कविता (POEMS)


बसन्त
कविता
                               
-अशोक थापा(भरतपोखरी)





आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका
तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका
कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो
चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो
को हो!भन्छ बसेर मुक्त मधुरो स्वरै लिई कोकिल
लाऊँझैँ पिरती बसन्त ऋतुमा सारै रमेको दिल
पोखी सिन्दुरले प्रभात रमणी नौलाख आशा दियो
साँचो सार्थक जीवनी सरसभो बास्ना नयाँ भर्दियो
पल्टे मक्किएका मुढा जमिनमा उम्रे नयाँ भावरा
थोत्रा पात झरे बतास मेहरी उक्के पुराना जरा
फुल्छन् फूल खुशी भएर लहरा हास्दै छ रे पाहरा
झल्‌झल् झल्किएर अपार झरना क्या मोहनी छाहरा
नौलो आकशमा कतै रहरका यात्रा गरूँझैँ भयो
सुख्खा जर्जरिँदो धरा सतहमा पानी भरूँझैँ भयो
हट्दैछन् वनका विखालु लहरा फँस्दैछ सिंहै पनि
छर्दै सुन्दर ओखती वनभरी आनन्द आत्मा पनि
बिर्सन्छन् जनता दुखी शिशिरका पीडा र बेथाहरू
झस्कन्छन् पथमा उठेर जिउँदो लासै बनेकाहरू
आयौ धन्न जमाइ प्यार मुटुमा बसन्ती धन्य तिमी
नौलो राज समाज सुन्दरपुरी उस्तै सुसेली तिती


भो, अब छेपारो नबन
-अशोक थापा
२०६४ बैशाख १७

भो अब छेपारो नबन
इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए
सपानामाथि धावा बोले जनताका
विचारा ! विकासका मुनाहरू,
अब तिम्रो अभिमान बन्द गर
किनकी घोचो पनि मक्किएको छ अब
भत्किएको छ तिमी लुक्‍ने छिद्रहरू
ती कुकर्मका गम्भीर सवालहरू
ती घाती सम्झौताहरू
विचारका धमिराहरू
आस्थाका बिफ्वाँकका आदर्शहरू
रङ बदलेर कहिले काफल पाक्ने
कहिले बिऊ छर्ने तिम्रा मिथ्या आश्‍वाशनहरू
तिमी अब छेपारो बन्न सक्दैनौ
किनकी
तिम्रो रङ कस्तो छ, रोगन कस्तो छ
तिम्ले भन्ने छेपाराको आहान कस्तो छ
प्रस्ट छ तिम्रा चिनारीहरू
फेरी पनि युगले भनेको छ
मक्किएका छन् घोचाहरू
लेखिएका छन् रङरू
पढिएका छन् आहानहरू
सहिए थुप्रै गोताहरू
छाडिदेऊ लाचार नबन
भो अब छेपारो नबन

Comments