सगरमाथाको नृत्यमग्न आत्माः आधुनिक नेपाली कविताको प्रतिनिधि सँगालो 'Collective Nepalese Poetry'
- अशोक थापा
नेपाली साहित्यको फूलबारीमा सर्वप्रथम आँकुरा हालेको विधा काव्य
वा कविता हो । यसै आधारमा नेपाली साहित्यको जेठो विधाका रूपमा पनि कवितालाई स्वीकार्न
सकिन्छ । कविता विधाको विकास पश्चात् नेपाली साहित्यमा अन्य विविध विधाका साहित्यिक
रचना सिर्जना हुने गरेका भए पनि कविता विधा जस्तो समृद्ध हुन सकेका छैनन्
। यसमा पनि पद्य साहित्यका तुलनामा गद्य विधाको लेखन परम्परा निकै पछि मात्र थालनी
भएक हो । पूर्वीय साहित्यको इतिहासमा पनि ऋग्वेदलाई एउटा काव्यात्मक रचना मानिएकाले
पनि कविता निकै पाको-पुरानो विधा रहेको स्वत: पुस्टि हुन्छ ।
नेपाली साहित्यमा लेख्य कविताको विकास हुनु भन्दा अगि लोक साहित्यका
पृष्ठभूमिमा लोक कविताहरूको विशाल भण्डार भेटिन्छ । विभिन्न प्रकृतिका ताम्रपत्र, अभिलेख तथा औषध-ज्योतिष
जस्ता शास्त्रमा नेपाली कविताको उत्कृष्ट डोबहरू भेट्न कसिन्छ । नेपाली साहित्यमा प्रथम
कवितात्मक लेखन अभ्यास पृथ्वी नारायण शाहको नेपाल एकीकरणको प्रारम्भसँगै भएको तथ्य
साहित्येतिहासकारहरूले स्वीकार गरिसकेका छन् । त्यसलाई लेख्य कविताको पृष्ठभूमि मान्दा
नेपाली नेपाली कविता साहित्यले अढाइ शाताब्दीको समयावधि पार गरिसकेको
छ ।
अढाइ शताब्दी पार गरसकेको नेपाली कविताले विविध धारा, मोड, उपमोडहरू पार गर्दै आजको यस समृद्ध परम्पराको गति लिएको हो
। हरेक साहित्यको एक ऐतिहासिक आरेख हुने गरे जस्तै नेपाली कविताको पनि आफ्नो एउटा मौलिक
समयक्रम छ । नेपाली कविता साहित्यका विषयमा प्रथमिक काल (१८२६-१९४०), माध्यमिक काल (१९४१-१९७४/९०) का विषयमा खासै विवाद नभए पनि नेपाली
आधुनिक काल र नेपाली साहित्यमा आधुनिकताको प्रवेशका सन्दर्भमा व्यापक विवाद छ । त्यस विवादको
आधिकारिक टुङ्गो लागिसकेको छैन त्यो विवाद लेखनाथ पौड्यालबाट आधुनिक काल प्रारम्भ
भएको मान्ने, लक्ष्मी प्रसाद देवकोटाबाट आधुनिक काल प्रारम्भ भएको मान्ने अनि
गोपाल प्रसाद रिमाल बाट आधुनिक काल प्रारम्भ भएको मान्ने विवाद हो । कविताको
सिर्जना हुन थाले पछि ती कविताहरूलाई विविध ढाँचा र विशेषताका आधारमा सङ्कलन गर्ने
मूल्याङ्कन गर्ने अनि विश्लेषण गर्ने परम्परा नेपाली कविताको इतिहासमा भएको छ । यस
सन्दर्भमा आधुनिक नेपाली कवितालाई एकै ठाउँ सङ्कलन गर्ने एक अर्को प्रयासको चर्चा
हुँदैछ । यस कार्यको थालनी गर्ने
व्यक्तित्व मोमिला जोशी हुन् भने उक्त सँगालो नाम हो सगरमाथाको नृत्यमग्न
आत्मा ।
यस कविता सङ्ग्रहमा नेपाली कविताको गोपाल प्रसाद रिमालदेखि आधुनिक
काल प्रारम्भ भएको हो भन्ने तर्कलाई आधार मानिएको छ ।
निकै विशाल काय संरचनामा संरचित सगरमाथाको नृत्यमग्न आत्मा शीर्षकको
नेपाली कविताको सँगालो सार्वजनिक भएको छ । नेपाली साहित्यमा सुपरिचित भइसकेकी मोमिला
जोशी द्वारा सम्पादित यस कविता सङ्ग्रह सम्भवत: नेपाली कविता साहित्यको सबैभन्दा ठूलो सङ्ग्रह हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजनाबाट सम्पन्न भएको यस कार्य नेपाली कविता साहित्यको
निकै उल्लेखनीय काम किन पनि हो भने यसले नेपाली कविता साहित्यको विविध
पुस्ता (Generation) का कविहरूलाई
एकै ठाउँ भेला गर्न सफल भएको अनुपम प्रयास
पनि हो । आधुनिक नेपाली कविताको वर्तमान अवस्थाको निरीक्षण
गर्न चाहने जोसुकै पाठकका लागि यो कार्य कोशेढुङ्गा सावित हुने छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सञ्चालन
गरेको परियोजनात्मक कार्य भएकाले आधिकारिकता र विश्वसनीयताका सबालमा पनि यस कृतिले
आफूलाई स्थापित भएको महसुस गर्ने छ । ५४२ पृष्ठ
मूल भाग र करिव ५० पृष्ठको प्रारम्भिक पृष्ठ
(Preliminary Pages) सहितको १३५ जना
कविको कवितालाई यस सँगालोमा सङ्कलित यस पुस्तक कडा जिल्लाबन्दीमा *Hard Covered* बाँधिएको छ । यसकारण यस पुस्तकलाई निकै पछिका पुस्ताका पाठकले
पनि पढ्ने छन् । नेपाली साहित्यमा कलम
चलाउने निकै अगिल्ला पुस्ता *सम, रिमाल, देवोटा* देखि आजका पुस्ता *श्रवण मुकारम*
सम्मका कवि प्रतिभालाई समेट्न सक्नु यस सङ्ग्रहको सबल पक्ष हो । यसका साथै कविको परिचयात्मक सामान्य सूचना र मान्यता दिन सक्नु यस कविता सङ्कलन को सबल पक्ष
हो । यस कविता सँगालोको भूमिका दमदार छ यसका लागि भूमिका लेखक डा. लक्ष्मण
प्रसाद गौतमलाई साधुबाद दिनै पर्छ ।
सम्पादकले प्रतिनिधि आधुनिक कविता भनेकाले यो एक निश्चित समयावधिमा
बाँधिएको छ भन्ने स्वत: पुस्टि हुन्छ । नेपाली कविता साहित्यमा आधुनिकताको प्रादुर्भाव
कहिलेबाट भयो भन्ने विषयमा विद्वान्हरूका बीचमा एकै मत नभएको सन्दर्भमा यस कार्यले
नेपाली कवितामा आधुनिकताको प्रारम्भ गोपालप्रसाद रिमालको ‘कविको गान’ (वि.स. 1991) लाई आधार मानेको देखिन्छ । अर्को कुरा यस सङ्कलनले गद्य कवितालाई मात्र
आधार मानेर पद्य कविता लेख्ने कोही पनि आधुनिक कवि बन्न सक्दैन भन्ने अघोषित आग्रह
राखेको छ । यति विशाल काय संरचनाको कविता सङ्कलनमा पनि प्रगितिवादी विचार धारा राख्ने कविहरूलाई न्यून प्राथमिकतामा राखिएको छ यो सम्पादक र यो परियोजना
सञ्चालन गर्ने समूहको आग्रह हो भन्ने सजिलै पुष्टि हुन्छ ।
आधुनिक कालका पनि विविध धारा तथा प्रवृत्ति रहेको सन्दर्भमा
गोलमटोल (As a whole) कविताको सङ्कलन
गरिँदिँदा पाठकलाई असजिलो पर्ने गरेको तथ्य पनि छर्लङ्ग छ । छन्द कविताको वहिस्कार गर्ने भएकाले यस सङ्ग्रहमा
छन्दोबद्ध कविता लेख्ने सबै कविलाई आधुनिक
नभनेर पुरातन भन्न खोजिएको छ ।
नेपाली कविता साहित्यमा आधुनिकताका विषयमा व्यापक विवाद भइरहेको
सन्दर्भमा एक पक्षीय मान्यतालाई संस्थागत गर्ने प्रयासका रूपमा यस कविता सङ्ग्रहलाई
आरोप लाग्न सक्छ
। कतिले लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा, गोपाल प्रसाद रिमाल आदिका कविता देखि आधुनिकता मान्ने गरेको
सन्दर्भमा सम्पादकले गोपाल प्रसाद रिमाल नै नेपाली कविता साहित्यमा आधुनिकता भित्र्याउन
सफल कवि हुन भन्ने ठोकुवा गर्ने प्रयास गरिएको छ जुन सर्वस्वीकार्य नहुन सक्छ । यस
कविता सङ्ग्रहमा सम्पादकले मनोमानी ढङ्गले कविका कविताहरू छनोट गरिदिँ सम्बन्धित कविका
उत्कृष्ट कविता पाखा पर्ने र सामान्य कविताले स्थान पाउने सम्भावना प्रबल देखिन्छ । कविता विधा
मात्रै त्यस्तो छाता अवधारणाको विधा हो यस भित्र गीत, गजल, हाइकु, जस्ता अन्य विविध उपविधाहरू पर्छन् त्यस तर्फ यस कविता सङ्ग्रह
मौन रहेको छ । गद्य कवितलाई स्थान
दिएर गद्य कविता मात्र आधुनिक हुन सक्छ भन्ने एक पक्षीय तर्क अगाडि सारिएको छ यस सङ्ग्रहमा
सङ्कलित कविहरूले आधुनिक भावमा थुप्रै छन्दका कविता लेखेका छन् तिनीहरूको कवितालाई
आधुनिक कविता भन्ने
कि नभन्ने अनि आधुनिक कवि कुन कुनलाई भन्ने गम्भीर समस्या यस सङ्कलन स्थापित गरिदिएको
छ । गद्य कविता नलेखेकै कारण राष्ट्रकवि माधव धिमिरे
यस सँगालोमा अटाएका छैनन् । ल भन्नुस् त सम्पादक ज्यू घिमिरे आधुनिक कवि हुन् कि
होइन्?
देशी विदेशी दुवै स्राष्टालाई यस सङ्कलनमा अटाउने प्रयास गरिए
पनि संसारभर छरिएर रहेका नेपाली कविहरुलाई समेट्न नसक्नु यस सङ्कलनको सीमा हो । कविताले समावेशी तरिकाले चल्न सकेको छैन भन्ने आरोप
सम्पादकले सहन पर्ने हुन्छ । समसामयिक काल खण्डमा वि सं २०२५ साल भन्दा पछि पनि थुप्रै प्रतिभावान् कविहरूको जन्म भएकाले
यस कालखण्डका कविहरूलाई पनि समेट्ने प्रयास गर्नु पर्छ भन्ने देखिन्छ । कुनै स्राष्टाका एक भन्दा धेरै र कसैको एउटा मात्र
कविता सङ्कलन गरिएको छ । कुनै स्राष्टाको एक भन्दा धेरै कविता सङ्कन गर्नाको साटो नवीन
युगका कविहरूलाई प्रोस्साहन गरेको भए उत्तम हुने थियो किनभने २०२५ साल पछि नै जन्मेका कविहरू पनि जोडदार प्रकृतिका छन् । कविताको सँगालो
निकालेका कविलाई मात्र स्थान दिँदा निकै उत्कृष्ट कविता लेख्ने तर सङ्ग्रह
ननिकालेका कविलाई घोर अन्याय भएको सजिलै अनुमान गर्न सकिन्छ । यसर्थ
कविताको शीर्षक नै प्रतिनिधि आधुनिक नेपाली कविता नभनी, प्रतिनिधि आधुनिक गद्य कविता भन्न सकिने थुप्रै आधारहरू छन् । काम गर्नेका गल्तीहरू हुन्छन्, काम गर्नेको नै आलोचना
हुने हो । आलोचना हुँदा हुँदै पनि नेपाली साहित्यका आधुनिक काल खण्डका कविहरूको
सूचना एकै ठाउँ पाउन सक्नु कम सौभाग्यको कुरा होइन । कुनै पनि विवादित कुराहरूका
विषयमा कार्य गर्दा अलि बढी बहस, अलि धेरै अनुसन्धान हुनु पर्छ । सरकारी संस्थाबाट
कुनै एक कित्तालाई प्रोत्साहन गर्ने गरी कार्य गर्नु एक प्रकारको अप्रत्यक्ष
भ्रष्टाचार गर्नु हो भन्ने यस लेखको ठहर छ । फेरि पनि सम्पादक र यस कार्यमा लाग्ने
समूहलाई साधुवाद टक्याउँदै विदा ।
Comments
Post a Comment