नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्कन
डा. अशोक थापा
सारसङ्क्षेप
यस लेखमा सडक नाटकको सैद्धान्तिक पक्षको सङ्क्षिप्त चर्चा गर्दै नेपाली नाटकमा सडक नाटकको ऐतिहासिक पक्षको रेखाङ्कन गरिएको छ।सडक नाटकको प्रभावकारिता, यसको विशेषता अनि नेपाली रङ्गमञ्चीय जगत्मा यसले छोडेको प्रभावको उल्लेख गर्नु यस लेखको उद्धेश्य रहेको छ।
१.१ विषय प्रवेश
प्रस्तुत लेखको
शीर्षक नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्कनमा सडक नाटकको ऐतिहासिक पक्ष र यसको विविध स्वरूपका आधारमा
अनुरेखाङ्कन वा सङ्क्षिप्त रेखाङ्कन गर्ने उद्देश्य अन्तर्भूत छ।नेपाली सडक
नाटकको प्रारम्भ, विकास र वर्तमान अवस्थितिको विषयमा
चासो राख्नु यस लेखको केन्द्रीय पक्ष हो।सडक नाटकको सैद्धान्तिक विमर्शमा आधारित रहेर पाश्चात्य सन्दर्भमा सडक नाटकको
अवस्थितिको छोटो विमर्श सहित नेपालमा सडक नाटकको स्थिति र अवस्थितिका विषयलाई
प्राथमिकताका साथ उठाउनु यो लेखको मूल ध्येय हो ।
नेपाली भाषामा मात्र नभएर संसारका अनेकौँ राष्ट्रहरूमा सडक नाटकको प्रयोगगत अस्तित्व देखिन्छ।राजनीतिक दवावदेखि जनचेतनाको एक अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको सडक नाटकका विषयमा देशी विदेशी विविध शब्द कोश तथा चिन्तकहरूले विभिन्न प्रकारका मान्यता स्थापित गरेका छन्।ती विविध सन्दर्भमा सडक नाटकलाई केन्द्रमा राखेर गरिएका केही धारणाहरूलाई यस सन्दर्भमा उल्लेख गर्न वाञ्छनीय ठानिएको छ।
फ्रि डिक्सनेरी डक कम नामक अनलाइन शब्दकोशमा सडक नाटक (स्ट्रिट थियटर) लाई राजनीतिक तथा सामाजिक मुद्दाहरूको नाटकीकरण गरिने प्राय: सडक, पार्क तथा खुला ठाउँमा प्रदर्शन गरिने नाटक विशेष हो भन्ने कुरा उल्लेख छ[1] (द फ्रि डिक्सनरी डट कम, सन् २०१२)।[i]
यसै गरी
क्याम्ब्रिज शब्दकोशको अनलाईन संस्करणले सडक नाटक स्वतन्त्र रूपमा सार्वजनिक ठाउँमा मञ्चन
गरिने विशेष गरी पसलहरूको छेउछाउ, खाजा घरको वरिपरि देखाइने नाटक विशेष भनी उल्लेख गरिएको छ[2] (डिक्सनरी डट क्यामब्रिज डट अर्ग, सन् २०१२)।[ii]
नेपाली बृहत् शब्द कोशले सडक, चोक गल्ली आदि स्थानमा प्रदर्शन गरिने नाट्य
प्रस्तुतिको एक पद्धति भनी परिभाषित गरेको छ।[3]
यसरी यी माथि उल्लेखित मूल परिभाषाका आधारमा सडक नाटक नाटक प्रस्तुतीकरणको एक
पद्धति हो भन्ने बुझिन आउँछ जुन सर्वसुलभ र सबै प्रकृतिका दर्शकले सजिलै यसको
मूल्याङ्कन गर्न सक्छन्।
१.२ शिल्पगत नामकरण
सडक नाटक पृथक नाटकीय सृजन प्रक्रिया नभएर रङ्गमञ्चीय प्रस्तुतिका क्रममा
छनोट गरिएको स्थान विशेष नाट्य मञ्चनको विशेष पद्धति हो।कुनै व्यवस्थित रङ्गमञ्चीय
साज सज्जाविना सडकमै नाट्य अभिनय गरिने भएकाले पनि यो अवधारणा प्रस्ट देखिन्छ।सडक भन्नाले बाटो, मार्ग, चोक मात्र नबुझिएर खुला कुनै पनि स्थान वा डवलीमा देखाइने
अत्यन्त अनौपचारिक रङ्गमञ्च भन्ने बुझिन्छ।सडक नाटक लेखनगत पृथकताबाट भिन्न नभएर
जुनसुकै नाटकलाई पनि सार्वजनिक स्थानमा प्रदर्शन गर्दा उक्त नाट्य प्रस्तुतिले
सडक नाटकको स्थान ग्रहण गर्छ।सडक वा सार्वजनिक स्थलमा प्रदर्शन गरिने भएकाले नाटक
प्रदर्शनको पद्धति विशेषलाई सडक नाटक नामकरण गरिएको हो। यो सही पनि अनुभूत हुन्छ
(सुवेदी, पृ. १५२-१५३)।
सडक नाटक आधुनिक समयको रङ्गमञ्चीय प्रस्तुति हो।यसलाई कतिपय विद्वान्हरूले
कचहरी नाटक, आगन नाटक, नुक्कड नाटक पथ नाटक तथा झोले नाटक पनि भन्ने गरेका छन्।पाश्चात्य
महाकाव्यत्मक रङ्गमञ्च (इपिक थियटर) सँग पनि यसको निकट साइनो देखिन्छ (रावत,२०६८,
पृ. १७४)।यद्यपि यसको ऐतिहासिक पृष्ठभूमि भने
नाटक विधाको इतिहास जत्तिकै पुरानो छ।
२. सडक नाटकका मूलभूत विशेषताहरू
स्वतन्त्र र खुला रूपमा
प्रस्तुतीकरण गरिने सडक नाटकका मूलभूत विशेषताहरू यस प्रकार छन्:
२.१ सर्व
दर्शक अवधारणा
सडक नाटक खुला चोक गल्लीमा प्रदर्शन गरिने भएकाले यसले कुनै पूर्व आमन्त्रित दर्शक पाउने कुरै भएन, सडकमा जति प्रकारका
मान्छेहरूको उपस्थिति रहन्छ त्यति नै प्रकृतिका दर्शकहरू सडक नाटकमा झुम्मने
भएकाले सर्व प्रकृतिका दर्शक नै सडक नाटकमा हुने गर्छन्।कुनै योजना र लक्ष्यित
दर्शकको उपस्थिति नहुनु सडक नाटकको विशेषता हो।विविध खालका दर्शकको उपस्थिति हुने
भएकाले सडक नाटकको भाषा सकेसम्म सम्प्रेष्य हुनु पर्छ भन्ने मान्यता राखिन्छ।रोडदेखि
करोडसम्मका सबै वर्गका दर्शकहरू सडक नाटकका दर्शक हुने भएकाले सर्व दर्शक अवधारणा सडक नाटकको एक मूल विशेषता हो।
२.२ भाषिक
सरलता
भाषिक रूपमा जटिल बनेको खण्डमा सडक नाटकका दर्शक
सन्तुष्ट हुँदैनन्।सडकमा विविध स्तर र क्षमताका दर्शकहरूको उपस्थिति हुने भएकाले
सडक नाटकको भाषा पनि तिनीहरूलाई पच्ने खालको हुन आवश्यक छ।दर्शकको विविधता भित्र
भाषिक सरलता नै सबै दर्शकलाई सम्बोधन हुनु हो।भाषिक सरलता हुनु सडक नाटकको विशेषता हो र यसमा सडक नाटककको जीवन्तताको सवाल पनि भाषिक सरलतासँग जोडिएको छ।भाषिक
