सरूभक्तको ‘चुली’ उपन्यास

    वि.सं.२०१३ मा पोखरामा जन्मेका सरुभक्तको वास्तविक नाम भने भक्तबहादुर श्रेष्‍ठ हो । नेपाली साहित्यमा निकै सुपरिचित छन् उनी । उनी कवि, आख्यानकार र नाटककारका रूपमा धेरै चर्चित छन् आधुनिक नेपाली साहित्यमा विशेषगरी । उनको आफ्नै निजी पहिचान पनि बेनेको छ नेपाली साहित्य क्षेत्रमा। उनलले पागलबस्ती, तरुनी खेती, समय त्रासदी, चुली जस्ता उपन्यास लेखेका छन् । उनको उपन्यास पागलवस्तीले चर्चित मदन पुरस्कार पनि प्राप्त गरेको थियो । उनी दार्शनिक आख्यानकार हुन् । हिमालको विषयलाई लिएर निकै कम साहित्य लेखिएको छ नेपालमा । चुली यतातिरको प्रयास हो । यसको विषयवस्तु पनि सगरमाथा हो । यो उपन्यासलाई त्रिभुवन विश्‍वविद्यालयले स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा पनि पठनपाठन हुन्छ ।

    चुली विसं २०५९ सालमा प्रकाशित भएको उपन्यास हो । यस उपन्यासलाई सन् २०१२ मा ‘द पिक’ शीर्षक दिएर सुभाष घिमिरेले अनुवाद गरेका छन् । उपन्यासमा ऊ पात्र जस्तोसुकै सास्ती खेपेर पनि सगरमाथा चढ्नुपर्ने लक्ष्यसहित अगाडि बढेको घटनाबाट उपन्यासको आरम्भ भएको छ । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहणलाई चुली उपन्यासको विषयवस्तु बनाइए अनुसार ऊ पात्रले यात्रा थालेको हो । सर्वोच्च चुचुरोमा उक्लँदा गर्नुपर्ने यावत क्रियाकलापलाई उपन्यासमा सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ । सगरमाथा चढ्दा रोमाञ्चकता मात्र छैन थुप्रै जोखिमहरू पनि छन् । पात्रको आरोहणको क्रमबाट आरम्भ हुन्छ । आरोही पूर्णबन्दोवस्तका साथ संसारको अग्लो चुचुरो सगरमाथ चढ्न उकालो लागेको छ । आरोही सम्भावित जटिलताबाट चिन्तित भए पनि निकै विश्वास्त भएको छ ।  उसले चुलीको यात्रा भनेको जहिले पनि एक्लो यात्रा हो भनेको छ । उसको एकमात्र लक्ष्य सगरमाथा विजयी गर्नु हो । आफ्ना सहयोगी भरियाहरूलाई आधार सिविरमा छोडिदिन्छन् । परिरहेको हिँउका फुस्साहरू पन्छाउँदै अगाडि बढ्छ । उसको साथमा एउटा कुकुर पनि साथै रहन्छ । हिमाल चढ्नेक्रममा जापानी, इटालियन, बेलायती, भारतीय, अष्ट्रेलिय आरोहीहरूलाई बाटोमा भेट्छ । चिसोले उसको अनुहार सुन्निएको हुन्छ । यात्राको क्रममा उसले चर्चित पर्वतारोही आङ्‌रिता शर्पा, आप्पा, बाबुछिरीहरूलाई सम्झिन्छ । उसले बाटोमा मान्छेको लास पनि देख्‍छ । निकै सङ्घर्ष र हिउँ पहिरोलाई चल्दै ऊ अन्त्यमा सगरमाथाको चुचुरोमा पुग्छ । चुली टेक्ने ठाउँ हो अल्मलिएर बस्ने ठाउँ होइन भन्दै ऊ फर्केर ओर्लन थाल्छ ।  चढ्दा भन्दा सफलता प्राप्त गरेर सगरमाथाबाट फर्कनु चुनौती हो भन्ने सोच्छ । धेरैजसो मान्छे असफलतामा दुर्घटित हुँदैनन्, सफलताहरूमा दुर्घटित हुन्छन् । इतिहास साक्षी छ । सभ्यता साक्षी छ । सायद महान्महान् इतिहास र सभ्यता नष्ट हुनुको पछाडि मान्छेको यही चरित्र जिम्मेवारछ भन्ने सोच्छ । यसरी पात्रले सगरमाथा सफल आरोहण गरेर फर्कँदै गर्छ, सफलताले बशिभूत भएर चरम आनन्दको अनुभूत गर्छ । सगरमाथाको आधार सिविरबाट क्याम्पतिर ओर्लिंदै गर्दा अलि तल्तिर आइपुग्दा वातावरण विग्रन्छ । हिउँ आँधी र हिमपातका कारण हिउँको डल्लोमा ठोकिएर उसको मृत्यु । र उपन्यास एउटा दुखान्तमा टुङ्गिन्छ ।

     चुलीदार्शनिक उपन्यास हो । यसमा जीवन सम्बद्ध थुप्रै वैचारिक कुराहरू व्यक्त भएका छन् । जतिसुकै जटिलता, जस्तोसुकै सङ्घर्षको सामना गर्नु परे पनि जीवन बचाइबाट हरेस खान हुँदैन भन्ने भाव यस उपन्यासमा प्रस्तुत भएको छ । जस्तोसुकै कहरमा पनि जीवनको एउटा उद्देश्य हुन्छ, लक्ष्य हुन्छ । मान्छेको जिन्दगी सङ्घर्षको चुली हो सगरमाथाजस्तै । सफलता चुम्न जति आनन्ददायी हुन्छ । त्यसलाई बचाइ राख्न  ज्यादै जटिलता हुन्छ । मान्छेले जन्मेदेखि जीवनपर्यन्त चुनौतीको सामना गर्नुपर्ने हुन्छ । मान्छेको निधन सत्य हो । जन्मसँगै यो टाँसिएर बसेको हुन्छ । मर्ने डरले जीवनका सफलतालाई छेक्नु हुँदैन भन्ने भाव नै यस उपन्यासको मुख्य भाव हो । मान्छे जन्मन्छ मर्छ र नयाँ जन्मन्छ यो निरन्तर क्रियाशील छन् । जस्तोसुकै जटिल परिस्थितिमा पनि प्रेमको टुसा अङ्कुराउन छोड्दैन । जीवन समस्यामा जेलिएको धागोको डल्लोजस्तै हो । यो सजिलै फुक्न पनि सक्छ, नफुक्न पनि ।

    थुप्रै दार्शनिक उद्‌गार छन् यस उपन्यासमा ।  जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता होकाँडाहरूले अरूलाई घोच्छन् आफैँलाई घोच्दैनन् ।” हिमालमा सबै कुरा जम्छ तर हृदय जम्दैन ।” उद्देश्यविहीन जीवन मृत्यु हो ।” मृत्यु कुनै उद्देश्य होइन ।” दुर्घटनाहरू सित लुकामारी खेल्नुको नाम नै हो जीवन ।” बाँच्नको लागि प्रकृतिसँग गरिएको सङ्घर्षलाई उपन्यासमा प्रस्तुत गरिएको छ खासमा ।

    नेपाल हिमालहरूले प्रसिद्ध देश हो । धेरै हिमाल भए पनि हिमालका विषयमा थोरै साहित्य लेखिएका छन् यहाँ । हामी हिमाली वासिन्दा भनेर चिनिन्छौँ तर हामीले हाम्रा हिमाललाई साहित्यिक पुस्तकमा चिनाउन सकेका छौनौँ । बरु विदेशी लेखकले सगरमाथाका बारेमा दर्जनौँ पुस्तक लेखिसकेका छन् । यस्तै अभाव र सङ्कटलाई टार्ने उपन्यास हो चुली ।

    जीवन यात्रा यो । यात्रामा सङ्घर्ष आइरहन्छन् समय समयमा । त्यो सङ्घर्षसँग जुध्नुको विकल्प छैन । जीवन सङ्घर्षयको लडाइँमा कहिले जित हुन्छ त कहिले हार । एउटा सङ्घर्षशील पात्रको अवशानको आख्यान हो चुली । यसले नेपाली आख्यानलाई मात्र प्रतिनिध्व गरेको छैन सगरमाथा र यसको सङ्घर्षपूर्ण आरोहरणलाई पनि आख्यानीकरण गरिएको छ । समग्रमा पहाडी जनजीवन, यहाँको दुःख र सङ्घर्षको कथा बुनिएको छ यस उपन्यासमा । जीवन पनि युद्ध मैदान जस्तै हो त्यहाँ हरेक मान्छेले सहभागी हुनुपर्छ कुनै न कुनै रूपमा ।  

 


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन