जलवायु परिवर्तन मुद्धा एक बुझाइ अनेक (CLIMATE CHANGE: A GLOBAL ISSUE)

पछिल्लो समय संसारभर अधिकख्खानिएको शब्दावली जलवायु परिवर्तन आजभोलि नेपाली सामाजमा पनि उत्तिकै उच्चारणमा छ । ऐतिहासिक दस्तावेजको ढड्डा पल्टाउने हो भने पनि सन्  ‍‍‍‍‍१९९२ भन्दा  अगाडि जलवायु परिवर्तन नेपालीहरूको वहसको विषय भन्दा पृथक मुद्धा रहेको देखिन्छ । जलवायु परिवर्तनलाई यति तीव्र रूपमा आआफ्नै गायत्री मन्त्र बनाइनुको मूल चुरो कुरा यससँग जोडिएर आउने वैदेशिक अनुदान  र आर्थिक आकर्षण नै हो भन्‍ने यथार्थ कतै पनि छिपेको छैन । के जलवायु परिवर्तन क्षणिक आर्थिक प्रलोभनको लाली पप मात्र हो कि यसको संवेनशीलता हाम्रो जीविकोपार्जन र जनवीविकासँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्धा हो? यो छुट्टै वहसको विषय बन्‍नु पर्थ्यो वा पर्थेन? यसलाई नजिकबाट बुझेर भावी पुस्तामा यसले पार्न सक्ने नकारात्मक असर र पृथ्वीको अस्तित्व नै खतरामा पर्न सक्ने भयङ्कर प्रलयलाई कुन तहमा विश्‍लेषण गर्नु पर्थ्यो? त्यसको पनि लेखाजोखा गर्ने समय अब घर्कँदै छैन र?



            जलवायु परिवर्तन प्रकृतिमाथि मानवले गरेको तीव्र अतिक्रमण र लापर्वाहीपूर्ण दोहनका कारण सिर्जित प्राकृतिक विपत्ति होयसको प्रभाव व्यापक र एक आपशमा अन्तर्सम्बन्धित , जुन प्रर्यावरणीय चक्रमा प्रत्यक्ष रूपमा मानव जीवनलाई घातक प्रभाव पार्ने किसिमको पनि देखिन्छ । विश्‍वका उच्च विकसित औद्योगिक राष्‍ट्रहरूले वातावरणमा उत्सर्जन गरेका हरित गृह ग्याँसहरूका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्दै ग्लोबल वार्मिड जस्ता घटनावली विकसित भएको तथ्य विविध अध्ययनले पुष्‍टि गरिसकेको छ भने पृथ्वीमा जलवायु परिवर्तन हुने मूल कारण पनि पृथ्वीको तापमान बढ्नु नै हो । यो प्राकृतिक कारणले पनि आफ्नै चक्रमा हुने गर्छ भन्‍ने तथ्य पनि यस सन्दर्भमा भुल्नु हुँदैन । हाल विश्‍व मानव समुदायले भोग्दै आइरहेको जलवायु परिवर्तनको असरक मुख्य भगीदार औद्योगिक राष्‍ट्रहरू नै हुन् तिनीहरूकै कारण हामीजस्ता साना राष्‍ट्रहरूले यसको तीव्र असर भोगिरहेका छौँ यो वास्तवमा हामीलाई नखाएकै विष लागिरहेको भन्‍ने विज्ञहरूको बुझाइ छ यो मनासिवै लाग्छ किन भने हरित गृह ग्याँस उत्सर्जनमा हाम्रो देश विश्‍वमा जम्मा ०‍.०२५ प्रतिशत मात्र जिम्मेबार छ ।  
            जलवायु परिवर्तन हाम्रा लागि घातक किन पनि छ भने हाम्रो पहाडी भूवनावट निकै कोमल अनि संवेदनशील प्रकृतिकन् भने अर्कातिर हामीमा यसको असर थेग्न सक्ने सक्षम आर्थिक पृष्‍ठभूमि छैन । बढ्दो विश्‍व तापमानका कारण हाम्रा हिमाली सम्पदा प्राकृतिक गहना हिमालहरू गलेर निथ्रिदै गरेका हाम्रो बाहिरी आँखाले देखेकै यथार्थ हो । हिमाल पग्लँदा हिउँ मात्र पग्लँदैन त्यससँग हाम्रो जलस्रोतको ठूलो भन्डार रित्तिन्छ र साथै पर्यटनको ठूलो सपना सपनामै मात्र सीमित  हुन्छ अनायासै आउन सक्ने बाढी पहिरो जस्तो प्राकृतिक विपत्तिले हाम्रो जीवनमा अनिष्‍ट निम्त्याउँछ र अनावृष्‍टि तथा अतिवृष्‍टि जस्ता विपत् पनि यसका कारक हुन सक्छन्जलवायु परिवर्तनकै कारण कृषि तथा वनजङ्गल तथा प्राकृति स्रोत माथि ठूलो वज्रपात हुने प्राय: निश्‍चित छ ।  
            विश्‍वभर संवेदनशील मुद्धाका रूपमा उठाइएको जलवायु परिवर्तन हाम्रो सन्दर्भमा केही मुठीभर कथित विद्वान्‌हरूले डलर कमाउने खेतीमा मात्र सीमित रहने गरेको तथ्य पनि एकातिर उदाङ्‍गिदो छ भने गरिव देशहरूमा गैर सरकारी संस्था सञ्‍चालन गर्ने बलियो भर्‍याङ् पनि जलवायु परिवर्तनलाई बनाउने गरिएको थुप्रै नमुनाहरू हाम्रा सामु छन्; अर्कातिर यति गम्भीर मुद्धालाई सरकारी अफिसर विदेश भ्रमण गर्ने वहानामात्र बनाउन पनि अर्को अस्वीकृत दृश्‍य हो ।  हाम्रो परिवेश र मर्म हामीलाई जति थाहा छ त्यो अन्य आयातित विज्ञहरूलाई थाहा हुने कुरा हास्यास्पद छ यसर्थ हाम्रो परिवेश र स्थानीय स्तरमा भएका जलवायु परिवर्तनका मुद्धालाई गोरा छाला र स्टार होटलका हुने सेमिनारले सम्बोधन गर्न सक्दैन केवल हाम्रा थाप्लामा ऋणको भारी बोकाउनु बाहेक । समयमै यति घातक र नागरिक जीवन सँग प्रत्यक्ष जोडिएको जल्दोबल्दो मुद्धालाई सम्बोधन नगर्ने हो भने कुनै दिन यस्तो विपत्ति नआउना भन्‍न सकिन्‍न जुन इतिहासमा यस अगि कहिल्यै आएकै थिएन ।

             हाम्रो समाजमा जलवायु परिवर्तनको मुद्धालाई मजाकका रूपमा लिइनु एकातिर घातक ठहर्छ भने यस विषय र क्षेत्रका विद्वान्‌ भनिनेहरूले वैज्ञानिक र सही तथ्याङ्कलाई लत्याएर आफ्नो अनुकूल व्याख्या गरिदिँदा जलवायु परिवर्तन जेलिएको धागोको गुजुल्टो जस्तो सावित भएको देखिन्छ जनु सजिलै फुकाउन सकिँदैन । अधिकांश काल्पनिक तथ्याङ्कले यस क्षेत्रमा विशेष अध्ययन गर्न चाहने अनुसन्धातालाई पनि कुहिराको काग बनाइरहेको तथ्य पनि कतै छिपेको छैन हुँदा हुँदा कुकुरको प्रजनन् प्रक्रिया पनि जलवायु परिवर्तनका कारण अगाडि सरेको छ भन्‍ने धारणा पटक पटक पत्रिकामा पढ्न पाइइकै हो । त्यसको आधिकारिक तर्क के हो र कतिवटा कुकुरमा गरिएको स्याप्पलले यो देखाउने गर्छ? त्यसको स्पष्‍ट जवाफ आम पाठकले खोज्ने गरेका छन् । जलवायु परिवर्तन जस्तो गम्भीर प्रकृतिको मुद्धामा आधिकारिक र अनुसन्धानले पुष्‍टि भएको वैज्ञानिक तर्कमात्र सम्प्रेषण गर्नु पर्ने होइन र?
            जलवायु परिवर्तन हामीले उठाउने गरेको तह भन्दा पनि उच्च संवेदनशील मुद्धा हो । यो प्राकृतिक घटनावलीको एक हिस्सा पनि हो जुन हाम्रो जीवनसँग अति निकट अनि अन्तर्सम्बन्धित छ । यति गहन विषयवस्तुलाई नेपालका सन्दर्भमा न त सरकारी तवरबाट उचित चासोका साथ हेरिएको छ न त नागरिक तहबाट यसको संवेदनशीलतालाई बुझ्ने धृष्‍टता नै गरिएको छ । केवल विदेशी भूमिमा हुने कार्यशालामा तछाड्‌मछाड्‌ गर्दै भाग लिएर मात्र जलवायु परिवर्तनबारे सचेत भएको ठहर्छ न त हेलिकप्टर चार्टर गरेर उच्च हिमाली भागमा मन्त्री परिषद् बैठक बस्दैमा । यो त यस्तो मुद्धा हो हरेक नागरिकले आफू हिँड्दै गरेको पुल पल्लो किनाराबाट भत्कँदै गरेको दृश्‍य जस्तै अनि आफू बस्दै गरेको घरमा आगोको मुस्लो दन्कँदै गरेको दृश्‍य समानको गहन विषयवस्तु हो । जलवायु परिवर्तन सम्बन्धी नीति बनाएर मात्र सरकारको जिम्मेबारी पूरा हुँदैन बरु उक्त नीतिलाई क्रियान्वयन गर्ने प्रभवकारी ऐन बनाएर दृढ इच्छा शक्ति सहितको घोषणा नेपाली जनताले खोजिरहेका छन् । जलवायु परिवर्तनको विषयमा वैज्ञानिक अनुसन्धान हुन नसक्नु नै आजको हाम्रो समस्या हो यसर्थ जलवायु परिवर्तनका क्षेत्रमा व्यापक र गहन अनुसन्धान हुन आवश्यक छ । जलवायु परिवर्तनमा कार्य गर्ने सरकारी तथा गैर सरकारी निकायले अनुसन्धानका लागि आफ्ना अधिकांश कार्यक्रम केन्द्रित गर्न आवश्यक छ । जलवायु परिवर्तन जस्तो अति गहन मुद्धालाई कसैले आआफ्नै स्वार्थको डम्फू नबनाइयोस्      
२०६७ सालमा नयाँ पत्रिकामा प्रकाशित लेख



[1] यो लेख लेख्दा लेखल नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्‍ठानका प्रवर्द्धन अधिकृत थिए।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन