संस्थागत हुँदै पुस्तकालय दिवस
डा. अशोक थापा
नेपाली केन्द्रीय विभाग, त्रि.वि.
नेपालमा पुस्तकालय कति छन् ? एउटा अनुत्तरित
प्रश्नसँगै भदौ १५ गते पुस्तकालय दिवस भित्रिँदै छ । नवौँ संस्करणको पुस्तकालय
दिवसको भव्य तयारी भइराखे पनि पुस्तकालयको सङ्ख्याका विषयमा नेपालका
पुस्तकालयकर्मी नाजवाफ हुँनु कुनै नौलो कुरा होइन । पुस्तकालयको सङख््या यकिन गर्न
सक्ने ल्याकत नेपालका पुस्तकालयकर्मीसँग छैन । न त शिक्षा मन्त्रालयसँग नै कुनै
स्पष्ट तथाङ्क छ । हरेक वर्षजस्तै यसपटक पनि नेपाली प्रेस जगत् अनुत्तरित नै हुने
छन् र उनीहरूले पाउने छन् उही काँचो उत्तर नेपालमा हजार–बाह्र सय जति पुस्तकालयहरू छन् । के यो तथ्याङ्क विश्वास गर्नलायक छ ? यो सङ्ख्या सामुदायिक पुस्तकालयको हो कि शैक्षिक पुस्तकालयको ? पुस्तकलाय दिवसको उद्देश्य पुस्तकालयको सङख््याका विषयमा माथापच्चिसी गर्नु
मात्र पनि जरुर होइन । नेपालको पुस्तकालयको सन्दर्भमा प्रश्न धेरै अनुत्तरित छन् ।
नेपालको सन्दर्भमा पुस्तकालय नीति कस्तो हुनु पर्छ ? डिजिटल युगको पुस्तकालयको अवधारणा के हो ? पुस्तकालय जम्नु
पर्छ कि निरन्तर बग्नु ?
पुस्तकालय र सूचनाको सम्बन्ध कस्तो रहन्छ ? आदि आदि ।
प्रहार र प्रश्ननहरूको बीचबाटै पनि पुस्तकालय दिवस भव्य रूपमा सम्पन्न हुँदैछ
। नेपालका सन्दर्भमा यो नवौँ पुस्तकालय दिवस हो । हामीले पुस्तकालय दिवस मनाइ
रहँदा गीर्वाण युद्ध विक्रम राजालाई भुल्दैनौँ जसले पुस्तक चिताई तहविल (एक
प्रकारको लालमोहर) जारी गरे । यो वि.स. १८६९ सालको घटना हो । पुस्तकहरूको रेखदेख, हेरविचार र व्यवस्थापन गर्न निर्देश गरेको यो दिन भदौ १५ गते परे बमोजिम
नेपालमा २०६५ देखि निरन्तर पुस्तकालय दिवस मनाइँदै आएको छ ।
‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नराका
साथ शिक्षा मन्त्रालयका नि.सचिव डा. लवदेव अवस्थीको संयोजकत्वमा नवौँ पुस्तकालय
दिवस मूल आयोजक समिति बनेको छ । उक्त समितिमा नेपालको पुस्तकालय क्षेत्रका
सरोकारवाला संघ संस्थाहरू आबद्ध छन् । उपत्यकामा मात्र होइन पुस्तकालय दिवसको नारा
मोफलसमा पनि घन्कने गर्छन् । पोखरा पुस्तकालय संघका संस्थापक सूर्य क्षेत्री
पोखरामा पुस्तकालय दिवस मनाउन भव्य तयारी भइरहेको जानकारी दिँदै यो त एउटा महोत्सव
जस्तै बनाउने तयारीमा जुटेको कुरा व्यक्त गर्छन् । दाङ पुस्तकालय संघका अध्यक्ष
वसन्त पुनको विचार पनि क्षेत्रीको भन्दा भिन्न छैन । दाङ जिल्ला वरिपरिका
पुस्तकालय एकजुट भएर नवौँ पुस्तकालय दिवस मनाउन लागेको सुझाउछन् उनी । पुस्तकालय
दिवसकै सन्दर्भमा सिर्जनात्मक काम गरेर मनाउने योजना छ भक्तपुर पुस्तकालय संघका
अध्यक्ष सुरेन्द्र दुवालसँग । पुस्तकालय दिवसका नेपालमा पुर्वाञ्चल, दाङ,
चितवन, पोखरा, लुम्बिनी,
भक्तपुर जस्ता क्षेत्रीय पुस्तकालय संघ सक्रिय रूपले लागेका
छन् ।
धेरै मनाइन्छन् दिवसहरू नेपालमा । दिवसको आफ्नै मनोविज्ञान हुन्छ । भनिन्छ
दिवसले एक विचार वा मुद्दालाई सामाजिक मान्यता दिने गर्छन् । पुस्तक पढ्नेहरूको
पनि दिवस हुन सम्भव छ । पुस्तक व्यवस्थापन गर्नेको पनि दिवस हुनु अस्वाभाविक होइन
। पुस्तक पढ्नु बहाना मात्र पनि होइन होला । पुस्तक पढ्नु रुचि हो आवश्यकता अनि
ज्ञानको क्षितिज तन्काउने विस्तृत योजना पनि हो । पुस्तक पढ्नु अनेक प्रयोजन
हुन्छन् जुन एकको अर्कोसँग मेल खाँदैनन् प्रायः । पुस्तकालय दिवसको पनि एउटा
मनोविज्ञान छ ‘पुस्तकालय पेसाकर्मीको सर्वाङ्गिण विकास हुनु पर्छ’ ।
पुस्तकालय दिवस मनाउँदैमा यस क्षेत्रको कायपलट नै हुने कुरामा विश्वाास
गर्दैनन् हाल अमेरिकामा वसोवास गर्ने नेपाल पुस्तकालय संघका पूर्वअध्यक्ष प्रकाश
कुमार थापा । पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालयकर्मीले पाठकलाई के नयाँ कुरा
पस्कने ?
यसको सही विश्लेकषण गर्न सकेको खण्डमा नेपालमा पुस्तकालय
दिवस सफल भएको मानिन्छ भन्ने धारणा राख्छन् पूर्वअध्यक्ष थापा । पुस्तकालय दिवसमा
एउटा गतिलो प्रतिबद्धताको खाँचो औल्याउँछन् उनी । नारामा सीमित नभएर हामी
पुस्तकालयकर्मी पुस्तकालय विकासमा कति जिम्मेबार छौँ, त्यसको लेखाजोखा गरेको खण्डमा पुस्तकालय दिवस सार्थक हुने छ भन्ने मान्यता छ
राख्छन् नेपाल राष्ट्रिय पुस्तकालयका पूर्वप्रमुख दशरथ थापा ।
नेपालका गाउँहरूमा पुस्तकालय छैनन् । पुस्तकालय जति छन् ती पनि नाम मात्रका ।
सामुदायिक विद्यालयहरूमा पनि पुस्तकालयको पूर्वाधार प्रायः नगन्य छ । फेरि शिक्षा
लिनदिने कुरा निरन्तर चलिरहने हो । यसै कुरालाई मनन गरी यस वर्षको पुस्तकालय
दिवसको नारा जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय राखिएको छ । यो शिक्षा मन्त्रालय
भित्रको भावना मात्र होइन समग्र पुस्तकालयकर्मीहरूको मर्मभित्र पनि पर्छ ।
पुस्तकालय दिवसको उपलब्धि के हो ? यो स्वाभाविक प्रश्न हो । पुस्तकालय स्थापनका लागि जनचेतना गाउँगाउँ पुग्नु
पुस्तकालय दिवसको सानै भने पनि उपलब्धि हो । मन्त्रालय तथा अधिकांश राजनीतिक
पार्टीका घोषणा पत्रमा पुस्तकालयले स्थान पाउनु पनि अर्को उपलब्धि हो ।
पुस्तकालयकर्मीको क्षमता अभिवृद्धि अन्तर्गत प्राविधिक तालिम, प्रशिक्षण आदि सञ्चालन गर्नु पर्ने छ ।
पुस्तकालय क्षेत्रमा कार्यरत व्यक्तिहरूको हकहित र सुरक्षाका लागि पुस्तकालय
ऐननिर्माणको विशेष योजना बनाई बृहत् अभियान सञ्चालन गर्दै संस्थागत तथा व्यक्तिगत
रूपमा क्रियाशील रहनु अनिवार्य भइसको छ । कार्यरतको क्षमता अभिवृद्धि र पुस्तकालय
पेसामा प्रवेश गर्न चाहनेहरूलाई संयोजन गरी एकआपशमा जोड्ने अभियान, सचेत नागरिकका रूपमा पुस्तकालयकर्मीलाई त्रियाशील गर्नु पुस्तकालय दिवसको
योजना हुनुपर्छ ।
रचनात्मक क्रियाकलाप गर्नु पुस्तकालय दिवसको विशेषता हो । विगत ५ वर्षदेखि
रक्तदान,
निबन्ध प्रतियोगिता, सरसफाइ, परिसंवाद,
पत्रकार सम्मेलन आदि कार्यमा पुस्तकालयकर्मीहरू निरन्तर
जुटेका छन् । रचनात्मक क्रियाकलाप र सामाजिक सम्पर्ककै कारण उपत्यकामा मात्र नभएर
पुस्तकालय दिवस उपत्यका भन्दा बाहिर पनि पुग्न सफल भएको हो । सीमित स्रोत र साधनका
बीच पनि पुस्तकालय दिवस संस्थागत हुँदै छ ।
Comments
Post a Comment