काठमाडौँ उपत्यकाबाहिरका पुस्तकालय: यसका चुनौती तथा अवसरहरू (Libraries Out of Kathmandu Valley: Challenges and Opportunities))


१. पृष्‍ठभूमि
पुस्तकालय पेसाकर्मीको यति ठूलो जमात इलामको इति सुन्दर पर्यटकीय नगरमा आइपुग्नु काठमाडौँ उपत्यका बाहिरका पुस्तकालयहरूका लागि विशेषत: पूर्वाञ्‍चलका पुस्तकालयकर्मीहरूका लागि सानो सौभग्य होइन । प्रथमत: पुस्तकालयकर्मीको यति ठूलो जमात काठमाडौँ उपत्यका भन्दा बाहिर (मोफसल) पसेकोमा गर्व मान्‍नु पर्ने थुप्रै कारणहरू छन् । मोफसलका पाठकहरूको निकटतम ज्ञानप्रदायक संस्था भनेको उपत्यकाबाहिरको पुस्तकालय नै हो । मोफसलका पुस्तकालयहरू  सधै उपेक्षित नै न्शिक्षामा व्यापारीकरण गर्नेहरूको आँखा पुस्तकालयमा परेको छैन किनभने आजका विद्यार्थीहरू अग्ला भवन र सुकिला भेषभूषामा रमाउँछन्, किताबभित्र अक्षरमा रमाउने संस्कारको विकास भएको छैन 
आदरणीय यस सभाका सभापति महोदय, कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथि गण एवं पुस्तकालयकर्मी महिला तथा सज्जन वृन्द ! तुलसाले मिति २०६७-०९-३० देखि २०६७-१०-०४ सम्म आयोजना गर्दै गरेको कार्यक्रममा सहभागी हुँदै यस कार्यक्रमको शीर्षक निकै उपयुक्त एवं सान्दर्भिक लागेकाले यो सानो कार्य पत्रको सिर्जना गरिएको हो । यो अति नै गहन विषय भएकाले यसमा खासै आधिकारिक तथ्य केही आएन होला । आशा छ यस पत्रमा थप्न गर्नु पर्ने थुप्रै सुझावहरू मैले प्राप्‍त गर्ने छु ।
१.१ थालनी
माथि उल्लेखित शीर्षकमा नेपालका पुस्तकालयहरूलाई उपत्यका भित्र र बाहिरका पुस्तकालय भनी वर्गीकरण गरिएको छ । हामी सबै पुस्तकालयकर्मीलाई अवगत भएको कुरा नै हो वर्गीकरण (Classification) किन गरिन्छ?गर्गीकरण गर्नाले विषयको सूक्ष्मतम् अध्ययन गर्न सकिन्छ । यस शीर्षकभित्र पनि वर्गीकरणको ठूलो चित्र छ । जुन यस प्रकार छ:
- उपत्यकाभित्रको पुस्तकालय (पहिलो वर्ग),
- उपत्यकाबाहिरको पुस्तकालय (दोस्रो वर्ग)
शीर्षकको मर्ममुताविक यस कार्यपत्रले उपत्यकाभित्रक पुस्तकालयहरूको अवस्थाका विषयमा खासै विमर्श गर्दैन र बढी चासो उपत्यका बाहिरका पुस्तकालयहरूलाई दिन्छ । काठमाडौँ उपत्यकाका पुस्तकालय भन्‍नाले राजधानी काठमाडौँ भित्र[1] रहेकाका अन्‍य पुस्तकालय भन्दा विविध सन्दर्भमा विकसित पुस्तकालय बुझ्नु पर्छ जो हरेक अवसरका दृष्‍टिले सुसंस्कृत छन् । उपत्यकाबाहिरका पुस्तकालयका विषयमा चर्चा गर्दा कुन प्रकारका पुस्तकालय (शैक्षिक, सार्वजनिक, निजी, विशेष आदि) भन्‍ने अर्को समस्या आउँछ । त्यसका लागि समग्र पुस्तकालय जुन उपत्यका भन्दा बाहिर धिकिरधिकिर चलेका छन् भन्‍ने सबैले दिमागमा राख्‍नु पर्छ ।  
नेपालमा केन्द्रीकृत शासनव्यवस्थाका कारण राज्यका आर्थिक, प्रशासनिक, शैक्षिक तथा राजनीतिक संयन्त्रहरू एकात्मक पद्धतिमा सञ्‍चालन भएजस्तै पुस्तकालय क्षेत्र पनि यसबाट अछुतो छैन । पुस्तकालय क्षेत्रको स्थापना र विकासका सन्दर्भमा पनि केन्द्र हावी भएको छ भन्दा अत्युक्ति हुँदैन । काठमाडौँ उपत्यकाका पुस्तकालयहरूको अवस्था र उपत्यकाबाहिरका पुस्तकालयको स्थिति वा संरचनागत अवस्थाको तुलना हुन सक्ने स्थिति छैन । तुलनात्मक रूपमा पुस्तकालय क्षेत्रको विकास कमजोर भएको हाम्रोजस्तो अल्पविकसित देशमा उपत्यकाकै पुस्तकालयहरू पनि अति समृद्ध भने छैनन् । उपत्यकाका पुस्तकालय तुलनात्मक रूपमा मोफसलका पुस्तकालय भन्दा किन भिन्‍न छन् ? यस कार्य पत्रको केन्द्रीय प्रश्‍न पनि यही हो । यसै प्रश्‍नमा केन्द्रित हुँदा उपत्यका र मोफसलका पुस्तकालयको भिन्‍नता स्वत: छुट्‍याउन सकिन्छ ।  त्यसभित्र पनि मोफसलका पुस्तकालयले भोग्दै आएका समस्याहरू प्रशस्त छन् तर शीर्षकमा अवरसका विषयमा प्रकाश पार्ने लक्ष्य राखिएको छ । जति अवसर छन् त्यसको तुलनामा अधिक समस्याहरूको जालो छ भन्‍नेमा हामी सचेत हुनुपर्छ । सर्वप्रथम यहाँ उपत्यकाबाहिरका पुस्तकालयले भोग्दै आएका चुनौतीका विषयमा प्रकाश पारिन्छ:

१.२ चुनौतीहरू
क.     दक्ष मानवसंसाधनको अभाव
मोफसलका तुलनामा उपत्यकामा अवसरहरू प्रशस्त हुने हुँदा दक्ष मानव संसाधन बस्न मन पराउनु कुनै नौलो कुरा होइन । एउटामात्र नमुना लिने हो भने पनि स्नातकोत्तर तहको पुस्तकालय विज्ञान विषयमा मा प्रथम श्रेणीमा प्रथम हुने सत प्रतिशत जनशक्ति काठमाडौँ उपत्यकामा छ । नेपालका उच्च प्रख्यात दुई विश्‍वविद्यालयहरू (त्रि.वि तथा का.वि)[2] यहीँ हुनु, शिक्षाको आधारभूत पक्ष मजवुत हुनु, शिक्षित मसुदायको बसोबास धना हुनु, पठन संस्कृतिको विकास तीव्र हुनु, पुस्तकालय व्यवस्थापन तालिम प्रशस्त रूपमा काठमाडौँ उपत्यकामा सञ्‍चालन हुनु, बी. लिब्. एस्सी, अनि एम्.लिब्.एस्सी जस्ता पुस्तकालय क्षेत्रको उच्च तहको पठन पाठन कठमाडौँमा हुनु, अवसरका बिस्कुनहरू काठमाडौमा बग्रेल्ती भेटिनु जस्ता कारणहरूले काठमाडौँ उपत्यकामा पुस्तकालय क्षेत्रको विकास उचो रहेको हो ।  नेपालको सबैभन्दा ठूलो पुस्तकालय त्रि.वि केन्द्रीय पुस्तकालय, सरकारी तबरको राष्‍ट्रिय पुस्तकालय तथा केशर पुस्तकालय, काठमाडौँ भ्याली पब्लिक जस्तो सार्वजनिक पुस्तकालय तथा मदन पुरस्कार पुस्तकालय जस्तो उच्च महत्त्वका नीजि पुस्तकालय तथा राष्‍ट्रिय अभिलेखालय तथा अशा सफू कुथी जस्ता अभिलेखालयले काठमाडौँ उपत्यकको पुस्तकालयको अवस्थाको प्रस्ट चित्र दिन्छ । भौगोलिक दृष्‍टिले मात्र होइन अन्य व्यवस्थापकीय एवं भौतिक संचनाका कारण मोफसलका पुस्तकालय भन्दा काठमाडौँ उपत्यकाका पुस्तकालयहरू केही भिन्‍न छन् र विकसित पनि । यहाँ रहेका शैक्षिक संस्थाका पुस्तकालयमा पनि केही व्यवस्थापकी संस्कार प्रारम्भ भएको छ ।  काठमाडौँ उपत्यका छाड्‍यो भने पछि परिन्छ र जीवनमा सफल भइँदैन भन्‍ने अर्को गलत संस्कृतिको विकास भएकाले पनि मोफसलका पुस्तकालहरू जुन रूपमा उन्‍नत हुनु पर्ने हो त्यस रूपमा हुन सकेका छैनन् । नेपालको सन्दर्भमा पेशागत दक्षता हासिल गरेका जनशक्ति काठमाडौँ उपत्यका बाहिर न्यून भेटिनु पनि मोफसलका पुस्तकालयका लागि ठूलो चुनौती हुन पुगेको हो ।

. पुस्तकालय खोल्नु पर्छ भन्‍ने चेतनाको अभाव:
जबसम्म चेतनाको विकास र विस्तार हुँदैन तबसम्म कुनै पनि क्षेत्रको विकास सम्भव छैन । पुस्तकालय क्षेत्रको विकासका लागि पनि नागरिकमा चेतनशीलताको विकास हुन आवश्‍यक छ । पुस्तकालय किन स्थापना गर्ने? र यसको उपयोगिता के हो? न्‍ने विषयमा उपत्यका बाहिरका वासिन्दाको चासो कम पुगेको । कतिपय विद्यालयमा पुस्तकाल भनेको के हो? भन्‍ने सम्मको चासो पनि पुगेको देखिँदैन । फुर्सदको समयमा घरको काम गर्नु पर्छ, पुस्तकालय जान अवश्यक छैन भन्‍ने चलन अझ पनि ग्रामीण भेगमा विद्यमान छ, किन भने बिहान बेलुका घाँस काटेर[3] स्कुल पढ्नु पर्ने परिस्थितिमा कहाँको पुस्तकालय अध्ययन गर्ने ? भन्‍ने सम्मको स्थिति विद्यमान छ । अधिकांश समय खेती किसानीमा बिताउनु पर्ने स्थानीय अविभावक पनि पुस्तकालय स्थापनाका विषयमा चेतनशील छैनन्; चेतना भएका न्यून व्यक्तिसँग पनि स्पष्‍ट खाका तथा ज्ञान छैन कि पुस्तकालय स्थापना गर्दा के गर्नु पर्छ । त्यसमाथि आर्थिक जोहो त परको कुरा हो । पुस्तकालयको अर्थ, उद्देश्य, महत्त्व, कार्य आदिका स्पष्‍ट जानकारी नहुनु पनि पुस्तकालय स्थापनाको अर्को समस्या हो । विद्यालय - महाविद्यालयमा पनि बाहिरी ज्ञान दिने मामिलामा खासै बहस हुँदैन र केवल किताबी ज्ञान जुन पाठ्‍यक्रमले निर्देश गरेको छ, त्यसतर्फ मात्र केन्द्रित रहेको देखिन्छ । यसर्थ पुस्तकालय स्थापनाको लागि चेतना नहुनु उपत्यका बाहिरका पुस्तकालयको दुर्दशा हो ।
ख.  भौतिक असुविधा
मोफसलमा रहेका पुस्तकालयका लागि जग्गा-जमिन सजिलै उपलब्ध भए पनि पुस्तकालय स्थापनाका लागि अत्यावश्‍यक हुने भौतिक सामग्री (आर्थिक, पुस्तक, फर्निचर, जनशक्ति, समय, भवन) आदिको अभाव टङ्कारो रूपमा देखिने गरेको छ । पुस्तकालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि जुन रूपमा सामग्रीहरूको आवश्यकता पर्छ त्यसको उपलब्धता निकै जटिल भएकाले भौतिक असुविधा हुनु पनि मोफसलका पुस्तकालयको अर्को चुनौती हो । आफ्नो पारिवारको गास-बास र शिक्षामा लगानी गर्न नसक्ने बासिन्दा, भनेको बेलामा आफ्नो खेतीमा युरिया मल किनेर हाल्न नसक्ने तथा सित लहर र सिरेठोबाट बाँच्न सिरक किन्‍न नकस्ने नागरिकबाट पुस्तकालयको भौतिक सुविधा झुटाउ प्राय: असम्भव छ ।  
. पुस्तकालय सामग्रीको अभाव
पुस्तकविनाको पुस्तकालय कस्तो होला? यो कल्पना पनि गर्न सकिँदैन । आजको पुस्तकालय भनेको पुस्तकहरूको घर मात्र नभएर सूचनाको खानी पनि हो । मोफसलका पुस्तकालयका लागि सबैभन्दा चुनौती पूर्ण कार्य भनेको पुस्तकालय सामग्रीको अभाव हो । पुस्तकालयमा चाहिने उपयुक्त र आधिकारिक सामग्री सङ्कलन गर्नका लागि आर्थिक, भौतिक, मानसिक तथा प्रशासनिक प्रक्रियाहरू निकै जटिल हुने गर्छन् । पुस्तकालयमा कुन प्रकारका सामग्री राख्‍ने, कति राख्‍ने, कसरी राख्‍ने, किन राख्‍ने, कसका लागि राख्‍ने लगायतका सवालमा स्पष्‍ट हुँदै विद्युतीयदेखि परम्परागत प्रकृतिका सामग्रीको सङ्कलन मोफसलका पुस्तकालयहरूका दैनन्दिन चुनौतीका रूपमा देखा परेका छन् । उत्तरआधुनिक समाजले निर्माण गरेका सी.डी, डी.भी.डी, अडियो, भिडियो प्रकृतिका डिजिटल सूचनाका विषयमा मोफसलका नागरिक तथा पुस्तकालयकर्मी प्राय: अनविज्ञ छन् ।
. पाठकको अभाव: पुस्तकालयको स्थापना पाठकविना व्यर्थ छ । पुस्तकालय विद् रङ्गनाथनले पनि पाठकलाई निकै प्राथमिकता दिएका छन् । [4] मोफसलका पुस्तकालयको लागि अर्को महत्त्वपूर्ण चुनौती भनेको पाठकको खडेरी हो । ग्रामीण समुदायमा अधिकांश समय खेती किसानमा बिताउनु पर्ने भएकाले न्यून रूपमा स्थापना भएका पुस्तकालयमा पनि पाठको उपस्थिति नगन्य रहेको Five Laws of Library Scienceछ । किनभने मोफसलका पुस्तकालयमा प्रशस्त सामग्री छैनन् कि पाठक छानी छानी आफ्नो ज्ञान रूपी प्यास मेटाउन सकून् । अधिकांश अभिभावक साक्षर नभएकाले आफू स्वयं त पुस्तकालय धाउँदैनन् र आफ्ना केटा केटीलाई पनि पुस्तकालय जानका लागि प्रोत्साहन गर्दैनन् । पाठकको अभाव हुने अर्को कारण समयको पावन्दी पनि हो । पुस्तकालयको महत्त्व नबुझ्दा पनि पाठक नहुने समस्या मोफसलका पुस्तकालयमा देखिएको । शैक्षिक संस्थाका पुस्तकालय पनि विद्यार्थीलाई पुस्तकालयको महत्त्व बुझाउन सफल भएका छैनन् । यसर्थ पाठकको अभाव हुनु उपत्यका बाहिरका पुस्तकालयको चुनौती हो । सर्वसुलभ र व्यवस्थित पुस्तकालय नभएका कारणले पनि पाठकको कमी भएको कुरा पनि यस सन्दर्भमा भुल्न मिल्दैन ।
. प्राविधिक ज्ञानको अभाव
नेपालका पुस्तकालका लागि सूचना प्रविधि काउछाको माला भएको तथ्य घाम जत्ति कै छर्लङ्ग छ । सूचना प्रविधिमा पहुँच नहुँदा नेपालका पुस्तकालयहरू जुन रूपमा विकसित हुनु पर्ने हो त्यस रूपमा भएका छैनन् । केन्द्रमा त प्रविधिको विकास हुन सकेको छैन भने मोफसलमा यसको अभाव हुनु स्वाभाविकै हो । प्राविधिक रूपमा पुस्तकालय चल्नु पर्छ भन्‍ने  ज्ञानकै पनि अभाव एवं ज्ञान हुँदा हुँदै पनि प्रविधिमा पहुँचको अभाव नहुनु मोफसलका पुस्तकालयहरूको मूल चुनौती हो । सूचना प्रविधिका कुरा सजिलै उपलव्ध नहुने, उपलब्ध भए पनि महँगो हुने, जसै उपलब्ध भएका कम्प्युटर लगायतका प्रविधि सञ्‍चालनका लागि आवश्यक ज्ञान नहुने समस्या नेपालका अधिकांश पुस्तकालयले भोग्दै आएको समस्या हो ।  पुस्तकालयको मर्म र भावना बुझेका दक्ष पुस्तकालय कर्मी मोफसलमा औँलामा गन्न भ्याइन्छ त्यस मध्ये कम्प्युटर प्रविधिको ज्ञान भएका व्यक्तित्व त झन् टाढाको कुरा भयो; यो पनि मोफसलका पुस्तकालयको अर्को ज्वलन्त समस्या हो ।
. भौगोलिक विकटता
मोफसलका कतिपय जिल्लाहरू यस्ता छन् जहाँ सवारी साधनको त के कुरा भनेको बेलामा खच्चर पाउन पनि गाह्रो पर्छ । पहाडी क्षेत्रका हवाइ मार्ग पनि सर्वसुलभ र सुरक्षित छैनन् ।  पुस्तकालय स्थापनाका लागि जति पनि भौतिक व्यवस्थापकीय सामग्रीहरूको आवश्यकता पर्छ त्यसको व्यवस्था  गर्न भूगोलले चुनौती दिइरहेको । आवत जावत गर्न तथा पुस्तकालय सामग्रीको व्यवस्थापन गर्न भौगोलिक रूपमा जटिल हुने हुँदा मोफसलका पुस्तकालयहरूको चुनौती भनेको भौगोलिक रूपमा विकट हुनु हो । विकट ठाउँमा मानिसहरूको वसोबास घना हुँदैन, मानिसको वसोबास नभएको ठाउँमा पुस्तकालय स्थापनाको कुनै सम्भावना नै रहँदैन, पाठकको सङ्ख्या अल्प हुने हुँदा विकटता नै अभिषाप बनेको यथार्थ हामी माझ छ । विकट ठाउँमा सूचना प्रविधिको पहुँच पुग्न पनि सक्दैन । भूगोलका कारण मोसफसलका पुस्तकालय टाक्सिएका छन् ।   
. राजनीतिक प्रशासनिक अकर्मन्यता
पुस्तकालयको विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ भने प्रशाशनिक इच्छा शक्तिले पनि उत्तिकै भूमिका निर्वाह गरेको हुन्छ । नेपालका राजनीतिक दलका नेताहरूले पुस्तकालयको विकास र महत्त्वका विषयमा कम बोल्ने गर्छन् भने आफ्नो घोषणा पत्रमा पनि हात्तीको देखाउने दाँत झै (उल्लेख गर्नाका लागि मात्र) पुस्तकालयलाई लिने गर्छन् ।  प्रशाशनिक रूपमा स्थानीय निकायहरू (गा.वि.स./जि.वि.स) पुस्तकालयको विकासका लागि सजिलै आवाज उठाउँदैनन् र उठाउ नै परे पनि व्यक्तिगत स्वार्थ र आफन्तलाई जागिर दिनका लागि आवाज उठाउने गरेको तथ्य पनि उत्तिकै उदाङ्ग छ । हामी आज खुला वातावरणमा हुर्किएका पुस्ताका लागि प्रशाशनिक अकर्मन्यताका विषयमा खासै थाहा नहोला तर एक पटक पुस्तकालय पर्व (लाइब्रेरी पर्व) लाई हेरौँ त प्रशासनले के मात्रै गर्दैन यो प्रशासनिक अकर्मन्यता र राज्‍य आतङ्कको ज्वलन्त नमुना हो । यसै गरी पञ्‍चायत कालमा वि.स. २०२९ साल असार १ गते विदेशी नियोगका पुस्तकालय बन्द गर्न राज्यद्वारा गरिएको निर्णय पनि एक अर्को नमुना हुन सक्छ । [5]पुस्तकालय क्षेत्र हेपिएको एक पक्षका रूपमा हुनु र राजनीतिक प्राथमिकता नपर्नु केन्द्रदेखि मोफसलका पुस्तकालयका लागि गम्भीर चुनौती हो । स्थानीय निकायको शैक्षिक कार्यक्रमभित्र पुस्तकालय स्थापना र रेखदे रहने गरे पनि यथोचित रूपमा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । प्रशासनले सकारात्मक रूपमा पुस्तकालयलाई हेर्ने गरेको देखिँदैन ।
. राजनीतिक अस्थिरता
 राजनीतिक अस्थिरताले देशका हरेक क्षेत्र प्रभावित भए जस्तै पुस्तकालय क्षेत्र पनि प्रभावित छ । राजनीति भनेको नीति निर्माणको महत्त्वपूर्ण क्षेत्र हो । सही नीति निर्माण विना कुनै पनि क्षेत्रको उन्नति असम्भव भएजस्तै पुस्तकालय क्षेत्र पनि यसको सिकार भएकै छ । विशेष गरी राजनीतिक आन्दोलन, मधेश आन्दोलन, लिम्बूवा-खुम्बुवान आन्दोलनले स्थानीय निकायहरूमा निकै मार पर्‍यो; यसको असर अन्य क्षेत्र जस्तै पुस्तकालय क्षेत्रमा पनि पर्‍यो । यसर्थ राजनीतिक अस्थिरता मोफसलका पुस्तकालयका लागि ठूलो चुनौती हो । राजनीति स्थिर रहनु भनेको शिक्षा लगायतको क्षेत्रको सर्वाङ्‌गिण विकास हुनु हो शैक्षिक कार्यक्रमसँग पुस्तकालयको निकट सम्बन्ध हुने भएकाले राजनीतिक स्थिरता पनि पुस्तकालयका लागि नभइ नहुने आधारभूत पक्ष हो ।
. संस्कारको अभाव
पुस्तकालयका सन्दर्भमा संस्कार भन्‍नाले अध्ययन संस्कार भन्‍ने बुझ्नु पर्छ भने अन्य मानवीय क्रियाकलापले पनि यसमा भूमिका निर्वाह गरेको हुन्छ । संस्कार भनेको सभ्यताको नमुना हो । गलत संस्कारले समाज विकास नभए जस्तै पुस्तकालय क्षेत्रको पनि विकास हुँदैन । पढ्ने, लेख्‍ने, अनुसन्धान गर्ने, देश विदेशका यावत कुराहरूका बारेका जानकारी राख्‍ने शिक्षित संस्कार भएको समाजमा स्वत: पुस्तकालयको विकास हुने गर्छ । संस्कार भनेको उन्‍नत विचार पनि हो । समृद्ध सोचाइ पनि । समृद्ध सोचाइले भातृत्व र भगिनीत्वको विकास पनि गराउँछ । सही र परिष्‍कृत संस्कारको अभावमा समाज सेवा केन्द्री पुस्तकालयको विकास सम्भव छैन । विशेष गरी अशिक्षित नागरिकको बहुलता भएको नेपालको ग्रामीण भेगमा पुस्तकालय विकासको संस्कारगत विकास नहुनु त्यति नौलो होइन यस कारण मोफसलका पुस्तकालय भोग्ने गरेको अर्को चुनौती संस्कारको अभाव पनि हो ।
. उदाशीन सरकारी नीति
नेपालका सन्दर्भमा सरकारले पुस्तकालय क्षेत्रको विकासका लागि हालसम्म पनि कुनै स्पष्‍ट र ठोस नीति अख्तियार गरेको छैन । शिक्षा विकासका विविध प्याकेजको अवधारणा अगि सारे पनि त्यससँग जोडिएको पुस्तकालयको विकासका लागि सरकारी संयन्त्र मौन रहनु गम्भीर समस्या देखिएको छ । राजनीतिक नारामा मोफसल, पिछडा क्षेत्र, कर्णाली क्षेत्र भन्‍ने गरिए पनि नागरिकको प्रत्यक्ष जीवनसँग सरोकार राख्‍ने पुस्तकालय क्षेत्रको विकासका लागि कुनै ठोस नीतिगत प्रयास नगरिनु मोफसल तथा नेपालका समग्र पुस्तकालयको समूहिक समस्या हुन पुगेको छ । स्पष्‍ट ऐनको व्यवस्था गर्दै पुस्तकालय विकासका लागि एक सरोकारवाला विकास बोर्डको निर्माण गरेको खण्डमा उक्त अधिकार वाला बोर्डले मोफसललाई हेर्ने एक छुट्टै विभागको स्थापना गरी मोफसलका पुस्तकालयको विकास गर्न सकिन्छ ।     
 काठमाडौँ उपत्यका भन्दा बाहिर अन्य जिल्लामा पुस्तकालकति छन् त्यसको आधिकारिक तथ्याङ्क ज्ञात छैन । एउटा तथ्य के ज्ञात छ भने दार्चुलाको पुस्तकालयले जुन समस्या झेलिरहका छन्, ताप्लेजुङको पुस्तकालय पनि त्यही समस्या भोगेकान् । ती समस्याहरू पुस्तकालय खोल्नु पर्छ भन्‍ने चेतनाको अभाव, दक्ष मानव संसाधनको अभाव, भौतिक सुविधायुक्त भवन वा क्षेत्रको अभाव, पुस्तकालय सामग्रीको अभाव, पाठकको अभाव, आर्थिक असुविधा, प्राविधिक अभाव आदि साझा समस्या हुन सक्छन् । ती साझा समस्याहरूका साझा निराकरणका उपायहरू खोज्न पर्ने आजको आवश्यकता हो ।
१.३ अवसरहरू
संघीय राज्यको अवधारणा
 नेपाल देश संघीय राज्यमा जाँदै छ भन्‍ने हाल्ला सदनदेखि सडकसम्म नौलो होइन । संविधान सभामा त लामो समयदेखि यस विषयमा वहस भइरहकै छ । नयाँ संविधान बन्ला? या नबन्ला? बन्यो भने संघीयता सहितको संविधान बन्ने निश्‍चित छ । यो नेपाली जनताको चाहना पनि हो ।  संघीय राज्यमा केन्द्र र मोफसल भन्‍ने घेरा रहने छैन । सबै राज्यहरू स्वतन्त्र र आफ्नो क्षेत्रप्रति प्रत्यक्ष जवाफदेही हुनेछन् । उक्त समयमा स्वभावैले त्यस क्षेत्रका पुस्तकालयहरूले प्राथमिकता पाउने छन् ।  यो उपत्यका भन्दा बाहिरका पुस्तकलयका लागि एउटा उपयुक्त अवसर हो । कुनै पनि राज्यको विशेषता र विकासका पूर्वाधारमा शिक्षा पनि पर्ने र शिक्षा लिने र दिनेका लागि पुस्तकालय निर्विवाद रूपमा पर्ने भएकाले संघीय राज्यको अवधारणामा काठमाडौँ बाहिरका पुस्तकालयहरूले विकसित हुने अवसर पाउने छन् ।
सूचना प्रविधिको राजनीतिक सीमाना हुँदैन
सूचना प्रविधिको विकासले आज संसार एक गाउँमा परिणत हुदै छ । सूचना प्रविधिले के गाउँ, के शहर अब छुट्याउने छैन, जुनसुकै कुना कन्धरामा पनि इन्टरनेटको सहायताले जुनसुकै विकसित स्थानको मोडल भित्र्याउन सकिने सम्भावना बढेर गएको छ । सञ्‍चारको विकासले नेपालका प्राय: सबै जिल्लामा टेलिफोन (मोबाइल) सेवा पुग्नाको साथ साथै इन्टरनेटको पनि सेवा विस्तार हुँदैछ । अबको पुस्ता गाउँकै किन नहोस् कम्प्युटरमा साक्षर बन्दैछन् । मोफसलका पुस्कालयले पनि आफूलाई अद्यावधिक गर्दै इन्टरनेटको पहुँचमा आफूलाई रख्‍न सकेको खण्डमा अनकन्टार गाउँमा बसेको छु भनेर निराश हुनु पर्ने अवस्था छैन । त्यसकारण उपत्यका बाहिरका पुस्तकालयले पनि इन्टरनेटको प्रयोगलाई चासोका साथ लिएर क्रियाशील हुने हो भने पुस्तकालय क्षेत्रको विकास गर्न कठीन छैन । इन्टरनेटको पहुँचले एकातिर पुस्तकालय स्थापनाको मोडेल प्रस्तुत गर्ने छ भने अर्कातिर पुस्तकालयमा अध्ययन गर्न आउने पाठकलाई सूचना सम्प्रेषण गर्न सकिने छ । यसर्थ सूचना प्रविधिमा घुलमिल भएर यसलाई एक अवसरका रूपमा मोफसलका पुस्तकालयले उपयोग गर्नु पर्छ ।
साक्षरता दरमा वृद्धि
 नेपालमा ६५ प्रतिशत पुरुष र ४५ प्रतिशत महिला साक्षर रहेको तथ्याङ्क छ । यसरी साक्षरताको दर बढ्दै गरेको सन्दर्भमा उक्त साक्षर समुदायलाई पुस्तकालय निर्माणको अभियानमा लगाउने अवसर मोफसलका पुस्तकालयले चुकाउनु हुँदैन । साक्षरता दर बढ्नु भनेको चेतनशील नागरिक बढ्नु हो । चेतनशील नागरिकहरू जहिलेसुकै शैक्षिक एवं प्राज्ञिक क्षेत्रको विकासमा लाग्न मन पराउँछन् । पढ्ने लेख्‍नेको सङ्ख्या बढ्नु भनेको पुस्तकालय क्षेत्रलाई माया मान्‍ने समुदायको विकास हुनु हो । यसर्थ मोफसलका पुस्तकालयहरू आआफ्नै ठाउँका चेतनशील तथा साक्षर नागरिकलाई साथमा लिएर पुस्तकालय स्थापना गर्ने अभियानमा लाग्नु पर्छ । यो उनीहरूका लागि गतिलो अवसर हो ।
गैर सरकारी संस्थाको केन्द्र
नेपालमा गैर सरकारी संस्थाको त्यति राम्रो र सकारात्मक इज्जत छैन । त्यति हुँदा हुँदै पनि मोफसललाई प्राथमिकातामा राख्‍नु यस्ता संस्थाहरूको विशेषता हो । यसबाट मोफसलका कतिपय समुदाय लाभाव्वित पनि भएका छन् । पुस्तकालय क्षेत्रमा पनि विविध प्रकारका संघ संस्थाहरू क्रियाशील छन् । जस्तै: READ, Room to Read, UNESCO; यी संस्थाहरूले उपत्यकाका बाहिरका पुस्तकालयलाई केन्द्रमा राखेर थुप्रै काम गरिरहेका छन् त्यसको उपयोग गर्नु मोफसलका पुस्तकालहरू आजैबाट क्रियाशील हुनु पर्छ । यो उनीहरूका लागि एक प्रभावकारी अवसर हो । गैर सरकारी संस्थाबाट लाभ लिने भन्‍ने सन्दर्भमा सस्ता विकासे संस्थाहरूले एक हातले दिएर  दुई हातले लिनेहरूसँग भने सतर्क हुनै पर्छ । यसो भनिरहँदा पूरै गैर सरकारी संस्थाको प्रतीक्षामा बस्ने भन्‍न खोजिएको भने होइन ।
शिक्षामा विकास
 नेपालमा शिक्षा विकासको क्रम बढ्दो छ । जस्तोसुकै गाउँठाउँमा पनि विद्यालयको स्थापना भएको छ । पढ्ने लेख्‍नेहरूको सङ्ख्या निकै उत्साहजनक तरिकाले बढिरहेको छ । अगाडि नै उल्लेख गरिसकियो पुस्तकालय नितान्त बौद्धिक प्राज्ञिक क्षेत्र हो । यसको विकासले पुस्तकालय विकासको अभियानलाई नसघाउने प्रश्‍नै आउँदैन । शिक्षाको विकास हुना साथ एकातिर पुस्तकालय प्रयोग कर्ताको सङ्ख्या बढ्छ भने अर्कातिर पुस्तकालय स्थापनाको अभियानमा लाग्ने जमातको विकास हुन्छ, पुस्तकालयलाई माया गर्ने संस्कृतिको विकास हुन्छ र अध्ययन संस्कृतिको विकास हुन्छ । सन् २०१५ सम्ममा सबैका लागि शिक्षा भन्‍ने युनेस्कोको नाराले पनि यसलाई झन थप टेवा पुर्‍याएको छ । शिक्षामा विकास भइरहेको वर्तमान परिप्रेक्ष्यलाई मोफसलका पुस्तकालयले अवसरका रूपमा लिनु पर्छ ।  
 निष्कर्ष/सुझाव
  •  पुस्तकालय स्थापनका लागि मोफसलका नागरिकहरूले दक्ष जन शक्तिलाई आकर्षण गर्न सक्नु पर्छ भने हरेक नागरिकले आफ्नो गाउँ ठाउँको सेवालाई मानवीय कर्तव्यको एक नमुनाका रूपमा लिने हो भने मोफसलमा पुस्तकालय क्षेत्रको विकास हुन्छ ।
  •   पुस्तकालयको उपयोगिता, महत्त्व, कार्य आदि विषयमा जनचेतना फैलाउनु पर्छ ।  पुस्तकालयले ज्ञान रूपी प्रकाश छर्छ बन्ने सोचाइ राखेमा मोफसलका जुनसुकै प्रकारका पुस्तकालय पनि विकसित हुन सक्छन् ।
  •  स्थानीय तवरमा देखिएका भौतिक असुविधाहरूलाई हटाउन आआफ्नो क्षेत्रबाट लाग्नु पर्छ । आर्थिक सङ्कलन देखि सामग्री सङ्कलन सम्मका लागि विशेष चासोसहित लाग्न सकेमा स्थानीय स्तरमा पनि पुस्तकालयको स्थापना गर्न खासै समस्या छैन ।  
  •  पुस्तकालयमा कुन कुन प्रकृतिका सामग्री राख्‍नु पर्छ, त्यसका स्रोहरू के के हुन सक्छन्, पुस्तकालयमा राखिने सामग्रीहरूका लक्ष्यित समूह कुन हो भन्‍ने विषयमा जागरुक हुन सकेको खण्डमा मोफसलमा पनि पुस्तकालय स्थापना  गर्न गाह्रो छैन ।
  •  पुस्तकालयमा जति पाठक छन् । ती सही पाठक हुन् भन्‍ने मान्यताले पुस्तकालयको स्थापना गर्नु पर्छ, पुस्तकालय प्रति नकारात्मक सोच भएका पाठकको मानसिकता पनि परिवर्तन गरी पुस्तकालयलाई माया गर्ने जमातको विकास गर्न आवश्यक छ ।
  •  संसारमा विकसित भए गरेका वैज्ञानिक उन्नति, कम्प्युटर प्रविधिका विकासका विषयमा जानकार रहँदै स्थानीय स्तरमा यसको उपयोगीताका विषयमा प्रकाश पार्नु आवश्यक छ भने अर्कातिर पुस्तकालय क्षेत्रको विकासमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्‍ने तर्फ पनि लाग्नु पर्छ ।
  • भौगोलिक रूपमा विकट भए पनि संस्कारको विकासमा टेवा पुर्‍याउनु पर्छ, शिक्षाको महत्त्व र त्यससँग पुस्तकालयको नाता कस्तो हुने गर्छ भन्‍ने विषयमा विशेष रूपमा प्रकाश पार्ने तर्फ केन्द्रित हुनु पर्छ ।
  •  राजनीतिक नेतालाई खवरदारी गर्दै भोट बैंकका रूपमा मात्र नागरिकलाई हेर्ने नगर्नुहोस् भन्दै हाम्रै स्थानीय तहमा पुस्तकालय स्थापना गर्नु पर्छ । नागरिकले पढ्न पाउनु पर्छ, ज्ञान आर्जन पहिलो सर्त हो भन्दै स्थानीय तहका प्रशासनिक कर्मचारीलाई शिक्षा र पुस्तकालयको विकासका लागि सकारात्मक हुने सुझाव दिनु पर्छ ।
  •   राजनीतिक तरलताका कारण देशको विकास धरासायी भए जस्तै पुस्तकालय क्षेत्र पनि लथालिङ्ग भएको हो भन्दै प्रत्येक नागरिकले स्थिर राजनीतिक विकासका लागि दवाव तथा पहल साथसाथै गर्नु पर्छ ।
  •  अध्ययन संस्कृतिको विकासका लागि हदै सम्म लाग्नु पर्छ । शैक्षिक संस्कारको विकासका लागि स्थानीय वुद्धिजीवी लगायतका नागरिकलाई सचेत गरारनु पर्छ ।
  •  मुलुक संघीयताको बाटोमा गइरहेका बेला हामीले मोफसलको भूगोल र जातीय आधारलाई हेरेर त्यस मुताविकको सूचना सम्प्रेषण गर्ने भन्दा पनि शिक्षाका माफियाहरूको चाकरी गरेर जागिर खाने मानसिकताले पुस्तकालयको विकास त हुँदैन हुँदैन यसले दीर्घकाल सम्म पढ्ने लेख्‍ने परम्परामा नै असन्तुल ल्यादिन्छ । यस तर्फ पनि सचेत हुनु पर्छ ।
  •  स्थानीय प्रशासनलाई पुस्तकालयको महत्त्वका विषयमा प्रकाश पार्दै उसको मानसपाटलमा पुस्तकालय आवश्यक छ भन्‍ने सन्देश दिनु पर्छ । संघीय राज्यमा पुस्तकालय नागरिकको पहिलो ज्ञान प्रदायक संस्था हो भन्‍ने जानकारी गराउनु पर्छ ।
  •   सूचना प्रविधिको प्रयोग, विशेष गरी इन्टरनेट लगायतका पर्खाल विनाका पुस्तकालयहरूको हदैसम्म  प्रयोग गर्नु पर्छ ।
  •  साक्षरता दर वृद्धि हुँदै जानु पुस्तकालय क्षेत्रको विकासको पूर्वाधार निर्माण हुँदै जानु हो, शिक्षा क्षेत्रको विकासमा वृद्धि हुँदै छ यसले पुस्तकालय क्षेत्रको विकासलाई स्वत: अनुकूल वातावरण सिर्जना गर्ने भएकाले यस तर्फ तुरुन्तै लाग्नु पर्छ ।  
  •  राष्‍ट्रिय अन्तर्राष्‍ट्रिय गैर सरकारी संस्थाहरूले दिने गरेका सेवालाई पुस्तकालय विकासमा केन्द्रित गर्न बिर्सनु हुँदैन, यस क्षेत्रमा निरन्तर रूपमा कार्य गर्दै आएका संस्थाहरूलाई पुस्तकालयको विकासका लागि अझ प्रभावकारी रूपमा सञ्‍चालन हुन सुझाव दिनु पर्छ ।
  •     सुरुमा हामी पिछडिएका नागरिक हौँ, हामी केही गर्न सक्दैनौँ भन्‍ने नकारात्मक सोचलाई जरै देखि फाल्नु पर्छ ।
  •    दक्ष जनशक्तिलाई स्थानीय स्तरमा पनि ध्यान दिन निर्देशन दिँदै उनीहरूलाई मोफसलमा काम गर्ने वातावरणको सिर्जान गर्नु पर्छ ।
  •   नेपालका पुस्तकालय क्षेत्रका संघ संस्थाहरूको आँखा पनि काठमाडौँ उपत्यका भन्दा बाहिर पुग्न नसक्नु अर्को समस्या हो । यस क्षेत्रका सीमित संस्थाहरू (एन्.एल्.ए, तुलसा, लिमिसेक,एल.आइ. एस नेपाल, एल. डी. एफ्,) केन्द्रमै ढुल्मुलिएका छन् । उनीहरूको ध्यान मोफसल तर्फ पनि केन्दित गर्नु पर्छ ।
  यसरी उपत्यका भन्दा बाहिरका पुस्तकालयको स्तर विकासका लागि यस क्षेत्रका केन्द्र बस्ने, देश विदेशमा बस्ने सम्पूर्ण नागरिकले एक पटक गम्भीर भएर सोच्ने हो भने हरेक गाउँ-ठाउँमा पुस्तकालयको अनिवार्यता स्वत: झल्कन्छ । यस प्रकृतिक गोष्‍ठि सेमिनारहरू पनि पटक पटक सञ्‍चालन गर्दै काठमाडौँ उपत्यका भन्दा बाहिरका नागरिकको उल्लेख्य सहभागिता गराउन आवश्यक छ ।  सरकारी संयन्त्रलाई सकेसम्म पुस्तकालय क्षेत्रको विकासमा लाग्न प्रेरित गर्न सकेको खण्डमा नेपालका ग्रामीण स्तर सम्म पुस्तकालय स्थापना गर्न गराउन खासै जटिलताहरू छैनन् सबभन्दा ठूलो कुरा इच्छा शक्ति हो ।  मानवीय इच्छा शक्तिले जस्ता सुकै जटिल काम पनि गर्न सक्षम भइन्छ ।



[1] काठमाडौँ भित्रका पुस्तकालय भन्‍नाले काठमाडौँ जिल्ला नभएर काठमाडौँ, ललितपुर, भक्तपुर र वरिपरिका केही विकसित र अवसर पाएका पुस्तकालयलाई सम्झनु पर्छ।
[2] काठमाडौँ विश्‍वविद्यालय धुलिखेल काभ्रमा भए पनि यस सन्दर्भमा प्रशासनिक क्रियाकलापका दृष्‍टिले उपत्यका केन्द्री भनिएको हो।
[3] विराटनगर, धनकुटा, पोखरा, नेपालगञ्‍ज, धनगढी आदि ठाउँ लगायत केही जिल्ला सदरमुकामका विद्यार्थीहरूको परिवेश अलग भए पनि अधिकांश ग्रामीण परिवेशका विद्यार्थीहरू गोठाला-खेताला गरेर नै अध्ययन गर्छन्।
[4]  एस्.आर. रङ्गनाथन (१९९६) फाइभ ल अफ लाइब्रेरी साइन्स, एडभेन्ट बुक डिजिजन, पृ. ४५
[5] सूर्य क्षेत्री (अप्रिल, २००८) नेपालमा सार्वजनिक पुस्तकालयका समस्या र चुनौती (तुलसा, वर्ष ६, अङ्क १, सम्पा. विष्‍णु प्रसाद अर्याल र अन्य)

यो लेख पुस्तकालय आवाज पत्रिकामा र पुस्तकालय दर्पण नाम पुस्तकमा पनि प्रकाशित छ।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