भजाइनल ट्रमा (VAGAINAL TRUMMA) [कथा]
-अशोक थापा
कीर्तिपुर ! पुरातन सहरको सामुन्ने ठिङ्ग उभिएको भवन । सहिदको नाममा न्वारन गरिएको घर । माथि जस्ताको छाता ओडाइएको छानो र कमसल इँटाले बुनिएको भित्तो । झट्ट हेर्दा ठ्याक्कै अङ्ग्रेजी एल् आकारको । हो यही हो ‘शहीद स्मारक कलेज’। चन्चले आँखा, सेतो खरायोलाई उछिन्ने गोरी । उन्नाईस वर्षकी । आफ्नो समूहकी नेता । पूरै बोल्ड । हरेक दिन उत्साहका साथ कलेज आउने । सधैँ अनुहारमा जाँगर र हिँडाइमा छुट्टै जोस् भएकी ! साहसी । यही कलेजमा स्नातक पढ्ने, मेनका तुमु।
निख्रँदो फागुन महिनाको ओसिलो बिहानलाई तताएको थियो कल्याङ्-मल्याङ् एक रङ्गिन भिडले । रङ्गीचन्ङ्गी अनुहार लिएर केटाहरू कलेज ड्रेसमै बास्केट बल उफार्दै थिए, कोही चाउचाउ मुर्क्याइरहेका थिए । लखेटा-लखेट, घचेटा-घचेट, भनूँन रङ्गिएको भीड देख्दा लाग्थ्यो उनीहरू मध्यान्हमा पिसाब फेर्न भुन्भुनिएका मौरी हुन् । एक दिनअगावै होली आउनु खास विशेषता हो शहीद स्मारक कलेजको ।
बेलैमा कलेज छिर्ने गोरीको अत्तपत्तो थिएन आज । घनघोर प्रतीक्षामा देखिन्थे
उसका ४ थान जिग्री दोस्तहरू । एकएक रङ्का बट्टाहरू हातमा थिए तर उनीहरूको अनुहारमा
कमान्डर मरेको सिपाहीमा जस्तै अन्यौलता देखिन्थ्यो । केटीहरू भनिहरेका थिए “पैसा
तिरेर पनि किन्न नसकिने चिज मित्रता नै रहेछ ।” तुरुरन्तै ! लमक्-लमक् एकजना
किशोरी गेटभित्र छिर्दै थिई । उसको हिडाइमा खास दम थिएन । उत्साह पूरै मुर्झाएको
प्रस्टै देखिन्थ्यो । उनीहरू मुस्कुराउने निश्चित थियो “प्रतीक्षाको घडीको अन्तिम
सेकेन्ड पूरा हुनलागेकोमा ।”
कालो जुत्तासहितको देब्रे खुट्टो गेटभित्र झ्याप्प छिर्यो । दाहिने गेट बाहिरै
। मेनका झट्ट गेटभित्र पसी । तुरुन्त चार जनाको झम्टाइमा परी ऊ । भोका चितुवाले सिकार
गरेझैँ उसलाई पक्रेर होलीको रङमा डुबाइयो निमेषमै । रातो, पहेँलो, हरियो अनि थरीथरीका
रङले एकै छिनमा बिरूप बनी मेनका । तर न ऊभित्र उत्साह थियो न आकर्षण थियो होलीको ।
सबैले हेरिरहे उसलाई अनौठो मानेर । एउटा जिज्ञाशा “हिजोको जोस् खोई यसको भनेर ?”
ओइ ! “तेरो आँखा हो कि पाकेको खोर्सानी” “हेर् त रङ र गाजल पनि बगिसकेछ” । पभी
चिच्याइ ।
अँ साँच्ची के भयो? सन्चो छैन हो तँलाई? सज्जाले हो’मा हो’हो थपी ।
“मैले था पाएँ तँलाई के भा’छ भन्ने” यसलाई ‘लबेरिया’ भन्ने रोग ला’छ, क्यान्सर
भन्दा नि डेज्जर”
“अर्कीले भनी”
हैन “तेरो बोली कस्ले चोर्यो आज ?” प्रश्नमाथि प्रश्न !
“त्यै लट्टेले चोर्यो होला नि?” सामूहिक स्वरमा माहौल तात्तियो, अट्टहासले (हा-हा-हा-हा-हा
!), बाघभैरव मन्दिर गुञ्जने गरी ।
पूरै उदासी अनुहार, निराश भावमा थिई ऊ । यस्तो लाग्थ्यो मेनका आज वाणीहीन र
प्राणविहीन छे । उसले “मुन्टो आकाशतिर फर्काई” उसका आँखाबाट आँसुका डल्ला पल्टन
थाले “बुरुल्-बुरुल्” । भर्खर पोतिएको रङ् र गाजल बगेको प्रस्टै देखिन्थ्यो । हँ
के भयो डब्बा ? लौउ ! उसका साथीहरू मुखामुख गरेर हेरे आफैँ-आफैँलाई । सिताङ्ग भए
एकैपटक उनीहरू । मेनका जुरुक्क उठी, हतार-हतारमा । उसले अमिलो मन गरेर सुक्क-सुक्क
गर्दै भनी ‘तिमीहरूलाई भेट्न मात्र आ’को, भोलि छुट्टी छ त्यसैले’ म फर्किहाल्छु ल ।
बाइ! भनेर ऊ तुरुन्तै गेटबाट बाहिर निस्किई “उही उदासी मनको गरुङ्गो भारी बोकेर ।”
होलीका सबै रङ् कालो धब्बामा बदलियो अचानक । एकै पटक माहौल सन्नाटमा डुब्यो ।
उनीहरूको गुलाबी अनुहार एकै पटक न्यास्रियो । तातेको फलाम पानीमा चोबले जस्तै देखियो,
उनीहरूको अनुहार । उसलाई पछ्याउने निधो गरे साथीहरूले । एउटी सबैको झोला बोक्न
केलजभित्र पसी । बाँकी तीनवटीले उसलाई पिछा गरे भोको सिंहले हरिणलाई पछ्याएजस्तै
। बेतोडको देखिन्थ्यो उसको हिडाइ । के’ले वित्याँस पार्यो डब्बालाई ? साथीहरूले
साउती मारेर कुरा गरे बाटैमा । ‘इम्ली बम’ बाँडेकी थिई होजोसम्म त कलेजमा । पूरा
मुडमा थिई । तर त्यै अनुहारमा आज? कालो बादल र हुन्डरी ! अचम्म !
टीयुको पश्चिमी पर्खालबाट फनक्क बायाँ घुम्दा ट्याङ्ग्ला फाँटको गुरुङटोल
आउँछ, त्यसबाट साँगुरो गल्ली छिरेर सिधा अघि बढेर थोरै बायाँ मोडिँदा एउटा साडे
दुई तले घर आउँछ । हो त्यही हो मेनकाको
डेरा । कालो गेट । कालै रेलिङ् । त्यसको तल दुई कोठा । हतार-हतार भित्र पसी ऊ ।
गेट लगाई । कर्याङ्---र्याङ् आवाज आयो । झोलामा हात हाली । चाबी निकाली । ढोका खोली
। भित्र पसी । आफ्नो कोठा पनि यसै गरी खोली । पछाडि फर्केर हेरिन उसले, एकपटक पनि
। उसको पछिपछि साथीहरू हस्याङ्-फस्याङ् गर्दै थिए । लाग्थ्यो एउटा कुख्यात
अपराधीलाई पुलिसले पिछा गरिरहेको छ।
कोठामा पुग्नासाथ झ्याम्म! बिस्तारामा पल्टिई ऊ । साथीहरू पछिपछि आएको देखेर ऊ
छक्क परी सायद इरिटेड पनि भई, तर बोलिन, “ओई ‘डब्बा’ भन्न के भो तँलाई ? भनेको ।”
तैले आज हाम्रो दिन खराब बनाइदिइस् । हाम्रो रोमान्स, उमङ्ग, पूरै ध्वस्त भयो,
होलीको यो रङ् पूरै कालो मोसो जस्तो पार्दिस्, मुड पूरै अफ बनाइदिइस् ‘डब्बा’! । साथीहरू
अलिअलि रिसाए बनावटी पाराले । “ओई सुन्न ! के हामी तेरो मिल्ने साथी होइनौँ? हामी
अब तँसँग कहिल्यै नबोल्ने । तँ अब हाम्रो कै पनि होइनस् ” अझै रन्किए साथीहरू । मेनका
झन् पातलो ब्ल्याङ्केटले मुख डाक्न थाली । र कुनातिर फर्केर गुटुमुटु परी । उसलाई
बकाउन पेलान्, धम्की, चेतावनी, डर, त्रासको सबै अस्त्र प्रयोग गरे साथीहरूले । उसलाई
अत्याए, चिमोटे, चिथोरे, उसको बिस्तारा रङैरङ दलेर बिरूप बनाए साथीहरूले । झन्डै
बीस-बाईस मिनटेपछि ऊ भारी शरीर लिएर उठी । एकछिन एकोहोरो टोलाएर झ्यालतिर हेरी ।
अनि विस्तारै साथीहरूको अनुहारतिर हेरी । उसको अनुहारमा प्रस्ट देखिन्थ्यो होली,
अनिदो र पीडाको रङ्ग पूरै लतपतिएको ।
“तिमीहरूलाई दुःख दिएँ, सायद यो सामान्य बहाना भन्दा अलगै छ कुरा” ऊ विस्तारै
बोल्न थाली ।
“तिनीहरूलाई थाहा छँदै छ । शिशिर र मेरो अफियर्स । हामी कति क्लोज थियौँ त्यो
पनि भन्नै परेन” ऊसले लामो सास तानी अनि सुस्केरा हाली । ऊ र म निकै नजिकियौँ,
हामी एकविना अर्को साँच्चै छपपटीमा पग्थ्यौँ । तिमीहरूले बाहिर देखेभन्दा पनि धेरै
। यति एकोहोरिएँ कि म सपनामा पनि कराउँदो रहेछु । शिशिरर् ! शिशिर्! भनेर । हामी
कहाँ मात्र पुगेनौँ । गोदावरी, दक्षिणकाली, टौदह, थानकोट, सल्लाघारी र पर पाइलट
बाबा आश्रम, काँआँ, काँआँ । कुन्नि! “पाइला रोक्न नसक्नु पहिलो प्रेमको झट्का रहेछ
।”
तिमीहरू धेरैलाई यो कुरा पनि थाहा छ दाइ र म सँगै बस्छौँ यहाँ । फोटोतिर औँला देखाउँदै
उसले भनी “ऊ मेरो दाइ ऊ’नै हो ।”
“दाइले के पढ्नु हुन्छ रे”? बीचैमा सोधी सज्जाले ।
उसले भनी “इन्भाइरोमेन्टल साइन्स ।” । टीयुमा । म बिहान, दाइको दिउँसो छ क्लास
।
“अस्तिको शुक्रबार । दाई फिल्डमा जानु भो । कैलालीको घोडाघोडी ताल । जैविक
विविधताको अध्ययन गर्न।” यो कुरा शिशिरलाई थाहा थियो ।
“शनिबारको दिन म तिमीलाई भेट्न आउँछु” उसले भनेको थियो । “सायद ऊ एक्लै भेट्न
चाहन्थ्यो मलाई कोठामा”
सयौँ शनिबार मध्ये त्यो शनीबार भिन्न थियो । अन्य धेरै छुट्टीका दिनभन्दा पनि
अलग्गै । विनाकारण छिनछिनमा मनमा उठ्ने तरङ्गले रन्थन्याउँथ्यो! । समुन्द्रको लहरीजस्तै
मनको चन्चलता एकपछि अर्को गरी आइरहन्थ्यो मनमा । न योजना, न काम, न कुनै उपलब्धि
त्यतिकै बितेर पनि जाँदारहेछन् दिनहरू । यतिकैमा साँझको धमिलो किरण फ्याँकेर घाम
डाँडाबाट फुत्त हाम फाल्यो । सायद बिलायो । त्यसको केही समयपछि चिप् चिप् चिप्
चिप् गरेर गेटको घण्टीले साइरन बजायो छुट्टै लयमा । भिन्न लागेको थियो मलाई त्यस
दिनको घण्टीको आवाज पनि । यै कोठा हो हामीले १८ महिना बिताएको । सुरुमा त मैले
वास्ता गरिन घरबेटीका कोही मान्छे आए होलान् भनेर । म तर्सेँ पनि एउटा मौनताबाट बिथोलिएर
। साँझको सात बजेर पच्ची मिनेट गएको थियो । म जुरुक्ट उठेँ पहिले आफ्नो कोठाको
ढोका खोलेँ । त्यसपछि मूल ढोका खोलेँ । त्यहाँ मेरो पूर्वअड्कल मेल खाएको थियो “ऊ अरू
कोही नभएर शिशिर नै थियो ।”
“तँ काले किन आएको ? साँझ ?” मैले सोधेँ ।
अस्ति आउँछु भनेको थिएँ त ? उसले जवाफ दियो । मन्द मुस्कान दिएर उसले भन्यो “आज
यहीँ बस्ने, यहीँ खाना खाने हो” । मलाई कस्तो उकुस-मुकुस, आतङ्क, भय, भयानकता, व्याकुलताले थिच्यो एकैचोटि । यस्तो
अनुभव भाथ्यो कि ढोकाबाट मान्छे होइन प्रवेश गरिरहेको छ “भयानक सुनामी ।”
मान्छेहरूलाई के’को डर लाग्छ कुन्नि ? मलाई मान्छेको डर लाग्यो त्यति खेर । सबैभन्दा
धेरै डर घरवेटी बूढोको । तै पनि मैले नाइँ भन्न सकिन । गफिँदै खाना बनायौँ । ठट्टा
गर्यौँ । योजनाविना धेरै काम गर्यौ पनि । हामी सँगै बस्यौँ । जब साँझ छिप्पिँदै
गरयो “कालो रातले छोपेझैँ भयो मेरो मन पनि” । म खुसी पनि थिएँ डेढ बर्षदेखिको
आफ्नो प्रेमी सँगै भएकोमा र दुःख, डर, त्रास र सामाजिक लाजले पूरै छपटपटीमा पनि ।
एउटा बिस्तारा किचनमा थियो । अर्को वल्लो कोठामा । सुत्ने बेला भयो । ‘तिमी
किचनमा सुत’ मैले भने । उसले नसुने जस्तो गर्यो । उसले झन् अरू गफ निकाल्यो । गफ
गर्दैगर्दा उसले मलाई छुन थाल्यो विस्तारै । कपाल, गर्दन, पिठिऊँ । लगभग जतातै । अन्ततः
उसले कसिलो अँगालोमा बेर्यो, शरीरका सबै अङ्गमा चुम्यो पालैपालो । म बोल्न सकिन,
चिट्-चिट् पसिना आयो । लामोलामो सास मात्र फेरेँ । “झ्याप्प बत्ती निभायो” वरैबाट
। मेरो सुरुवाल तान्दै, इजार तन्काएर भित्र हात छिरायो उसले । आफ्नै जिऊ धान्नै
गारो भयो मलाई । एक्कै पटक! उसले कानैमा मुख लगेर यौन-सम्पर्क राख्ने प्रस्ताव
गर्यो म अनायाशै चिच्याएछु त्यति बेला । मेरो आँखाबाट अगि नै आँसु झरिसकेको रहेछ
। के गरेको तिमीले ? शिशिर म तिमीलाई संसारमा सबैभन्दा धेरै माया गर्छु, जे भने
पनि मान्छु तर यति हतारो किन गर्यौ प्लिज, म तिम्रो खुट्टा ढोग्छु, तिमी बुझ न
कुरा खासमा यो हतार अनि गल्ती के’का लागि? अर्को कुरा मेरो शारीरिक अवस्था !
मैले उसको गालामा दुई हात राखेर मुसार्दै भने, मेरा आँसुका धाराले उसको टिसर्ट
लपक्कै भिजेको थियो । बाहिर बाटै छाम्न सकिन्थ्यो उसको मुटुको चाल । ऊ झन्डै
बेहोसीमा थियो । उसको मुखबाट एक शब्द पनि बाहिर ननिस्केको मैले पहिलो पटक देखेँ ।
उसले सम्झाउने असफल प्रयास पनि गर्यो । के सब यी बगबास थिए ? तिमी मेरो
गर्लफ्रेन्ड होइन ? हामी बिबाह गर्ने भनेर तिमीले नै भनेको होइन ? हामी कहिल्यै
नछुट्टिने कसम खाएको होइन ? उसले भट्टाभट् साउती मारेर सोधेको थियो कानैभित्र । हो
मेरो कुरा त सुन न । म एउटा कुरा भन्छु अनि ! मैले अनुनय-विनय, अनुरोध अपील, विन्ती, याचना, प्रार्थना के के हो के के गरेँ । अहँ
!
“पर्दैन मलाई कसैको माया” ऊ ठूलो स्वरमा चिच्यायो । मेरो हात हुत्याइदियो
करेन्टको धक्काले जस्तै । भित्ताको ऐना भुँइँमा झर्याम्म फुट्यो, “ऊ हेरेन ऐनाको
हालत” उसले भुइँमा देखाई । रातीको ११
बजिसकेको थियो । ऊ लुगा मिलाएर झोला बोकेर घर्याक्क ढोका खोल्दै रिसले पुत्ताएर
बाहिर निसक्यो राति नै । सायद आफ्नो कोठामा गयो । मैले १७ पटक फोन गरेँ । घरि उठेन
। घरि तपाइँले डालय गरेको नम्बर व्यस्त छ भन्ने आवाज आयो । मेसेज पठाएँ, एकपटक फोन
उठाऊ भनेर । मेसेन्जरमा टेक्स गरेँ । उसले रेस्पोन्स गरेन कतैबाट पनि ।
माथिबाट घरबेटी बा कराए “के भयो ?” किन चिच्याएको ? भनेर सोध्नु भो । हेर्नु न
बा कत्रो बिरालो मेरो रुममा पसेछ । “खेदाउ न” । उहाँले भन्नु भो । मेले भने “खेदाइ
सकेँ ।”
सुत्न मलाई मन पर्थ्यो । तर रातभरि निद्रा लागेन मलाई, आफ्नो भाग्य, आफ्नो
नियति के के कुराले ऐठन गरिराख्यो, बिहान चार बजेछ । मैले उसलाई मेरो बाध्यता भन्न
नसक्नु मेरो गल्ती पनि थियो सायद । म बाहिर सर्लक्क सद्धे थिएँ तर भित्रभित्रै !
निद टुटेपछि यो पनि सोचेँ “सुत्नु विलाशिता होइन रहेछ” ।
धेरै कुरा खेले मनमा । सबैभन्दा धेरै प्रेम, सम्बन्ध र आकर्षण खेले । के प्रेम
भनेको शारीरिक सम्बन्ध मात्र हो ? कि अनिवार्य तत्त्व ? यौनविनाको प्रेम संसारमा
छैन है ? सय बढी प्रश्नका आँधिले म रातभरि लछारिएँ कहिले वल्लो भित्ता कहिले
पल्लो । एकाएक नर्मल केटी पूरा दार्शनिक जिज्ञाशामा डुबैँ । त्योभन्दा बढी आसुमा
डुबेँ । पहिलो पटक केटी भएकोमा मलाई घृणा र छटपटी दुवै सिर्जना भयो ।
मलाई शिशिर देखेर साह्रै रिस उठ्यो । कता-कता घृणा पनि । उसको आक्रोशको
प्रतिक्रियामा म सुत्केरी बघिनीजस्तै बने । अनि आफ्नो शरीर । मैले मोबाइ खोलेँ र
भोइस मेसेज रेकर्ड गरेँ । रेकर्ड भएको जनाउ घण्टी बज्यो ‘टुइङ्क’ गरेर ।
++++++++
मेरो रिसाएको साथी शिशिर ! तिमीले फोन उठाएनौ राम्रो गर्यौ, फेसबुकमा चिडिएर
ठीकै गर्यौ । यो मेरो भोइस मेसेज सुन्छौ या सुन्दैनौ ? यो पनि तिम्रै खुसी । जे
गर !
कुरा दुई वर्ष अगाडिको हो । कक्षा १२ को मौका परीक्षा दिएर गाउँ फर्किएको थिएँ
म । फलफूलमा रोज्जा अम्बा नै लाग्छ मलाई । रुचाएर अम्बा खानु मात्र होइन, उत्तिकै
स्वादेलाग्छ अम्बाको कलिलो पातको गन्ध पनि । घरमा दशैँले ढकमक्क ढाकेको थियो । घटस्थापनाको
दिन थियो । गाउँमा दशैँको महोलले तरङ्ग ल्याएको थियो । आमा घर चोख्याउँदै
हुनुहुन्थ्यो रातोमाटोले । बाबा च्याङ्ग्रा रोज्न बजार जानु भएको थियो । घर आउना
साथ पहिलो काम गरेँ अम्बाको रुखमा चढ्ने । त्यो पनि लुगा नफेरीकन । मान्छेका
केकेमा खुसी हुन्छन् कुन्नि ? रुखमै बसेर अम्बा खानु मेरो पहिलो रोझाइको स्वर्ग
थियो । त्यसमा पनि टुप्पाटुप्पामा पाक्ने नाइटेअम्बाको त म फ्यान नै हूँ, स्वाद
पनि क्या गज्जबको । आहा ! अहिले पनि भुतुक्कै हुन्छु म अम्बा सम्झेपछि ।
बिगत १० वर्षदेखि त्यो अम्बाको रूख उत्तिकै थियो र उस्तै । म अझै टुप्पामा जान
चहेको थेँ किन कि झन् राम्रा अम्बा थिए माथि । म सबैभन्दा उपल्लो चोकमा चढेँ । तर समय
सधैँजस्तो हुँदो रहेनछ, शिशिर ! करर् कट् कट् कटट् गरेको आवाजले म रुझेँ । मेरो आङ्
सिरङ्ग भयो । म लुतुतु तल झरिसकेको थेँ । त्यसपछि ठूलो आवाज आयो कट्याक्क ! म निकै
चिच्याएछु । आई---ई मम्मीमीमी--ईई! म एकैपटक भुइँमा बजारिएछु । शरीरमा केही
रोपिएजस्तै भयो । रूखमुनि सरादे सिमी फूल खेलेका थिए । पहिला म केहीमा रोपिएँ र म
बज्जारिएँ भुईँमा । सिमीको थाँक्रोमा परेको रहेछु । मेरो गुताङ्ग ठेसोमा परेछ, र
छेडेछ मलाई । हातमा घर पोत्ने पोचो लिएर हतारहतार आमा बाहिर निस्कनु भयो । म
पछारिएको ठाउँमा पुग्नु भयो । म बेहोस् जस्तै थिएँ । म रगत आहालमा डुबेछु आमाले
उठाउनु भयो । जन्डै आधा फिट लामो काठको सोइलो रोपिएछ । आमा रुन थाल्नु भयो ।
चिच्याउनु भयो । गोतामे बा! गोतामे बा! पल्लोघरे गोतामे बा घरै रहेछन् । लौन
गोतामे बा छोरी अम्बाको रुखबाट खसी । सोइलो रोपिएको छ । गाउँभरका एकै छिनमा
जुटेछन् । मलाई सेवा अस्पताल पोखरा लगियो । त्यहाँका डाक्टरले प्राथमिक उपचार गरेर
। काठमाडौँ रिफर गरिदिए । म अचानक भेटिएँ, नर्भिक अस्पतालको इमर्जेन्सीमा । महिला
डाक्टरले साथ, १७ दिन रुम नं. २०३
मा विताएँ तड्पिएर । फुत्त गुड निउज उदायो घाम झुल्केसरी “तिम्रो अप्रेसन सफल भयो”
।
डाक्टरको माया र हौसलाले म पूरै पुलकित हुन्थेँ । लाग्थ्यो नयाँ उर्जा र हौसलाका
खानी हुन् डाक्टर । माया र ममताले होला निकै चाँडै आएजस्तो लाग्यो डिस्चार्ज हुने
दिन पनि । “मेनका यु आर लक्की” हामी खुसी छौँ तिम्रो अपरेसन सफल भएकोमा । “तर 'भजाइनल
ट्रमा'ले तिमीलाई निकै सताउने छ ।” डाक्टरले मेरो नजिकै आएर भने । “मेनकाले करिब ४
वर्ष बिहे गर्न मिल्दैन” आमा नजिक गएर डाक्टरले भन्नु भो । वाल्ल परेर मेरो
अनुहारमा हेर्नु भो आमाले । र मेरो कानैमा आएर पुनः डाक्टरले भने “यौन समागन गर्यो
भने ठूलो खतरा उत्पन्न हुनसक्छ ।” अनि सुनन “तिम्रो दुवै क्लिट (भग) छेदविच्छेद थियो
। रियर केस! हामीले अपरेशन गरी ताछेर फ्याँकिदियौँ त्यसलाई । त्यसले तिम्रो यौन- उत्तेजनामा
कमी आउनसक्छ । तैपनि आआफ्नो भाग्य हो, गुड लक भनेर डाक्टर बाहिरिनु भयो । मलाई विवाह,
उत्तेजना र यौनसम्पर्कमा निषेध गरेर ।
शिशिर म ठान्छु तिमी मेरो सायद पहिलो र अन्तिम साथी हौ । तिमीले त सजिलै भुल्छौ
होला तर म भुल्दिन र सक्दिन पनि । तिमीले प्रेमलाई जसरी बुझ्यौ हामी समाजले त्यसरी
नै बुझेको छ सायद । तिम्रो लागी प्रेम शारीरिक सम्बन्ध मात्र हो र फ्रायडले भनेजस्ते
“यौनसम्पर्क गर्ने बहाना मात्रै?” सायद धेरैका लागि त्यस्तै हो । तिमी त मसँग
भेट्दैनौँ होला, कलेजमा पनि बोल्दैनौ होला, मलाई वेवास्ता गर्छौ होला । मलाई
बाराम्बार तिम्रो सम्झनाको ट्रमा र लखेटिरहन्छ मलाई मेरै भजाइनल ट्रमाले भन्दा पनि
धेरै ! बाई ।
Comments
Post a Comment