सरलताको अपेक्षा सबै प्रकृतिका रङ्गमञ्चले नगर्ने होइनन्।अन्य वर्गीकृत रङ्गमञ्चमा दर्शक पनि वर्गीकृत प्रकृतिका हुने भएकाले भाषिक
स्तरीयताका दृष्टिले पनि विवधतामय भाषा प्रयोग हुन सक्छ तर सडक नाटकका सन्दर्भमा
भाषिक जटिलता वर्जित नै हुन्छ।यसर्थ भाषिक सरलता हुनु सडक नाटकको अर्को पहिचान हो।
२.३ विधागत
पहिचान
सडक नाटक विधागत रूपमा नाटकभन्दा पृथक छुट्टै विधा नभएर शिल्प पक्ष र रङ्गमञ्चीय प्राविधिका कारण पृथक रहन्छ तर नाटक विधामा हुने सबै विधागत तत्त्वहरू सडक नाटकमा हुने गर्छन्।सडक नाटक नाटक विधाकै एक हाँगो हो।रङ्गप्रस्तुतिका आधारमा वर्गीकृत यसको खुला स्वभावका कारण सडक नाटक नामकरण गरिएको हो। विधागत पहिचानका दृष्टिले सडक नाटक नाटक विधा नै हो।नाटक पाठदेखि प्रदर्शनसम्म पुग्ने क्रममा अपनाइएको शिल्प पक्षले गर्दा मात्र यसमा पृथकता देखिएको हो।सडक नाटक नाटककै एक मौलिक निश्चित शिल्प पद्धतिमा आबद्ध रङ्गप्रस्तुतिको पद्धति हो न कि छुट्टै विधा भने होइन।
२.४ तत्क्षणिक चेतना
सडक नाटकमा निकै तत्क्षणताको प्रस्तुति गरिएको हुन्छ।कुनै बासी तथ्यलाई
प्रस्तुत नगरेर समसामयिक कुरालाई सडक नाटकमा देखाउने प्रयास गरिन्छ।समसामयिक
पक्षहरू मध्ये पनि सबै भन्दा नयाँ जनचासोको विषयलाई सडक नाटकले प्राथमिकतामा राख्ने
भएकाले पनि सडक नाटक तत्क्षणता र जन चासोको विषयलाई सम्प्रेषण गर्ने रङ्ग
प्रस्तुति हो।युगिन चेतनालाई समात्न नसकेको सन्दर्भमा सडक नाटक अप्रभावकारी बन्ने गर्छ।युगिन चेतना भनेको राजनीति, सामाजिक, प्राकृतिक तथा
परिस्थिति जन्य विविध विषयको तत्काल भोग्दै रहिरहेको ताजा मुद्दा हो।हरेक दिनको दैनन्दिन घटनालाई समातेर रङ्गमञ्चमा प्रक्षेपण गर्न
सकेको खण्डमा मात्रै सडक नाटक जीवन्त देखिन्छ।सडक नाटकले तत्क्षणिक चेतनालाई समात्न
सक्नु पर्छ।त्यसैले सडक नाटकको प्रभावकारिता र दर्शकको समय र
स्रोतको न्यायका लागि सडक नाटक तत्क्षणिक चेतना प्रस्तुतिमा सचेत रहनै
पर्छ।तत्क्षणिक चेतना प्रस्तुति गर्नु सडक नाटकको एक मूल प्रवृत्ति हो।
२.५ प्रस्तुतिगत
प्रयोगशीलता
सडक नाटक लेखन तथा मञ्चन परम्परा एक प्रकारको नयाँ
सम्भावनाको खोजी हो।व्यवस्थित रङ्गमञ्चका सट्टामा सरल रङ्गमञ्चको परिकल्पनाको
खोजी गरिएको सडक नाटक आफैँमा एक प्रयोगशील अभ्यास हो।नयाँ नयाँ सम्भावनाको खोजी यस
प्रकृतिका नाटकमा गरिएको हुन्छ।निकै कम दूरीमा दर्शक र मञ्चको सम्बन्ध देखिने सडक नाटकमा व्यवस्थित रङ्गमञ्चमा जस्तो दर्शक
बस्ने स्थान पृथक र अभिनय गर्ने स्थान पृथक नभएर सडकमै उभिएका दर्शक र त्यसको निकै नजिक कालाकारले अभिनय गर्ने गर्छन्।आफ्नो
नजिकै कलाकारलाई देखेर दर्शकहरू निकै रोमाञ्चित पनि हुने गर्छन्।दर्शकलाई पूर्व
सूचना नहुने भएकाले सडकमा चटकी पाराले नाटकको थालनी गरेर दर्शकलाई आकर्शित गर्नु
पर्ने देखि दर्शकको भिडलाई नै रङ्गमञ्चको स्थान निर्धारक सेटिङ् बनाउनु पर्ने
जस्ता त्यस समयमा आइ पर्ने विविध खालका प्रयोगहरू सडक नाटकमा गर्नु पर्ने
हुन्छ।सडक नाटक प्रयोगशील हुन्छ।
२.६ दर्शक
स्वयं अभिकर्ता
दर्शकहरूको समूहबाटै अभिकर्ताको खोजी पनि सडक
नाटकमा गरिन्छ।पूरै कलाकार नै दर्शकबाट छनोट गरिने नभएर कतिपय सन्दर्भमा दर्शकको
सहयोग लिएर नाटकलाई निष्कर्षमा पुर्याउने कार्य सडक नाटकमा गर्ने
गरिन्छ।दर्शकहरूको भिडबाट नै नाटक अभिनय कर्ताले नाटकको थालनी गर्ने र नाटकको अन्त्य
पनि कलाकारहरू दर्शकदिर्घामै अलप हुदै गरिने भएकाले सडक नाटकमा दर्शकको समूहबाटै
कलाकार जन्मने र कतिपय सन्दर्भमा दर्शकले नै समूहिक तथा व्यक्तिगत रूपमा संवाद
बोल्नु पर्ने स्थितिको सिर्जना पनि सडक नाटकमा गरिन्छ।कहिले काहीँ कोरसको काम
दर्शकबाट गर्ने गरिन्छ।समूह गान मात्र नभएर कतिपय राजनीतिक विषयका नाटकका
सन्दर्भमा नरा लगाउने, समूहिक आवाज निकाल्ने सन्दर्भमा दर्शकको पात्रात्मक भूमिका
रहने गर्छ।यसर्थ दर्शकको समूहबाट अभिकर्ता छनोट गर्ने पद्धति सडक नाटकमा प्राय:
देखिन्छ।नाटकको उठानबाटै कुनै समस्याका विषयमा दर्शकलाई प्रश्न गर्ने पनि
गरिन्छ।यसर्थ दर्शक स्वयं अभिकर्ता हुनु सडक नाटकको एक उल्लेख्य विशेषता हो (ढकाल, पृ.२३)।
२.७ साजसज्जा मुक्त मञ्च: सडक नाटकमा रङ्गमञ्चीय साज सज्जामा वास्ता
गरिँदैन।सडक चोक गल्ली तथा चौबाटो वा डव ली नै रङ्गमञ्च हुने हुनाले साज
सज्जा भनेको त्यस स्थान वरिपरिको खुला वातावरण हुने गर्छ।मावनहरूको बाक्लो
उपस्थिति रहने स्थानको भने अघोषित रूपमै भने पनि सडक नाटकमा अपेक्षा गरिएको
हुन्छ।सजावट भनेको रङ्गमञ्चीय स्थान मात्र नभएर रङ्गमञ्चमा उपस्थित कलाकारमा पनि
कुनै विशेष शृङ्गारको तयारी गरिएको हुँदैन।दर्शकदीर्घा पनि स्थान विशेषको प्रकृति
अनुसार प्राय: उभिएर नै नाटक हेर्ने गर्छन् कतिपय मिलेका स्थानमा चौतारी, चोक
गल्लीका ढुङ्गा पिर्का आदि स्थान नै दर्शकहरूका लागि विशेष स्थानहरू
हुन्।दर्शकहरूको घेराबन्दी भित्रबाटै दर्शकहरू अलप हुने प्रवेश गर्ने गर्दै नाटको
सेटिङ् मिलाइएको हुन्छ।दर्शकको घेरालाई एक प्रकारको रङ्गमञ्चको संरचना मिलाइएको
हुन्छ।यसर्थ सडक नाटकको पहिचान सज्जा मुक्त रङ्गमञ्च हुनु हो।
२.८ अल्प समयापेक्षी
सडक नाटक लामो हुनु हुँदैन।निकै अल्प समयमा तिक्खर प्रस्तुतीकरण गर्नु सडक नाटको धर्म हो।निकै छोटो समयमा नाटकमा देखाउन खोजिएको विषय वस्तुलाई पस्कनु पर्ने भएकाले पनि सापेक्षित रूपमा सडक नाटकको प्रस्तुति छोटो गर्दछ।दर्शकमा सङ्क्षिप्त तर प्रभावकारी छाप छोड्नु नाटकको उद्देश्य रहने भएकाले पनि झण्डै पौने घण्टाको समयमा नाटक सकिइ सक्नु पर्ने धारणा सडक नाटक विषयक विशेषज्ञको देखिन्छ।सडकमा निस्केका पृथक उद्देश्यका दर्शकलाई विना तयारी, विना योजना सूचना पस्कनु पर्ने भएकाले पनि छोटो समयमा नै सडक नाटक निष्कर्षमा पुग्ने खालको हुनु पर्छ।छोटो समयको अपेक्षा सडक नाटकमा गरिन्छ।सहरका कतिपय चोक गल्लीमा लामो समयसम्म नाटक प्रदर्शन गर्दा सडक जाम हुने कतिपय सन्दर्भमा हुल हुज्जत बढ्न गएर सामाजिक समस्या उत्पन्न हुने भएर पनि छोटो समयको अपेक्षा सडक नाटक प्रदर्शनका क्रममा गरिएको हो (रावत पृ.२१)।
३. नेपाली सडक नाटकहरू:
नेपालमा लोक नाटकको समृद्ध परम्परा रहेकाले अन्य लिखित नाटकको पृष्ठभूमि
लोक नाटकसँग जोडिए जस्तै सडक नाटकको पृष्ठभूमिगत सम्बन्ध पनि लोक नाटकसँगै
देखिन्छ।लोक नाटक र धार्मिक परम्परामा विविध प्रकृतिका नाटक मञ्चनको पृष्ठभूमिले
सडक नाटकको पृष्ठभूमि निर्माण गर्छ।यो डवली, नचरी, जात्रा हुँदै अगाडि
बढ्छ।प्रारम्भिक समयमा सडक नाटक भनिन्थेन तर नाटक प्रदर्शन सडक,चोक गल्ली आदि
स्थानमा देखाइन्थ्यो।जब राजनीतिक विषयवस्तुलाई लिएर अभियानका रूपमा नाटक प्रदर्शन
गर्न थालियो सडक नाटकले आधार स्थापित हुने मौका प्राप्त गर्यो।राजनीतिक
घटनाक्रमकै गोलचक्करमा रुमलिइरहै बेला अशेष मल्लको अगुवाइमा वि.स. २०३७ सालमा सडक नाटकका नामले ‘मुर्दावादमा उठेका हातहरू’ शीर्षकको नाटक मञ्चन गरेर विधिवत सुरुवात गर्यो।फलत:
ऐतिहासिक परम्परामा औपचातिक अनौपरचिक रूपमा हुर्केको नेपाली सडक नाटक संस्थात
मार्गमा विकसित हुँदै गयो (रावत, पृ. २७)।
नाटकको सुरुवात खुला स्थान हामी बसन्त खोजिरहेका छौँ, समाप्त असमाप्त, मुसल पर्व, बोध, पर्खाल, को गर्दैछ युद्धको घोषणा, शेषयुद्ध, अतिरिक्त आकाश, म भनेको हामी, इत्यादि प्रश्नहरू, निरन्तर, एकादेशमा, समकोण, हारेका मान्छेहरू, क्रमश: यात्रा, रामायणको अर्को पृष्ठ आदि जस्ता नाटकहरू विविध समयमा प्रदर्शन भएका नेपाली सडक नाटकहरू हुन्।राजनीतिक आन्दोलनका विशेष परिस्थितिमा सडक नाटकको सहारा लिएर नाट्य प्रस्तुति गरिएको इतिहास हाम्रो नाट्य साहित्यको इतिहासमा देखिन्छ।
४. सडक नाटकको सर्व
व्यापकता
सडक नाटकको पाश्चात्य सन्दर्भ पृथक भए पनि भारतीय नुक्कड नाटक परम्परासँग नेपाली सडक नाटक परम्पराको प्रस्तुतिगत
निकट साइनो देखिन्छ।नेपाली राजनीतिमा देखिएको जनमत सङ्ग्रह कालीन (२०३६) सङ्क्रमित जन प्रतिकूल राजनीतिक शासनको प्रतिकार स्वरूप सर्वनाम नाट्य समूहले चालेको कदम नै नेपालमा सडक
नाटक परम्पराको वीजाधानको समय हो।अशेष मल्लद्वारा लिखित र कीर्तिपुरमा सर्वप्रथम
मञ्चित हामी बसन्त खोजीरहेका छौँ र मल्लकै समाप्त असमाप्त नाटकको प्रदर्शन (२०३९) बाट नेपालमा सडक नाटक प्रदर्शनको
विधिवत थालनी भएको हो।तत्कालीन पञ्चायती राजनीतिप्रति तीव्र प्रहार गर्ने
उद्देश्यले मञ्चित यी नाटहरू निकै लोकप्रियताको शिखरमा पनि चढे र नेपाली रङ्गमञ्चको
एक अब्बल आन्दोलन, समसामयिक नेपाली नाटक साहित्यको एक पृथक घुम्ती अनि छुट्टै साहित्यिक स्वाद पस्कने मामिलामा पनि उच्च सावित भए।सर्वनामको
यस अभियानले नेपाली साडक नाटक परम्परामा एक ऐतिहासिक महत्त्व राख्दछ।सर्वनाम नाट्य समूह नेपालमा सडक नाटक जन्माउने एक कुशल अविभावक संस्था हो भन्न हिच्किचाउनु पर्दैन।
नेपालमा मात्र नभएर सडक नाटकलाई विभिन्न देशमा राजनीतिक चेतना विस्तारको गतिलो साधन मानिएको छ।विशेष गरी पाश्चात्य जगत्मा प्रचलित खुला रङ्गमञ्च (ओपन थियटर), सडक नाटक (स्ट्रिट ड्रामा) आदिसँग पनि सडक नाटकको सम्बन्ध देखिन्छ।रसियामा अक्टोबर क्रान्ति ताका सडक नाटक प्रदर्शन गरिएको इतिहास छ।मेक्सिकन तथा काला जातिका कामदारहरूले अमेरिकामा सडक नाटककै सहायताले आन्दोलन चर्काएका थिए।स्पेनमा पनि गृहयुद्धको समयमा सडक नाटकको सहायताबाट राजनीतिक विषयवस्तुलाई पस्कने जमर्को गरिएको थियो।भारतमा पनि अङ्ग्रेजहरूको विरुद्धमा प्रशस्त सडक नाटकहरू प्रदर्शन गरिएको तथ्य फेला पर्छ।
५. आजको सन्दर्भमा सडक नाटक
समसामयिक नेपाली नाटक तथा रङ्गमञ्चको इतिहासमा सडक नाटकलाई जन्माउने र हुर्काउने काम अशेष मल्लले गरे पनि आज आएर विभिन्न नाट्य समूहले सडक नाटकलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छन्।विभिन्न दिवसका अवसरमा जनचेतना फैलाउनाका लागि आज सडक नाटक एउटा महत्त्वपूर्ण साधनाका रूपमा स्थापित भइरहेको छ।एड्सविरुद्ध जनचेतना फैलाउन, कुष्ठ रोगका विरुद्धमा सूचना दिलाउन तथा विभिन्न समयमा हुने जनसोरकारका विषयलाई प्रत्यक्ष रूपमा स्थापित गराउनका लागि सडक नाटक गतिलो हतियार भएको कुरालाई पनि भुल्न हुँदैन। वि. स.२०६४ को संविधान सभालाई सफल बनाउनाका लागि पनि सडक नाटकको सहारा लिइएको पनि सूचना पाइन्छ।जलवायु परिवर्तन र यसको असरका विषयमा जनचेतना फैलाउन २०६८ सालमै बोध शीर्षकको नाटक पनि निकै लोकप्रिय भएको थियो।यसै गरी भूकम्प विरुद्धमा चेतना जगृत गरउन पनि सडक नाटकको सहारा लिएको देखिन्छ।
६. सरोकारवाला:
सडक नाटकको टिकट बेचिँदैन यसर्थ यो
अव्यवासयिक प्रकृतिको हुन्छ।व्यवसाय भन्दा जनचेतना फैलाउनु यसको मूल ध्येय हो।महोत्सव
वा विभिन्न हाटबजारमा पनि अक्सर सडक नाटक देखाउने गरिन्छ।कहिले काहीँ क्लब जस्ता
सेवामूलक संस्थाका लागि टाबेल तथा टोपीमा दर्शकबाट स्वैच्छिक रूपमा न्यून रकम
उठाउने काम पनि सडक नाटक प्रदर्शनका क्रममा गरिन्छ।यसर्थ समाजिक संस्थाहरू सडक
नाटकको सरोकारवाला संस्थाहरू हुन्।सडक नाटक प्रदर्शनका लागि कुनै विशेष किसिमको
भेषभूषा प्रयोग नगरिने भएकाले यो अनौपचारिक प्रकृतिको हुन्छ।आवाजको दृष्टिले कुनै
पनि मायक जस्ता साधनको प्रयोग नगरिने भएकाले सडक नाटकका अभिकर्ताले आफ्नो
प्राकृतिक आवाज वा बोलीलाई नै सडक नाटकमा प्रयोग गर्नु पर्छ।यस कारण अभिनय कर्ताको
शारीरिक क्षमता र बोल्ने कलामा सडक नाटक निर्भर रहन्छ।नाटक हेर्न झुम्मिएका
दर्शकलाई आकर्षित गर्न पनि प्रस्ट देखिने स्थान र आवाज प्रस्ट हुँदा सडक नाटक प्रभावकारी बन्छ।कतिपय संवेदनशील विशेष गरी
राजनीतिक मुद्दामा आधारित सडक नाटकलाई प्रदर्शनका लागि स्थानीय प्रशासनको अनुमति
पनि लिन पर्ने हुन सक्छ।सडक नाटकहरू स्थानीय स्तरमा प्रदर्शन भएको र कतिपय
सन्दर्भमा अन्तर्राष्ट्रिय स्थानमा प्रदर्शन भएको पनि इतिहास भेटिन्छ।विशेष गरी धार्मिक विषयवस्तुका
सडक नाटकहरू अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने गरेको इतिहास पनि विद्यमान छ।नेपालमा
पनि क्रिस्सियन धर्म प्रचारका लागि सडक नाटकहरू प्रदर्शन गरेको प्रमाण भेटिन्छ।यसर्थ
समाजिक संघ संस्थाहरूको सक्रियतामा सडक नाटकले मूर्त रूप ग्रहण गर्छ।
७. लोकप्रियताको कारक
नि:शुल्क मनोरञ्जन प्राप्त गर्न सकिने भएकाले नेपालमा सडक नाटक
छोटो समयमा व्यापक लोकप्रिय भएको पाइन्छ।जटिल प्राविधिक झन्झटबाट मुक्त भएकाले पनि
सडक नाटक प्रख्यात भएको हो।न्यून आर्थिक अवस्थाका सर्वसाधरणले पनि सजिलै हेर्न सक्ने प्रकृतिको सडक नाटक सर्वहारा वर्गको पनि रङ्गमञ्च
