सरी…मलाई हाइकु मनपर्दैन ! - अशोक थापा

                                                                                                                                                                       

खासमा मलाई हाइकु मनपर्दैन । माला उन्दै गर्दा छोडिएका फूलका टुक्राटाक्रीजस्तो लाग्छ यसका हरफहरू मलाई । लेख्‍न सिक्दै गरेकी बच्चीले वाक्यविन्यास नजानेर भत्काको जस्तै लाग्छ । मलाई विष्णुबहादुर सिंहले खुब दिनुहुन्छ हाइकुका किताब । कस्सम ! ती किताब मेरो दराजमा डुस्सिएर बसेका छन् । पक्कै मजस्ता मान्छे कम र हाइकु रुचाउने पाठक धेरै भएर होला हाइकु लेखिरहेका छन् नेपाली हाइकुकारहरूले । आज त्यस्तै किताब हात लाग्यो दाजु तेजविलास अधिकारीज्यूबाट । उही क्या फेसबुकमा कभर आको थ्यो नि 'उच्छलन'। उनी एउटा इमान्दार मान्छे हुन् भन्नेमा विगत १७ वर्षदेखि म कन्भिन्स्ड छु । भोलि नहुन सक्छु । उनी के-के गरिरहन्छन् साहित्य क्षेत्रमा, जागिर खान्छन् संस्कृत विश्‍वविद्यालयमा । मजस्ता बेढङ्गे मान्छे धेरै होलान् तर हाइकु लेख्‍न नछोड्नु दाइ किनभने मैले सिगरेड छोडे पनि कम्पनी त चलिराखेकै छ नि ।
 ठूल्ठूला विद्वान्‌हरूले भूमिकामा राम्रो भनेकाले मलाई पनि विश्‍वास छ यी हाइकुहरूको ढाँचाकाँचा मिलेकै होला । कोरियोग्राफी ठीक छ होला । उहाँहरूले मस्तिष्कको मखमली भनेकाले मसँग कुरो नमिल्ने भयो । मेरो लागि गन्धेझार हो हाइकु । सबैसँग सबैको कुरा मिल्दैन पनि होला । विद्वान्‌हरूले पढेर नै भन्नु भयो होला यी हाइकुहरू प्रगतिवादी स्वरमा आलापित छन् । हे विलास दाइ चित्त नबुझेका कुरा भन्न हाइकु नै चाहिन्छ र ? दुष्‍टहरूले हिलाम्य बनाएको बाटो नहिँडिदिए पुगिहाल्दैन र ? । ल ठीक तपाइँको कुरा । भन्नै परे पनि जापानी छन्दमा किन भन्ने ? हाम्रै आर्ग्यानिक पारामा गाली गरे हुँदैन नवमण्डले मार्क्सवादीहरू होसियार ।
५६ पेजमा ३ वटाको दरले १६८ वटा हाइकु रहेको त त्यसै बुझियो यो सँगालोमा । यति धेरै हाइकुमा केके भन्न भ्याएका होला दाजुले त्यो त म भन्न सक्दिन किनकि मलाई हाइकु मनपर्दैन । बरु १६८ सेकेन्ड आँखा चिम्म गरेर बस्छु । एक ठाउँमा त कोरोनाको कुरा पनि झिक्नु भाछ रे । त्यसैले यो सङ्ग्रह बासी चै होइन । कतै न्यायलयको, कतै अख्तियारको, कतै नेताको, कतै कर्मचारीको, कतै बजेटको, हुँदाहुँदा जग्गा दालालको अनि विचौलियाको उछितो काडिएको छ रे यी तीनहरफे कवितामा । बरु तपाइँ त माइतघर मन्डलातिरै जानूस् दिनको एकपटक । सके त कुनै स्पोन्सर भेटिएला । लेखेजस्तो पनि आन्दोलनमा टेकेजस्तो पनि ।      
हो दाजु तपाइँले भनेजस्तै साहित्यमा लागेर तपाइँले दुःख पाउनु भो, तोरीलाहुरे यात्रामा किन हिँडेको ? बरु छोड्दिनुस् आदर्श र आऊनुस् खाल जमाम्, रामरमिता गरम्, जेमा सुगन्धित हुन्छ मन ।म त्यसो भन्दिन मान्छे विचलित हुनसक्छ तर स्खलित हुनसक्दैन । मेरो अर्थ के हो भने कि गुनासो नगर्नू कि त्यो मार्गमै नहिँड्नू यस्ता कुरा पनि हाइकुमा आएका छन् भनेर कोनि कल्ले भन्दैथ्यो ।
त्यसै त धेरै पाना खर्च भैसक्यो दुदुई ठाउँमा एउटै कुरा भनेको हो र तपाइँले ? ‘जाँदैन जाडो, मात्र एक माघलेकिन त्यस्तो भट्याउनु भाको ? दाजु एउटै कुरा दोहोर्‍याउनु स्वास्थ्यका लागि हानिकारक छ नि । सोध्नु न एउटै पद दोहोर्‍याएर कुर्सीपाद्‍ने महामहिमहरूलाई । अब उच्छलन, उद्‌वेग, उच्छ्‌वासको अर्को भाइ उछृङ्खलशीर्षकको किताबमा त्यसो नगर्नू ल ।
डाक्टर महोदयको भूमिका चै पढेँ । मलाई नफरत त हाइकुप्रति हो नि । भूमिका मनपर्छ । म धेरै आह्लादित भएँ तीनै भूमिकाबाट । उहाँहरूको भूमिका अर्को सङ्ग्रहमा पनि राख्‍नुहोला । हाइकु मन नपर्ने भएकाले कुनै पनि बेढङ्गे हरफ पढ्न त मैले पढिन तर गनिहेर्दा १६८ वटा पुर्‍याएँ । तर डाक्साबले १४५ वटामात्र भन्नु भएको रहेछ सायद उहाँल २३ वटा हाइकुलाई यस कोटिबाट हटाइदिनु भएको पनि हुनसक्छ । बरु यो लकडाउनको बेलामा म झोक्र्याएर बिताउन चाहन्छु किताब पढ्दिन, हाइकु त हेर्दैहेर्दिन । बरु साथीभाईसँग रमाइलो गर्ने छु, थियटर हलतिर जान्छु, कपिल शर्मा सो हेर्छु तर अहँ यो विकृत कविता म पढ्दिन । बरु रामायण पाठ गर् भन्यो भने गर्छु तर यो तीनखुट्टै छन्द हेर्दिन । खैर जेसुकै होस् दाइ मलाई सबैकुरा दिनु, सल्लाह, उपदेश, गाली, ताली तर मेरो लाख बिन्ती छ यो भत्केको ३ हरफे हाइकु नदिनु । सरीमलाई हाइकु मनपर्दैन !   
 


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन