थाल्छ।श्रीमान्प्रति
विकर्षण र जयवीर प्रतिको आकर्षणले उसको जीवन दु:खान्त तिर धकेलिएको छ।पम्फाको
स्वभावको टिप्पणी गर्दै दमैले यसो भन्छ- खसम चाहिँ अङ्ग्रेजको जस्तो धोक्रे
सुरुवाल लगाउँछन्- मोहोताबाट सर्प उक्ले पनि पत्ता नपाउने, पोथीलाई टिम्के चोली।
जयवीर नाटकको प्रारम्भमा
भाउजूको प्रपञ्चतिर आकर्षित नभए पनि अन्त्यमा पम्फातर्फ आकर्षित देखिएको
छ।समग्रमा पम्फा यस नाटककी केन्द्रीय चरित्र हो, छोराछोरी र श्रीमानसहितको सुखी
परिवारमा पम्फाकै चरित्र दोषका कारण नाटक दु:खान्त बनेको छ।
गरुडध्वज: गरुडध्वज यस नाटकको मुख्य पुरुष चरित्र वा नायक हो।धनाढ्य परिवारका
गरुडध्वजको रहनसहन पनि उच्च खानदानका देखिन्छन्।सामाजिक दृष्टिले पनि उनी प्रतिष्ठित
देखिन्छन्।सन्तान र पत्नीप्रति अत्यन्तै करुणा राख्ने गरुडध्वज सकारात्मक सोचका
चरित्र हुन्। सहनशील भए पनि आफूलाई धोका हुँदा अत्यन्तै आक्रामक देखिने गरुडध्वजले
आफ्नी श्रीमती प्रति अनैतिक क्रियकलाप गर्ने जयवीरलाई मारिदिएका छन्।श्रीमती प्रति
अत्यन्त्यै विश्वास गर्ने गरुडध्वज सोझो पनि किन छ भने उसले श्रीमतीले अनैतिक
कार्यलाई प्रश्रय दिएको निकै पछि मात्र चाल पाउँछन्।गरुडध्वजमा पुरुषत्वको भाव हुँदै
नभएको भने होइन किनभने पत्नीको पाउ पर्नु हुन्न भन्ने धारणा उसमा छ।छोराछोरीको
माया ममता नै ठूलो धर्म हो भन्दै गरुडध्वजले पशुपति पूजा गर्नु भन्दा छोराछोरीलाई
माया गर्न उत्तम हुन्छ भन्ने धारणा राखेका छन्।पारिवारिक मायाका कारण उनले
श्रीमतीको कमजोरी बेलैमा पत्ता लगाउन सक्दैन।निकै प्रतिशोधी भावनाको गरुडध्वज
आक्रोसित पात्र पनि हो किनभने उसले जयवीरलाई मारेपछि उसले आक्रोसमै आत्महत्या
गर्छ।ऊ प्रतिशोधी चरित्र पनि हो किनभने उसले प्रतिशोधी भावनाले उसले जयवीरलाई
मारिदिएको छ।समग्रमा गरुडध्व कमजोर मानसिकताको चरित्र हो।भने प्रतिशोधका लागि उसले
सबैलाई गुमाउने स्थितिमा पुगेको छ।
जयवीर: यस नाटकको अर्को पात्र जयवीर हो।उ यस नाटकको सहायक चरित्र हो।युवक जयवीर युवक
र निकै राम्रो खाइलाग्दो चरित्र हो।उनी आज्ञाकारी चरित्र हुन्।कविता गायन तथा
कविता सिर्जना पनि गर्न सक्ने प्रकृतिको जयवीरमा प्रारम्भमा निकै राम्रा गुणहरू
देखिन्छन्।जयवीर युवक भएर पनि पम्फाको दैहिक प्रेममा फँसेर अन्यत्र विवाह गर्न
इन्कार गर्ने पात्र पनि हो।साथीको सरसल्लाह मान्ने जयवीरमा अन्त्यमा पम्फासँगको
यौन सम्पर्कमा फँसेकाले ऊ कमजोर मनको पात्र पनि हो।आफ्नो भाउजूसँग यौनलिप्सामा
रमाउने जयवीरमा चारित्रिक दोष देखिन्छ।आफ्नै भाउजूसँग लहसिएका जयवीरको समाप्ति
पनि यौनावेगकै कारण भएको छ।
यसै गरी यस नाटकमा मुगा, धुरारि,
वैकुण्ठमान, चेप्टे, ठूल्नानी, भानु चिन्ची, दमाई जस्ता अन्य सहायक पात्रहरूको पनि
प्रयोग छ।
संवाद: संवाद विधानका
दृष्टिले अन्धवेग नाटक सफल नाटक हो।अन्धवेग नाटकमा पात्रको स्तर र मनोविज्ञान
बमोजिम संवाद गर्न लगाएर नाटककार बालकृष्ण समले सफल संवाद विन्यासका नाटकका रूपमा आफूलाई
स्थापित गरेका छन्।परिपक्क पात्रले बोल्ने संवादमा दार्शनिकता, बाल पात्रले
बोल्ने संवादमा बाल सुलभता प्रस्तुत गरिएकाले यो नाटकको पात्रमा कृत्रिमताको गन्ध
आउन दिइएको छैन।अन्धवेग नाटकको संवादमा सरलताका साथै स्वाभाविकता पनि
भेटिन्छ।कोमलता र सङ्क्षिप्तता पनि अन्धवेग नाटकको कुशल पक्ष हो।अन्य नाटकमा
बालकृष्ण समका अन्य नाटकमा देखिएको संवादगत विराटताका सापेक्षतामा यो नाटकको संवाद
अनुकूल र ठिक्क लमाइका देखिन्छ।
भाषाशैली: अन्धवेगको भाषा सरल,
सरस र नाटकीय संवादले अपेक्षा गरे बमोजिमको छ।बालकृष्ण सम वौद्धिक प्रकृतिको भाषिक
प्रयोग गर्ने साहित्यकार हुन् तर यस नाटकमा त्यस्तो गरुङ्गो भाषाको प्रयोग
छैन।समाजमा प्रचलित बोलीचालीका भाषाको अधिक प्रयोग यस नाटकमा देखिन्छ।सङ्गठनिक
भाषाको प्रयोग हुन अन्धवेग नाटकको विशेषता हो।अन्य नाटकमा झैँ काव्यात्मक भाषाको
प्रयोगबाट पनि यो नाटक पृथक छ।यस नाटकमा गीतको प्रयोग भने ठाउँ ठाउँमा देख्न
सकिन्छ।विविध उखान टुक्का, उक्ति र व्याकरणिक रूपमा नितात जस्ता भाषिक प्रयोग पनि
अन्धवेग नाटकमा छ।अलङ्कृत भाषा हुँदा हुँदै पनि भाषिक दृष्टिले अन्धवेग नाटक सफल
नाटक हो।
प्रतीक प्रयोग: बालकृष्ण समले यस नाटकमा थुप्रै प्रतीकहरूको प्रयोगमा रुचि देखाएका छन्।यस
नाटकमा सर्पलाई विविध स्थानमा खतरा र अशुभको प्रतीकका रूपमा प्रयोग गरिएको छ।यसै
गरी यस नाटकमा धोक्रे सुरुवाललाई उदारता, सोझो र खुकुलो पनको प्रतीकका रूपमा
प्रयोग गरिएको छ।पम्फाले कातेको बत्तीलाई भानुले खुट्टाले खुल्चेको घटनाले पनि
अनिष्ठताको प्रतीक बोध गराएको छ।अन्धवेग नाटकको शीर्षक आफैँमा प्रतीकात्मक
लाग्नाका साथै नाटकभित्र थुप्रै प्रतीकात्मक भाषाको प्रयोगले के पुष्टि गर्छ भने
यो नाटक प्रतीकात्मक नाटक हो।
अभिनयात्मकता: अभिनयात्मक विधा नाटकमा अभिनय पक्ष निकै कुशल हुन आवश्यक छ।अन्धवेग नाटकमा
वाचिक (बोलीद्वारा) अभिनयको प्रयोगधिक्य देखिए पनि आङ्गिक र सात्विक अभिनयको
प्रयोग पनि ठाउँठाउँ देखिन्छ।विविध सहज प्रस्तुतिका अभिनयका साथै विविध ठाउँमा
सूच्य अभिनयको प्रस्तुति पनि यस नाटकमा छ।भाषिक सरलता, प्रस्ट संवाद योजना, दैनिक
व्यवहार प्रचलित शब्द, अल्प चरित्र जस्ता पक्षले यस नाटकको अभिनय पक्ष निकै सफल
देखिएको छ।
उद्देश्य: हरेक नाटकको एक न एक उद्देश्य भए बमोजिम यस अन्धवेग नाटकको उद्देश्य भनेको
समाज सुधार गर्नु हो।मान्छेको कर्म सकारात्मक छैन भने उसको जीवन सुखात्मक छैन
भन्ने सन्देश पनि यस नाटक मार्फत दिन खोजिएको छ।आफ्नो कर्मको भोग आफैले गर्ने
हो।कसैले पनि कुकर्म गरेको छ भने कुनै न कुनै दिन त्यसको प्रतिकूल फल भोग्न
व्यक्ति वाध्य हुन्छ भन्ने कुरा यस नाटकमा व्यक्त गर्न खोजिएको छ।काम वासनाले
व्यक्तिको जिन्दगी ध्वस्त पार्छ भन्ने धारणा पनि यस नाटकमा व्यक्त गरिएको छ।दैहिक
सुखका लागि गरिने यौनकेन्द्री प्रेमले दुर्घटना निम्त्याउछ भन्न खोज्नु यस नाटको
उद्देश्य देखिन्छ।नैतिक मूल्यको स्खलनले समाजलाई विकराल स्थिति तर्फ धकेल्छ भन्न
खोज्नु यस नाटको मूल उद्देश्य हो।
निष्कर्ष:
नेपाली साहित्यका नाट्यसम्राट
बालकृष्ण समको दु:खान्त नाटक लेखनको नमुना नाटकका रूपमा अन्धवेग नाटक सफल छ।सामाजिक
कथावस्तुभित्र समाज सुधारको पवित्र उद्देश्य यस नाटकमा राखिएको छ।यस नाटक भित्र
आन्तरिक र वाह्य द्वान्द्वको विशाल साम्राज्य स्थापित छ।प्रतीकात्मक बन्नु यस
नाटकको विशेषता हो किनभने यस नाटकको शीर्षक नै प्रतीकात्मक छ।स्त्री, पुरुष र
अमानवीय पात्र प्रयोग भएको यस नाटकमा व्यापक वैचारिक र दार्शनिक दृष्टिकोण पनि
भेटिन्छ।बालकृष्ण समको नाट्य यात्राको विकसित समयतिरको नाटक भएकाले यस नाटकको
संरचना तथा नाट्य शिल्पविधान दुवै सङ्गठित छ।कथानक, द्वन्द्व, चरित्र, प्रतीक विधान,
भाषाशैली आदि नाटकीय रचना विधानका दृष्टिले यस नाटक सफल नाटक हो।
सन्दर्भ ग्रन्थ
उपाध्याय, केशव प्रसाद. (२०५२) समको दु:खान्त नाट्यचेतना. ललितपुर: साझा प्रकाशन।
खनाल, प्रीति. (२०६१) अन्धवेग नाटकको कृतिपरक अध्ययन. (अप्रकासित शोध पत्र), काठमाडौँ: नेपाली केन्द्रीय
थापा, अशोक. (२०६५) नाट्य समीक्षा र अन्य समालोचना. कीर्तिपुर: न्यू हिरा बुक्स।
विभाग कीर्तिपुर।
सम, बालकृष्ण. (२०४०) अन्धवेग, ललितपुर: साझा प्रकाशन।
Comments
Post a Comment