मिश्रित भावका कविता ‘सम्मोहन’ (POETRY ON MIXED METAPHOR) - अशोक थापा


...बादलको पानी जस्तो
मेरो राम कहानी
थोपा थोपा ढल्किरहेछ
व्यर्थ जिन्दगी....त्यही बादलको पानी पृ.३४
सृष्‍टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता यो भनाइ सार्थक होला नहोला? तर एउटा सत्य के छर्लङ्ग छ भने कवितामा मानवले भोगेको जीवनको सुखदु:खका मिश्रित भाव अभिव्यक्तिन्छन् । आराधना बस्नेतको प्रस्तुत सम्मोहन कविता सङ्ग्रहमा यस्तै भावुक मनभित्रका कोमल भावना, अन्तस्चेतनामा दबेर रहेका मूर्तदेखि अमूर्त भावव्यञ्‍जनाको बृहत् सम्राज्य देखिन्छ। अनुभूतिको गहिराइबाट निसृत माथिका पङ्‌तिहरूले जीवनबोधको स्पष्‍ट परिभाषा व्यक्त गरेको प्रतीत हुन्छ । यो नेपाली कविता साहित्यमा नारीलेखनका लागि शुभ सङ्केत हो । नेपाली साहित्यको मार्गमा पछिल्लो समयावधिमा नारी स्रष्‍टाको कलम निकै चम्केर चलेको देखिन्छ  ।त्यसमा पनि कविता विधा उनीहरूको प्राथमिकताको क्षेत्र हो । अझ नेपाली साहित्यमा सबै भन्दा बढी लेखिएको क्षेत्र कविता नै हो । यसभित्र सबै भन्दा बढी उरालिएको स्वर नारी स्वतन्त्रता र लैङ्‍गिक विभेदको हो । विश्‍वको आधाभन्दा बढी जनसङ्ख्या ओगट्ने नारीसाम्राज्यका लागि यो अधिकार पनि हो । आराधनाका कवितामा नारी स्वतन्त्रताका स्वर भन्दा अन्य प्रकृतिका जीवनाभूतिको प्रसङ्ग तीव्र रूपमा प्रस्तुत गरिएको छ ।
कवयत्री बस्नेतका कवितामा सहज, सरल, प्रवाहपूर्ण र सुललित भाषिक सम्प्रेषणको अजस्र धारा छ । अधिकांश कविता गद्य लयमा लेखिएका भए पनि कविताभित्रको काव्यशिल्प कला छन्द कविताको सरोवर देखिन्छ । पाठकले हरेक पङ्तिमा नवीनताको स्वाद भेट्टाउँछ । सरल बिम्बको प्रसुत बुनाइ भेट्टाउँछ ।
...कस्तो अदृश्य धागोमा
बाधिएका रहेछौँ हामी
चङ्गासरी जीवनको यात्रा
तय गर्दा नगर्दै
चाहँदा नचाहँदै
धागो चुँडिइदिन्छ (जीवन यात्रा, पृ.१९)
कवयत्री बस्नेतका कविताहरूको भाव भनेको समर्पण हो । समर्पित हुँदाको पीडा, समर्पणको अर्थ अनि समर्पित हुनका लागि धैर्य चाहिन्छ  । पृथ्वीजस्तो धैर्यवान् र समर्पित चीज वस्तु यस संसारमा के नै होला जसले निस्‍वार्थ यो जगत्‌का प्राणीलाई वासस्थान उपलब्ध गराएको छ  । सम्मोहन, तिम्रो प्रतीक्षामा, अर्पणजस्ता कविताले व्यक्त गरेको समर्पणको भाव निकै उच्चकोटिको छ । समर्पण दिनेहरूका लागि हो । समपर्पण अरूको सम्मानका लागि हो । समर्पण नै त्यस्तो उदात्त विचार हो जसले आफू मेटिएर पनि अरुलाई केही दिनमा तल्लीन हुन्छ । उनको समर्पण कतिपय यस भौतिक जगत्‌का यावत मान्छेहरूलाई छ भने कतिपय सन्दर्भमा उनको विश्‍वासमा रहेको ईश्‍वर प्रति ।
अज्ञानी छु जानी नजानी
महिमा तिम्रो गाएँ
अर्पिदै सारा जीवन तिमिलाई
अश्रुनयन चढाएँ (अर्पण, पृ.६०)
बिम्बात्मक हुनु उनको अर्को काव्यिक विशेषता हो । बस्नेतका कवितामा प्रशस्त स्वप्न बिम्बका साथै अन्य प्रतीकात्मक बिम्ब, छायात्मक बिम्ब, युद्ध बिम्ब अनि विभिन्न आलाङ्कारिक बिम्बको प्रयोग भएको देखिन्छ । बिम्बात्मक हुनु कवितामा यथार्थ तस्वीर प्रकट गर्न सक्नु हो । कवितामा मूर्त वस्तुको प्रकटीकरण गर्नु हो, बस्नेत कवितामा प्रशस्त प्रकटिएकी छन् ।
उफ्
कति भयानक थियो
त्यो सपना
म दौदिरही थिएँ मृत्यु देखि तर्सिएर
म भागिरहेकी थिएँ (सपना, पृ.१५)-स्वप्न बिम्ब
आधारविना उडिरहेको
एक चङ्गा हुँ म
नसोध मलाई
मेरो जीवनको लक्ष्य उद्देश्य (नसोध मलाई, पृ.१७) प्रतीकात्मक बिम्ब
चारैतिरबाट ममाथि
बम प्रहार भइरहेको थियो
