पुरु लम्साल: रङ्गक्षेत्रका पूरा प्याकेज - डा. अशोक थापा
१. प्रारम्भ
पुरू लम्साल नुवाकोटमा जन्मेका रङ्गकर्मी
हुन् । उनी प्रस्ट छन् रङ्गकर्म अभिनयमात्र होइन । त्यसैले उनले नाटक लेखेका छन् ।
निर्देशन गरेका छन् । नाटकको आवश्यक सेटनिर्माण गरेका छन् । लेखन, निर्देशन
र नाटकलाई चाहिने आवश्यक क्राफ्टको सफल निर्माणले भन्न सजिलो भएको छ रङ्गक्षेत्रका
सम्पूर्ण प्याकेज हुन् लम्साल ।
लम्सालले पछिल्लो समयको नेपाली नाटकमा
सामाजिक समस्यालाई मात्र उठान गरेका छैनन् बरु नाटक र रङ्गमञ्चलाई एकआपशमा जोडेर
आफू पनि त्यसैमा समाहित हुँदै युवापुस्तालाई पनि यस क्षेत्रमा क्रियाशील रहन
प्रेरित गरिरहेका छन् । सांस्कृतिक नाटकलाई योजनाबद्ध तरिकाले जनतामाझ लानुपर्छ
भन्नेमा उनी आतुर छन् । यो उनको रङ्गक्षेत्र तर्फको जम्बर प्रतिबद्धता, तत्परता र
इमान्दारिता हो ।
पचासको दशकदेखि नै नेपाली रङ्गमञ्चमा सक्रिय
रङ्कर्मी पुरु लम्सालको यस क्षेत्रतर्फको यात्रा बालनाटकबाट भएको हो । उनको
रङ्गकर्म कहिले रेडियोनाटकतिर क्रियाशील देखिन्छ भने कहिले थियटर हलभित्र अनि
कहिले डकुमेन्ट्री चलचित्र निर्माणतिर पनि । केही समय बी.बी.सी.बाट प्रसारित हुने रेडियो नाटकको स्क्रिप्टलेखनमा
पनि उनी सक्रिय रहेको बुझिन्छ । अब त उनका नाटकहरूले देशको सीमाना नाघेर
अन्तर्राष्ट्रिय मञ्चमा पनि वाहावाही प्राप्त गरेको छ । छोटो समयमा ५ वटा नाटकाकार
पुस्तकसिर्जना गर्न सफल लम्साल विगतदेखि आजसम्म निरन्तर यही कर्ममा छन् भनुँम्
रङ्गकर्ममै छन् ।
गीतगजल, कवितातिर थोरबहुत क्रियाशील
देखिए पनि उनको सिर्जनाको केन्द्रीय क्षेत्र नाटक रहेको छ । उनका ठूलीका सपनाहरू (नाटकसङ्ग्रह, २०६७), आधा जलेको खप्पर (गजलसङ्ग्रह, २०६८), अर्को ओरालो (नाटकसङ्ग्रह, २०७१), देश हराएका मान्छेहरू
(नाटक,२ ०७२) र पानीघट्ट (नाटक, २०७४) प्रकाशित
छन् । ‘अनि हरिभक्त फर्किएनन्’ शीर्षकको डकुमेन्ट्री पनि निर्माण गरेका छन् लम्सालले । यी सिर्जनाबाट के निर्धक्क
भन्न सकिन्छ भने लम्साल नेपाली नाटकक्षेत्रका प्रतिबद्ध लेखक तथा रङ्गकर्मी हुन् ।
रेडियो
नेपालबाट आयोजना गरिएको राष्ट्रिय जागरण विषयक गीत प्रतियोगितामा लम्सालले
पुरस्कार प्राप्त गरेका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना
गर्ने कविता महोत्सव (२०७३) मा उनले द्वितीय पुरस्कार आफ्नो पोल्टामा पारेका छन् ।
साहित्यिक पत्रकारिता गरेको अनुभव पनि सँगालेका लम्सालको नाटक कोलकत्ता र
बङ्गलादेशमा मञ्चन भएपछि उनको उत्साहाको गियर ह्वात्तै बढेको उनी स्वयं स्वीकार्छन्
।
२. ठूलीका सपनाहरू
'ठूलीका सपनाहरू' (२०६७) पुरु लम्सालको पहिलो नाटकसङ्ग्रह हो । यसलाई उनले एकाङ्कीसङ्ग्रह
भनेका छन् । तर नाटकको पहिचान नाटक हो । त्यो न एकाङ्की हुन्छ न पूर्णाङ्की न त
बालनाटक नै । यस सँगालोमा 'ठूलीका सपनाहरू,' 'फूलमाया,' 'नओभाएका आँखाहरू,' 'अनि विद्रोह हुन्छ' र 'दीन' गरी जन्मा ५ वटा छोटा आयामका नाटकहरू
अनुबन्ध छन् । वैदेशिक रोजगारले उब्जाएका बहुआयामिक समस्या, सामाजिक क्रोनिकका रूपमा हाम्रो समाजमा रहेका
छुवाछुत समस्यालाई विशेष गरी यस सँगालोमा उठाइएको छ । द्वन्द्वकालमा सरकारी फौजबाट
हुने गरेको ज्यादती, युद्धमा लागेर शारीरिक रूपमा अङ्गभङ्ग
भएका व्यक्तिको मनछुने कारुणिक रुझान पनि यस सँगालोको विषय बनाइएको छ ।
'ठूलीका सपनाहरू' यस सँगालोको पहिलो नाटक हो । यो सँगालोको न्वारन पनि यसै शीर्षकबाट भएको छ
। यस सङ्ग्रहको पहिलो नाटक नै 'ठूलीका सपनाहरू'
हो । यसमा चेलीबेटी बेचबिखनको कथालाई मुख्य विषय बनाइएको छ र के
भनिएको छ भने - आयाम फेरिएको छ । सङ्ख्यात्मक आकार फेरिएको छ । श्रमबजार फेरिएको छ
। फेरिएको छैन मान्छे ओसार्ने क्रम । बहाना फेरिएको छ । मान्छे फसाउने सूत्र
फेरिएको छ । तर शोषण र अत्याचार, मानव बेचविखन र यौनलाई फगत
वस्तुका रूपमा हेर्ने पुँजीवादी संस्कार फेरिएको छैन । बजारको स्वरूप फेरिएको छ ।
यौनबजार सबैभन्दा ज्यादा फस्टाएको व्यापार बन्दैछ । अबका मुम्बई, दिल्लीका कोठीहरू कुवेत, बहराइन, दुबई र कतिपय पश्चिमा सहरहरू बनेका छन् । तिनै मान्छेको काँचोमासुको
व्यापार हुने स्थानमा आफ्ना सपनाहरूको हत्यासहित देहत्याग गरेकी ठूलीहरूको
दुर्दान्त कथालाई यहाँ नाटकीकरण गरिएको छ । हाम्रा चेलीहरू कति शताब्दीसम्म यसरी
नै निरन्तर बेचिइरहनु पर्ने हो ? यस्तै पेचिलो प्रश्नहरू
सङ्कथन हो नाटक 'ठूलीका सपनाहरू' ।
'फूलमाया' यस सँगालोको दोस्रो नाटक हो । समाजविकासको क्रममा उचनिच ठान्ने जातीय
विभेदको सोडा कसले हाल्यो र त्यसको प्रभाव आजपर्यन्त एक बल्झिरहने घाउ बनेर बसको छ
समाजमा ? हाम्रो देशमा । दक्षिण एसिया र प्राय: संसार नै भरि
बनमारा झार झैँ फैलिएको जातीय विभेदको एक नमुनाका रूपमा आएको छ यो नाटक पात्र
फूलमायामार्फत । यो नाटक सरल छ तर यसले समाजभित्र विद्यमान छुवाछुतकको बहुआयामिक
यथार्थलाई छर्लङ्ग पारिदिएको छ । ठूला भनिएका जाति र सानका बीचमा त जातीय विभदेको
आकासजमिनको फरक छँदैछ । दलित भनिएको समुदायमा पनि विभेदको बिऊ अविजालो झार झैँ
मौलाएको छ । हाम्रो समाजमा कामी र दमाई दुई जातिका बीचमा पनि उच्च र तिनमा जातीय
सङ्कीर्णताको विष भराएर राज गरेका अभिजात्य हुँ भन्ने समुदायको फुटाउ र राज गरको
सूत्रलाई प्रयोग गरिएको यथार्थ चित्रात्मक तस्वीर देख्न सकिन्छ 'फूलमाया' नाटकमा ।
'नओभाएका आँखाहरू' नाटकले भनेको छ 'बन्दुकको आँखा हुँदैन' । आँखा त खासमा बन्दुकेको हुनुपर्ने हो । दसबर्षे द्वन्द्व खेपेको हाम्रो
मुलुकमा बन्दुकको दोहोरो चपेटामा धेरै निर्दोष व्यक्तिहरू परेका थिए । हाम्रो
देशमा सहरी क्षेत्रभन्दा ग्रामीण भाग द्वन्द्वको चपेटामा बढी पर्यो । एउटा गरिब र
दलित (भनिएको) परिवारको सदस्य लुरेलाई सरकारी
फौजले विनाकसुर हत्या गरेको कथा यस नाटकमा उठाइएको छ । समाजले बनाएको तल्ला
जातिलाई अन्य सामाजिक प्रक्रियामा त बञ्चित गरिएको छँदैछ सहज रूपमा पानीको कुवाको
प्रयोगमा पनि बन्देज गरिएको अवस्थालाई नाटकले विषयवस्तु बनाएको छ । सामाजिक
यथार्थलाई पर्दामा देखाएर सुधारको अपेक्षा गरिएको यस नाटकको परिवेश ग्रमीण
प्रकृतिको छ । हिजोदेखि आजसम्म थरीथरीका द्वन्द्वबाट विकराल बन्दै गएको हाम्रो
सामाजिक समस्या र आर्थिक दुराबस्थाले ग्रामीण भेगका मान्छेको आँखा हिजो र आज पनि
आँसु वर्षिएर ओभाउन सकेको छैन । यसै यथार्थलाई बोल्नु मुख्य ध्येय देखिन्छ यस 'नओभाएका आँकाहरू' नाटकको ।
'अनि विद्रोह हुन्छ' नाटकको सङ्कथन अर्थले के भन्छ भने 'विनाकारण विद्रोह
हुँदैन' । विद्रोह र युद्ध जन्माउने केही निश्चित कारणहरू
हुन्छन् । कार्य र कारणको सम्बन्ध घामप्रकाश जस्तै हुन्छ । जहाँ गरिबी छ त्यहाँ
निश्चित रूपमा विद्रोह छ । जहाँ शोषण छ त्यहाँ द्वन्द्व छ । जहाँ अभाव छ त्यहाँ
तनाव छ । जहाँ मान्छेको अस्तित्व घुलोमा लपेटिएको छ त्यहाँ विद्रोहको बिऊ आफैँ
उम्रन्छ र वस्ती समाजलाई छोप्छ कुहिरोले जस्तै । विनाकसुर छोरा बेपत्ता पारिएको
वस्तीमा कुन चाहिँ आमाको मनमा विद्रोहको आगो नदन्कला र ? आमा
पात्रको मुखारबाट यही कुरा अभिव्यक्तिएको छ नाटक 'अनि
विद्रोह हुन्छ'मा ।
दीन नाटकमा के बुझिन्छ भने 'आपतविपत,
दु:ख घण्टी बजाएर आउँदो रहेनछ ।' नियतिका दास
हामी मान्छेहरू चाहेर पनि त्यो पीडाबाट उन्मुक्त हुन सक्छैनौ रहेछ । सामाजिक
अग्रभूमिमा निर्माण गरिएको यस नाटकमा यौन शिक्षाको अनिवार्यतालाई प्रस्ट्याइएको छ
रिन लागे पनि दीन नलागोस् भनेजस्तै श्यामलाई दीन लागेको छ । सवारी चलाएर जीविका
गर्नु पर्ने उसको गाडी अचानक धरापमा परको छ । 'जहाँ पातलो
उही छेड' भनेजस्तै उसको परिवारमा बज्रपात परेको छ ।
नवविवाहिता श्रीमती रमा एकल बन्न पुगेको कारुणिक कथाको दस्तावेज बन्न पुगेको छ
नाटक 'दीन' ।
'ठूलीका सपनाहरू' नाटकसङ्ग्रह कारुणिक कहानीको सँगालो बन्न पुगेको छ । अधिकांश आँसुमा
डुबेका संवाद यसमा छन् । अधिकांश नाटक (ठूलीका सपनाहरू, दीन---)
दु:खमा अन्त्य भएका छन् । सबै नाटकको परिवेश ग्रामीण छ । गरिबी, अभाव, अशिक्षा र अझै पनि ऋणको भारी बोकेर जन्मन
अभिशप्त गाउँले नेपाली जनजीवनको गतिलो तस्वीर बन्न सफल छ यो नाटकसङ्ग्रह ।
३. अर्को ओरालो
अर्को ओरालो (२०७१) पुरु लम्सालको दोस्रो
नाटकसङ्ग्रह हो । यसमा ५ वटा नाटकहरू सँगालिएको छ । यस सङ्ग्रहका नाटकहरू मध्ये 'अर्को
ओरालो' ले रङ्गमञ्चमा निकै चर्चा पाएको थियो । समलिङ्गी
समस्या यस नाटकको मुख्य विषय हो । समलिङ्गी हुनु एउटा प्राकृतिक पक्ष होला तर हाम्रो समाजमा यसलाई विकराल
सामाजिक समस्याको रूपमा हेरेर उनीहरूको इच्छाविपरीत तिनीहरूलाई नस्वीकार्ने, उनीहरू भावनाको वर्खिलाप जाने, आफ्नो अनुकूल सामाजिक संरचनामा ल्याउने प्रयास गर्दा आउने मनोवैज्ञानिक,
शारीरिक समस्यालाई यस नाटकमा उठान गर्न खोजिएको छ । समाजको, परिवारको दवावमा नचाहेर पनि समलिङ्गी स्वभाव भएका व्यक्तिहरूले वैवाहिक
जीवनमा बाँधिनु परेको घटना र त्यसले नवदापत्य जीवनमा पारेको प्रतिकूल प्रभावलाई यस
नाटकमा उतार्न खोजिएको छ । समलिङ्गी श्रीमान्का कारण पात्र अपर्णाको जीवनमा आएको
भूकम्पको बिम्ब बनेको छ यो नाटक । यो मनोवैज्ञानिक एवं शारीरिक समस्याको
द्वन्द्वमा रूमलिएको नाटक पनि हो ।
'आमा आमाहरू'
यस सङ्कलनको अर्को नाटक हो । सामाजिक यथार्थको धरातलमा बुनिएको भए
पनि नाटक थोरै प्रयोगशील बनेको छ । सामाजिक समस्याले थिचिएर, दारुण कथाले भक्कानिएर, निशब्द बन्दै गएको लेखकले
खिन्नताबोध गरेको नाटक हो यो ।
'वर्जित सपना'
नाटकमा युद्धले दिने उपहार भनेको आँसु, रोदन र
भत्कोसहरू हुँदोरहेछ भनिएको छ । संसारमा युद्धले जति मान्छेलाई पीडित कुनै कुराले
बनाएको छैन । यो नाटकमा पनि युद्धको विषयलाई उठान गरिएको छ । युद्धले समाज,
अर्थव्यवस्था र मानवको दैनिकी मात्र बिगार्दैन यसले मान्छेका मनहरू
पनि भत्काइदिन्छ । युद्धमा घाइते भएको चरित्र ध्रुवको आँसुको कथा बनेको छ यो नाटक
।
'मनको तिर्खा'
यस सँगालोको अर्को नाटक हो । मनोवैज्ञानिक बनेको छ यो नाटक । त्यसमा
पनि यौनमनोविज्ञानका तरेलीमा बेस्सरी बहेको छ यो । मनोबिम्बहरूको संरचना स्त्री र
पुरुषका प्राय: उस्तैउस्तै हुन्छन् । सामाजिक संरचनाले पुरुष मनोविज्ञानलाई
स्वतन्त्र छोडेको छ भने महिलालाई धोरै भने पनि बाँधेको छ । उचित परिवेश पाउना साथ
स्त्रीमनका यौनमनोविकारहरू सलबलाउन थालिहाल्छन् भन्दै नाटकमा मदिरा पिएपछि स्त्रीमनका
अव्यक्त यौनचाहना र कामुकता उद्वेलित भएर पोखिएको दृश्य देखाइएको छ यस नाटकमा ।
'तिजको लहर'
यस सँगालोको अर्को नाटक हो । यसमा के भनिएको छ भने 'हिन्दूहरूको सांस्कृतिक पर्व हरितालिकाको हरिबोजोग हुँदै गएको छ ।'
तीजको सामाजिक, सांस्कृतिक, साङ्गीतिक र परिवारिक मूल्य हुँदाहुँदै पनि आजका दिनहरूमा यसको मान्यता
विपरीत हुने मदिरा सेवन, महिनौको दरभतेर, भङ्किला फेसन र क्रियाकलापलाई यस नाटकमा विषयवस्तु बनाइएको छ । पर्वहरूलाई
मनाउने बहानामा सांस्कृतिक रूपमै धज्जी उडाउने कार्य भएको कुरा यस नाटकमा स्वीकार
गरिएको छ ।
'राममायाका
रहरहरू' यस सँगालोको अर्को नाटक हो । यसमा के भनिएको छ भने 'बालबिबाह हाम्रो देशको विकराल समस्या हो ।' यो
समस्याको असर बहुआयामिक हुन्छ । त्यसमा पनि दलित परिवार त्यो पनि ग्रामीण भेगमा
हुने गरेका समस्यालाई यस नाटकले उठान गरेको छ । राममाया यो नाटककी यस्तै पात्र हो
। उसको चाहना धेरै पढ्ने, मिस बन्ने समाजमा प्रभावशील
व्यक्ति बन्ने छ तर उसको सपना सपनामै सीमित भएको छ जुन समुन्नत समाजका लागि घातक
कुरा हो भन्ने कुरा यस नाटकमा भनिएको छ ।
४. देशहराएका
मान्छेहरू
लम्सालको तेस्रो नाट्य
पुस्तक हो देशहराएका मान्छेहरू । नागरिकको आधारभूत आवश्यकता पनि पूरा नगर्ने
नागरिकहरू देशविहीनजस्तै हुन् । यस नाटकमा विशेष गरी द्वन्द्वकालीन नेपाली समाजको
यथार्थ चित्र प्रस्तुत गरिएको छ । नेपालमा पहाड, उपत्यका,
तराई आदि जुनसुकै ठाउँमा पनि समस्या छ । जनताका अगाडि उस्तै
एजेन्डाहरू फरकफरक स्वरमा उठाइयो तर जनताले भनेजस्तो कहिल्यै भएन । जनताहरू हिजो
पनि निराश थिए र आज पनि छन् । यस्तो अवस्थामा देश नरहे नागरिक पनि नरहने तर देश
भएर पनि भूमिकाहीन देश हुनु भनेको देश हराएजस्तै हो । यस सन्दर्भलाई यस नाटकमा
उठाइएको छ ।
द्वन्द्वका कारण विस्तापत
भएका पात्र रामपुकारको कथा यसमा छ । नेताले जनताका लागि होइन उनीहरूकै आसेपासेका
लागि मात्र गर्छन् भन्ने नन्दलालहरूको कथा बनेर आएको छ यो नाटक । बाहिरी
हस्तक्षेपबाट उपनिवेश बन्दै देश । आन्तरिक गृह युद्धबाट पनि उपनिवेश जस्तै बन्छ
देश । यस्तै यथार्थ चित्रको नाटकीकरण गरिएको छ यो नाटकमा । राजनीतिक परिवर्तन नेता
र तिनका आफन्तका लागि आयो सहिद, बिपत्ता, घाइते कसैका लागि पनि परिव्तन आएन भन्ने जनगुनासो पनि यस नाटकमा आएको छ ।
देशमा दलाली, पाखण्डी, घुसखोरीहरू
बिगबिगी रहेको छ । यसले गर्दा सोझा जनतालाई दैनिकी गुजार्न पनि मुस्किल परिरहेको छ
भन्ने कुरा यस नाटकमा प्रस्तुत गरिएको छ ।
५.पानीघट्ट
पुरुका
अन्य नाटकको जस्तै पानीघट्ट नाटक पनि सामाजिक फ्लेबरको नाटक हो । पानीघट्टा शीर्षक
नै ग्राउँले संस्कृतिको स्थापित बिम्ब हो । पानीघट्ट एउटा मियो हो । यस मियोमा
बाँधिएर लमजुङ्वरिपरि चर्चित ठाडो भाकालाई घुमाउने प्रयास गरिएको छ दाइँ हालेजस्तै
। त्यस मियोमा बाँधिएको अर्को उपकथा वैदेशिक रोजगारी र यसका प्रभावहरू हुन्छ ।
वैदेशिक रोजगारका कारण नेपाली समाज, संस्कृति, आर्थिक पक्षका प्याराडाइमहरू बदलिएका छन् । वैदेशिक रोजगारले खेतीपातीको
संस्कृतिलाई पनि झन्डै उन्मुलन गरेको छ त्यसको प्रत्यक्ष प्रभाव पानीघट्टमा परेको
छ । पानीघट्टलाई विस्थापित गर्ने थुप्रै कराणहरू मध्ये वैदेशिक रोजगार, आधुनिक समाज र बसाइँसराइ पनि हो । जुन कुरा नाटकमा प्रस्ट एक्पोज गरिएको छ
।
पानीघट्टमा
उठान गरिएको ठाडो भाका एकातिर रङ्गमञ्चमा घन्केको छ भने नाटकको पाठमा सयौँ वर्ष
अभिलेखन भएको छ यो प्रदर्शन र संरक्षण दुवै दृष्टिले महत्त्वपूर्ण कुरा हो जुन
नाटकले सफलतापूर्वक गरेको छ । नाटककार लम्सालले भनेका छन् ‘पानीघट्ट’ पेसा हो, हाम्रो ग्रामीण भेगको पहिचान पनि हो ।
पानीघट्टमा ६० वर्षका जगतबहादुरलाई उभ्याएर सम्पूर्ण ग्रामीण कथा भनाएका छन्
लम्सालले ।
गरिबीले
सेकिरहने,
साहरा भनेको छोरा विदेश पलायन हुने, आधुनिकताले
पानीघट्ट पनि बन्द हुनु त्रिवेणीमय मेहरीमा पुरिएको छ जनतबहादुर यस नाटकमा ।
जीवनसँग पौँठेजोरी खेल्दाखेल्दै जगतबहादुरले प्राण त्याग दु:खद दृश्यमा पुगेर यो
नाटको अन्त्य भएको छ ।
फड्के
पुरुले गाउँको कथा लेख्न रुचाउँछन् भन्ने त
उनका यसअगिका नाटकहरू सरसर्ती पढेपुगिहाल्छ । यस्तै ग्रामीण जीवनको तानाबाना
बुनिएको अर्को नाटक हो फड्के । यसमा लमजुङको स्थानीय परिवेशलाई नाटकीकरण गरिएको छ
। उनले केही वर्षदेखि एउटा अनौठो र चुनौतीपूर्ण रङ्गअभियान चलाइरहेका छन् त्यो हो
स्थानीय कथाको उत्खनन् गर्ने र स्थानीय कलाकारलाई त्यसै नाटकमा अभिनय गराउने । यो
गज्जब तर चुनौतीपूर्ण अवधारणा हो जुन लम्सालले अनुसरण गरिरहेका छन् ।
हाम्रा गाउँहरूको ज्वलन्त जटिलताहरू हुन्
बाटो,
पुल, पानी, बत्ती र कुशल
भौतिक पूर्वाधार । यस नाटकमा उनले नदीमाथि पक्की र
सुविधासम्पन्न पुल नहुँदा हुनेगरेको क्षति र दुर्घटनालाई केन्द्रीय विषय बनाएका
छन् लम्सालले । यतायातको असुविधा भएपछि यसले सामाजिक संरचनाका एउटा मात्र नभएर
अनेक तहमा धक्का पुर्याउँछ जस्तै आवतजावत, स्थानीय
उत्पादनको बजारीकरण, विद्यालय, बजार,
स्वास्थ्य चौकी ओरोदोरो गर्नु आदि । सुविधासम्पन्न पुल नभएपछि
वर्षेनी थुप्रै नागरिकले ज्यान गुमाउँदा पनि जनता निरीह बनेर सहेर बस्न बाध्य भएका
छन् । उनीहरूको मनमा एउटै जिज्ञाशा छ कतिजना नागरिक खोलालाई बली चढाउँदा मात्र
बन्ने हो हाम्रो ठाउँमा पुल ? फड्के स्थानीय तबरमा बनाइएको
अस्थायी (काम चलाउ) पुल हो जुन हिउँदको सिजनका लागि सहज हुन्छ तर जब बर्खा लाग्छ
त्यसले जनताको सातोमात्र होइन प्राण लिन्छ । पुल बनाउने हुटहुटी जनतामा छ
उनीहरूसँग साधन स्रोत छैन । नेताहरूमा त्यसप्रति चासो नै छैन यस प्रकारको दोहोर
चपेटाको झिल्को बनेर आएको छ नाटक फड्के ।
धने फड्के नाटकको प्रमुख पात्र हो । ऊ ३ छोरी
र १ गर्भवती श्रीमती लिएर गाउँले जीवन व्यतित गरिरहेको हुन्छ । निर्मली धनेकी
श्रीमती हो जो दोजिया छ । बन्दोवस्ती, लत्ताकपडा, बालबच्चाका लागि कापीकिताब किन्नका लागि आफ्नो घरमा भएका अन्न, कुखुराको भाले बोकेर शहर पस्छ । तर सधैँको जस्तो रहेन धनेको भाग्य । ऊ
फड्केबाट चिप्लेर दोर्दीखोलामा खस्छ र लापत्ता हुन्छ । यो विराट दु:खान्तमा पुगेर
नाटकको अन्त्य भएको छ । घरको मुलीमान्छे धनेको पर्खाइमा बसेका गर्भवती श्रीमती र
तीन छोरीहरूको आँखामा दोर्दीको भेलजस्तै बलिन्द्रा आँसुको भेल उर्लिन्छ ।
सुस्तसुस्त नाटकभित्र लोपोन्मुख सांस्कृतिक
पक्षहरूलाई घुसाउनमा रुचि राख्छन् लम्साल । फड्के नाटक कटुवाल घोकाउने प्रचलनलाई
उठान गरिएको छ । ग्रामीण भेगसम्म सूचना र प्रविधिको द्रूत विकास भएपछि यो प्रचलन
हराउँदै गएको हो । यस नाटकमा कटुवालले गाउँलेहरूलाई लप्टन बाको आगनमा आज नाचगान
रहेको कुरा सुनाएको छ ।
सांस्कृतिक पक्षकै उपस्थानका लागि लम्सालले
यो नाटकमा लाहुरे झार्ने प्रचलनलाई प्रयोग गरेका छन् । पश्चिम पहाडी भूभाग विशेष
गरी गुरुङ,
मगर, तामाङ समुदायमा पल्टनबाट लाहुरे आएपछि
आमा समूह, युवा क्लवले नाचगानसहित लाहुरे आएको घरमा गएर पैसा
माग्ने (लाहुरे झार्ने) परम्परालाई यस नाटकमा उठाउन गरिएको छ । यसमा प्रयोग गरिएको
स्थानीय भाका 'चुट्का' को प्रयोग पनि
गरिएको छ । बिस्तारै हराउँदै गएको लोक भाकाको संरक्षण यस नाटकमा हुनसक्नु सबल पक्ष
हो नै ।
६.नौगेडी
पुरु लम्सालको नौगेडी नाटक सांस्कृतिक
फ्लेबरको अर्को नाटक हो । यसलाई आञ्चलिक स्वादको नाटक भन्न सकिए पनि यसमा उठाइएको
छुवाछुत,
निसन्तान तथा एकल महिलाका समस्या हाम्रो देशको साझा समस्या जस्तो
देखिएको छ । यस नाटकमा पुरु लम्सालले पात्र च्यान्टे मार्फत धेरै कुरा भनेका छन् ।
नाटक लेखक, निर्देशक लम्सालले च्यान्टेलाई आफ्नो मुख पात्र
बनाएका छन् । उनलाई च्यान्टे मार्फत सामाजिक समस्या व्यक्त गराउँदा कम्फर्ट अनुभव
भएको देखिन्छ । यस नाटकले सांस्कृतिक सङ्कथनलाई मात्र बोलेको छैन नेपाली
मानसिकताबाट भूकम्पको कम्पन नउत्रदैँको विषयलाई पनि पुनर्ताजगी गरिदिएको छ ।
नौगेडी नाटक दुई तरिकाले चर्चित रह्यो २०७५
को वर्षभरि । यो चर्चित हुने मुख्य कारक के थियो भने यस नाटकलाई नेपालमा मात्र
होइन बङ्गलादेशको रङ्गमञ्चमा पनि प्रशंसा पायो । यसले चर्चा पाउने अर्को कारण के
थियो भने रङ्गमञ्चको भाषा सर्वव्यापि हुँदो रहेछ । भाषा नबुझे पनि बङ्गाली दर्शकले
यस नाटक हेरेर ताली बजाएका थिए ।
समकालीन नेपाली नाटकलाई नियाल्दा सांस्कृतिक
नाटकको प्राय: खडेरी नै परिरहेको समयमा नौगेडी नाटकलाई एउटा साजी विषय पस्केको
अब्बल थियटरका रूपमा लिन सकिन्छ । नुवाकोटको दुप्चेश्वर र तादी खोलावरिपरिको
स्थानीय परिवेशलाई यस नाटकमा उठान गरिएको छ । ड्याङग्रे नृत्यको सांस्कृतिक
बिम्बलाई पनि नाटकमा उठाइएको छ ।
टुङ्ग्याउनी
पुरु लम्सालले कति नाटक लेखे ? भन्दा पनि
उनले कस्ता नाटक सिर्जे ? दोस्रो पश्न प्रभावकारी छ । पछिल्लो
दशकमा हरेका विधामा कलम चलाउने व्यक्तिहरू । दम कसेर उपन्यास लेखनमा कस्सिएका छन्
। उनीहरूको बुझाइ छ छोटो समयमा सेलिब्रेटी बन्न सकिने क्षेत्र आख्यान नै हो । तर
पुरु भने विभिन्न गाउँ फिरन्ते बनेर हिँडेका छन् । नाटकको पात्र खोज्न । कथा
बटुल्न र गाउँघरका पहारामा खोपिएका सांस्कृतिक पदचापहरू पर्गेल्न । अन्य फास्ट
ट्र्याकबाट ह्वात्तै चिनिने सपना देख्ने लेखकका तुलनामा उनको एप्रोच फरक छ । गति
फरक छ । शैली र शिल्प पनि भिन्न छ ।
पुरुमा देखिएको अर्को युनिक पक्ष के छ भने
उनी नेपाली माटो सुहाउँदो नाटक सिर्जन्छन् । उनमा विश्वास छ हामी नाटकमा धनी छौँ
। हामीसँग हाम्रीले नै धेरै रुचाएका विषयवस्तु छन् । उत्खनन् गरेर रङ्गमञ्चमा
हाम्रा सांस्कृतिक बिम्बहरूलाई उभ्याउनु पर्छ भन्ने सोच छ पुरुसँग । त्यो अनुरूप
उनी क्रियाशील पनि छन् ।
पुरु लम्साल गाउँका कथा नाटकमा उठाउन रमाउँछन्
। स्थानीय विम्बसँग उनको निकै गहिरो आशक्ति देखिन्छ । गाउँले पात्रसँगको संवाद
उनलाई निकै अब्बल लाग्छन् । संवादमा स्थानीय कुरकानी उतार्दा उनी मख्ख पर्छन् ।
गाउँका पीडा उनलाई आफ्नै पीडाजस्तै लाग्छ । यसमा दुई मनोविज्ञान सवार देखिन्छ । एक
उनी आफैँ ग्रामीन परिवेशमा जन्मेहुर्केका स्रस्टा हुन् भने अर्को उनी दबिएका
नागरिकको आवाज सुसेल्ने सांस्कृतिक मोर्चामा आबद्ध छन् । उनी गाउँले कथालाई
रङ्गमञ्चमा भित्र्याउने र भित्र्याउनु पर्छ भन्ने
मान्यताका रङ्गकर्मी हुन् । उनका नाटकका पात्रहरू पनि गाउँले प्रकृतिका हुन्छन् ।
जस्तै: च्यान्टे, मनमाया, जगतबहादुर,
हरेराम, जुनकिरी, नन्दलाल,
आइते, ठूली, नसे,
फूलमाया, धने, बाटुली,
माइला, साइला, साइली,
हरेराम, राधा आदि । यसबाट के पुष्टि हुन्छ भने
लम्साल स्थानीय पात्रको सरसङ्गतमा रमाउन चाहने नाटककार हुन् । स्थानीय स्वरूपमा
कलाकार रहेपछि रङ्गमञ्चमा रङ्गपरिधान पनि सोही बनाउनु पर्ने आवश्यकता देखिन आउँछ ।
साहित्यमा एउटा परम्परा र त्यस दौरानमा
व्यक्ति साहित्यकारको उपस्थितिको मापन गर्ने गरिन्छ । हुन त साहित्यिक परम्परा
शून्य कहिल्यै हुँदैन । केही न केही सिर्जना भइनै रहन्छ । नेपाली नाटक साहित्य पनि
अल्प सङ्ख्यामा सिर्जना भएकै छ । रङ्गमञ्चीय गतिविधिले पनि काठमाडौँको घेरोलाई
तोडेर विभिन्न प्रदेशकमा क्रियाशील रहेको समय हो यो । यस सन्दर्भमा २०३० पछि पनि
नेपाली नाटक विस्तारै क्रियाशीला छ । २०३० देखि २०७० सम्मको झन्डै ४ दशकको समयलाई
नियाल्दा झन्डै दुई दर्जनजति नाटककार विशेष क्रियाशील देखिन्छन् ।
पहिलो दुई दशकमा ध्रुवचन्द्र गौतम, गोपाल
पराजुली, अशेष मल्ल, सरूभक्त, शिव अधिकारी, मोहनराज शर्मा, अभि
सुवेदी, मनबहादुर मुखिया, सत्यमोहन
जोशी, वाशु शशी, रमेश विकल, माधव घिमिरे (गीतिनाटक) आदि जस्ता नाटककारहरू सक्रिय थिए । यस कालखण्डमा
विशेष गरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचघरमा हुने
रङ्गगतिविधिले नेपाली रङ्गमञ्चको भरथेग गरिरहेको थियो ।
दोस्रो दुई दशकमा विशेष गरी राज्यमा
द्वन्द्वको घाउ बल्झेर गएको समय रहेकाले एकातिर मनोरञ्जनका लागि नाटकघरहरू सुनसान
जस्तै देखिए भने कतिपय नाटककारले राजनीतिक द्वन्द्वले देखाएको विकराल बिम्बलाई
आफ्ना नाटकमा प्रस्तुत गरे । पछिल्लो दुई दशकमा गोपि सापकोटा, अविनाश
श्रेष्ठ, वप्लव ढकाल, कृष्ण शाह यात्री,
शारदा सुब्बा, सुधा त्रिपाठी, हरिमाया भेटवाल, कृष्ण उदासी, पुरु
लम्साल, पुष्प आचार्य, खेम थपलिया,
प्रवीण पुमा, शार्दूल भट्टराई आदि जस्ता
नाटककारहरू देखिए ।
नाटककार लम्सालको उपस्थिति यही पछिल्लो दशकमा
देखियो । उनले नाटकमा जुन कुराहरू उठाएका छन् त्यो सांच्चै प्रशंशनीय छन् । उनका
नटकका दर्शक पढअनपढ जोसुकै भए पनि बुझ्छन् । स्थानीय संस्कृतिको उठाउनले उनका नाटक
झन् बजोड बनेको बुझ्न सकिन्छ । पछिल्लो समय जब उनको नाटक भारतको कोलकत्ता
(पानीघट्ट) र बङ्गलादेशमा मञ्चन हुन सफल भए उनको दायर व्यापक बनेर गएको सजिलै
बुझिन्छ ।
ऐतिहासिक परम्परामा सिर्जनाका डोबहरू
देखिन्छन् र तिनै डोबहरूलाई नियालेर इतिहासकारले इतिहास लेख्ने हो । पछिल्लो समय
लम्सालले सङ्ख्यात्मक हिसाबले दर्जन जति नाटक सिर्जे होलान् तर ती नाटकहरूको
गुणवेत्ता पनि कम नभएको सजिलै बुझ्न सकिन्छ । द्वन्द्वको तस्वीर, सामाजिक
समस्याको चित्र, गाउँका यावत रित्ता भकारीका कथालाई
रङ्गमञ्चमा उभ्याउन लम्साल सहजै सफल भएका छन् । समकालीन परम्परामा उनले जुन थिममा
नाटकलाई उठाउन चाहेका छन् त्यो एकदम अग्रानिक खालको छ यो नै लम्साललाई लामो
समयसम्म बचाउने रङ्ग सञ्जीवनी बुटी पनि हो ।
रङ्गक्षेत्रका सबैले बुझेको कुरा हो नेपालीमा
नाटकको अभाव छ । लेखनीमा जाँगर छैन । त्यसमा पनि नाटक लेखन प्राय: सुख्खा छ । यही
बाँझो भूमिमा नाटकको फसल रोपेका छन् लम्सालले । यही सुख्खा भूमिमा रङ्गक्रमको
सिञ्चाइ गरेका छन् उनले । उनको ऐतिहासिक योगदान केलाउने बेला त आउँदै छ किनकी उनी
यस्तो हुटहुटीबाट नाटक सिर्जनामा उनी धसिएका छन् जसले निकट भविष्यमा थप गहन
प्रकृतिका नाटकहरू नेपाली रङ्गमञ्चको फूलबारीमा सुवासित हुने छन् ।
नाटककार लम्साल अहिले युवा नै छन् । सिर्जना
सबल बन्ने युवा कालमै हो । उनले यति छोटो समयमा यति धेरै सिर्जना गर्न सकेका छन्
जुन निकै प्रशंशनीय मात्र होइन जब्बर लाग्छन् । उनले नेपाली नाटक तथा
रङ्गक्षेत्रमा एउटा विराट क्षेत्रनिर्माण गर्न सक्छन् भन्ने अड्कल गर्न सकिन्छ ।
आज नेपाली रङ्गमञ्चमा लम्साल जहाँ छन् उनी एक हातका औलामा गनिन्छन् त्यसबाट के
आँकलन गर्न सकिन्छ भने उनी नेपाली रङ्गमञ्चको आयामलाई गुणस्तरीय बनाउन निरन्तर
क्रियाशील छन् । यो नै लम्सालको नाट्यकारिताको मूल्याङ्कनबाट प्राप्त हुने निष्कर्ष
हो ।
....लम्साल हाल पनि निरन्तर साहित्यसिर्जनामा क्रियाशील छन् ।
Comments
Post a Comment