अनुवाद र नेपाली नाटक


- अशोक थापा

अनुवादले भाषिक, सांस्कृतिक, सामाजिक सबै खाले सीमानाको अन्त्य गर्दै सर्वव्यापि मूल्यमान्यता स्थापना गरिदिने भएकाले यसको महत्त्व विगतदेखि आजपर्यन्त उत्तिकै बढेको छ यस ब्रह्माण्डका दिग्गज व्यक्तिहरूको चिन्तनलाई जोड्ने सेतुका रूपमा पनि अनुवादको गरिमा गर्विलो स्थानमा देखिन्छ संसारमा भाषिक कारणले देखिएको गहिरो खाडल पुर्ने काम अनुवादबाट सम्भव छ अनुवादर्मीलाई अनुवादको संज्ञाले पुग्दैन बरु भाषिक दूतका रूपमा उनीहरूलाई स्थापित गरिदिँदा अनुवादकको उचाइ मात्र चुलिँदैन आश्रित भाषाको छाति पनि उच्च हुन्छ स्रोत भाषा र आश्रित भाषाका बीचको मध्यस्तकर्ता नै अनुवादक हो आजको भूमण्डलीकृत संसारमा अनुवादको महिमा झन् व्यापक बन्दै छ अनुवाद विचारको प्रवाहीकरणको अब्बल पद्धति हो

अनुवादले अनूदित र अनुकृत दुवै भाषालाई सहयोग गरिँदिने हुँदा आश्रित र आश्रयक दुवै भाषाको जितको पतिस्थिति सिर्जना हुन्छ एकको दायरा फराकिलो हुँदा अर्कोको परिधि झन् व्यापक बन्नाले पनि दुवै पक्षको जीतको परिस्थितिमा अनुवाद प्रक्रिया क्रियाशील हुने गर्छ विचार आदानप्रदानको माध्यम र अपेक्षामा तीव्र रूपमा वृद्धि हुने हुनाले अनुवादको जन्म भएको हो अन्य विविध व्यावहारिक समस्या समाधानका अलवा साहित्यको विश्‍वव्यापीकरणको मामिलामा पनि अनुवाद एक गहन पद्धति बनेको छ सामाजिक व्यावहारको सम्पादन गर्नमा अनुवादको निकै महत्त्व छ यद्यपि यसको प्रयोजन पृथक्पृथक् किन नहोस् अनुवाद एक समुदायदेखि अर्कोलाई जोड्ने पुल पनि हो ।

अनुवादक हुनुभन्दा लेखक हुन धेरै सजिलो छ यो भनाइ विद्वान् मामा बरेरकर को हो उनी मराठी भाषी साहित्यकार हुन् उनको यस भनाइमा दुई मनोविज्ञान लुकेको छ एक त लेखकले आफ्नो भाषामा लेख्छ आफ्नो भाषा आत्मामा शरीर अनि रगतरगतमा हुने हुनाले पनि लेख्नु भन्दा अनुवाद गर्न कठिने हुने गर्छ । अनुवाद अर्काको भाषाको भाव बुझेर गर्नु पर्ने भएकाले पनि यस अभिव्यक्ति सार्थक देखिएको हो यसका साथै सिर्जना फूल हो भने अनुवाद त्यसको छाया वा चित्रमात्र हो भन्ने भनाइ पनि प्रचलित छ । द्वैभाषिक ज्ञानको अनिवार्य बोधबाट मात्र कुशल अनुवाद जम्मने भएकाले मौलिक लेखन भन्दा अनुवाद चुनौतीपूर्ण रहेको छ ।

अनुवाद साहित्यिक, गैरसाहित्यिक, पत्रकारिता र शिक्षण क्रियाकलापको पनि अभिन्न माध्ययम बन्न सक्छ । एक व्यक्तिले अर्को भिन्नभाषी व्यक्तिसँग छलफल गर्दा जस्तो अनौपचारिक कुराकानीदेखि द्विपक्षीय सन्धिसम्झौताका बखतमा पनि अनुवादको सहारा लिने गरिन्छ । साहित्यिक अनुवादभित्र विशेष गरी कविता, नाटक, आख्यान र निबन्धजस्ता विधागत अनुवादलाई समेट्न सकिन्छ । हुन त चलचित्र, टेलिचलचित्र, डकुमेन्ट्री पनि एक भाषाबाट अर्कोमा रूपान्तरण गर्ने गरिन्छ । यसमा विशेष गरी सब टाइटलको प्रयोग गर्ने गरिन्छ । गैरसाहित्यिक अनुवादमा प्रतिवेदन, विज्ञान, धर्म, समाजशास्‍त्र, राजनीति शास्‍त्र, भूगोल, इतिहासजस्ता विषयलाई समेटिन्छ । पत्रकारितामा पनि अनुवादको ठूलो प्रभाव छ । नेपालबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाका दैनिकहरूमा नेपालीबाट समाचार अनुवाद गरेर राख्‍ने गरिन्छ । शिक्षण क्रियाकलापमा नेपाली भाषी विद्यार्थीलाई अङ्ग्रेजी भाषाका सामग्री पठनपाठन गराउने क्रममा अनुवादको सहारा लिने गरिन्छ । यसै गरी गैरनेपाली भाषीलाई नेपाली भाषा सिकाउँदा पनि अनुवादको सहयोग नलिई धरै छैन । समाजमा अनुवादको बहुआयामिक प्रभाव देखिन्छ ।

नेपालमा अनुवादको प्रचलन कहिलेबाट प्रारम्भ भयो भन्ने एकिन हुन सकेको छैन । नेपाली भाषी र गैर नेपाली भाषीका बीचमा आन्तरिक र बाह्य रूपमा जहिले सम्पर्क हुन पुग्यो त्यपछि स्वत: अनुवादको माध्यम अपनाइएको हुनु पर्छ । साहित्यिक कृतिहरूको इतिहास नियाल्दा अनुवाद रूपान्तरणबाट प्रारम्भ भएकाले पनि साहित्य लेखनसँगै अनुवादको आवश्यकता महसुस गरिएको बुझिन्छ । अनुवाद र मौलिकताका बीचमा कहिले कहीँ सीमारेखा नरहँदा अनुवाद आवश्यकता र वाध्यता दुवै भएको पनि देखिन्छ । कतिपय समीक्षकहरू जङ्गबहादुरको बेलायत यात्राको समयदेखि अनुवादको महसुस गर्न थालिएको कुरा गरे पनि त्यो भन्दा पहिला पनि अनुवादको अभ्यास राष्‍ट्रिय रूपमै पनि भएको हुन सक्छ । जहिले देखि व्यवहार आदान प्रदानमा समस्या सिर्जना भयो त्यस समयदेखि नै अनुवादको प्रचलन प्रारम्भ भएको हो ।

नेपालमा साहित्यिक अनुवादका सन्दर्भमा चर्चा गर्दा आदिकवि भानुभक्त आचार्यको रामायण अनुवाद हो कि मौलिक कृति हो भन्ने सन्दर्भमा एउटै मत नभएकाले पनि अनुवादको स्वरूपमा केही भिन्नता रहेको पुष्‍टि हुन्छ । नेपाली नाटक अटलबहादुरका सन्दर्भमा पनि यो कुरा उस्तै सावित हुन्छ । कतिपय विद्वान्‌हरू यस नाटकलाई अनूदित नाटक मान्छन् भने कतिपय मौलिक नाटक मान्छन् । अनूदित र मौलिक कृतिका बीचमा देखिने समस्या र साहित्यकारले भावानुवाद गरिदिनाले पनि कतिपय सन्दर्भमा मौलिक र अनुदिन कृतिको सीमा भत्काइदिने गरेको छ । वास्तवमा शब्दानुवाद भने पनि भावानुवाद भने पनि अनुवाद एउटै कुरा हो । जुनसुकै अनुवाद गर्दा पनि शब्द र त्यसको अर्थबोध त अनिवार्य सर्त हो ।

नेपाली नाटकका सन्दर्भमा पढ्नका लागि र रङ्गमञ्चमा खेल्नका लागि नाटकको अनुवाद गर्ने गरिएको कुरा बलराम अधिकारीले उल्लेख गरेका छन् (अधिकारी, २०७१) । नेपाली नाटक साहित्यमा संस्कृत, फारसी, हिन्दी, अङ्ग्रेजी आदि भाषाबाट नेपाली नाटक अनुवाद हुने क्रम पूर्वआधुनिक कालदेखि हुने गरे पनि आधुनिक कालमा आएर अङ्ग्रेजी भाषाबाट नेपाली र नेपाली भाषाबाट अङ्ग्रेजीमा अनुवाद हुने प्रचलन ज्यादा देखिएको छ । अङ्ग्रेजी भाषाका नाटकमा शेक्सपियरका नाटकहरू नेपालीमा अनुवाद भएको छन् । यसै गरी नर्वेली नाटककार हेनरिख इब्सेन, रसियन नाटककार एन्टोन चेखवजस्ता नाटकहरू पनि अनुवाद भएका छन् । यसै गरी ब्रटोल ब्रेख्थको नाटक पनि नेपालीमा अनुवाद भएका छन् । अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद भएका नाटकहरू रङ्गमञ्चमा पनि प्रख्यात भएका छन् । यस मामिलामा सुनिल पोख्रेलले अनुवाद गरेको पुतलीको घर नाटकलाई दृष्‍टान्तका रूपमा हेर्न सकिन्छ । विविध भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने गरिए पनि अङ्ग्रेजी भाषाबाट नेपालीमा उल्था गर्ने प्रचलज ज्याद रहेको बुझिन्छ ।

पछिल्लो दशक वा साठीपछि (विसं २०६०) जब काठमाडौँमा रङ्गमञ्चको व्यापक विकास भयो त्यसपछि नाटक अनुवाद गर्ने होड नै चलेको देखिन्छ । हामीसँग स्थानीय भाषामा प्रशस्त नाटकहरू हुँदाहुँदै विदेश लेखकको शरण पर्नु राम्रो कुरा नभएको धारणा राख्छन् नाटककार तथा रङ्गकर्मी प्रवीण पुमा । उनको धारणा के हो भने हाम्रो देश बहुभाषिक, बहुसांस्कृति र बहुपहिचान युक्त देश हो । हामीसँग जन्मेदेखि मृत्युपर्यन्तसम्म गरिने संस्कारजन्य कुराहरू नाटकीय छन्  । त्यसको उत्खनन् गरी रङ्गमञ्चमा भित्र्याउनु पर्छ । विदेशी नाटकमात्र आयात गरेर मञ्चन गर्दा एकातिर हाम्रो सिर्जनशीलताको मृत्यु हुन्छ भने अर्कोतिर हाम्रा सांस्कृतिक कुराहरू चर्चामा आउँदैनन् । पछिल्लो समय नाटक रूपान्तरणमा देखिएको होड सकारात्मक भए पनि विदेशी नाटकमा मात्र आश्रित हुनु राम्रो पक्ष होइन ।

समीक्षक ईश्वरमान रञ्जितकाले शेक्सपियरका नाटक नेपालीमा अनुवाद गर्ने परम्परा सात दशकभन्दा लामो रहेको कुरा व्यक्त गरेका छन् । उनले शेक्सपियरका सातवटा नाटकको ११ जनाले १३ वटा अनुवाद गरेका छन् भनिरहँदा अ मिड समर नाइट्स शिल्पी थियटरमा धमाधमा चलिरहेको छ (२०७२, चैत्र) । यो सुनिल  पोख्रेलको निर्देशनमा मञ्चित भएको नाटक हो । यसबाट के कुरा पुष्‍टि हुन्छ भने अन्य भाषाबाट नेपाली भाषामा नाटक अनुवाद गर्ने परम्परा हिजोदेखि आजसम्म निरन्तर रहेको बुझिन्छ ।

नेपाली नाटकका सन्दर्भमा अङ्ग्रेजी लगायतका अन्य भाषाबाट मात्र नेपालीमा अनुवाद भएको छ भन्यो भने गलत हुन्छ । नेपाली नाटकहरू अङ्ग्रेजी लगायतका अन्य भाषामा पनि अनुवाद भएका छन् । गोपालप्रसाद रिमालको मसान नाटकलाई अङ्ग्रेजीमा अनुवाद गरिएको छ । रिमालका साथै अभि सुवेदीको अग्निको कथा, ठमेलको यात्रा र रुङगलनाको आकाश, चिरिएका साँझहरू तथा एकाङ्कीहरूमा बालकृष्ण समको रणदुल्लभ, गोपालप्रसाद रिमालको माया, विजय मल्लको पत्थरको कथा पनि अङ्ग्रेजीमा अनुवाद भएका छन् । सुवेदीकै अग्निको कथा, ठमेलको यात्रा र रुङगलाको आकाश जस्ता पूर्णाङ्की नाटकहरूको पनि अङ्ग्रेजीमा अनुवाद भएका छन् । सुवेदीकै अग्निकको कथा (फायर इन द मोनास्ट्रि), ठमेलको यात्रा (अ जर्नी इन्टु ठमेल)रुँगलाको आकास (द केयर टेकर्ज् स्काइ) अङ्ग्रेजी भाषामा अनुवाद भएका छन् । अङ्ग्रेजी भाषामा अनुवाद गर्ने प्रचलन अधिक रहे पनि रुसी, जापानी, डेनिस, चिनियाँ, जर्मन, उर्दू, मैथली, हिन्दी, संस्कृति आदि भाषामा पनि नेपाली साहित्यिक कृति अनुवाद भएको कुरा बलराम अधिकारीले उल्लेख गरेका  छन् ।
नेपालमा अनुवादको थालनी कहिलेबाट प्रारम्भ भएको हो? ज्ञात नहुनु । अनुवाद र मौलिकताका सीमा रेखाहरू अष्पष्‍ट हुनु, अनुवाद हुने भाषिक स्रोत व्यापक हुनु आदिजस्ता समस्याले गर्दा आज हाम्रो भाषामा एकातिर अनुवाद अनिवार्य बन्दै गइरहेको छ भने अनुवादमा मानक पद्धतिको विकास बन्न सकेको छैन । अनुवाद समाजका लागि अत्यावश्यक पद्धति रहे पनि यसको प्रभावकारी नियमन हुन नसक्दा भद्रगोलको सिर्जना हुन पुगेको छ ।

सन्दर्भ सामग्री सूची
धिकारी बलराम, अनुवाद सिद्धान्त र प्रयोग, काठमाडौँ: त्रिपिटक प्रकाशन, २०७१
दहला, राजकुमारी, अनुवाद विमर्श, प्रतिमा प्रकासन्, सन् २०१३
http://www.majheri.com/node/1934, [accessed 23.03.2016]  

Comments

Popular posts from this blog

शैलीविज्ञान सिद्धान्त र प्रयोग

नेपाली नाटकको समकालीन दृष्‍टि

नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक (CRITIQUE ON BAL KRISHANA SAMA 'Andhabega')