सुनेका, देखेका र भोगेका ‘काइँला’
डा. अशोक
थापा
नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर
सार
प्रस्तुत लेख नेपाली साहित्यमा आयामेली कविका रूपमा छुट्टै छवि बनाएका बैरागी
काइँला (तीलविक्रम निम्वाङ, वि.सं. १९९६) को योगदानमा केन्द्रित छ । योगदान
भन्नासाथ समग्रताको अध्ययन हुने भएकाले कुनै कृति विशेषमा केन्द्रित हुने कुरा भएन
। समग्रताको मूल्याङ्कन गर्दा लेख सूचनामूलक हुनु स्वाभाविक छ । यस लेखको ध्येय
पनि काइँलाको समस्त योगदानलाई नियाल्नु हो । नेपाली कविता साहित्यमा काइँलाको
कृतित्वको गौरव अक्षीण छ । यस लेखमा समीक्षात्मक निबन्ध ढाँचामा वर्णनात्मक विधि
अवलम्बन गरिएको छ ।
आरम्भ
नेपालको पूर्वी पहाडमा शिक्षाको दीयो पहिले उदायो । यस तथ्यलाई पुष्ट गर्न दुई
तर्क मनासिब देखिन्छन् । पहिलो नेपालको प्रशासनिक संरचनामा सापेक्षित रूपमा
पूर्वमा पहिले जागरण आएको हो । दोस्रो अङ्ग्रेज शासनको समयदेखि नै दार्जिलिङको
शैक्षिक रापले पूर्वी नेपाल (झापा, इलाम, पाँचथर) लाभान्वित छ । हो यसै पूर्वी
पहाडको पाँचथरमा जन्मेका बैरागी काइँलाको वास्तविक नाम तिलविक्रम नम्वाङ हो । उनको
कविताको प्रस्फुटन सं. २०१८ सालको
'फूल पात पकर' शीर्षकको कविताबाट भएको
कुरा केन्द्रप्रकाश बरालले उल्लेख गरेका छन् । सं. २०२० अगि बैरागी
काइँलालाई साहित्यकारका रूपमा चिन्ने निकै कम व्यक्तिहरू थिए । यद्यपि उनले
गद्यकवितालाई संपुष्ट पार्दै नेपाली साहित्यमा स्थापित गरे ।
सुनेको
सुनेको कुरा कि त सकारात्मक लाग्छन् कि त नकारात्मक । सकारात्मक भावसहित
काइँलाका विषयमा मैले सं. २०५५
सालतिर सुने । त्यस समय म नेपाली विषयमा स्नातक गर्दै थिएँ पोखरामा । उनको समूहले
चलाएको तेस्रो आयाम भन्ने आन्दोलन पाठ्यक्रममा सामाविष्ट थियो । उनको चर्चित
कविता ‘मातेको मान्छेको भाषण…’ शिर्षकको कविता पनि
पढ्नुपर्ने थियो । गुरु रघुनाथ अधिकारीले पहिलोपटक उनको बारेमा सुनाएका थिए कक्षामा
। उनले सडक शब्दलाई ‘सटक’ किन भने होलान् भन्ने जिज्ञाशा मनमै राखेर मैले स्नातक
सक्काएँ । अझै पनि त्यसको उत्तर मसँग छैन । बैरागी काइँलाका बारेमा बनिबनाऊ मिथ त
सुनिएन तर उनी आधुनिक, दुर्बोध्य कवि हुन् भन्ने व्यापकै सुनियो । उनका विषयमा
सुनेको तथ्य के हो भने उनी जटिल गद्य कविताबाट नेपाली साहित्यलाई उचाइमा पुर्याउने
कवि हुन् ।
देखेको
देखेको कुरा गर्नु पर्दा मैले काइँलालाई सं २०५९ सालमा देखेँ । सक्रिय
राजतन्त्रको विरुद्धमा साहित्यकारहरूले मोर्चाबन्दी गरेको समय थियो त्यो । लोकतान्त्रिक
स्रष्टाहरूको संयुक्त मञ्च भन्ने एउटा समूहमा वरिष्ठ-कनिष्ठ धेरै साहित्यकारहरू
जम्मा हुन्थे त्यहाँ काइँलाको उपस्थिति रहन्थ्यो । त्यस बखत नेपाल बार एसोसियसनको
सभाहलमा मैले पनि कविता सुनाएको थिएँ । पहिलो सुनाइमै काइँलाको ओजनदार प्रस्तुतिले
म आकर्षित भएँ । त्यस मञ्चमा प्रजातान्त्रिक र प्रगतिशील भनिने दुबै कित्तामा
मान्छेहरू उपस्थित थिए । दोस्रो पटक काइँलालाई नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा
देखेँ । उहाँलाई हामीले नै आमन्त्रण गरेका थियौँ । उहाँ कार्यक्रममा समयमै आउनु भएको
थियो । आफ्ना गहकिला र फरासिला प्रवचन दिएर हामीलाई मख्ख पारिदिनु भएको थियो
उहाँले । विभागमा अध्ययनरत विद्यार्थीको साझा संस्था साहित्य-कुञ्जले त्यो
कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछि त उहाँसँग आकलझुकल भेट भैरह्यो ।
उहाँसँग मेरो चिनजान राजाको जस्तो चिनजानमात्र रह्यो उहाँले मलाई चिन्नुहुँदैन ।
मेरो बानी सँगै तस्वीर खिचेर, पटकपटक झिज्याएर चिनजान गर्ने बानी छैन । जेहोस्
मैले उहाँलाई एउटा अब्बल र जिम्मेबार साहित्यकारको रूपमा देख्छु र देखिरहन्छु ।
भोगेको
जब एकेडेमीमा काइँलाको उपस्थिति रह्यो धेरै समय र सन्दर्भमा उहाँसँग भेट हुन
थाल्यो । एम्.एको पाठ्यक्रममा पनि
काइँलालाई दुई तरिकाले पढ्न थालियो एउटा प्रयोगशील कविता रूपमा र कहिले साहित्य
आन्दोलनका अभियान्ताका रूपमा । उहाँलाई नसम्झि नहुने तेस्रो आयाम भन्ने अभियानले हो
। तेस्रो आयामपछि नेपाली साहित्यमा एकखालको जागरणको लहर नै आएको हो । यद्यपि
साहित्य अभियान्ताभन्दा काइँलालाई कविको रूपमा नियाल्नु राम्रो हुन्छ । काइँलाले
सार्वजनिक समरोहमा आफ्ना रचनाहरू पस्किन्छन् र एउटा कविता भन्न छुटाउँदैनन् त्यो
हो ‘माया र मफलर’
मेरो माया मफलर भए
बाँधिहिड्थेँ गलामा !
कैलेकाहीँ त मन नहुँदा
टाँगिंहिड्थेँ किलामा !
यी कवितांशहरू सामन्य कोरा प्रेमका अभिव्यक्ति मात्र लाग्दैनन् । यसभित्र
लुकेको अन्तर्य निकै गहिरो छ । प्रेमलाई साध्य र साधन, वस्तुपक्षलाई आत्मपक्षसँग
जोडेर कवितात्मक प्याकेज भनिरहन्छन् यी पङ्तिले । यो सरलताभित्रको हगनताले गर्दा
नै पाठकको रोजाइमा परेको हुनुपर्छ यो कविता र सायद काइँला आफैँलाई पनि यो कविता
बढी सुरुचिपूर्ण लागेको हुनुपर्छ । मजस्ता भावकले भोगेका कवि व्यक्तित्वलाई झन्
उजागर गरिरहन्छ उनका यस प्रकृतिका कविताहरूले ।
पढेको
उनलाई धेरैले कविका रूपमा पढे । मैले पनि उनका कविता रहर-वाध्यता र
जिम्बारीबोध गरी तीन प्रक्रिया पढेँ । पाठ्यक्रममा उनका कवितालाई हाडेओखर, दुर्बोध्य,
कठोर, अभेद्य आदिआदि उपमा दिइन्थ्यो त्यसैले वाध्यताले परीक्षा उत्तीर्ण गर्न
ध्येयले पढियो । जब विश्वविद्यालयमा प्राध्यापन पेसामा प्रवेश गरियो त्यसपछि उनका
कविता जिम्मेबारीबोध र लामा प्रयोगशील कवितालाई बुझ्ने मनसायले पढिलो । कविचेतलाई
बढी संवेदनशील भएर पढियो । अब आएर उनका कविता आक्कल झुक्कल पढिन्छ रहरले ।
उनका कवितामा वौद्धिकता देखिन्छ । विभिन्न बिम्ब-प्रतीककको प्रयोगका साथै मानव
जीवनका अडबाङ्गा विसङ्गतिलाई पनि कवितामा अनुबन्ध गरेको देखिन्छ । प्रेममय
बिम्बहरूमा काइँला निकै खुल्छन् । उनका कवितामा प्रयोग भएका प्रेमिल बिम्बमा उछृङ्खलता
भेटिन्न बरु तलाउको बीचमा फुलेको सुन्दर कमलको फूल जस्ता उनका काव्यिक हरपहरू ।
उनको धेरै पढिएको कवितामा पर्छ ‘मेरो माया’ शीर्षकको यो कविता जहाँ कविले शलभ वा
सलहलाई बत्ती वा दीयोसँगको सम्बन्धको आलाङ्कारिक रूप दिएर मिठास भरेका छन् । अवनि
या पृथ्वीसँगको आकाश वा व्योमको क्षितिजीय सम्बन्धलाई निकै मार्मिक रूपमा प्रस्तुत
गरेका छन् । यसै गरी उदधि या समुन्द्रसँग स्रोतको सम्बन्ध भन्ने प्रेमपत्रको मर्म,
भावना, गहनतालाई निकै मार्मिक रूपमा प्रस्तु गरेका छन् ।
मेरो माया शलभसितको दीपको प्रेमपत्र
मेरो माया अवनिसितको व्योमको प्रेमपत्र
मेरो माया उदधिसितको स्रोतको प्रेमपत्र
मेरो माया अब हजुरको प्रेमको प्रेमपत्र
कवि काइँला कवितामा विविध खालका दृश्टान्त र रूपकहरूको प्रयोग गर्छन् । चोटिला
अभिव्यक्तिले नै उनलाई जीवन्त कवि बनाएको हो । थोरै सिर्जेर धेरै चर्चित हुने
काइँला एउटै रहस्य भनेको अद्वितीय सम्प्रेषण क्षमता हो । अल्पसिर्जनाबाट चीर
स्थायी प्रभाव पार्न सक्ने थोरै साहित्यकारमा काइँला पर्छन् । कविता जति
सम्प्रेष्य बन्छ त्यति नै टिकाउ हुन्छ । उनलाई पटकपटक जीवित राख्ने अर्को कविता हो
‘चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा’ शीर्षकको कविताः
आज, मेरो
हजुर–को
दर्शनार्थ- धृष्टता गरौँकि भनेर
इः, यसरी
गुन्डिएर आएकोथिएँ
आज, मेरो
हजुर-को
सेवार्थ के-के भनौँकि भनेर
इः, यसरी
झुन्डिएर आएको थिएँ
शिष्टताका निम्ति साधुवाद ।
चियाका निम्ति धन्यवाद ।
अरू के भनौँ…
सब बिर्सिएँ, जे-जे भनौँ भनेर आएको थिएँ ।
हेर्नुहोस्…
यी आँखामा जो लजाइरहेका तस्बिर थिए
मेरो हजुरकै हुन् कि भनेर
चिनाउन आएको थिएँ ।
काइँला चिनिएका कविताले मात्र होइन, उनलाई चर्चित बनाएको चिन्तनले हो ।
विचारले हो र नेपाली साहित्य परम्परामा क्रमभङ्गताले । उनले तेस्रो आयमाको वैचारिक
पक्षलाई स्थापना गर्न सघाए र त्यस चिन्तनले व्यापकता पायो पनि । आज तेस्रो आयाम
नेपाली साहित्य आन्दोलनमा एक अब्बल अनि टिकाउ अभियान ठानिन्छ । नेपाली साहित्यमा भर्खर
आधुनिकताले बामेसर्दै गरेको समयमा तेस्रो आयामले थप पुनर्बल दिएर गति दिएको हो । कतिपयले
यस आन्दोलनलाई आत्मसचेत आधुनिकताको पहिलो अभिव्यक्त पनि भनेका छन् । यस आन्दोलनले
नेपाली साहित्यको एउटा परम्परागत सम्प्रदायलाई पुनर्संरचना गर्न सक्यो भन्नेहरू
पनि छन् । यद्यपि यस आन्दोलनलाई यदुनाथ खनालजस्ता समीक्षकले ‘तेस्रो आयाममा
आधुनिकताको संवेदना र साहित्यको बढी जटिल रूप पत्ता लगाउनु पर्छ भन्ने आग्रहबाहेक
खास नवीनता छैन’ भनी आलोचना गरेका छन् । खासमा एकरूप र एकरसको ढाँचामा बाँधिएको
नेपाली साहित्यले नवीनता खोजिरहेको थियो । त्यसको केही सङ्केत आयामेली आन्दोलनमा
भेटियो र अभियान झट्टै चर्चाको शिखरमा पुग्यो । त्यस आयामेली आन्दोलनका एक हस्ती
थीए काइँला ।
बैरागी काइँलाको आर्थिक अवस्था सन्तोषजन नभएको भए
लिम्बूवानतिर हराउने थिए राष्ट्रिय परिचय बन्ने थिएन उनको । उनले बाँचेको समाज र
दार्जिलिङतिरको पाठशालीय सरसङ्गतले उनमा छुट्टै प्रभाव पर्यो । उनी साहित्यतिर
समर्पित भए । आफ्नो जातीय पहिचानको मुन्दुमलाई उनले आदर्श माने त्यसैको सेरोफेरोमा
उनको व्यक्तित्व विकास भयो र नेपालको राष्ट्रिय प्रतिभाको छवि बन्यो र आज उचाइमा छ
।
विधिध विधामा कलम चलाए पनि बैरागी काइँलाले कवितामा अधिक
मसी खर्चिएका छन् । हुन त उनले गैरसाहित्यिक क्षेत्रमा पनि फाट्टफुट्ट कलम चलाएका
छन् । काइँलाले कविता लेख्न थाल्दा नेपाली साहित्य दिग्गज त्रिमुर्ती लेखनाथ-देकोटा
र समको कविता लेखन सिथिल भैसकेको थियो । त्यतिमात्र होइन कविता लेखनको ढाँचामा पनि
केही परिवर्तन भइसकेको थियो । छन्द कविता र बढी शास्त्रीय कविताले जरा गाडिरहेको
समयमा त्यसलाई चुनौती दिन प्रयोगशील कविका रूपमा काइँलाहरूको उदय भएको हो । उनको
सरसङ्गत, शिक्षा र दार्जलिङे परिवेशमा घुलमिल भएका
काइँलाले सही समयमा आफूलाई उभ्याए र कविको रूपमा छोटै समयमा स्थापित भए ।
काइँलाले कविता लेखे । गद्यमा निबन्ध-कथा पनि सिर्जे । उनले कविता विधामा बढी
जाँगर चलाए । उनले पद्यमा पनि लेख्ने प्रयास गरे तर उनलाई गद्य कविता बढी फापेको
देखिन्छ । कवि स्थापित हुनका लागि समय र मिहिनेत दुबै पक्ष अनुकूल हुनुपर्छ ।
काइँलाको विषयमा पनि प्रयोगशील गद्य कविता युगले मागिरहेको समयमा उनको उपस्थिति
हुनपुग्यो । उनले धेरै मिहिनेत पनि गरे । पूर्वी पहाडको साहित्यिक हावामात्र होइन
दार्जिलिङको चिया कमानमा बहने साहित्यिक स्वच्छता मिसिएको हरकले उनी थप ताजगी बने
। उनका कविताको विषय केही मानवीय प्रेममा आधारित देखिन्छ भने अन्य समकालीन युगजीवन
र समाजलाई हेर्ने दृष्टकोण देखिन्छ ।
धेरै सम्मान थापेका स्रस्टामध्ये अग्रस्थानमै पर्छन् काइँला । उनले निकै
प्रतिष्ठित जगदम्बा श्री पुरस्कार पनि थापे । संस्थागत उपस्थितिका दृष्टि पनि
उनी अवसरको लिस्नो मज्जाले जढेका कवि हुन् । उनले नेपाल एकेडेमीजस्तो संस्थाको
कुलपतिजस्तो पदमा रहेर कार्य गरे । मूल्यवान् कुरो उनी जहाँ रहे आफ्नो सादगी
जिन्दगी र मिजासलाई डगमगाउन दिएनन् । विवादित कुरा गरेर राजनीतिको रोइलो पनि
गरेनन् काइँलाले । अब ऋषितुल्य बनेका काइँला युवापुस्ताका रोलमोडल कवि, एउटा
वौद्धिक मुन्दुमे छवि बोकेर बसेका छन् ।
निष्कर्ष
काइँलालाई समालोचक ताना शर्माले दुरुह कवि भनेका छन् । वासुदेव त्रिपाठीले
गहिराइमा जोड दिने आधुनिक कवि भनेका छन् । म के भन्छु भने बैरागी काइँला दुरुह पनि
होइनन् पढ्न चाहनेले काइँलालाई सजिलै पहिल्याउँछन् । दुरुह कवि भएको भए पाठकमा यति
लोकप्रिय हुने थिएनन् । उनी गहिराइमा भन्दा पनि कवितामा जटिल बिम्बहरूलाई उठाउने
कवि भने हुन् । उनलाई सुनेको, देखेको र भोगेको आधारमा म के भन्न सक्छु भने उनी
खासमा नेपाली साहित्यका अब्बल कवि हुन् । उनलाई नेपाली साहित्यमा लामो समयसम्म
पढिनेछ ।
सन्दर्भसूची
काइँला, बैरागी, बैरागी काइँलाका कविताहरू, ललितपुरः साझा प्रकाशन, २०३१ ।
…, अन्धा मान्छेहरू र हात्ती , काठमाडौः साङ्ग्रिला प्रकाशन, २०६८ ।
बराल, केन्द्रप्रकाश, बैरागी काइँलाको जीवनी, व्यक्तित्व र
कृतित्वको अध्ययन, स्नातकोत्तर शोधपत्र, कीर्तिपुरः नेपाली केन्द्रीय विभाग, २०६०
।
Comments
Post a Comment