नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता
डा. अशोक थापा
त्रिभुवन विश्वविद्यालय,
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
सारसङ्क्षेप
लोकनाटकको लोकजीवनसँग घनिष्ट सम्बन्ध रहन्छ । यही निकटताले गर्दा कतिपय
चाडपर्व,
शुभअवसर, माङ्गलिक कार्यसँग लोकनाटकको निकटता देखिन्छ । कतिपय
लोकनाटक विवाहको अवसरमा देखाउने प्रचलन पनि छ । यो गीत, नृत्य, अभिनय, स्वाङ् आदि विविध संरचनामा रहेको हुन्छ । लोकनाटक हाम्रो
आदिम कालदेखिको समाजसँग निकट सम्बन्ध रहेको प्रदर्शनकारी कला हो । बहुसांस्कृतिक
देश भएकाले लोकनाटकका लागि नेपाल उन्नत भूमि पनि हो । यहाँ सोरठी, घाटु, गोपिचन, लिला, नचरी, बालन आदिजस्ता लोकनाटकहरू प्रचलनमा छन् । लोकनाटक व्यापक
दायरा र क्षेत्र समेटिने प्रदर्शनकारी कला हो । लोकनाटकबाट आधुनिक नाटकमा यथेष्ट
प्रभावहरू परेको देखिन्छ । यस लेखमा लोकनाटकको सामन्य परिचय दिएर नेपालका विभिन्न
भागमा प्रचलनमा रहेका सोरठी, घाटु र गोपिचन नाटकको चिनारी दिइएको छ र समग्रतामा
तिनीहरूको विशेषताको निरूपण गरिएको छ । सरलभाषा हुनु, सामन्य निरक्षर व्यक्तिले पनि बुझ्नु, स्थानीय बोलीमा संवाद गरिनु, माङ्गलिक हुनु आदि लोकनाटकका विशेषताहरू हुन् ।
मुख्य शब्दावलीः लोकनाटक, मङ्गलाचरण, अभिनय, लोकसाहित्य, लोकरङ्गमञ्च
१.१ विषयपरिचय
लोकनाटक शब्द ‘लोक’ तथा ‘नाटक’
शब्दको योगात्मक रूप हो । ‘लोक’ एक व्यापक शब्द हो । यसको शाब्दिक अर्थ त्यस जनसमूहसँग सम्बद्ध छ जुन गाउँमा
बसोवास गर्छन् । कुनै व्यवस्थित र सङ्गठित रङ्गमञ्चको तयारीविना गाउँ, टोल र स्थानीय तहमा विशेष उत्सव तथा अनुष्ठानको समयमा
प्रस्तुत गरिने नाटक लोकनाटक हो । सामूहिक प्रकृतिको हुने र जनविश्वास, लोकविश्वासमा आधारित हुने भएकाले लोकनाटक सिधै स्थानीय
मानिसहरूसँग जोडिन पुग्छ । नेपाली लोकनाटक प्राचीन र उत्तिकै समृद्ध रहेको छ ।
१.२ अध्ययनविधि
यो लेख पुस्तकालय कार्यबाट तयार पारिएकाले यसको स्रोत द्वतीयक हो । यद्यति
लोकनाटकले क्षेत्रीय अध्ययन कार्यको अपेक्षा गर्दछ । यस लेखमा मोतीलाल
पराजुलीद्वारा लिखित, नेपालमा प्रचलित नृत्य र नृत्यनाटिका (२०६३), सोरठी नृत्य नाटिका (२०६३) र स्नातोकोत्तर तहका शोधार्थी
कृष्णप्रसाद लम्सालको ’तनहुँ
जिल्लामा प्रचलित घाँटु लोकनाटकको सङ्कलन र विश्लेषण’ लाई मुख्य सन्दर्भसामग्री मानिएको छ । यसबाहेका युट्युबमा
हेरिएका कतिपय भिडियो अंशको मूल्याङ्कन गरी निष्कर्ष निकालिएको छ । यो लेख
वर्णनात्मक, व्याखात्मक
र गुणात्मक स्वभावको छ ।
१.३ परिभाषा
साहित्यका कुनै पनि विधालाई एकै परिभाषामा अनुबन्ध गर्न सकिँदैन । यद्यपि कुनै
न कुनै रूपमा त्यसको परिभाषीकरण भने गरिएको हुन्छ । लोकनाटकलाई अनेक विद्वान्हरूले
फरकफरक तरिकाले परिभाषित गरेको पाइन्छ । सारमा उनीहरूको दृष्टिकोण मिल्नु
स्वाभाविक देखिन्छ । विभिन्न विद्वान्हरूले लोकनाटकलाई यसरी परिभाषित गरेका छन् ।
जुन सिद्धान्तहरूले परिष्कृत नाटकहरूको मूल्याङ्कन गरिन्छ तिनै
सिद्धान्तहरूलार्र्ई लोकनाटकको अध्ययनका निम्ति आधार बनाउनु हुँदैन ।
स्वभाविक, शुद्ध
र विकाररहित, लोकप्रचलित
कार्यसँग सम्बद्ध अङ्गलीलारहित सहज अभिनययुक्त विभिन्न प्रकारका स्त्री र
पुरुषहरूद्वारा अभिनित नाटक नै लोकधर्मी नाटक हो ।
लोकधर्मी रुढिहरूको अनुकरणात्मक अभिव्यक्तिको त्यो नाट्यरूप जसले आ–आफ्ना क्षेत्रका लोकमानसलार्र्ई आह्लादित, उल्लासित एवम् अनुप्राणित गर्छौँ । त्यो लोकनाटक कहलाउँछ ।
रङ्गमञ्चमा ओर्ली अभिनय गर्नुपर्ने ‘व्याले’ ‘बेलीडान्स’ ‘अपेरा’ र नृत्यनाट्य सबैलार्र्ई हामी एउटै साझा शब्द नाचको प्रयोग
गर्छौँ महाकाली नाच र देवीनाच भावप्रधान नृत्य हुन् । ज्यापुनाटक पक्का नाटक हो ।
तर हामी दुवैलार्र्ई नाच भन्छाँै ।
एपर्उल्लिखित दृष्टिकोणलाई मनन गरी लोकनाटकलाई यसरी परिभाषित गर्न सकिन्छ ।
“स्थानीय जनजीवन र त्यहाँका नागरिकलाई आह्लादित एवं
अनुप्राणित गराउने लोकधर्मी रुढीहरूको अनुकरणात्मक अभिव्यक्ति नै लोकनाटक हो ।”
१.४ लोकनाटकका विशेषता
लोकनाटक खुला रङ्गमञ्चमा प्रदर्शन गरिन्छ । दर्शकहरू पनि खुला आकाशमुनि नै
प्रत्यक्ष उपस्थित भएर लोकनाटकको मजा लिन्छन् । धार्मिक प्रकृतिका लोकनाटक हेर्नका
लागि दर्शकहरू मन्दिर र धार्मिक अनुष्ठान नजिक रहेर पनि लोकनाटकको आश्वादन गर्छन्
। स्थानीय सामग्री (काठमुडा) प्रयोग गरेर लोकनाटकको स्टेज बनाइएको हुन्छ । कतैकतै
उभिएर अव्यवस्थित तरिकाले पनि लोकनाटक हेरिन्छ । चाडपर्वमा सानासाना गाउँ टोलमा
पनि लोकनाटकलाई प्रदर्शन गरिएको हुन्छ । आधुनिक रङ्गमञ्चमा जस्तो प्रकाशव्यवस्था, ध्वनिसंयोजन र अन्य प्राविधिक व्यवस्थाबाट लोकनाटक छुट्टै
रहन्छ ।
१.५ सोरठी लोकनाटक
परम्परादेखि सोरठीको अर्थ सोह्र सुन्दर रानीहरूको सङ्ख्यात्मक प्रतिनिधित्व हो
। हिमालयमा अवस्थित सानो राज्यसँग यसको कथा जोडिएको छ । पूर्वी देशका राजा
जैसिङ्गेले एकपटक पश्चिमकी रानी हेमवती रानीसहित अन्य सोह्रवटी रानीको नृत्य हेरेर
मनोरञ्जन लिए । यो नृत्य ज्यादाजस्तो ठूलो समूहमा प्रदर्शन गरिन्थ्यो । यो नेपालको
गुरुङ र मगर दुवै समुदायमा प्रचलित नृत्य हो किनभने राजा त्यसै समुदायबाट
प्रतिनिधित्व गर्थे । सोरठीलाई विभिन्न स्थानहरूमा जस्तो भारतका विभिन्न ठाउँमा
सोरठी पावरा नामबाट विभिन्न गाथाहरू गाउने प्रचलन पाइन्छ (पराजुली, २०६३ः२५५) ।
कतैकतै गुजरातका राजा खेखड मल्ल निराश भएर योगी बनेर वनवास जाँदा उनका १६ वटी
रानीहरूले बिलौना गरेर रोएको गीतलाई सोरठी भनिएको पाइन्छ भने कतै उत्तरी पहाडका
संस्कृत विद्वान् एवम् धर्मात्मा राजा जयदेव आठौँ शताब्दीतिरका लाई जयसिंह भनिएको
र उनैको जीवनीमा आधारित कथालाई सोरठी भनिएको पाइन्छ । त्यस्तै तनहुँ जिल्लातिर
सोरठीलाई पाङ्दुरेनाच र मारुनीनाच पनि भन्ने गरिन्छ भने कतैकतै आनुष्ठानिक नाचको
नामले पनि पुकारिन्छ (पराजुली, २०६३ः६) ।
विशेषगरी नेपालका मगर, गुरुङ, कुमाले, दरैं आदि जातिमा प्रचलित सोरठी दशैंको कालरात्रीमा प्रारम्भ
गरी हिउँदभर नचाइने र प्रायः (विशेष परिस्थितिमा बाहेक) श्री पञ्चमीका दिन साङ्गे
गरिन्छ । सोरठी साङ्गे गरिसकेपछि त्यो वर्षभरि सोरठी नाच नाँच्न नहुने र अन्य गायन, बजान पनि गर्न नहुने जनप्रचलन रहेको छ । यस नाचको
प्रारम्भमा आुष्ठानिक विधि पूरा गरिने हुनाले यसलाई आनुष्ठानिक नाच पनि भनिएको
पाइन्छ । सोरठी मारुनी शैलीमा नाचिने एक उत्कृष्ट नाटक मानिन्छ । मारुनी शैलीका
लोकनाचअन्तर्गत मोतीलाल पराजुलीले मारुनी सोरठी, मारुनी चरित्र र मारुनी ख्याली गरी तीन प्रकारका भएको
बताएका छन् (पराजुली, २०६३ ः ७) ।
(क) मारुनी सोरठी
मारुनी सोरठी दुई मारुनी, एक पुर्सुङ्गे, दुई मादले र एक ढँटुवारे जस्ता पात्रहरूले अभिनय गरेका
हुन्छन् । राजा जयसिंहको जीवनीमा आधारित गीत गाएर नाचिने नाच मारुनी सोरठी हो ।
सोरठीको गीत र अभिनय सकिएपछि बन्धन फुकाउने गीत गाई साङ्गे गरिन्छ । यस नाचमा साखी
बाँध्ने गीत गाइसकेपछि सोरठीको कथाअनुसारको गीत गाएर नाचिन्छ ।
(ख) मारुनी चरित्र
यो पौराणिक विषयमा आधारित मारुनी शैलीमा नाचिने नाटक हो । यसमा दुई मारुनी, दुई पुर्सुङ्गे, दुई मादले र एक ढटुवारे पात्रहरू मिली राम चरित्र वा कृष्ण
चरित्रका गीतहरू गाएर नाच्ने गरिन्छ । विभिन्न ठाउँमा प्रदर्शन गरिने
कृष्णचरित्रमा एक मारुनी, एक पुर्सुङ्गे दुई मादले र एक ढटुवारे पात्रहरू नचाउने प्रचलन पाइन्छ ।
(ग) मारुनी ख्याली
मारुनी ख्याली स्वतन्त्र वा मुक्तनृत्य नाच हो । सामान्यतः दुई मारुनी, एक पुर्सुङ्गे दुई मादले र एक ढँटुवारे रहने एवम् राखी बाँध्ने र बन्धन फुकाउने गीत पनि गाइने र बीचबीचमा मुक्त वा स्वतन्त्र झ्याउरे गीत वा दोहोरी गीत गाएर नाचिने चलन छ । यसमा सरस्वती नाच तथा अन्य स्वतन्त्र मुक्त नाचहरू पनि देखाउने प्रचलन छ । यस नाचमा पनि कुनै अनुष्ठानिक बन्धन नहुने हुँदा बाह्रैमास देखाउन सकिन्छ (न्यासुर, सन् १९९२) ।
१.५.१ सोरठीको नामकरण
सोरठी रोमाञ्चक कथानकयुक्त चरित्रप्रधान लोकनाटक हो । यसको शीर्षक सोरठी
नायिकाको नामबाट राखिएको छ । सोरठीको नामकरणका सम्बन्धमा विभिन्न विद्वान्हरूका
फरकफरक मतहरू पाइन्छन् । ती मतहरूलाई यहाँ उल्लेख गर्नु वाञ्चनीय ठहर्छ ।
- एकथरी विश्लेषकका भनाइअनुसार राजा जयसिंहका सोह्रवटी रानीहरू थिए । ती सोह्रवटी रानीहरूको समूहलाई सोरठी भनिएको हो । अथवा सोह्रवटी भन्दाभन्दै अपभ्रंश भएर सारोठी हुँदै सोरठी भएको भनाई पाइन्छ । (पराजुली, २०६३ः८) ।
- दोस्रो तर्क सङ्गीतशास्त्रसँग सम्बन्धित छ । सोरठीको गीतमा सेह्र ताल र सोह्र भाका भएकाले यसलाई सोरठी भनिएको हो भन्ने तर्क यस पक्षका विश्लेषकहरूको छ (पराजुली, २०६३ ः ८–९) ।
- तेस्रो तर्क छन्दशास्त्रसँग सम्बन्धित छ । हिन्दी छन्दशास्त्र अनुसार ११.१३, ११.१३ अक्षर भएको छन्दलाई सोरठी छन्द भनिन्छ । सोरठीको गीत यसै लोकछन्दमा गाइने भएकाले यसैका आधारमा सोरठी नामकरण गरिएको भनाइ यस पक्षका विश्लेषकहरूको छ (पराजुली, २०६३ः९) ।
- चौथो तर्कअनुसार सोरठी नायिकाको नामबाट नै सोरठी नामकरण भएको हो । सोरठी सोरठ देशकी राजपुत्री हुन् । प्राचीन समयमा राजा र राज्यका नामबाट राजकुमारीको नामकरण गर्ने प्रचलन थियो । जस्तो: रत्नपुर=रत्नावती, सोरठपुर = सोरठी, जमुनापुर = जमुनी, पर्वत = पार्वती भएजस्तै सोरठपुरबाट सोरठी भएको हो (पराजुली, २०६३ः९) ।
माथिका विभिन्न तर्कहरू मध्ये पहिला तीन तर्क (भनाइ) हरू त्यति तर्कसङ्गत र
प्रामाणिक देखिँदैन । पहिलो तर्कअनुसार राजा जयसिंहका १६ रानी नभई दुई रानी मात्र
भएको र कान्छी रानीबाट सोरठीको जन्म भएको बरु सोरठीका नायक वृजभारले विभिन्न
चौधवटी कन्याहरूसँग दाम्पत्य सम्बन्ध राखेको र ती चौधमध्ये सोरठी पनि सामेल भएको
कारणले यो भनाइ तर्कयुक्त देखिँदैन । त्यस्तै दोस्रो तर्कमा पनि भारत र नेपालमा
गाइने सोरठी क्रमशः उन्नाइस र बाईस लय (भाका) र तालमा गाएको पाइन्छ (पराजुली, २०६३ः ९) । यसर्थ यो तर्क पनि मान्य देखिँदैन । त्यस्तै
तेस्रो अर्कअनुसार सोरठी विभिन्न जाति, ठाउँ र भाषामा गाइने हुनाले यसमा एउटै छन्द हुने कुनै
सम्भावना रहँदैन । अतः यो तर्क पनि मेल खाँदैन ।
माथि उल्लिखितमध्यको चौथो तर्क बढी प्रामाणिक ठहर्छ । जसअनुसार “राजा जयसिंहे सोरठपुर क्षेत्रका शाशक थिए र सोरठी उनैकी
पुत्री थिइन् । यसरी सोरठपुरबाट सोरठीको व्युत्पत्ति भएको हो र सोरठी नायिकाका
नामबाटै यस नाटकको नाम सोरठी राखिएको हो ।” यसरी समग्र तथ्यहरूको अध्ययनबाट चौथो तर्क बढी प्रामाणिक
भएको र यसको मूल आधार पनि यही नै ठहरिन आउँछ ।
१.५.२ सोरठी लोकनाटकको प्रदर्शन विधि
दसैको कालरात्रीको दिनमा साँझ परेपछि पहिलेपहिले मुखियाको घरबाट वा वडा अध्यक्षको
घरबाट त्यसपछि भएन भने गुरुजीको घरबाट पनि सोरठी लोकनाटकको सुरुवात गर्न सकिन्छ ।
गाईको गोबरले लिपी शुद्ध पारेको ठाउँमा (आगनमा) नृत्यमा सहभागी हुने सबै जना
सदस्यहरूलाई तान्त्रिक सुरक्षा कवच दिन अथवा भूत पिशाच, बोक्सीले सहभागी कसैलाई केही गर्न नसकुन् भनी गुरुजीद्वारा
मन्त्रको सहायताले मास, चामल,
बेसार फुकिन्छ । यसरी फुकेको मास, चामलले वाद्यवादन मादले एवम् सबै टोलीलाई पर्सिन्छ र टोलीका
सबै सदस्यले मास, चामल अनिवार्य रूपमा आफ्नो साथमा राख्नुपर्छ । यस सोरठी नृत्यटोलीमा सामान्यतः
एक जना मारुनी एकजना पुसुङ्गे, दुईजना मादले र कम्तीमा ६ जना गर्राभाई (मादले र गायक गरी)
हुनुपर्ने चलन छ । यसरी मास, चामल फुकेर पर्सिने कार्यलाई स्थानीय भाषामा साखी मार्ने
भनिन्छ । यसरी गुरुजीले आवाज ननिकालीकन मन्त्र पढ्दै मास, चामल फुक्दा मादलेले एकस्वरे मादल बनाउनुपर्छ र अरूले
एकस्वरे हा हा भन्नुपर्छ । साखी मार्दाको रात टोलीका सम्पूर्ण सदस्य अनिवार्य
रूपमा एकैसाथ एउटा घरमा बस्नुपर्दछ । साखी मारेपछि सम्पूर्ण देवीदेउताको वर्णन
देउतै वर्नानेर (वर्णन गरेर) गीत मार्फत गरिन्छ ।
१.६ घाटु
घाटु शब्द घण्टबाट विकसित भएको मानिन्छ । त्यस्तै अर्का थरीले भने घाँडोको
तद्भव मानेको पाइन्छ । पशुका घाटीमा झुण्ड्याउने घण्टी वा काठको ठेउको लार्ई घाँडो
भनिन्छ । “सिकारका
देवताले गुरुङ राजालार्ई घाँडो प्रदान गरेका थिए त्यही घाँडो सिकारी कुकुरका
घाँटीमा झुण्डयाई राजा सिकार खेल्न जान्थे र घण्टीको आवाज पछ्याउँदै गएर मृग
मार्थे । यही धाँडो गुरुङका गुरुहरूले लगाएर नाच्दा उनीहरूमा देवता चढ्ने हुँदा
त्यसको नाम घाटु रहेको हो” भन्ने किंवदन्ती पनि पाइन्छ ।
पश्चिम नेपालको मध्यपहाडी इलाकामा बस्ने गुरुङ, मगर, थारु,
दरै, कुम्हाले, दुरा
आदि जातिमा प्रचलित घाटु नेपाली लोकनाटमा ज्यादै महत्त्वपूर्ण छ । ‘कोमल वा लास्यप्रवृत्ति भएको सामूहिक नारीनृत्य हो । यो
नाटक प्रायः श्रीपञ्चमीका दिन इष्टदेवताको पूजा आराधना गरी प्रारम्भ गरिन्छ र
चण्डी पूर्णिमाका दिनमा सेलाइन्छ । घाटु आनुष्ठानिक विधिबाट प्रारम्भ हुन्छ ।
प्रायः अक्षतयोनी कन्याहरू यस नाटिकाका पात्र हुन्छन् । यसमा पश्रामुराजा र
अम्बावती रानीका प्रतीक स्वरूप ३÷५÷७ घटुली पात्रहरूको प्रयोग हुन्छ । गुरुङ र मगर जातिमा विशेष लोकप्रिय यो नाटक सती
र बाह्रमासे गरी २ विशेष प्रकारका देखिन्छन् । “दशंै, तिहार, पूजाआजा भोजभतेर तथा खुशीयालीका अवसरमा पनि घाटु प्रस्तुत
गरिन्छ तर यसमा सती घाटु चाहिँ देखाइँदैन । वसन्त पञ्चमीदेखि वैशाख पूर्णिमासम्म
चल्ने घाटुलार्ई ‘सतीघाटु’र अन्य अवसरमा प्रस्तुत गरिने घाटुलार्ई बाह्रमासे घाटु
भनिन्छ । कसैले यसलार्ई ‘सतीघाटु’,
‘मेसे घाटु’,
‘कुसुन्डाघाटु’ र ‘लामा
घाटु’
गरी चार प्रकारमा कसैले ‘राच्यघाटु’, ‘बाह्रमासा घाटु’, ‘माराच्यघाटु’ गरी तीन प्रकारका विभाजन गरेको पाइन्छ ।
आनुष्ठानिक विधिसहितको घाटुको सञ्चालन गर्ने मुख्य व्यक्ति
गुरुबा वा गुरुआमा हुन्छ । गीदाङ्गे र सुसारे पात्रहरू पनि यस नाचमा सहयोगीका
रूपमा रहन्छन् । घाटुली देवी पूजा गरी सखी गीत गाउन थाले पछि घटुलीमा कम्प आउनु
आवश्यक छ । त्यसपश्चात् शास्त्रीय विधानका साथ यो नाच प्रारम्भ गरिन्छ । करुण
रसात्मक पश्रामु राजा र अम्बावती रानीको यो कहानी गीत र सङ्गीतमा सम्मिश्रण गराई
नारीनृत्य सँगै अभिव्यक्त हुन्छ । पात्रहरूको स्थानीय प्राचीन भेषभुषासँग मादल
आदिको सङ्गीत यस नाचमा व्याप्त हुन्छ । विशेष पवित्रताका साथ यस नाचको तयारी
गरिएको हुन्छ । नुहाएर चोखो वस्त्र धारण गरी परम्परागत पहिरनमा यसको नृत्य सुरु
गरिन्छ । “नृत्यको
निम्ति तयार गरिएको आगनलार्ई हरियो गोबरले लिपेर सजाइन्छ । इष्ट देवताका साथै
स्थानीय देवी–देवताहरूको
नाम लिएर प्रार्थना गरी देव–देवीहरूलार्ई आह्वान गर्दछन् । विस्तारै घाटु नाच्ने घाटुलीहरूको शरीरमा
देवताको प्रवेश हुन्छ र उनीहरू आँखा बन्द गरेर मन्दगतिमा भावमग्न भई नृत्य गर्न
थाल्छन् । घाटुलीहरूको नाचमा ताल, सुरको विशेष ख्याल राखिन्छ । कुसुन्डा घाटुको विधान अझ
गाह्रो छ । यसैलार्ई सरस्वती चढेको पनि भनिन्छ ।
सरस्वती चढेकी घाटुलीलार्ई मात्र नृत्यमा सम्मिलित गराइन्छ ।
सन्दिग्ध ऐतिहासिकता रहेको घाटु लोकनाटक त्रासदी भएकाले
दुःखान्त हुन्छ । पश्रामुराजा र अम्बावती रानीको वैवाहिक जीवन र युद्धको
पराजयजस्तो कारुणिकता यसमा व्यक्त छ । रोचक घटना शृङ्खला रहेको यस नाटकमा दुःखान्त
कथालार्ई संवहन गर्ने एक वीर नायकले स्थान पाएको देखिन्छ । विभिन्न पाँच पाठमा
विभाजित यो नाटक राजाहरूको केन्द्रीयतामा संरचित छ । तत्कालीन रीतिस्थिति र
लोकविश्वास झल्काउने अभिप्राय रहेको यो नाटकमा गुरुङ, मगर र भोजपुरी भाषाका शब्दहरूको समेत प्रयोग पाइन्छ । गेय, सङ्गीत, अनुप्रास यसको पाठमा पाइन्छ भने यसको आफ्नै भेषभूषाको र
विधिविधानको व्यवस्था छ । गीतको भावसँगै नाचिने यो नाटकमा अभिनयमा समेत ख्याल
गरिन्छ । यद्यपि यो नाटक प्रस्तुतिमा कठिनता समेत हुँदै गएको देखिन्छ ।
घाटु लोकनाटकका बारेमा केही अध्ययन विश्लेषण भएको पाइन्छ । डा. मोतीलाल पराजुलीद्वारा लिखित पुस्तक नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरूमा घाटु लोकनाटकलार्ई घाटु नृत्यनाटिका शीर्षकमा अध्ययन विश्लेषण गरिएको छ । मोतीलाल पराजुली र जीवेन्द्रदेव गिरीद्वारा लिखित नेपाली लोकसाहित्यको रूपरेखा नामक पुस्तकमा यस लोकनाटकको परिचय, मूलपाठ, र लोकनाट्य तत्त्वगत आधारमा विश्लेषण गरिएको छ । त्यस्तै चूडामणि बन्धुको नेपाली लोकसाहित्य नामक पुस्तकमा यस लोकनाटकको कथावस्तु प्रस्तुत गर्दैै सङ्क्षिप्त अध्ययन विश्लेषण गरिएको छ । लोकवार्ता विज्ञान र लोकसाहित्य नामक पुस्तकका लेखकद्वय मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइटेलको यस नाटकको परिचय, पाठ, कथासार, घाटुका प्रमुख विशेषताहरू शीर्षकमा यस लोकनाटकको अध्ययन गरेका छन् । यसबाहेक पनि लोकबहादुर गुरुङको घाटु नृत्यलार्ई नियाल्दा (तमु सु पत्रिका) डोलराज काफ्लेको गुरुङ संस्कृति र घाटुनाच दिनबहादुर थापाको गलकोटका लोकगीत सङ्कलन र विश्लेषण (विद्यावारिधि शोधपत्र), कृष्णप्रसाद लम्सालको तनहुँ जिल्लामा प्रचलित घाटु लोकनाटकको सङ्कलन एवम् विश्लेषण जस्ता पत्रिकामा र शोधकार्यमा यसको अध्ययन विश्लेषण भएको पाइन्छ ।
१.७ गोनिचन
बागलुङ जिल्लाको गलकोट क्षेत्रमा प्रचलित लोकनाटक हो ‘गोपीचन’ खासगरी गलकोटका मगर जातिमा यो लोकनाटक सुरक्षित देखिन्छ ।
आख्यानप्रधान यस नाटक कात्तिक महिनामा ३ दिन ३ रात देखाइन्छ । “खासगरी जेठो छोरो जन्मेको वर्षमा र कसैको मृत्युपछि बर्खी
गरी शुद्ध हुँदा कार्तिक महिनामा गोपीचन आयोजना हुन्छ । यसमा एकजनाले गोपीचनको
आख्यान भट्याउँछ । अरु गर्रा भाइहरूले त्यसलार्ई छोप्छन्” ।
राजा मनिचनका छोरा गोपीचनको जन्म वर्णन रहेको यो नाटक नृत्यका साथ प्रस्तुत
गरिन्छ । निःसन्तान मनिचनले धर्मकर्म र तीर्थव्रत गरेपछि छोरो पाउने वरदानका साथै
उनको मृत्यु हुने कुरासमेत पक्का थियो । गोपीचनको जन्मपश्चात् मनिचनको मृत्युभयो ।
यसरी जन्म र मृत्युको शाश्वत सत्यलार्ई यस नाटकले देखाएको छ । यसमा जन्म र मृत्यु
संस्कार निकट सन्दर्भ जोडिएको छ । गुरुबाबु ले “हारै सोना” को थेगो दोहो¥याउँदै गोपीचनको आख्यान अघि बढाउँदछन् ।
बागलुङ जिल्लाको गलकोट क्षेत्रको लोकगीतको अध्ययन गर्ने दिनबहादुर थापाका
अनुसार “सत्ययुगका राजा मनिचनका छोरा गोपीचनको जीवन चरित्रमा आधारित
यो नाटकको वागलुङका अर्गल र भुएखाल गाउँ विकास समितिका मगरहरूले मात्रै आयोजना
गर्छन । कार्तिक २४, २५,
२६ गते राति मात्रै यो नाच निकालिन्छ” । गोपीचनबारे
विस्तृत जानकारी र यसको पूर्णपाठ पनि उपलब्ध छैन तर सोरठीजस्तै गोपीचन पनि तराई
क्षेत्रमा समेत प्रचलित रहेको अत्यन्त महत्त्वपूर्ण लोकपरम्परा हो ।
गोपीचन लोकनाटकको अध्ययन ज्यादै कम मात्रामा भएको पाइन्छ । चूडामणि बन्धुले नेपाली लोकसाहित्य नामक
पुस्तकमा यो नाटक बागलुङको गलकोटमा प्रचलनमा
रहेको जनाएका छन् । यस नाटकको अध्ययन गर्ने दिनबहादुर थापाले बागलुङका अर्गल र भुएखाल गाउँ
विकास समितिका मगरहरूले मात्र यो नाच
आयोजना गर्ने कुरा आफ्नो गलकोटका
लोकगीत सङ्कलन र विश्लेषण (शोधपत्र, त्रि.वि., २०५०) द्वारा
प्रकाश पारेका छन् ।
दीलिपकुमार काफ्लेले आफ्नो नेपाली लोकसाहित्यको अनुसन्धान परम्परामा
गोपीचनलार्ई गीत र नाचको रूपमा रहेको
उल्लेख गरेका छन् । विस्तृत अध्ययन
हुन बाँकी रहेको यस नाटकलार्ई मोतीलाल पराजुलीको नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरूको नामक
पुस्तकमा भने उल्लेख गरिएको छैन ।
यो नाटकलार्ई गीत र नाच समेत भनिएको पाइन्छ । लोकसम्पदाको रूपमा रहेको ज्यादै
दुर्लभ प्रायः भइसकेको लोकनाटक गोपीचनको संरक्षण र सम्वद्र्धन गर्नु आवश्यक
देखिन्छ । यस पत्रमा सोरठी, घाटु र गोपिचनको छोटो परिचयमात्र दिइएको छ । यसलाई वृस्तृत रूपमा अध्ययन गर्न
चुनौती मात्र होइन निकै समय पनि लाग्छ । यसमा पनि यी लोकनाटकहरूलाई प्रदर्शनमा
लाग्ने हो भने निकै धेरै कुराहरूको प्रबन्ध गर्नुपर्ने हुन्छ । यी लोकनाटकहरू
अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । यी लोकनाटकहरूको जगेर्ना गर्न आवश्यक छ ।
यी लोकनाटकहरूलाई समग्रमा अध्ययन गर्दा भेटिएका लोकनाटकका विशेषतालाई यसप्रकार
उल्लेख गरिएको छ ।
विशेषता
- सरल विषय, दैनिक बोलीचालीमा प्रयोग हुने संवाद,
- रुढिको प्रस्तुति,
- आदर्श पात्रको
प्रयोग,
- स्थानीय पात्र,
- प्राकृतिक
प्रस्तुति,
- व्यङ्यात्मकता,
- केटाद्वारा केटीको
भूमिका,
- अनौपचारिक रङ्गमञ्च,
- साङ्गीतिक,
- लोकविश्वासको
प्रयोग,
निष्कर्ष
ललितकलाको एक शाखाका रूपमा लोकसाहित्य र लोकसाहित्यको एक शाखाका रूपमा लोकनाटक रहेको छ । लोकसंस्कृतिको वाहकका रूपमा रहेको यो लोकनाटक लिखित साहित्यको धरातल समेत रहेको बुझिन्छ । ऐतिहासिक वस्तुसत्यको उद्घाटित गर्नमा समेत यस्ता लोकनाटकको योगदान सराहनीय देखिन्छ । मानवीय जीवन समग्रताको अध्ययनका लागि आधारसामग्री बनेका यस्ता नाटक हाल दुर्लभ प्रायः बन्दै गएका तथ्यलार्ई भने नकार्न सकिंदैन । प्राचीन संस्कृति र सभ्यताको झल्को दिने यस्ता लोकनाटक वर्तमानका सन्दर्भमा शिक्षाप्रद नै देखिन्छन् । कलात्मक पक्षलार्ई यी नाटकले आफ्नो महत्त्वपूर्ण विशेषता बनाएका छन् । प्रत्येक जातिभित्रका परम्परा, संस्कार र चिन्तनहरूलार्ई यस्ता लोकनाटकले सदा अभिव्यक्ति दिएका छन् । मानव संस्कृतिको अभिन्न पक्षका रूपमा रहेको नृत्याभिनयजस्ता कुरालार्ई यी नाटकले बुलन्द गर्ने प्रयास गरेका छन् । जीवनदर्शन, आध्यात्मिकता, मानवता, नैतिकता आदिको शिक्षालार्ई लोकनाटकले आफ्नो सन्देशका रूपमा लिएको पाइन्छ । यसका अतिरिक्त अहिंसा, सत्यको विजय, असत्यको पराजय, नैतिक शिक्षाजस्ता कुरामा समेत यी नाटक कटिबद्ध देखिन्छन् । आदर्श जीवनको महिमागान, लोककल्याणको महत्त्वलार्ई समेत यी नाटकले बिर्सेका छैनन् । यदाकदा मृत्यु र वियोगजन्य व्यथाको मार्मिक चित्रण यी नाटकले अंगालेका छन् । धार्मिक किंवदन्ती, लोकप्रसिद्ध विषय नै अभिनयलार्ई गति दिने आख्यान स्रोत रहेका छन् । त्यस्तै ऐतिहासिक र मौलिकताको समेत मिश्रण पाइनु यिनीहरूको विशेषता हो । विविध रूपमा रहेको लोकनाटकका विविध रूप र प्रकार छन् । त्यसमा पनि सोरठी, घाटु र गोपिचन एक उल्लेखनीय लोकनाटकहरू हुन् यिनीहरूको जगेर्ना गर्नु अत्यावश्यक छ ।
सन्दर्भसामग्री
पौड्याल, इन्द्र्रराज, नेपाली लोकनाटकको अध्ययन परम्परा, काठमाडौः नेपाली केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, २०६९ ।
जोशी,
सत्यमोहन, ‘कात्तिक नाचभित्रको लोकनाटक’, मधुपर्क, काठमाडौँ: गोरखापत्र संस्थान, २०४८ ।
थापा,
दिनबहादुर, गलकोट क्षेत्रका लोकगीत सङ्कलन र विश्लेषण त्रि.वि.
अप्रकाशित स्नातकोत्तर शोध, २०५० ।
थापा,
धर्मराज, गण्डकीका सुसेली , काठमाडौँ: ने.रा.प्र.प्र. २०३० ।
थापा,
धर्मराज र हंसपुरे सुवेदी, नेपाली लोकसाहित्यको विवेचना, त्रि.वि. पाठ्यक्रम विकास केन्द्र, २०४१ ।
दुरा,
किशोर, ‘दुरा जातिको सोरठी नृत्य’, झङकार , ५४–५५, २०५५, पृ. ३१–३२ ।
न्यासुर, ललित
हाम्रो संस्कृति अनि मारुनी नाच, (हाम्रो संस्कृति २: सन् १९९२, पृ, ४–१२) ।
पराजुली, मोतीलाल, नेपालमा प्रचलित नृत्य नृत्यनाटिकाहरू, ललितपुर: साझा
प्रकाशन,२०६३ ।
पराजुली, मोतीलाल, सोरठी नृत्य नाटिका, काठमाडौं: दीक्षान्त पुस्तक प्रकाशन, २०६३ ।
पराजुली, मोतीलाल
र जीवेन्द्रदेव गिरी, नेपाली लोकसाहित्यको रूपरेखा,
ललितपुर ः साझा प्रकाशन, २०६८ ।
बन्धु, चूडामणि, नेपाली लोकसाहित्य , काठमाडौँ: एकताबुक्स, २०५८ ।
राई,
चतुरभक्त, मारुनी नाचः एक सङ्क्षिप्त परिचय , कान्तिपुर मंसिर ११, २०५८ ।
राई,
प्रवीण , ‘राई जातिमा मारुनी नृत्य’, स्रष्टा, १३ः३१,सन् १९९१ ।
रिमाल, प्रदीप, कर्णाली लोक संस्कृति माग –५, दो.सं., काठमाडौँ: साझाप्रकाशन, २०५३ ।
लम्साल, कृष्णप्रसाद, तनहुँ जिल्लामा प्रचलित घाटु लोकनाटकको सङ्कलन एवम्
विश्लेषण, अप्रकाशित
स्नातकोत्तर शोधपत्र, त्रि.वि., २०५२ ।
वासुदेव भाइसाब, डोटी प्रदेशमा भारतको प्रचलन र रनि रौतको भारत÷भडा प्रज्ञा, ९१, २०५६,पृ, ९३–१०० ।
शर्मा, मोहनराज
र खगेन्द्रप्रसाद लुइटेल लोकवार्ता
विज्ञान र लोकसाहित्य, काठमाडौं ः
विद्यार्थी पुस्तक भण्डार, २०६३ ।
Comments
Post a Comment