म ती बमहरूबाट बच्न
...म माथि फ्याँकिएका बमहरू
जमिन भीरपाखामाहरूमा ठोक्किएर
ध्वस्त भइरहेका थिए (सपना,पृ.१५)-युद्ध बिम्ब
जीवनबोधका सबालमा कवयत्री कतिपय सन्दर्भमा स्पष्‍ट हुन सकेकी छैनन् तर एउटा के कुरामा प्रस्ट छन् भने यस जीवन प्रति उनी सन्तुष्‍ट छैन्‌न् । जीवनको असन्तुलित पक्ष, जीवनको अनिश्‍चित विशेषता अनि जीवन जिउनका लागि बोध हुने हतासा एवं उत्कण्ठाका बारेमा कवयत्री निकै अक्रोसित देखिन्छिन् । जीवनको विसङ्गत पक्षको चित्रण गर्दै मृत्युबोधको उछ्‌वासका रूपमा उनका कविताहरू देखिएका छन् । जीवन बुझ्ने असफल तर विश्‍वव्यापि प्रयासमा उनी लागि परेकी छन् ।
नसम्झाऊ
जीवन एक फूल हो भनेर
रक्ताम्य भएका छन् पाइलाहरू
नभन
यो त यहाँको रीत हो भनेर (नसोध मलाई, पृ.१८)
कस्तो रहेछ यो जीवन
फुल्नै नपाई ओइली जाने
आशाको डोरीमा बाँधिएर
आँसुको सागरमा डुब्नु पर्ने (जीवन, पृ.२५)
प्रकृतिको मानवीकरण गर्ने क्रममा कतै प्रकृतिको सम्यक पक्षको चित्रण त कतै यसको रौद्र रूपको चित्रणमा उनी देखिएकी छन्।उनको अधिकांश कविताको भावभूमि प्रकृति रहेकाले पनि उनी स्वछन्दातावादी पृष्‍ठभूमिमा कविता लेख्‍ने स्रस्टा हुन् भन्न सकिन्छ।
आँसुले भिजेको रातो मुहार लिई
हरबिहान सूर्य बगैँचामा आउने गर्छन्
फूलको नाममा पारेर दिन उज्यालो
रातले मुक छोपी रुने गर्छन् (शिशिरको फूल, पृ.२४)  
नेपालको पुस्तकालय पेसाकर्मको समस्या भनेको लेखनगत अल्पता र प्रकाशनगत न्यूनता हो । हामीमा भएको लेखकीय गुण प्रस्फुटन हुन सकिरेहको देखिँदेन । प्रस्फुटन हुने वातावरण अनुकूल नभएर हो वा भावनामा रहेको चेतनालाई मूर्तीकरण गर्न नसकेर हो । तर आरधना सार्वजनिक भएकी छन् । कविताकर्मबाट, उनका सुन्दर भावनाले नेपाली कविता साहित्यको जगमा एउटा भने पनि एउटा इटा थपेको छ; यो साहित्यिक सुन्दर भविष्य प्रतिको प्रस्थान विन्दु हो जुन शुभ साइत हो ।
यसरी सम्मोहन कविता सङ्ग्रहमा सङ्गृहित कविताहरूले मानव जगत्‌को यावत अनुकूल प्रतिकूल क्षणको चित्रण गरेका छन् । सङ्ग्रहमा सङ्कलित ४० कविताहरू एक सुन्दर फूलका थुङ्गामा उनिएका मालाका रूपमा देखिएका छन् तर तिनीहरूको रङ भने फरक छ । अधिकांश कवितामा कवयत्रीको निजी भावना पोखिएको छ यो स्वाभाविकै हो किन भने कविता भनेको जीवनको भोगाइको प्रतिबिम्ब हो । कवितामा आफ्नै समाजको प्रतिबिम्ब छ यो पनि सही छ किनभने साहित्य समाजको ऐना हो । उनको कविताको परिधि भनेको पनि समाजको यावत कोण प्रतिकोण हो । अलिकति अभाव, अलिकता गुनासा, अलिकति छोब अनि अप्राप्‍तिको समग्र प्रतिमुर्ती नै जीवन भएकाले उनका कविताको परिधि पनि यस समाजको हो,यस संसार हो अनि यहाँ भोगिएका अनभूति हो । उनका कविता मानव, मावन समाज र यस जगत भन्दा बाहिर गएका छैन् तर उनको पुकारा भने अमूर्त वस्तु प्रति छ सायद अमूर्द भगवान प्रति छ र आफ्नै जीवन दर्शन प्रति छ । भगावान प्रति उनी अर्पित छन्  ।यो उनका कविताको शक्ति र सीमा दुवै हो । यस्तै प्रयासबाट आरधानाको आरधन पूरा हुने छ र पुस्तकालय पेसाकर्मीले पनि एउटा गर्व गर्न ठाउँ हुने छ भन्‍ने कुरामा विश्‍वस्त हुन सकिन्छ ।

स्रस्टा: आराधना बस्नेत
प्रकाशक: बिक्रान्त बुक हाउस
विधा: कविता
मिति: २०६८
आइ.एस.बी.एन: 9789937235129
मुद्रण:द्यौलागिरी अफसेट प्रेस, काठमाडौँ
मूल्य:रु. ९९
https://mail.google.com/mail/u/0/images/cleardot.gif
यो पुस्तकालय आवाज पत्रिकामा प्रकाशित समीक्षा हो।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