महाग्रन्थका समवेत तुलना

डा. अशोक थापा
नेपाली केन्द्रीय विभाग, त्रि.वि

    मानव भएर जसमा मानवत्वको गुण रहन्छ त्यो नै मूल्यवान कुरा हो ।यो उक्ति महाभारतसँग सम्बद्ध छ । यसको अर्थ यो हो कि महाभारतमा मान्छेलाई सत्कर्मको बाटोमा लाने उद्देश्य राखिएको छ । अर्को ठाउँमा भनिएको छ बाँसुरीको छातीमा जति सुकै छेडिएका प्वाल रहून् बजाउने सुर जान्नेले आजीवन यसको लय समातेकै हुन्छ। सत्कर्म र अभ्यासले मान्छे सफल हुने हो भन्ने भाव यसमा अन्तर्भूत देखिन्छ । यसै गरी रामयणमा भनिएको छ जिउन मात्र पर्छ जीवनमा कुनै न कुनै समय आनन्दको अनुभूति गर्न पाइन्छयानेकि जीवनमा सकारात्मक सोचका साथ अगाडि बढ्नुको विकल्प छैन । कर्मशील बन जीवनको परिभाषा यसैभित्र निहित छ भन्ने रामायण र महाभारत पठनीय प्राचीन महानतम् ग्रन्थहरू हुन् । यी दुई ग्रन्थ लेखिएको समय फरकफरक भए पनि यिनीहरूको उद्देश्य समान खालको देखिन्छ । रामायणको समय त्रेयायुत हो भने रामायणको द्वापर युग हो भनिएको छ । 

रामायणका रचनाकार बाल्मीकि हुन् जो संस्कृत महाकाविका रूपमा सुपरिचित छन् । यसमा २४ हजार श्लोक छन् । रघुवंशका राजा रामको कथा यसमा अनुबन्द गरिएको छ । सात काण्ड (अध्याय) मा विभक्त यस काव्यलाई ई.पू ६०० भन्दा अगाडिको मानिएको छ जुन बुद्ध र व्याकरणकार पाणिनिको समय भन्दा अगि हो । रामायणकै आधारमा हिन्दूहरूले रामचन्द्रलाई पुरुषोत्तम भगवान मानेको पनि सत्य हो ।  यसैगरी महाभारत हिन्दूहरूको अर्को महाकाव्य हो । हिन्दू मान्यता र पौराणिक सन्दर्भअनुसार महाभारतको रचनाकार वेदव्यासलाई मानिएको छ । यी दुवै ग्रन्थलाई साहित्यमा महाकाव्य ठानिएको छ । यद्यपि महाभारतलाई ज्यादा इतिहास ठान्नेहरू पनि छन् । रामायण र महाभारत फगत काव्यमात्र होइनन् यिनीहरू हिन्दूहरूको पवित्र र पूज्य ग्रन्थ पनि हुन् । यति महान् दुई महास्रष्टाको विशाल ग्रन्थका बीचमा तुलना गर्नु आफैमा निकै चुनौतीपूर्ण कार्य हो जुन समीक्षक डा. देवीप्रसाद सुवेदीले गरेका छन् यसको शीर्षक दिइएको छ वाल्मीकी र व्यास तुलनात्मक अनशीलन। वाल्मीकिकृत रामायण र व्यासकृत महाभारत हिन्दूहरूको प्राचीन ग्रन्थमात्र नभएर ज्ञानका विशालतम् भण्डार भएका विपुल पाठ पनि हुन् । आधुनिकताको नाममा आजका पुस्ताले हाम्रो धर्म, संस्कार, समाजका मौलिकता बिर्सिंदै गएको सन्दर्भमा सुवेदीको यो पुस्तकलाई एउटा प्रशंसनीय र स्तुत्य ज्ञानसामग्रीका रूपमा हेर्न सकिन्छ जुन युवा पुस्ताले पढ्नैपर्छ । आजको पुस्ताले हाम्रो प्राचीन आर्य सभ्यताका उन्नत ज्ञान, विज्ञान, धर्म, समाज, चिकित्सा आदिको पृष्ठभूमि बुझेको छैन र बुझ्न अभ्यासरत पनि छैनन् यिनीहरूलाई एकपटक भने पनि यस प्रकृतिका ग्रन्थहरूको पाठ गराउने हो भने निकै ठूलो कार्य हुनेछ । यसले उनीहरूलाई सकारात्मक सोच, सत्कर्म, आध्यात्मको गतिलो पाठ सिकाउने छ । यस्तो गहन प्रयासका लागि समीक्षक सुवेदीलाई आगामी पुस्ताका व्यक्तिले कृतज्ञता व्यक्त गर्नैपर्छ ।

चार परिच्छेदमा विभक्त प्रस्तुत ग्रन्थको पहिलो परिच्छेदमा वाल्मीकि र व्यास तथा रामायण र महाभारतको पृष्ठभूमि र विषयको उठान गरिएको छ । यो प्रस्तुत ग्रन्थको पूर्वपीठिकाको रूपमा रहेको छ । यसमा वैदिककालीन साहित्यको पृष्ठीभूमिलाई उल्लेख गरिएको छ । यसका साथै पूर्वीय (संस्कृत) वाङ्मयको सङ्क्षिप्त ऐतिहासिक अनुरेखाङ्कन गर्दै रामायण र महाभारतको पृष्ठभूमि केकसरी आरम्भ भएको थियो भन्ने कुरा यस परिच्छेदमा उल्लेख गरिएको छ । यो परिच्छेद प्रस्तुत ग्रन्थको थालनी वा प्रस्तावनाको रूपमा आएको छ । यस परिच्छेदको निष्कर्षमा रामायण र महाभारतको समय ई.पू ५०० तिर रहेको कुरा उल्लेख गरिएको छ । यो परिच्छेद प्रस्तुत ग्रन्थको पृष्ठभूमिगत चिनारी हो ।

रामायणका रचनाकार वाल्मीकिको परिचयसहित यस ग्रन्थको दोस्रो परिच्छेद आरम्भ भएको छ । उनलाई काव्यरचनाको प्रेरणा कहाँबाट केकसरी प्राप्त भएको थियो र उनको वासस्थान वा आश्रम कहाँ अवस्थित थियो । वाल्मीकिले लेखनका लागि रामकथा नै किन छनोट गरे ? रामायणको रचनागर्भ वा स्रोत के रहेको थियो ? रामायणको रचनाकाल, यसको अन्य ग्रन्थसँग सम्बन्ध, रामायणका अन्य संस्करणसँग अन्तर्संबन्धका बारेमा पनि यस परिच्छेदमा चर्चा गरिएको छ । रामायणको रचनाभन्दा अगाडि अन्य पुराणमा रामका कहानी केकसरी प्रचलनमा रहेका थिए? एसियाका अन्य देशमा रामायण र रामकथाहरू केकसरी प्रख्यात रहेका छन्, रामायणको परिवेश, नारी, युद्धकलालगायत रामायणका मूल पात्र (चरित्र) राम, सीता, रावण, लक्ष्मण, विभीषण, हनुमान् आदिका विषयमा पनि यस परिच्छेदमा सपाट विमर्श गरिएको छ । काव्यिक मूल्यका दृष्टिले रामायण र यसमा प्रयुक्त प्रकृति, संस्कृति साहित्यमा पछिल्ला कविहरूमा वाल्मीकि रामयणको प्रभाव केकसरी परेको थियो भन्दै वाल्मीकि र कालिदासका विषयमा तुलनात्मक अध्ययन सय परिच्छेदमा गरिएको छ ।

चरित्रप्रधान महाकाव्य रामायणमा वर्णन गरिएको जस्तो आदर्श चरित्र, परिवार, समाज, राज्यले आजको समाजलाई थोरै भने पनि मार्गदर्शन गर्न आवश्यक छ भन्ने भाव यस परिच्छेदमा व्यक्त भएको छ । यस प्रकृतिका ग्रन्थको उद्देश्य आदर्श समाजनिर्माण रहेको छ । आदर्श पतिपत्नी, बाबुआमा, दाजुभाइका बीचमा सिर्जना हुँदै गरेको दरारलाई मेटाउन यो ग्रन्थ एउटा दृष्टान्त बन्न सकोस् भन्ने चाहना यस खण्डमा देखिन्छ । 

प्रस्तुत ग्रन्थको तेस्रो परिच्छेदमा महाभारतका रचनाकार व्यास (कृष्ण दैपायन) को परिचयबाट थालनी गरिएको छ । व्यास र तत्कालीन श्रुतीपरम्पराका बारेमा चर्चा गर्दै उनको जन्म, बाह्य स्वरूप, परिवार, समय, आश्रम, व्यास र शिष्यपरम्परा, व्यास र पुराणका कथाहरू, महाभारत सिर्जनाको थालनी, नामकरण, युद्धकाल, रचनाकाल, यसको संरचना र स्वरूपको बारेमा उल्लेख गरिएको छ । यसका साथै महाभारतकालीन संस्कृति, देवीदेवता, यज्ञयागादि, संस्कार, नियोगविधि, आश्रम व्यवस्था, खानपिन, वस्त्र, सङ्गीत नृत्य, स्थापत्य कला, साइत माङ्गलिक कार्य, द्युत, महाभारतीय भूगोल, भारतीय युद्ध, कृष्णको व्यक्तित्व, काव्यिक संरचनाका दृष्टिले महाभारत, महाभारतीय चिन्तनपरम्परा, भागवत्गिता, प्रमुख महाभारतीय चरित्र युधिष्ठिर, अर्जुन, भीमसेन, द्रौपदी, दुर्योधन, भीष्म, द्रोण, कर्ण, धृतराष्ट्र, विदुर, गान्धारी, कुन्ती आदिका बारेमा पनि यस परिच्छेदमा उल्लेख गरिएको छ ।

यदि युद्धलाई समाप्तस नगर्ने हो भने युद्धले मानव समुदायलाई सिध्याउँछ भन्ने भाव यस परिच्छेदमा प्रस्तुत भएको देखिन्छ । महाभारतमा सत् र असत् दुवै पक्षको द्वन्द्व देखाएर सत् पक्षको विजयलाई सुनिश्चित गर्न खोजिएको छ । समुन्नत र समृद्ध समाजनिर्माणको चाहना महाभारतमा राखिएको कुरा यस परिच्छेदमा सङ्केत गरिएको छ ।

परिच्छेद चार प्रस्तुत ग्रन्थको उपसंहारका रूपमा रहेको छ । उपसंहार भनिए पनि यो नै प्रस्तुत ग्रन्थको प्रमुख केन्द्र हो । पुस्तकको शीर्षकमा भनिएजस्तै बाल्मीकि र व्यासको तुलनात्मक अनुशीलन यस परिच्छेदले ओगटेको छ । तुलनाको आधार दुवै काव्यकालीन समयको पृष्ठभूमि, भूगोल तथा साधनाभूमि, दुवै कृतिका कथानकगत पृष्ठभूमि, चारित्रिक विशेषता, कलासंस्कृति पक्ष, सामाजिक संरचना, सामरिक, साहित्यसिर्जना कौशल, नायक राम र कृष्णको तुलना र दुवै काव्यको वैचारिक चिन्तनलाई मानिएको छ । लोककल्याण, समाज सुधार, नैतिक मूल्यको स्थापना गर्दै असत्यमाथि सत्यको विजय राख्नु दुवै ग्रन्थको प्रमुख लक्ष्य रहेको निष्कर्ष निकालिएको छ । प्रस्तुत ग्रन्थको प्रत्यक परिच्छेदपछि पादटिप्पणी र पुस्तकको अन्त्यमा सन्दर्भग्रन्थ सूची दिइएको छ । पुस्तकको ढाँचा अनुसन्धान पद्धति अनुकूल देखिन्छ ।

रामायण र महाभारतमा रहेको समानताका विषयमा पनि यस पुस्तकमा चर्चा गरिएको छ । बाल्मीकि र व्यास नभएको भए हिन्दू धर्मका दुई महान ग्रन्थ रामायण र महाभारत यस रूपमा हाम्रो समाजमा रहने थिएनन् । रामायण र महाभारत हिन्दू समुदायको मात्र नभएर संसारभरकै ठूला अनि प्रसिद्ध ग्रन्थहरू हुन् । यस्ता विपुल ग्रन्थका सर्जक र तिनको सिर्जनालाई मनन गरी धर्म र ज्ञानको दायरालाई विस्तार गर्ने मामिलामा हामी चुकिरहेका छौँ । यसका आआफ्नै तर्क होलान् । यी पठनका लागि जटिल पनि छन् । स्थानीय भाषामा सरलीकृत संस्करण उपलब्ध छैनन् । संस्कृतको ज्ञान नभएका लगि फलामे चिउरा बन्ने कुरा पनि उत्तिकै छ । यस्तै जटिलतालाई सरल बनाउने कार्यमा डा. सुवेदीको यस ग्रन्थले सरल तरिकाले गहन विषयलाई प्रस्तुत गरिदिएर पाठकका लागि गुन लगाएका छन् ।

यी दुई ग्रन्थका समानताका विषयमा पनि यस ग्रन्थमा चर्चा गरिएको छ । रामायणमा त्रेता युगका भगवान विष्णुको एक अवतार पुरुषोत्तम रामको यावत पक्षको चर्चा गरिएको छ भने महाभारतमा द्वापर युगका उनै विष्णुको कृष्ण अवतारका बारेमा उल्लेख गरिएको छ । जबजब पृथ्वीमा पाप कर्महरूको वृद्धि हुँदै जान्छ तबतब विविध रूप र अवतारमा विष्णुले जन्म लिइरहन्छन् । एउटै उद्देश्यमा विविध अवतार लिएको कथा भएकाले यी दुई महान ग्रन्थका बीचमा समानता रहेको कुरा प्रस्तुत ग्रन्थमा उल्लेख छ ।

रामायणका वाली र महाभारतका जारा उही तर फरक भूमिकामा मात्र आएको कुरा उल्लेख गरिएको छ । यसै गरी रावण र कुम्भकर्णका बारेमा रामायणमा जुन रूपमा व्याख्या गरिएको छ महभारतमा शिशुपाल र दन्तबक्रको भूमिकालाई उस्तै रूपमा प्रस्तुत गरिएको कुरा पनि उल्लेख छ । हनुमान त्रेता युगमा रामभक्त छन् भने द्वापर युगमा अर्जुन र भीमलाई ज्ञान दिन पनि हनुमान उपस्थित छन् । यी यावत समानतालाई समीक्षक सुवेदीले यस पुस्तकमा प्रस्तुत गरेका छन् ।

रामायण र महाभारतका विषयमा यावत मिथहरू प्रचलित छन् । यी दुवै काव्यका सिर्जन, लेखनसमय, विचारमा रहेका विरोधाभाष, एउटै कथासँग मिल्दा थुप्रै उस्तैउस्तै उपकथाहरू पनि प्रचलित छन् । महाभारतका जय, भारत जस्ता विविध संस्करण र रूपहरू छन् । दुवै ग्रन्थका श्लोक सङख््या, रचनासमयजस्ता विषयमा पनि व्यापक मतभेदहरू रहेका छन् । ती कुराको ज्ञान गराउनका लागि यस ग्रन्थ प्रभावकारी स्रोत सामग्री बन्नसक्छ । स्थानीय भाषामा यति गहन विषय सार्वजनिक हुनु निकै उल्लेखन कार्य रहेको छ ।

आर्य सभ्यताको पृष्ठभूमिमा सिर्जना भएका महाग्रन्थको सटीक र सरल व्याख्या गरिदिएर सुवेदीले भारत वर्षीय कालखण्डको सांस्कृतिक, दार्शनिक, साहित्यिक पृष्ठभूमिलाई सर्वसाधरण पाठक (जो संस्कृतमा पहुँच राख्दैनन्) लाई गहन ज्ञानहस्तान्तरण गरेका छन् । यति गहन ज्ञान भण्डार भएका ग्रन्थ केकसरी भावी पुस्तासमक्ष पुग्छ ? यो प्रश्नसको जवाफ बनेको छ सुवेदीको यो पुस्तक ।

झट्ट शीर्षक हेर्दा दुई स्रस्टा वाल्मीकि र व्यासको व्यक्तिगत अनुशीलन वा तुलनाजस्तो बुझिए पनि यो उनीहरूको जीवनको तुलना होइन बरु उनीहरूद्वरा सिर्जित महान् ग्रन्थहरूको सूक्ष्म तुलना यस ग्रन्थमा छ । समीक्षक डा. सुवेदीले भनेझैँ यस पुस्तकमा बाल्मीकि र व्यास जस्ता कालजयी महर्षिहरूको कालक्रमिक जीवनलीलाई भन्दा तिनका बृहत्तर कार्यहरूलाई विशेष महत्त्वका साथ हेरिएको छ ।प्रस्तुत ग्रन्थबाट तत्कालीन आर्य समाजको समयलाई ऐनामा जस्तै प्रस्ट हेर्न सकिने भएको छ ।

दुवै ग्रन्थको अन्तिम उद्देश्य समाजलाई सुसंस्कृत र आदर्श व्यक्तिको निर्माण रहेकाले आगामी पुस्ताले वाल्मीकि र व्यासका रचनामार्फत् सभ्य समाजनिर्माणमा थोरै भने पनि सहयोग पुग्यो भने सुवेदी जस्ता विद्वान् व्यक्तिको पसिनाले सार्थक रूप ग्रहण गर्ने छ आगामी पुस्ता थोरै भए पनि नैतिक आदर्शको मार्गमा हिड्ने छन् ।    

सुवेदीको प्रस्तुत ग्रन्थले रामायण र महाभारतको मात्र तुलना गरेको छैन आर्यसभ्यताको सतत् परम्परामा रहेको व्यापक ज्ञान आगामी पुस्तालाई हस्तान्तरण गरेका छन् त्यो पनि आफ्नै भाषामा । आकारका दृष्टिले ग्रिसेली महाकाव्य इलियडभन्दा आठ गुना ठूलो छ भनिन्छ महाभारत र २४ हजरा श्लोक रहेको रामायणको तुलनात्मक अध्ययन हुनु आफैमा नौलो र जटिल कार्य हुँदै हो ।

रामायण महाभारतको प्रभाव आर्यकालीन ज्ञानविज्ञान समाज आदि सबै क्षेत्रमा भएको छ । भनाइ नै छ महाभारतमा जुन कुरा छैन सो यस ब्रह्माण्डमा पनि छैन । यसको मतलब यो हो कि यो ग्रन्थ ज्ञानको महासागर हो । यस्तो महासागरमय ज्ञानलाई सहजीकरण गरी सुवेदीले सर्वसाधण जनता समक्ष ल्याउनु निकै उल्लेखनीय कुरा हो । ज्ञान सम्प्रेषण कर्मकाण्ड मात्र होइन साहित्य रचनाका सवालमा पनि यी ग्रन्थ आदीस्रोत ठानिएका छन् ।

प्राचीन विशालतम् दुई स्रस्टा र तिनका विपुल कृतिलाई तुलना गरिनु एउटा प्रायः असम्भव जस्तै कार्य सफलतापूर्वक गरिदिनु भएकोमा सुवेदीलाई साधुवाद भन्नै पर्छ । त्यतिले मात्र पुग्दैन यस प्रकृतिको गहन तुलनात्मक अध्ययन त्यो पनि आर्य समाजका विशालतम् ग्रन्थलाई साङ्गोपाङ्ग रूपमा गर्नु नेपाली साहित्य क्षेत्रमा एक ऐतिहासिक डेग बन्न सक्नेमा पूर्ण विश्वास्त हुन सकिन्छ । यो महाग्रन्थको समवेत तुलना हो । यो लेखकले भूमिकामा भनेजस्तो अग्ला मानिसका निम्ति मात्र उपलब्ध हुने फलमा पुड्को मानिसको प्रयासनभएर धीर स्वभावका ज्ञानले अग्लिएका व्यक्तिबाट मात्र सम्भव हुने दुर्लभ ज्ञान सामग्रीको बिस्कुन हो ।  


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन