छन्दको प्रतिछेपक
डा. अशोक थापा
नेपाली केन्द्रीय विभाग, त्रि.वि.
छन्दकविता र नदी उस्तैउस्तै प्रतीत हुन्छन् । नदीलाई एउटा बन्धन चाहिन्छ, तट चाहिन्छ,
किनारा चाहिन्छ छन्दकवितालाई जस्तै । कहीँ न कहीँ सिर्जनाको
पनि एउटा सीमाना हुँदोरहेछ । अझ भनूँ नदीको तटले यसको गतिलाई निर्देशित गर्छ अनि
छन्दकविताले कविताको भावलाई तिख्खर बनाउँदै तीव्र अनि रसिलो बानउँदोरहेछ । नेपाली
साहित्यमा उत्तरआधुनिक कविताको मात चढेर छन्दकवितालाई गम्भीर प्रहार भइरहेको समयमा
सुललित छन्दयुक्त कविताको माग भइरहेको थियो । उक्त अभाव पुरिदिएका छन् नरायण
निरासीले ‘फूलमाथि तुसारो’
कविता सङ्ग्रह सिर्जना गरेर ।
निरासीले जति सिर्जना गरे छन्दमै गरे । जति गजल लेखे छन्दको पयो छोडेनन् उनले
। जति सर्गको काव्यिक महल बनाए उनी छन्द बेगेर हिँडेनन् । उनले खण्डकाव्य सिर्जना
गरे छन्दको कित्ताबाट पर सरेनन् । छन्दमुक्त कविता नै खास कविता हो भन्नेहरूलाई
सर्वप्राचीन ग्रन्थ ऋग्वेद र भानुभक्तको रामायण पढ्न सुझाव दिइराखे निरासीले ।
उनले आफ्नो छन्दमोहलाई मूर्त रूपदिन ‘फूलमाथि तुसारो’ सिर्जना गरे । र साथसाथै कवितामा प्रकृति, राष्ट्रप्रेम, समाजलाई छुट्टै दृष्टिबाट हेर्ने एउटा फ्रेम प्रस्तुत गरे । उनले छन्द कविताको
महिमा र उपदेयता छन्दमै पस्किए पनि :
मुहान फुट्छ छन्दको थुनेर यो थुनिन्छ र ?
रहेन छन्द यो भने कला र शान बाँच्छ र ?
छन्दकविता सिर्जना गर्नु जटिल कार्य हो । छन्दले कविताको भावप्रवाहलाई बाधा पुर्याउँछ पनि भन्छन् गद्य कविहरू । साहित्य ऐनकानुनमा, बन्धनमा बसेर गर्न सकिँदैन र हुँदैन पनि भने जीरह छ उनीहरूको । यद्यपि नेपाली
साहित्यका धरणीधर,
लेखनाथ, बालकृष्ण, लक्ष्मीप्रसाद,
सोमनाथ आदि कविहरू छन्दमै बगेर महान साहित्यकारमा दरिएको
कुरामा निरासी छर्लङ्ग छन् । प्रस्ट छन् ।
छन्दका लागि मानिने अनिवार्य तत्त्व मात्रा, गण,
वर्ण, गतियति, तुक हुन् निरासीका कवितामा यी सबै पक्षको सम्यक प्रयोग भएको देखिन्छ ।
छन्दकविता त्यति जटिल हुँदैन जति भनिएको छ भन्ने कुराको दृष्टान्त प्रस्तुत गर्न
सफल भएका छन् निरासी ।
आमाको नभए मुहार हँसिलो हाँस्दैन कोही पनि
आमाको ममता भुलेर जगमा बाँच्दैन कोही पनि
आफ्नो कोमल कोखको नवमुना हेरेर मुस्काउँछिन्
आफ्ना सन्तति जो सदैव सुखले बाँचून् रमून् भन्दछिन् ।
कविको मुख्य काम जीवनको शाश्वत मूल्य र अपेक्षित आवश्यकता प्रदान गर्नु हो ।
यस सँगालोमा पनि कविले समाजको परिस्थिति, विचार तथा
वैविध्यको विचरण गरेका छन् । हाम्रो आफ्नो सभ्यता तथा संस्कृतिको पक्षमा आफ्नो
काव्यिक सामथ्र्य प्रस्तुत गरेका छन् । निरासीको कवितात्मक प्रहार के छ भने
आधुनिकताका नाममा विलासी बन्दै गएको जीवन र यसले सिर्जना गरेको विकृति खराब छ ।
यसप्रति उनको गुनासो पनि छ । अप्रत्यक्ष रूपमा उनले यस प्रकारको समाजप्रतिकूल
चिन्तनले मानवजातिलाई आन्धकारतिर धकेल्छ भन्ने भाव उनका कवितामा व्यक्त भएका छन् ।
यी यावत विचारलाई अति प्रस्ट छन्दकै सहाराले आफ्नो अभिव्यक्त प्रस्तुत गर्न सफल
भएका छन् निरासी । छन्दकविताले आत्मानुभूतिमा गहिरो प्रभाव मात्रै पार्दैन यो
श्रुतीमधुर हुनेभएकाले यसले मस्तिष्कमा होइन हृदयमा छुन्छ भन्ने मान्यता पनि
व्यक्त गरेका छन् उनले यस कविता सँगालोमा ।
उनी अर्को कुरामा पनि प्रस्ट छन् । छन्दले कवितालाई साङ्गीतिक बनाउँछ । छन्द
कविताले आनन्द त दिन्छ नै स्मरणका लागि योग्य पनि बनाउँछ । कवितालाई एउटा योजना, ढाँचा र समग्रमा एउटा सुन्दर स्वरूप प्रदान गर्छ । त्यसैले नर्सरीमा पढ्ने
बालकलाई पनि छन्द मनपर्छ,
वेद,
महाभारत र रामायणका वौद्धिक पक्षहरू पनि छन्दमै छन् यसबाट
सहजै पुस्टि भैहाल्छ छन्दको महत्त्व । सुरताल, स्मरण, एकाग्रता,
सोच्ने क्षमताको विकास गर्ने भएकाले यसको उपादेयता अझै बढेर गएको
हो भन्छन् र कवितामा पनि उस्तै अभिव्यक्ति दिन्छन् उनी ।
कवितालाई समाजले कसरी बुझेको छ भन्नु भन्दा पनि कवितामा के शक्ति छ ? जुन सबैभन्दा धेरै सर्जक कविताको मोहनीमा झुम्मिन्छन् र यसको सिर्जनामा
लाग्छन् । अधिक पाठक यसको मोहनीमा डुब्न चाहन्छन् हराउन चाहन्छन् । यसलाई जसरी
बुझे पनि हिजोदेखि अहिलेसम्म सबैभन्दा रचिएको विधा बन्ने सौभाग्य यही विधालाई
प्राप्त छ । समाजमा कविताको प्रयोजन अन्य धेरै होलान् । कवितालाई विविध तरिकाले
बुझ्ने र यसैमा हराउने कारण छन्दमा मानवमनको सौन्दर्यको भावनलाई जागृत गारउने
शक्ति कवितामा भएरै हुनुपर्छ । छन्द कवितामा यसको अधिकता रहन्छ । यस प्रकारको
सौन्दर्यात्मक राग र हृदयलाई पगाल्न सक्ने क्षमता निरासीका कवितामा व्याप्त छ ।
गद्य कवितामा हुने सुख्खपन र जर्जरता भन्दा छन्द कवितामा हार्दिक कोमलाता
रहन्छ । यो हार्दिकता निर्माणमा निरासी सफल भएका छन् । गेयत्मकताका कारण छन्दकविता
पाठकको गलागलामा मात्र रहँदैन यसले हृदयलाई पलपल झङ्कृत बनाइरहन्छ । भावनात्मक
तरलता सिर्जना गरिदिन्छ । पाठकको मनमा स्थायी रूपमा गडेर रहने क्षमता राख्दछ ।
त्यो शक्ति र सामर्थ्य सिर्जान गर्नमा सफल छ ‘फूलमाथि तुसारो’ ।
गद्य कविताको नाममा पछिल्लो केही दशकयता छन्दकवितामाथि व्यापक प्रहार भयो । तर
निरासीका कविताले के प्रमाणित गर्ने ल्याकत् राख्छन् भने छन्दकविताको प्रभाव अझै
पनि यथावत छ । यी कविताले यो पनि प्रमाणित गरिदिएका छन् कि छन्दकविताको प्रभाव अझै
कायम रहन्छ,
रहिरहन्छ ।
विगत दुई दशकदेखि कवितात्मक फसल रोप्न रमाउने निरासीको पहिचान नै बनेको छ
लयात्मक कविका रूपमा । उनले जति सिर्जना गरे कवितालाई हृदयमा सजाएर गरे । जति
सिर्जना गरे छन्दलाई माया गरेर गरे । ६३ वटा फुटकर कविता सँगालिएको यस सँगालोमा
पनि निरासी आफूलाई थप परिष्कृत बनाउनमामै व्यस्त रहे । उनका कवितामा समाज छ ।
समाजमा बसन्त मात्र छैन । शिशिरे तुसारो पनि छ । तुसारो दुःख हो । जीवनको जटिलता
हो । दुरूह बाँचेको समाज हो । समाजको तुसारो हट्नुपर्छ । समाजको कलुषित मैलो
हटाउने यस्तैयस्तै आग्रह गरेका छन् कवि निरासीले ।
निरासीले विश्वास गरेजस्तै सुन्दर गद्य कविता त्यही कविले लेख्न सक्छ जसले
छन्दयुक्त कवितालेखनको अभ्यास गरेको हुन्छ । यो उनको छन्दकविताप्रतिको आस्था हो
विश्वास हो यो कतिपय सन्दर्भमा उपयुक्त पनि लाग्छ । लय कविताको आत्म भएकाले जहाँ
लय छैन त्यहाँ कावितात्मक सुन्दरता पनि छैन भन्न सकिन्छ । सुन्दर कविताका यावत
गुणहरू मध्ये एक लयात्मकता पनि हो । छन्दोबद्धता पनि हो । यो निरासीको कुशल छन्द
कविताको सँगालो हो ।
लेख्य शब्दको उपलब्धता हुँदाहुँदै पनि कथ्य शब्द खेलाउँदा कतैकतै छन्दभङ्गको
अवस्था देखिए पनि भावनाको प्रचुरता रहेको यो छन्द सँगालो उत्कृष्ट छ । कवितामा
प्रयुक्त भाषाको गति वा प्रवाहमा एकरूप बहाव छ । छन्दकवितामा शब्दगत मितव्ययी
बन्नै पर्छ यसमा कवि निरासीले किफायती बनेर पनि आफूलाई काव्यिक प्रवाहमा सारगर्भित
बनाउन सफल भएका छन् । उनी प्रतिबद्ध छन् र उत्तिकै निश्चिन्त पनि छन् कवितामा शिल्पले
थप सौन्दर्भ भरिदिन्छ । कविमा राम्रो ज्ञान के छ भने आफ्नो भावनालाई बिम्ब र
प्रतीकको माध्यमबाट छताछुल्ल बनाउने हो उनी अर्को कुरा पनि निश्चित छन् कवितामा
स्थायित्व प्रदान गर्ने पनि रूपविन्यासले हो । यति भनिरहँदा कविताको आत्मा विचार
हो, चिन्तन हो भन्ने कुरामा पनि कविको प्रस्ट दृष्टिकोण पाइन्छ । उनले विचारलाई
सहज तथा सरल तरिकाले प्रस्तुत गरेका छन् जहाँ कवितामा व्यक्त भाव पाठकले
सहजतापूर्वक ग्रहण गर्छन् । पुस्तकको आवरण पनि कलात्मक लाग्छ । छन्छकविता प्रेमीका
लागि यो एक लालित्यपूर्ण कवितासङ्ग्रह हो ।
कृति : फूलमाथि तुसारो
कवि : नारायण निरासी
प्रकाशक : हेरिटेज
पेज : १४४
मूल्य : २५०
Comments
Post a Comment