(BOOK REVIEW) जीवनीको आयाममा डा.बैनतेयानन्द -अशोक थापा

मान्छे टोलाउँछ, घोरिन्छ, सुर्ताउँछ अनि आफन्तको मृत्युमा विरक्तिन्छ पनि । अल्पायुमै हुने आफन्तको मृत्युले मान्छेमा तीव्र पीडाबोध जगाउँछ र त्यसबाट विराट शून्यता पनि निम्त्याउँछ ।  छँदाखाँदाको युवा उमेरका पति वा पत्नि गुमाएर शोकमा डुब्नु पर्ने घटना अकल्पनीय ट्रेजिडी हो, विरक्ति हो । शून्यतापछि सिर्जना भनेझैँ शोकलाई शक्तिमा बदल्नु झन् जाटिल कार्य हो । निकै सीमित व्यक्तिले आफ्नो पीडालाई सार्वजनिक गरेका हुन्छन् र त्यसमा निकै कमले मात्र सफलता पाउँछन् । पीडा लुकाए झन् थपिन्छ भनेझैँ त्यसलाई बाँडेमा पीडा न्यूनीकरण हुँदै जान्छ भन्ने भनाइ पनि छ मनोविद्हरूको । पुस्तकलेखन पीडा एवं संवेदना बिसाउने गतिलो माध्यम मानिन्छ । आफ्नो मृत आफन्तलाई सम्झँदै उनीहरूप्रति समर्पित भएर उनीहरूको जीवनवृत्तलाई जीवन्त बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि निजी अनुभूति पस्केर संस्मरणमा उनीहरूलाई ज्वलन्त बनाउने प्रयास पुस्तक लेखनबाट गरिन्छ । पुस्तक लेखन नै आफ्ना मृत आफन्तप्रति श्रद्धाञ्जली र समर्पण गर्ने गतिलो माध्यम बन्दै छ हिजोआज । यसो भएर नै होला विणा वैद्यले भूमिकामा भनेकी छन् सायद उहाँप्रति हार्दिक श्रद्धञ्जली व्यक्त गर्ने यो भन्दा अर्को उपयुक्त माध्यम पनि छैन होलायस गहन र संवेदनशील अभिव्यक्ति विणा वैद्यले सम्झनामा डा. बैनतेयानन्द वैद्य पुस्तकमा व्यक्त गरेकी हुन् ।
डाक्टर बैनतेयानन्द वैद्य लेखिका विणा वैद्यका पति हुन् । दाम्पत्य जीवनको दुई दशक पुग्न नपाउँदै हर्ट अट्रयाकका कारणले उनको निधन हुनु पुग्यो । निकै सुन्दर र सफल परिवारमा यस घटनाले व्यापक शून्यता थप्यो एक प्रकारको भूकम्प नै सिर्जान गर्‍यो त्यस घटनालाई वैद्यले ठूलो वज्रपातका रूपमा लिन चहान्छिन् । हुन पनि अल्पआयुमै श्रीमान् गुमाएर हाम्रोजस्तो पितृसत्तात्मक समाजमा सङ्घर्ष गर्नु एउटा चुनौतीको पहाडसँग पौठेजोरी खेल्नु हुँदै हो । श्रीमान्‌को अकल्पनीय निधनपछि पनि लेखिकामा परिवारको भावी जिम्मेबारी र साथै पीडाको आगो सँगसँगै सङ्घर्ष गर्नु परेको विकराल स्थिति सहजै बोध हुन्छ । लेखिका वैद्यले लामो समय ती तीता अनुभूतिलाई सम्झिरहिन्, आफ्नो जीवनसाथीसँगका अन्तरङ्ग संस्मरण पनि मस्तिस्कबाट मेटिन दिइनन् र २५ वर्षको पुण्य तिथिमा पुस्तककै रूपमा सार्वजनिक गरिन पुस्तक पठनीय बनाउने तहमा निरन्तर लागि नै रहिन् र जम्यो यो जीवनीमा आधारित पुस्तक ।
जम्मा १६४ पृष्ठको कलेबरमा संरचित सम्झनामा डा. बैनतेयानन्द वैद्य पुस्तक तीन खण्डमा विभक्त छ । यस पुस्तकको प्रथम खण्डमा विणा वैद्यको आफ्नो श्रीमान् प्रति अभिव्यक्त व्यक्तिगत धारणा छ, जहाँ उनले आफ्नो श्रीमान्‌को परिचय, शिक्षादीक्षा, वृत्तिविकास, स्वभावजस्ता व्यक्तिगत विवरण र उनको सामाजिक, सेवाकालीन, पारिवारिक स्वभावका बारेमा प्रकाश पारेकी छन् र प्रथम खण्डकै अन्त्यमा श्रीमान्‌कको अन्तिम दिन, त्यसपछि सात महिनाको पीडादायक सम्झना, एक्लो जीवनको पीडा र छोराहरूको भविष्यप्रति आफू जिम्मेबार हुनु पर्ने वाध्यताजस्ता कुराहरूलाई समेटिएको छ । यसै गरी पुस्तकको खण्ड २ मा डा. वैद्यप्रति आफन्त र सहकर्मीहरूको दृष्टिकोण प्रस्तुत गरिएको छ । त्यसमा विशेष गरी चिकित्सा क्षेत्रका व्यक्तिहरूको संस्मरण अधिक देखिन्छ । भाषागत दृष्टिले अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएका संस्मरणहरू यस खण्डमा छन् । यसै गरी प्रस्तुत पुस्तकको खण्ड तीनमा अनुसूची राखिएको छ । जहाँ बैनतेयानन्दको जीवनवृत्त (बायोडाटा) त्यसपछि उनको विविध समयमा प्रकाशित लेखहरूलाई राखिएको छ । विषयगत रूपमा मेल खाने तस्वीरहरुले पुस्तकलाई पठनीय र आकर्षक बनाएको छ ।
यस पुस्तकको मूल उद्देश्य लेखिकाको श्रीमान्‌को अचानक देहवसान भएपछि उनको मानसिकता र परिवार अनि आफन्तमा छाएको सन्नाटा, एकजना समाजसेवी डाक्टरको असामयिक निधनले इष्टमित्रमा पुर्‍याएको पीडाको अभिव्यक्तिलगायतका यावत स्मृतिहरूलाई पुस्तकमा समावेश गर्नु रहेको छ ।  
यो पुस्तकको सिर्जनाको कारकका सन्दर्भमा के भन्न सकिन्छ भने मान्छे सबैभन्दा भावुक र संवेदनशील त्यतिवेला हुन्छ जतिबेला आफन्तको मृत्यु हुन्छ । आफन्तको मृत्युमा हृदयशून्य, अवाक बन्ने गर्छ मान्छे । चरम पीडामा पनि आफन्तको सम्झनाले निरन्तर चिमोट्न भने छाड्दैन । त्यही भत्कोस र चिमोटाइबाट यो पुस्तक सिर्जना भएको देखिन्छ । यसका साथै आफन्तको छुटाइमा मान्छेको चित्कारले विराट रूप लिनु अस्वाभाविक होइन । आफन्त गुमाउँदा मान्छे रुन्छ, भक्कानिन्छ, तड्पन्छ, छटपटीमा बरबराउँछ र एउटा वीराट सत्यलाई स्वीकार्छ नश्वर भौतिक जीवन त्याग्ने चीज नै हो भत्रे निष्कर्षमा पुग्छ, निकै कम मान्छेले आफ्नो विराट पीडालाई अक्षरमा व्यक्त गर्छन् । यस पुस्तकमा त्यो काम गरेकी छन् विणा वैद्यले ।
आफन्तको विछोड कहाली लाग्दो हुने नै भयो त्यसमा पनि युवावस्थामै श्रीमान् गुमाउनु पर्दाको पीडा झन् कष्टकर हुने नै भयो ।  हाम्रो समाजमा नारी, त्यसमा पनि एकल नारीले भोग्नु पर्ने जटिलतम् महाभारत सहेर पनि पुस्तक प्रकाशन गर्नु भनेको हाम्रो सन्दर्भमा निकै चुनौतीपूर्ण कार्य हो त्यो जोखिम सजिलै मोलेकी छन् विणा वैद्यले यस पुस्तकमा । सँगै जिउने सँगै मर्ने कसम खाएका नेपाली दम्पति एकको अभावमा अर्को भक्कानिनु स्वाभाविक हुँदै हो आन्त मनलाई सँगालेर पनि पुस्तकमा मूर्त रूपमा प्रस्तुत हुनु जटिल र प्राविधिक दृष्टिले असजिलो काम हुँदै हो असजिलो बाटोलाई सहज तरिकाले सर्वजनिक गर्न विणा वैद्यले निकै कम साहसिक महिलाले गर्ने काम गरेकी छन् । युवा समयमै श्रीमान् गुमाउनु पर्दाको पीडा त्यो पीडाभित्र परिवार र सन्तानको व्यवस्थापन अनि एक नारी भएर समाजसँग सङ्घर्ष गर्दै जागिरे बन्नु पर्दा अनुभूत गरिएका अङ्चन, भोगिएका तीतामिठा ठक्करको सामूहिक आवाज बनेर आएको छ सम्झनामा डा. वैतनेयानन्द वैद्य पुस्तक ।
सम्झनालाई मूर्त रूप दिई मानसिक तुष्टिलाई मृत व्यक्तिको जीवनी लेखिन्छ । व्यक्तिगत अनुभूति जब समाजमा व्यक्तिन्छ त्यो सार्वजनिक अनुभूति र सर्वग्राह्य अनुभूति बन्छ पुग्छ । प्रस्तुत पुस्तक पठन गर्दा पाठकले आफैँमा समाहित भएर पुस्तक पढ्छ र जीवन सङ्घर्षका केही पाठ पनि अवश्यै ग्रहण गर्छ । त्यस प्रवृत्तिको लेखन कला विणा वैद्यमा देखिन्छ । जुन निकै कम लेखकमा हुन्छ । यस पुस्तकबाट आगामी पुस्ता, आफन्त र सिङ्गो समाजले जीवन सङ्घर्षको नमुनाको अवलोकन गर्छ र भविष्यको मार्ग पहिल्याउने मामिलामा प्रशस्त ज्ञान ग्रहण गर्न सक्ने छ । अतीतको घटनावलीबाट भविष्यको दिशाबोध गर्ने मामिलामा यो पुस्तक अब्बल देखिन्छ ।
पुस्तक लेखनका आआफ्नै प्रविधि र प्रक्रियाहरू हुन्छन् सायद । विणा वैद्यले आफ्ना जिजी अनुभूतिबाट पुस्तक लेखनको उठाउन गरेर आफ्नो श्रीमानका हितैषी मित्रहरूको संस्मरणबाट पुस्तकको वैठान गरेकी छन् जुन एक प्रभावकारी पद्धति बन्न पुगेको छ । यस पुस्तकले लेखिकाको आत्मा तुष्टि र समाजलाई एउटा अनुभवमा आधारित ज्ञान पस्केको छ ।
हरेक कुरा समयसापेक्ष हुन्छ ।  समय निरन्तर गतीवान पनि छ । आफ्नो श्रीमान् गुमाएको निकै समयपछि संस्मरण लेखिएकाले आफन्त पाठकलाई वासी अनुभूति पठनको समस्या पर्न सक्ने खतारा पनि यस पुस्तकमा देखिन्छ भने अर्कातिर समयको अन्तरालमा भोगिएका कतिपय महत्त्वपूर्ण संस्मरणको छुट्न सक्ने खतरा पनि उत्तिकै रहन्छ । यस खतराबाट प्रस्तुत पुस्तक पनि अछुतो रहने सकेको छैन । समयमै यो पुस्तक आउन सकेको भए झन प्रभावकारी हुने थियो । लेखक स्वयंले आफ्नै श्रीमान्‌का बारेमा लेख्नु विविध दृष्टिले चुनौतीपूर्ण छँदैछ । कतिपय आलोचनाका पक्ष आउन नसक्नु र अतिशय भावुकताले तथ्यलाई हस्तक्षेप गर्नु यस पुस्तकको सबल र दुर्बल पक्ष दुवै हो । आगामी दिनमा पनि यस प्रकृतिको प्रकाशनको अपेक्षासहित विदा

पुस्तकको नाम: सम्झनामा बेनतेयानन्द वैद्य
लेखकको नाम: विना वैद्य
प्रकाशक: मञ्चुका स्मृति अक्षय कोष
प्रकाशन मिति: २०७०
मूल्य: २५०
पृष्ठ: १६४
ISBN: 9789937261272


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन