रोज्जा उपन्यास ‘कारागार’
डा. अशोक थापा
बानिरा गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । उनको जन्म सन् १९४६ मा
दार्जिलिङमा भएको हो । उनको पहिलो उपन्यास हो कारागार (२०३५) हो । नेपाली भाषामा
प्रसिद्ध बनेपछि यो उपन्यास ‘द प्रिजन’ शीर्षकमा अङ्ग्रेजी भाषामा पनि प्रकाशित भएको
छ । यीबाहेक उनका निर्बन्ध (२०४४) र शब्दाती शान्तनु (२०५६) शीर्षकका थप दुई
उपन्यास पनि प्रकाशित छन् । उनले कविता, निबन्ध र आख्यान लेखनलाई विशेष रुचि
देखिन्छ । उनी अहिले अल्जाइमर रोगले बिरामी छन् र बोल्न सक्दिनन् ।
कुनै पनि पात्रको नाम उल्लेख नगरिएको यो उपन्यास पूर्वदीप्ति विधिमा रचिएको छ
। यस उपन्यासमा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । उपन्यासमा महिला पात्र
‘म’को जन्म काठमाडौँ उपत्यका नजिकैको ललितपुरको जावलाखेले भन्ने ठाउँमा भएको छ ।
उनको उमेर ४० वर्षको छ र उनको त्यो उमेरसम्म पनि विवाह हुन सकेको छैन । उनको बाबा र
आमा अनि दुई दाजुहरू छन् । तिनीहरूमा एउटा सेनामा जागिरे छन् भने अर्का चिकित्सक
छन् । दुवै दाजुहरूको विवाह भइसेको छ । उनका बाबा आमा तीर्थ भ्रमणमा जान्छन् र
फर्केपछि उनको विवाह गरिदिने योजना बनाएका हुन्छन् । तर एकाएक उनका बाबा र आमा
तीर्थ भ्रमणमा रहेकै बेला हिउँ पहोरोमा पुरिएर दुर्घटनामा मर्छन् । त्यसपछि सबै
परिवार शोकमा पर्छ र पछाडि के थाहा हुन्छ भने उनका बाबाले सबै सन्तानलाई आफ्नो
सम्पत्ति बराबर बाँडिदिनु भनी लेखेको कागज फेला पर्दछ । दाजुहरूले उनलाई पनि
सम्पत्ति दिन्छन् र विवाह गरिदिने बारेमा भने कुनै चासो राख्दैनन् । बाबुआमा
बितेको १० वर्षसम्म पनि उनको विवाह हुन सक्दैन । र उनले दाजुहरूले आफूविरुद्ध
षड्यन्त्र गरिरहेको कुरा थाहा पाउँछिन् । उनी सरकारी अफिसमा शाखा अधिकृत पदमा
जागिरे बन्छिन् । उनी डेरा लिएर एक्लै बस्न थाल्छिन् । उनले एउटा केटा मन पराएकी
थिईन् तर भन्न सकेकी थिईनन् । त्यसपछि उनले अर्को विवाहित पुरुषसँग सम्बन्ध
स्थापति गरिन् । उनीसँग विवाह गर्छु भन्ने पुरुषहरूसँग आत्मीयता नभएको उनको ठहर
थियो । कोही सम्पत्ति पाइन्छ भनेर उनीसँग विवाह सम्बन्ध जोड्न आएका थिए । त्यस्ता व्यक्तिसँग उनले विवाह गरिनन् । त्यसपछि
उनलाई के थाहा भयो भने उनको जीवन पुरुष प्रधान समाजले कैदी बनाएको छ । यो समाज नै उनलाई कारागार जस्तो लागेको छ । यस्तै बेला उनले धनी र घमण्डी पत्नीबाट
पीडित व्यापारी प्रेमी फेला पारेकी छन् । उसैसँग
शारीरिक सम्बन्ध जोडेर रमाउने प्रयत्न गर्न थालेकी छन् । उनी आमा हुन सकिनन् । एक दिन अचानक
वीरगन्जबाट काठमाडौं आउँदा गाडी दुर्घटनामा परेर उनको प्रेमीको पनि मृत्यु
भएको खबर उनले प्राप्त गरिन् । उनी निकै दुःखी भईन् । उनलाई आफ्नो प्रेमीको लास हेर्ने
इच्छा जाग्यो तर भित्रिनी (रख्खेल) भनेर
समाजले हेप्ने डरले त्यहाँ जान चाहिनन् । समाजकै कारण आफूले अत्यन्त मन पराउने
प्रेमीको मृत्युमा पनि उनी विधवा नै हुन सकिनन् भन्ने
वर्णनमा उपन्यासको कथावस्तु समाप्त भएको छ ।
वानीराका उपन्यासमा सामाजिक क्रियाकलाप, परम्परित
मूल्य, मान्यता, संस्कृति, विकृति, जस्ता
सामाजिक विषयवस्तुलाई आलोचनात्मक तर कला भरेर रूपमा प्रस्तुत गरिएको छ ।
यस उपन्यासले नारीवाद र लैङ्गिक हिंसालाई प्रमुख विषयवस्तु बनाएको छ । यस उपन्यासमा
विशेष गरी नारी अस्तित्वको कुरालाई उठाइएको छ । पुरुषप्रधान समाजमा नारीहरू
स्वतन्त्र नभएर समाजरूपी कारागारमा बाँधिएर बस्न वाध्य छन् । लौङ्गिक विभेदका कारण
हाम्रो समाजमा नारीहरू भयङ्कर ठूला हिंसा र जोखिमपूर्ण जीवन बाँचिरहेका छन् भन्ने
कुरा पनि उपन्यासमा देखाइएको छ । समाजले जीवित हुँदा पनि म पात्रलाई श्रीमान्
स्विकार्न दिएको छैन भने उसको मृत्युपछि पनि सामाजिक बन्धनका कारण नै त्यहाँ सहभागी
हुन सकेकी छैनन् । महिलाको दृष्टिबाट यो समाज समाज नभएर कारागार जस्तो छ भने उपन्यासकी
पात्र कैदी जस्तै बनेकी छन् भन्ने भाव यस उपन्यासमा व्यक्त भएको छ । नारीहिंसा र नारीको मनोविश्लेषणलाई उपन्यासमा खास
रूपमा उठाइएको छ । कतिपय सन्दर्भमा अतिवादी नारीवादी चिन्तन पनि उपन्यासमा देखिएको
छ । यो पुरुष ज्यादतीका कारण सिर्जना भएको हो भन्ने बुझ्न सकिन्छ । र यो दमनलाई
सहेर होइन बहसमा ल्याएर न्यूनीकरण गर्नु पर्दछ भन्ने विचार यस उपन्यासमा प्रस्तुत
भएको छ ।
यस उपन्यास प्रयोग गरिएको अर्को भाव मनोविज्ञान हो । त्यसमा पनि बालमनोविज्ञान,
कोशोरहरूको मनोविज्ञान र समग्रमा यौन मनोविज्ञानलाई चर्चा गरिएको छ । यौनका विकृत
र पुरुषले महिलालाई यौनसमागन गर्ने साधन मात्र ठानेकोमा उपन्यासमा विद्रोहको
मानसिकता बलियो बनेर आएको छ । महिलालाई सम्पत्तिका नाममा, यौनका नाममा र सामाजिक
सहभागिताका नाममा बञ्चित गरिएको छ भन्ने विषय यस उपन्यासमा व्यक्त भएको छ ।
पारिवारिक कारणले ढिलो बिवाह गरेका स्त्रीहरूमा यौनकुण्ठा प्रस्फुटन हुन नपाएर
यसले मानसिक आघात पनि पुर्याएको हुन्छ भन्ने विषयलाई गज्जब रूपमा उपन्यासमा
उठाइएको छ ।
यस उपन्यासको भाषा कलात्मक र काव्यात्मक अनि बिम्बात्मक छ । विविध मिथकीय
बिम्ब तथा प्रतीकहरूको सही प्रयोगले उपन्यास पठनीय बनेको छ । नेपाली समाजले झट्ट
पचाउन नसक्ने अश्लील शब्दकहरूको छिटपुट प्रयोग पनि उपन्यासमा पाइन्छ । आख्यानले
अपेक्षा गर्ने आलाङ्कारिक भाषाको प्रयोग यस उपन्यासको खास विशेष हो ।
दर्शनका दृष्टिले यो उपन्यास नारीहरूको एकाङ्की, विसङ्गत र निराशायुक्त
चिन्तनले भरिएको छ । मान्छे बाहिरी सतहमा हेर्दा भव्य र सभ्य देखिन्छ तर आन्तरिक रूपमा
ऊ यति स्खलित छ जुन भनेर साध्य नै छैन । जतिसुकै विसङ्गतिले ग्रस्त भए पनि
अस्तित्वका लागि लड्नुको अर्को विकल्प छैन भन्ने भाव यस उपन्यासमा प्रस्तुत गरिएको
छ । यो उपन्यास आजको आधुनिक समाजको एउटा प्रतिबिम्ब बन्न सफल भएको छ ।
प्रेमका सन्दर्भमा उपन्यासले प्रेमको नाममा बदमासी भएको छ भन्ने कुरा उल्लेख
गरिएको छ । मातृत्व प्रेम महिलाहरूको सबै भन्दा भव्य बलियो अनुभूति हो । उपन्यासमा भावनात्मक प्रेम र शोषणमा उद्वत
पुरुषप्रति नकारात्मक भावको प्रेम दर्साइएको छ । प्रेम शास्वत र पवित्र नभएर
प्रेममा मिसावटयुक्त छ भन्ने कुरा यसमा उल्लेख गरिएको छ । जति जति समाज उत्तआधुनिक
हुँदै गइरहेको छ त्यति त्यति प्रेमको शाश्वत मूल्य स्खलित हुँदैछ बन्ने विचार
उपन्यासमा सम्प्रेषित छ ।
उपन्यासमा प्रकृतिको चित्रण व्यापक रूपमा गरिएको छ । विशेष गरी काठमाडौँ उपत्यका वरिपरिको प्राकृतिक
चित्रणलाई यसमा जोड दिइएको छ । यसका वरिपरि त्रिशुली, दक्षिणकाली, वरपरका स्थानीय
प्राकृतिक परिवेशलाई पनि उपन्यासमा चर्चा गरिएको छ । पशुपतिनाथ, सूर्यविनाय, कमल
पोखरी, लखनउ, भेलोर, बद्रीकेदार, पटना, कलक्ता, देल्ली आदि स्वदेशी तथा विदेशी
स्थान र परिवेश पनि झल्को देखिन्छ उपन्यासमा । प्रकृति चित्रणमा उपन्यास निकै
केन्द्रित रहेको देखिन्छ जसले उपन्यासलाई पठनीय र प्रभावकारी पनि बनाएको छ ।
उपन्यासमा मिथकको प्रयोग गरिएको छ । हिन्दू धर्मका मिथकीय बिम्बहरू जस्तै
रामायण, महाभारत र स्थानीय लोक बिम्ब र लोकवार्ताका तस्वीरहरूलाई उपन्यासमा
प्रस्तुत गरिएको छ । मिथकीय विषयलाई उठाएर
आजको समाजलाई यथार्थ चित्रण गर्नमा तिनीहरूको प्रयोग गरिएको छ । यो एक प्रयोगशीलर
तर सङ्गठित उपन्यास हो ।
कतिपय समालोचकहरूले एउटै समयमा सक्रिय वानिरा र पारिजातमा पारिजातको
अतिप्रशंशा र बानिरालाई पित्प्रशंशा गरेको कुरा पनि भुल्न मिल्दैन र व्यक्तिगत
रूपमा पनि बानिरा र पारिजातमा मेलमिलाप थिएन भनिन्छ । उनको कारागार उपन्यास कुनै
पनि तर्कका आधारमा परिजातको शिरिशको फूल भन्दा कमजोर उपन्यास होइन । यो उपन्यासलाई
पाठकले लामो समयसम्म अध्ययन गर्नेछन् ।
समग्रयमा यस उपन्यासमा समालोचक डा. दुर्गप्रसाद दाहालले भने जस्तै यो उपन्यास विसङ्गतिवादी, नारीवादी
उपन्यास हो । यसमा मूलतः पुरुष स्वार्थले अविवाहित जीवन भोग्न विवश बुढी कन्या र
विवाहित भएर पनि कष्टकर दाम्पत्य जीवन बिताउन विवश प्रौढ पुरुषको विसङ्त प्रेम र
यौन जीवनको चित्रण गरिएको छ । कारागार उपन्यास लैङ्किक विभेदका बारेमा जानकार
राख्न चाहने जोसुकैले अध्ययन गर्न लायक उपन्यास हो ।
Comments
Post a Comment