भएकाले यसलाई बढी रुचाइएको हो।प्रशस्त सुविधा सम्पन्न नाट्यशालाहरू नभएको नेपाल जस्तो ठाउँमा सडक
नाटक गतिलो विकल्प हुन सक्छ।
८. सडक नाटकले विषय क्षेत्र
सडक नाटकको विषय वस्तु असीमित छ।हरेक स्थान र समाजिक, सांस्कृतिक परिवेश बमोजिम सडक नाटकले आफ्नो विषयलाई अनुबन्ध गरेको हुन्छ।नेपाली नाटक साहित्यमा सडक नाटकको सुरुवात राजनीतिक विषयवस्तुबाट भए पनि आज यसको विषयगत व्यापकता निकै झ्याङ्गिएको अवस्थामा छ।आजको सडक नाटक मूल विषयवस्तु भनेको दाइजो प्रथा, ट्राफिक जनचेतना,चेलीवेटी बेचविखन,चेपाङ् विस्थापित हुनु हुँदैन, द्वन्द्व पिडित,करमा दर्ता गर्न जनचेतना, आदि हुन्।
निष्कर्ष
सडक नाटक नाटकको विधागत पृथक अस्तित्व बोकेको उपविधा विशेष नभएर शिल्प वा रङ्गप्रस्तुतिका आधारमा परिचित एक रङ्गमञ्चीय ढाँचा हो।व्यवस्थित रङ्गमञ्चको अपेक्षा नगरिने सडक नाटक कुनै पनि स्थान कुनै पनि समय प्रदर्शन गर्न सकिने प्रकृतिको हुन्छ।कुनै पूर्व तयारी तथा जानकारी विना प्रदर्शन हुने भएकाले यो सङ्क्षिप्त भने हुनु पर्छ।विश्वका अधिकांश देशहरूमा सडक नाटक प्रदर्शनको इतिहास भए जस्तै नेपाली नाटक साहित्यमा पनि सडक नाटकको विशेष प्रचलन छ।परम्परागत रूपमा चोक डवलीमा नाटक प्रदर्शन गर्ने हाम्रो संस्कृति भए पनि सचेत रूपमा नेपाली सडक नाटक परम्परालाई जन्म दिने काम भने अशेष मल्लले गरेका हुन्।
सन्दर्भ समग्री
अशेष, मल्ल (२०६८), सडक नाटक, सिद्धान्त, सिर्जना र प्रस्तुति, काठमाडौँ: एकता बुक्स।
घिमिरे, विष्णु विभु (२०४४), सडक नाटकका पाँच वर्ष, काठमाडौँ: सर्वनाम।
ढकाल, दुर्गानाथ
(२०६४), नेपाली सडक नाटक परम्परा, काठमाडौँ: नेपाली केन्द्रीय विभाग, अप्रकाशित
शोध पत्र।
राई, अरुण प्रकाश (सन् २०००), नाटकको सन्दर्भमा सडक नाटक, कालिबुङ्ग: साहित्य प्रकाशन परिषद्
रावत,
गोविन्दसिंह (२०६८), नेपाली सडक नाटकको विकास प्रक्रिया, काठमाडौ: त्रिवि
मानविकी तथा सामाजिक शास्त्र सङ्ककाय, अप्रकाशित विद्यावारिधि शोध पत्र।
श्रेष्ठ, उपेन्द्र र भण्डारी, चन्द्रमणि
(२०५४), सडक नाटक तालिम स्रोत पुस्तिका
सुवेदी, अभि
(२०६३), नेपाली थियटर एज आइ सी इट, काठमाडौँ : आरोहण ।
[1] Street+Theatre (2012). http://www.thefreedictionary.com/street+theater
, retrieved
2012-07-03
[2] Street-Theatre (2012). http://dictionary.cambridge.org/dictionary/british/street-theatre, retrieved 2012-07-03
[3] बृहद नेपाली शब्द कोश नेराप्रप्र
Comments
Post a Comment