शोधको मौखिक प्रतिरक्षा कसरी गर्ने ?

 उपप्रा.डा.अशोक थापा

नेपाली केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर

 

सारसङ्‌क्षेप

शैक्षिक अनुसन्धान (एकेडेमिक रिसर्च) का क्रममा अन्तिम मौखिक परीक्षा लिइन्छ । यसलाई अङ्ग्रेजीमा भाइभा, भाइभा भोस, भाइभा डिफेन्स आदिइत्यादि नामले बुझिन्छ । मौखिक प्रतिरक्षालाई विषयविज्ञमाझ अनुसन्धाताले सम्पन्न गरेका अनुसन्धानका समग्र विधि, प्रक्रिया, प्राप्तियलगायतका कुराहरू सार्वजनिक गर्ने स्थानका रूपमा बुझ्नुपर्छ । यस लेखमा मौखिक प्रतिरक्षा के हो ? यसलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा चर्चा गरिएको छ । मौखिक प्रतिरक्षा शोधकार्यको निकै महŒवपूर्ण पक्ष भएकाले शोधार्थीले अपनाउनुपर्ने सावधानीका विषयमा पनि प्रस्तुत लेखमा विमर्श गरिएको छ । सैद्धान्तिक भन्दा बढी व्यवहारिक र अनौपचारिक रहनु यस लेखको सीमा हो । 

१.१ परिचय

    शैक्षिक अनुसन्धानको आरम्भ (प्रस्तावलेखन) एबम् अन्त्य दुवै चरणमा मौखिक प्रतिरक्षाको आवश्यकता रहन्छ । यसर्थ अनुसन्धानको थालनीपूर्व र अन्त्यमा मौखिक प्रतिरक्षा अनिवार्य छ । शोधका क्रममा प्रपोजल डिफेन्सबाट यसलाई अगाडि बढाइन्छ भने शोधकार्य पूरा भएपछि अनुसन्धानको प्राप्ति, निष्कर्ष वा निचोडलाई जनसमक्ष सार्वजनिक गर्न, प्राप्ति निष्कर्षलाई थप पुष्टि, पुनर्पुष्टि र कतिपय सन्दर्भमा माँझेर झन् कसिलो बनाउन मौखिक प्रतिरक्षामा सहभागी हुनुपर्छ । यो शोधलेखन प्रक्रियाको एउटा नियमति शृङ्खला हो । संसारभर प्रायः सबै विश्वविद्यालयका अनुसन्धानविज्ञहरूले यस प्रक्रियालाई अनुसन्धानकै एउटा उपक्रमका रूपमा स्वीकारेका छन् । यो शोधविधिका मानकमा टेकेर सम्पन्न गरिन्छ । ठूलो मिहिनेतबाट प्राप्ति गरिएको नयाँ तथ्य, ज्ञान र सिद्धान्तलाई सार्वजनिक गर्ने विशेष कार्यक्रम नै मौखिक प्रतिरक्षा हो । अनुसन्धानको अन्तिम लक्ष्य लोककल्याण हुने भएकाले मौखिक प्रतिरक्षा सार्वजनिक महŒवको हुन्छ । अनुसन्धानको मुख्य प्राप्तिक (आउट कम) लाई सार्वजनिक रूपमा बाँढ्ने महŒवपूर्ण कार्यक्रम भाइभा भएकाले यसमा अनुसन्धाता सजग र चेतनशील भएर सहभागी हुनुपर्छ किनभने शैक्षिक अनुसन्धानमा अन्तिम भाइभा वा अन्तर्वार्ता नभईकन ठूलो प्रयासबाट  ग्रहण गरिने उपाधि प्राप्त हुँदैन । त्रिभुवन विश्वधविद्यालयमा पनि ६ दशक जतिको अनुसन्धान अभ्यासको इतिहास छ । यस विश्वविद्यालयमा विभिन्न (विज्ञान प्रविधि, चकित्सा, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, वनविज्ञान, मानविकी, शिक्षा, व्यवस्थापन, कानुन) सङ्काय तथा संस्थानहरूका विविध (स्नातक, स्नातकोत्तर, एम्.फिल, पिएच्डी) तहमा शोधलेखन गरिने भएकाले अन्तिम मौखिक प्रतिरक्षा (भाइभा डिफेन्स) का आधारभूत कुराहरू ज्ञात हुनु वाञ्छनीय देखिन्छ प्रस्तुत लेखन पनि सोही उद्देश्य परिपूर्तिका लागि गरिएको एउटा प्रयास हो ।

१.२ पूर्वतयारी

    पूर्वतहारीविना कुनै पनि कार्य गरिँदैन । तयारीविना गरिएको काम कुशलतापूर्व सम्पन्न गर्न गाह्रो पनि हुन्छ । शोधार्थीले के सम्झनु पर्छ भने शोधप्रतिरक्षा एउटा औपचारिक परीक्षा हो । शोधार्थीले सम्पन्न गरेको धोधपत्रलाई लिएर प्रतिरक्षा स्थलमा जानुपर्छ । आफूले लेखेका हरेक वाक्यको जिम्मेबार व्यक्ति भनेको अनुसन्धाता स्वयं हो । अन्तर्वार्ताका क्रममा केकसरी बोल्ने? कस्तो शब्द प्रयोग गर्ने? कस्तो नगर्ने? कम्प्युटरबाट प्रस्तुतीकरण दिने हो भने विद्युतीय प्रति (पावर पोइन्ट) तयारी गरेर लानुपर्छ । यसर्थ त्यसको प्राविधिक पक्षका बारेमा पनि जानकारी राख्नु पर्दछ । व्यवहारिक, सैद्धान्तिक र प्राविधिक तयारी गर्नाका साथै सबै सैद्धान्तिक तथा व्यवहारिक शीर्षकलाई सचेत र गहन तरिकाले पढ्नुपर्छ । शोधप्रतिरक्षाका लागि पूरा सूचना कहाँ ? कहिले ? कसरी ? हुँदैछ भन्ने जानकारी राख्नुपर्छ । जनुजुन सामाग्री आवश्यक हुन्छन् ती सबै सामग्री लिएर जानुपर्छ, जब वार्तालाप आरम्भ हुन्छ प्रथमतः प्रश्नकहरूलाई राम्रोसँग सुन्नु पर्दछ, विशेषज्ञले साह्रै सामन्य प्रश्न पनि सोध्न सक्छन् र उत्तिकै जटिल पनि । विशेषज्ञले के मान्यता राख्छन् भने तपाइँ आफ्नो शोधको कति गहिराइमा पुग्नु भएको छ । परीक्षा लिन आएका विशेषज्ञ पनि मानव भएकाले उसलाई सकेसम्म खुशी बनाउनु पर्छ । रिसाउने, चिड्याउने बनाउनु हुँदैन । नकाराम्मक प्रतिक्रिया दिनुहुँदैन, बढी उत्साही र हतोत्साही दुवै हुनुहुँदैन ।  

    आत्मविश्वासी देखिनु भाइभा दिने व्यक्तिका लागि अनिवार्य सर्त हो । यसले अनुसन्धानको गरिमालाई मात्र उचो राख्दैन अनुसन्धाता आफ्नो कामप्रति केकति इमान्दार र सचेत छ भन्ने पनि बोध गराउँछ । सकेसम्म आफ्नो अनुसन्धान शीर्षक, अनुसन्धानबाट प्राप्त निष्कर्ष र यसको आगामी दिनमा हुने महŒवका विषयमा यथेष्ट प्रकाश प्रकाश पार्नुपर्छ जसले गर्दा उक्त भाइभामा उपस्थित हुने व्यक्तित्वलाई यहाँले गरेको शोधको गरिमाको विषयबोध हुन्छ ।

    प्रायः सबैजस्तो मौखिक प्रतिरक्षाको आरम्भ आफ्नो परिचयबाट हुनेगर्छ । आफ्नो छोटो शैक्षिक, प्राज्ञिक परिचय दिने काम यसको आरम्भमा गरिन्छ । परिचयमा अभिमान झल्कनु राम्रो मानिँदैन । यहाँ परिचय भन्नाले आफ्नो शैक्षिक परिचय (कहाँ ? कुनकुन तह ?  कहिले ? कसरी ? किन ?) सम्झनुपर्छ । परिचयको आरम्भमा विज्ञलाई धन्यवाद दिँदै सम्बोधनबाट अन्तर्वार्ता सुरु गर्नुपर्छ । सम्बोधनका क्रममा आफ्ना विषयविज्ञहरूको पद वा उपाधिलाई ध्यान दिनुपर्छ । सम्बोधनका क्रममा लैङ्गिक पक्षहरूलाई पनि ख्याल गर्नुपर्छ । सम्बोधन अतिउच्च र अतिनिम्न दुवै वर्जित हुन्छन् किनभने नेपालीमा सम्बोधनका श्रेणीहरू पूर्वनिर्धारित छन् । आफूले सम्पन्न गरेको अनुसन्धानप्रति आफ्नो रुचि केकसरी जोडिन पुगेको त्यो पनि खुलाइदिनुपर्छ । अगिल्लो रात राम्रोसँग सुत्दा राम्रो हुन्छ, भाइभाभर यहाँको अनुहारमा अस्वाभाविक (अनइजी) भाव झल्किनु हुँदैन । सम्भव हुन्छ भने भाइभा कोठामा प्रवेश गर्नुअगि एक गिलास चिसो पानी पिउँदा राम्रो हुन्छ । विश्विविद्यालयका भाइभासम्बन्धी आआफ्ना नियमनिर्देशिका हुने भएकाले त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्छ । परिचयका क्रममा कत्ति पनि निराश (होपलेस) देखिनुहुँदैन थोरै डर रहनसक्छ तर त्यसलाई देखाउनु हुँदैन (स्वाभाविक रूपमा केही नर्भसनेस जो पनि हुनेगर्छ) । दिमागमा के कुरा मात्र राख्नुहोस् भने यो विषयको विज्ञ तपाइँ आफैँ हो । बोल्दा सबैसँग आँखा जुधाएर (आइ कन्ट्रयाक) सहित सहज तरिकाले बोल्नुपर्छ । कतिपय भाइभामा स्रोताहरूको सङ्ख्या धेरै हुनसक्छ त्यसबाट आत्तिनु हुँदैन । सुन्दर बिहानीले सुखद दिउँसोको सङ्केत गरेजस्तै जब भाइभाको प्रवेशखण्ड (परिचय खण्ड) राम्रो हुन्छ अवश्य अन्त्य पनि राम्रो हुन्छ नै । 

    अन्तिम भाइभा वर्षभरि खेती गरेर थन्क्याउनुजस्तै हो । अनुसन्धानका सन्दर्भमा त वर्षौँसम्म गरिएको मिहिनेतको भारी बिसाउनु पनि हो । निकै छोटो समयमा लामो अनुसन्धान प्रक्रियाको जिस्ट या प्राप्ति प्रस्तुत गर्नुपर्ने भएकाले यो निकै प्राविधिक, चुनौतीपूर्ण र महŒवपूर्ण हुन्छ भन्ने बुझ्नुपर्छ । यो आफ्नो अनुसन्धानलाई पुष्टि गर्ने परीक्षा हो । यो अनुसन्धानलाई सार्वजनिकीकरण गर्ने कार्य हो । एक हिसाबले लामो मन्थनपछिको प्राप्तिलाई विमोचन गर्ने स्थानजस्तै हो । यो पनि सम्झनुपर्छ कि आफ्नो विषयलाई सम्बन्धित विषयविशेषज्ञका माझ अन्तिम परीक्षण गरी पुनर्पुष्टि गर्ने अवसर पनि हो । यो खुला पुस्तकजस्तै परीक्षा हो जहाँ शोधार्थीले आफ्नो अन्तिन परीक्षा दिन्छन् त्यो परीक्षा खुलाजस्तै हुन्छ । यहाँ डराउनु पर्ने कुरा किन छैन भने परीक्षकले तपाइँलाई उत्तीर्ण गर्न चाहन्छन् । यो यहाँको अनुसन्धानको अन्तिम घण्टा हो (जटिल, परिश्रमपूर्ण र लामो सङ्घर्षबाट प्राप्त ज्ञानलाई प्रस्तुत गर्ने अन्तिम घडीलाई सही सदुपयोग गर्नुपर्छ । आफ्नो प्रस्तुतीकरण सफल कथाबाट सुरु गर्दा राम्रो हुन्छ किन कि यसले विज्ञहरूमा सकारात्मक प्रभाव छोड्छ । भाइभा भनेको एउटा सफलताको भारी बिसाउने ठाउँ पनि हो यहाँ निराशाजनक कुरा गरेर आफ्नो सफलतालाई निरश बनाउनु हुँदैन ।    

    समस्याको समाधान निर्धक्क प्रस्तुत गर्नुपर्दछ । शोधको दौरानमा उठान गरिएको समस्यालाई जतिसक्दो सार्वजनिक रूपमा समाधान गर्नुपर्छ । समस्यालाई लुकाएर खुम्च्याएर होइन, सार्वजनिक बहस गरेरमात्र समाधान गर्न सकिन्छ । यो पनि सम्झनु पर्छ कि अन्तिम प्रतिरक्षामा तपाइँ मात्र हुनुहुन्न यहाँको शोधनिर्देशक पनि साथै रहनुहुन्छ । यो वहाँको पनि परीक्षा हो । परीक्षक स्रोता पनि हो किनभने उहाँले यहाँको प्रस्तुतीकरण स्रोता बनेर सुनिरहेका हुन्छन् । यसको अर्थ यो होइन कि उनीहरू बोल्दै बोल्दैनन् । शोधार्थीको प्रस्तुति सुनिसकेपछि त्यहाँ उठेका जिज्ञाशा, प्रस्ट हुन नसकेका तथ्यहरू, गलत दृष्टिाकोणउपर परीक्षकले आफ्नो रायसहित शोधार्थीलाई प्रस्तुत गर्ने छन् जुन शोधपत्रको अन्तिम साफीमा राख्नु पर्ने हुनसक्छ ।

        आफ्नो रायलाई सार्वजनिक राय, आफ्नो निष्कर्षलाई सार्वजनिक निष्कर्ष र आफ्नो मान्यतालाई सार्वजनिक मान्यतामा लग्नका लागि भाइभामा अनुसन्धान समिति र विज्ञसमूहको चित्त बुझाउन अत्यन्त जरुरी छ । अहिले विविध शोधका पुस्तक तथा समाजिक सञ्जाल (युट्युब) हरूमा शोधको मौखिक प्रतिरक्षा केकसरी गर्ने? भन्ने सन्दर्भमा थुप्रै सामग्री पाउन सकिन्छ त्यसलाई पनि अध्ययन गर्दा राम्रो हुन्छ । यसका साथै आफूभन्दा अगाडि अनुसन्धान सम्पन्न गरेका व्यक्ति, विज्ञहरूको राय र अनुभव आदानप्रदान गर्दा राम्रो हुन्छ । अन्तिम परीक्षामा जानुअगाडि शोधनिर्देशकसँग बसेर आवश्यक रणनीति र योजना बनाउँदा उत्तम हुन्छ जसले गर्दा भाइभा व्यवस्थित र सङ्गठित बनोस् ।

    विशेषज्ञले शोधेका प्रश्न राम्रोसँग सुन्नुपर्छ, बुझ्नुपर्छ, नबुझेको खण्डमा पुनः दोहो¥याएर सोध्ने छुट पनि यहाँलाई छ तर प्रश्न पूरा रूपमा नबुझी हतारिएर उत्तर दिन हुँदैन । सोधिएका प्रश्नहरू तपाइँलाई अल्झाउन मात्र नभएर यहाँको निष्कर्षलाई सहयोग गर्ने खालका निष्कर्ष पनि आउन सक्छन् । यदि ती साँच्चै त्यस प्रकृतिका छन् भने इमान्दार भएर आफ्नो शोधपत्रमा समावेश गर्नुपर्छ ।

    आफ्ना अनुभव, अध्ययनको सार शोधनिर्देशकको सुझवको संश्लेषणबाट निशृत प्राप्तिलाई विज्ञसमूहका माझ प्रमाणीकरण गरिने एक प्राज्ञिक प्रक्रिया नै भाइभा भएकाले यसमा अनुसन्धानकर्ता थप सजक र चनाखो भएर प्रस्तुत हुनुपर्छ । साथै वौद्धिक कार्यलाई साधरणीकरण गर्दै भावी दिनहरूमा समाजमा प्रयोग ल्याउनुपर्ने विचारको काँटछाँट गर्ने अवसरका रूपमा पनि भाइभालाई लिने गरिन्छ । भाइभा मौखिक हुनाको साथै यो शोधको अन्तिम प्रक्रिया हो, प्रश्नोत्तरात्मक र कतिपय सन्दर्भमा अन्तरक्रियात्मक हुनु यसको वशेषता हो । सम्पूर्ण अनुसन्धान अवधिभर पत्ता नलागेको तथ्य र नफुकेका गाँठा भाइभामा फुक्ने सम्भावना रहेकाले पनि यो बढी प्राज्ञिक हुनेगर्छ । शोधको शीर्षक, यससँग सम्बद्ध समस्याकथन र समस्याकथनमा उठान गरिएका प्रश्नरहरूको परिच्छेदसँगको अन्तर्सम्बन्ध केकसरी रहेको छ र कुनकुन शोधिविध र पद्धति केकसरी प्रयोग गरिएको छ । शोधमा उल्लेख भएका सबै कुरा भाइभामा भन्न असम्भव छ तसर्थ भाइभामा छोटा तरिकाले प्रस्तुत हुनु राम्रो हुन्छ ।  

    भाइभा हुनुभन्दा हप्ताादश दिनअगाडि आफ्नो शोधपत्रलाई पठनपुनर्पठन गर्दा निकै लाभदायी हुनेगर्छ । शोधको प्रतिरक्षा भनेको मात्र प्रतिरक्षा होइन कि आफ्नो प्राप्तिको जित पनि हो । यदि आफू केबल प्रतिरक्षा गर्ने परिस्थितिमा पुगियो भने यो बुझ्नुपर्छ कि शोधपत्रमा केही कमीकमजोरी छन् त्यसलाई इमान्दारितापूर्वक स्वीकार गरी त्यसलाई आफ्नो अनुसन्धानमा समावेश पनि गर्नुपर्छ । विद्यार्थीलाई जहिले पनि भाइभामा केकस्तो प्रश्न सोधिन्छ होला ? भन्ने जिज्ञाशा रहनु स्वाभाविक छ । यसमा केही प्रश्नसहरू औपचारिक प्रश्न रहने गर्छन् भने कोही विषयभित्रका प्रश्नहरू रहने गर्छन् । सामन्य तथा परिचयबाट नै भाइभाको आरम्भ हुने गर्छ । प्रश्नहरू त्यसैमा केन्द्रति हुनेछन् जुन कुरा यहाँले वर्षौँ मन्थन गरेर शोधपत्रमा उल्लेख गर्नुभएको छ ।

१.३ प्रस्तुतिको भाषा

    भाइभाको भाषा औपचारिक हुनुपर्छ । सम्पूर्ण शोधकार्य नै औपचारिक लेखन भएकाले, भाषा नरम हुन आवश्यक छ । उत्तेजित भाषाले भाइभा बिगार्ने निश्चित छ । विषयविज्ञले अन्यत्र विषयमा प्रश्न घुमाएमा म त्यसको पनि उचित पठन गर्नेछु । मेरो अनुसन्धानको दायरामा त्यो पक्ष प्रत्यक्ष सम्बद्ध नरहेको कुरा खुलस्त जानकारी गराइदिनुपर्छ । भाइभामा बस्दा यो नबिर्सनुहोस् कि म परीक्षामा सामेल छु, मेरो परीक्षाको भाषा सुसंस्कृत हुनुपर्छ । यस्तो प्रकारको नमुना भाइभा गर्नुहोस् जुन आउने पुस्ताका लागि पनि उदाहरण बन्नसकोस् । भाषा औपचारिक भएर मात्र पुग्दैन परीक्षार्थीले लगाउने पहिरन पनि औपचारिक नै हुनुपर्छ । अस्वाभाविक पहिरनले यहाँको अन्तर्वार्ता अप्रभावकारी मात्र हुँदैन विज्ञहरू पनि बेखुसी हुनसक्छन् । आफ्नो शोधपत्र जुन भाषामा लेखिएको छ सोही भाषामा भाइभा दिँदा राम्रो हुन्छ ।  शोधको भाषा औपचारिक हुनुपर्छ र मौखिक प्रतिरक्षा पनि शोधकार्यकै एउटा प्रक्रिया भएकाले औपचारिक रूपमा नै प्रस्तुत हुनुपर्छ । बोल्दा शोधसँग सम्बद्ध प्राविधिक शब्द प्रयोग हुनसक्छन् । अनावश्यक थेगो, अनुकरणात्मक शब्द, अनिर्णित, अमापनीय (झन्डै, प्रायः, करिब) बोली भाइभामा वर्जित हुन्छ । वार्तालाई सरल, छोटो र छरितो तरिकाले प्रस्तुत गर्नुपर्छ । शोधपत्रमा उल्लेख भएका, विश्लेषण भएका तथ्यलाई मात्र प्रस्तुत गर्नुपर्छ । बोल्दा समान आदार प्रयोग गर्नुपर्छ, उपाधिलाई पद केन्द्रित सम्बोधन (जस्तै डाक्टर, प्राध्यापक, समाजसेवी) गर्न आवश्यक छैन । प्रस्तुतिका क्रममा आवाज प्रस्ट हुन र सबैले सुन्ने गरी बोल्न आवश्यक छ । विशेष परिस्थितिबाहेक विज्ञको प्रश्नको ठाडो प्रतिकार, अस्वीकार वा प्रतिवाद गर्नु राम्रो होइन । द्विआर्थिक शब्दहरू सकेसम्म प्रयोग गर्नुहुँदैन । अति प्रशंसा वा बढाइचडाइ र अतिनिन्दा वा हेयबोध गराउने शब्द प्रयोग गर्नु हुँदैन । आफ्नो शोधपत्रको वास्तविक मूल्य (भ्यालु) के हो ? त्यसलाई अधिमूल्यन र अवमूल्यन हुने भाषा प्रयोग गर्नुहुँदैन । आरोपप्रत्यारोपयुक्त भाषा प्रयोग वर्जित छ तर आफ्नो शोधसँग सम्बद्ध पूर्वअध्येताहरूको आलोचना होइन शिष्ट समालोचनायुक्त भाषामा प्रस्तुत हुनुपर्छ । जातीय, राजनीतिक, लैङ्गिक आदि पक्षलाई आँच पु¥याउने खालको शब्दको प्रयोग गर्नुहुँदैन । आफ्नो शोधसँग असम्बद्ध वा पुष्टि नभएका अप्रमाणिक कुराहरूको ठोकुवा नगरेकै राम्रो हुन्छ । कुनै विवादास्पद (जस्तैः नेपाली वर्णविन्यासको मानकीकरण) विषयमा उठेका प्रश्न उपर सामूहिक प्रतिबद्धता र निचोडलाई मान्न सकिन्छ भन्नेजस्ता कुटनीतिक भाषाको प्रयोग गर्दा उत्तम हुन्छ । 

१.४  निष्कर्ष

शोधकार्य प्रक्रियागत रूपमा गरिने एक प्राज्ञिक क्रिया हो । भाइभा दिने अन्यत्र नभएर आफ्नै कलेज, विश्वरविद्यालय र विभागमा हो । यो अरूले लिने नभएर विषयविज्ञ र वौद्धिक व्यक्तिले लिने प्रक्रिया हो । त्यति मात्र फरक छ अन्तिम भाइभामा वाह्य परीक्षकको मुख्य भूमिका रहने गर्छ । शोधकार्य समूहिक कार्य भएकाले निर्देशक, सहायक निर्देशक, अनुसन्धानकर्ता, शुभचिन्तकले भने बाराम्बार यस प्रक्रियालाई सार्थक बनाउन निरन्तर लागिरहेका हुन्छन् । सबैभन्दा धेरै समय, साधानस्रोत र समय शोधार्थी एवं शोधनिर्देशकले खर्चेका हुन्छन् । भाइभामा कति समय लिइन्छ भन्ने कुरा स्थान, तह र विषयअनुसार फरकफरक हुनसक्छ । सामान्यतया भाइभाको समय एक घण्टा जतिको हुनेगर्छ । नेपालमा एम्फिल् र विद्यावारिधिको भाइभा यो भन्दा थोरै लामो हुनसक्छ । स्नातक र स्नातकोत्तर तहको भाइभा भने केहि छोटो हुने गरेको छ । विद्यावारिधी र एम्फिल् तहमा सहभागी विज्ञहरूको सङ्ख्या सापेक्षित रूपमा धेरै हुने भएकाले पनि समय अलि बढी लाग्ने गर्छ । विभागको विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिन र आवश्यकताअनुसार विश्वगविद्यालयले तोकेको मान्छेले नै भाइभा कार्यक्रमको अध्यक्षता गर्ने गर्छन् भने समग्र प्रक्रियाको नेतृत्व वाह्य परीक्षकले गर्ने गर्छन् । बाह्य परीक्षक त्यस्तो व्यक्ति रहने गर्छ जसको उक्त शीर्षकसँग प्रत्यक्ष जानकारी राख्छ । भाइभा एक प्रकारको वौद्धिक प्राज्ञिक महायज्ञजस्तै हो । अन्तिम परीक्षा वा भाइभामा जानु अगाडि एम्.फिल र विद्यावारिधिको शोधपत्रलाई आन्तरिक परीक्षकले पनि जाँच गरी सुझाव दिने गर्छन् । यसर्थ अन्तिम भाइभा आन्तरिक मूल्याङ्कन भइसकेपछिको छुटपुट टिप्पणी हो । शोधार्थीले अन्तिम प्रतिरक्षामा कसरी सामेल हुने बन्ने विषयमा मानसिक तथा भौतिक तयारी गर्नुपर्छ । शोधप्रक्रियामा समेल हुनु भएका तपाइँ सबैको भाइभा यानेकि शोधको अन्तिम प्रतिरक्षा सफल बनोस् । 

सन्दर्भसूची

एटम, नेत्र, ‘शोधको प्रक्रिया र प्रस्तुतीकरण: व्यवहारिक सुझाव’, कुञ्जिनि,  काठमाडाः साहित्य                    कुञ्ज, २०६३ ।

बन्धु, चूडामणि, अनुसन्धान तथा प्रतिवेदनलेखन, काठमाडौः रत्नक बुक्स हाउस, २०५२ ।

शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल, शोधविधि, ललितपुरः साझा प्रकाशन, २०६६ ।

Kothari, C.R, & Gaurav Garg (2014), Research Methodology, New Delhi : New age publication, 3rd Ed. 2014 .
Pant, Prem R., Social Science Research and Thesis Writing, Kathamandu: Buddha Publication, 7th Ed. 2016. 

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन