नाट्यक्षेत्रको दैलाका बत्ती : सत्यमोहन

 

डा. अशोक थापा
नेपाली केन्द्रीय विभाग, त्रि.वि. 

    नाटक संस्कृतिमै फुल्ने हो झ्याङ्गिने हो । संसारको नाट्यपरम्परा सांस्कृतिक चेतनाले अभिसिञ्चित पनि छ । नाटकमा संस्कृति झल्कनु र सांस्कृतिक बिम्बहरू नाटकीय हुनु यो साँच्चै रोमाञ्चक पक्ष पनि छँदै छ । वस्तु र छायाजस्तै नाटक र संस्कृति सन्निकट देखिन्छन् । 

सिर्जनचेतना जोकोहीमा अङ्कुराउने कुरा होइन । जहाँतहीँ पल्लवित हुँदैन यो । यद्यपि एक सांस्कृतिक अभियन्ताको हृदयमा अङ्कुरित साहित्य पक्कै मौलिक हुन्छ, रसिलो हुन्छ । यो त पूरै हिमशिलाबाट बगेको जलराशिजस्तै र पवित्र जलकुण्डजस्तै हुन्छ । पाठकलाई आल्हादित बनाउन सक्ने, भावकलाई तन्मयमा डुबाउने सामथ्र्य भएका एक सांस्कृतिक अभियन्ताको चर्चा हुँदैछ यहाँ उनी हुन् नाट्यक्षेत्रका दैलाको बत्तीशताब्दीपुरुष सत्यमोहन जोशी (१९७७, ललितपुर) ।

साहित्यकारले लेख्ने भनेको समाज हो । अनुभव र जीवन भोगाइ हो । जीवन के कुराले प्रभावित हुन्छ ? पक्कै पनि समाज, संस्कार र सरसङ्गतले स्रस्टाको पूरा जीवनमा अनुपम छाप छोडेको हुनुपर्छ । सायद यस्तै अमीट छाप कोरिएको हुनुपर्छ जोशीको अन्तरदृदयमा पनि । बुझ्नेका लागि श्रीखण्डभनेजस्तै भयो उनका लागि पनि । उनले श्रीखण्डले चिने । महत्वलाई बुझे । सांस्कृतिक सम्पदाले घेरिएको पाटनको गल्ली साँच्चै सांस्कृतिक सम्पदामात्र नभए श्रीखण्डमय भयो जोशीका लागि । एउटा अनुपम सम्पदालाई सिरानी हालेर रजगज गरेका जोशी, प्रत्येक पाइला ढुङ्गेकला टेकेका जोशी, उठ्नासाथ ऐतिहासिक कृष्ण मन्दिरका भित्ताहरूका काष्ठकला पढेका जोशी । समग्रमा सांस्कृतिक छटामा लडिबुडीमात्र खेलेनन् उनले संस्कार र संस्कृतिको मूल्यबोध पनि गरे र त्यसलाई थप चमकदार बनाउने अभियानको नेतृत्व नै गरे र गरिरहे ।

हरेक पक्षको स्रोत हुन्छ । साहित्यको पनि आदीस्रोतबाट प्रेरित बन्छ । आफ्नो भाषाले, प्रेरणाले, आफू बाँचेको संस्कारले, प्रकृतिले, सम्पदाले अनि आफूले फेर्ने वायुमण्डलले प्रभाव परेको स्वीकार्छन् जोशी । आमाको काखमा बोलेको, सिकेको भाषाप्रतिको मोह सबैलाई हुने नै भयो । त्यसलै जोशी पनि नेपाल भाषा (नेवारी) प्रति मोहित भए । साहित्यसिर्जनाप्रति सम्मोहित भए र त्यसको रसमा डुबे । नाटकका दृश्यमा कला भरे, संवादमा मिथ र भेषभूषामा संस्कारकको छाया पर्गेल्न सफल भए । त्यसैले नेपाल र नेपाली भाषा दुवैमा प्रतिबिम्बित भएर उजिलिए । सशक्त रूपमा प्रदर्शित भए उनका नाटक मिथकीय बने र सांस्कृतिक तस्वीर देखाउन सफल बने । खास गरी दुई स्रोतबाट उनी नाट्यलेखक बने । पहिलो सांस्कृतिकमिथ र दोस्रो मौलिक सामाजिक आयामबाट । मातृभाषा र सम्पर्क भाषा दुवैमा उत्तिकै समानान्तर तरिकाले साहित्य हरफमा बगिरहे उनी । बहुभाषामा कलम चलाउने व्यक्ति निकै कम छन् हाम्रो साहित्यिक समुदायमा । ती थोरै स्रस्टा मध्येमा पर्न सफल भए जोशी ।

दरबार स्कुलमा कलाकारहरू डाइलग बोलिरहेका थिए । मुकुन्द इन्दिरानाटकको रिहर्सल चलिरहेको थियो । निर्देशक बालकृष्ण सम थिए । लेखक पनि उनै थिए । कक्षा ६ मा पढ्ने एउटा केटोले त्यो जमघट र भेटघाटलाई हेर्न मन गरे तर उनलाई त्यो मौका मिलेन । निशेध गरियो उनलाई । नाटक प्रदर्शनको गोपनीयता र कलाकारलाई बाधा पुग्छ भनेर त्यो बन्देज लगाइएको हुनुपर्छ । अन्ततः त्यस नाटकलाई प्रदर्शनमा लगियो । ती स्कुले केटाले पनि पहिलो पटक नेपाली मौलीक नाटक मुकुन्द इन्दिरालाई मञ्चमा हेर्ने मौका पाए । तिनै स्कुले केटो अरू कोही नभएर नेपाली साहित्यका शताब्दी पुरुष जोशी थिए । जसले दर्जन बढी नाटक सिर्जना गरे ।

प्रेरणा र प्रभाव निकै बहुमूल्य हुन्छ सायद । यसबाट के ज्ञात हुन्छ भने जोशीले नाटकलाई माया गरे । नाटक हेरे । नाटक लेखे । नाटक र संस्कृति अनि मिथका बीचमा गहिरो सम्बन्धको रसायन बुझै । पाटनको सांस्कृतिक तामझाममा शताब्दी बिताएका जोशीले कार्तिक नाच, हरिसिद्धि नाच, भीमसेन जात्रा, लाखे नाच नाटकीय र प्रदर्शनयोग्य छन् भन्ने प्रस्ट बुझे । समग्रमा नाटकको भाष्य बुझे । जोशीले आफ्ना संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने सुसंस्कार बुझे । समयले जोशीलाई टिकाइ रह्यो एउटा साहित्यको सतीसालजस्तै । नेपाली जनताले उनलाई सम्मानसहित सम्झिइराख्यो । संस्कृतिविद्, नाटककार अनि अन्वेषकका रूपमा ।

नेपाली स्रस्टाको एउटा साझा स्वभाव हो विषयगत विविधता पाँजिनु । फैलिनु । जोशी पनि एउटा व्यापक आयाममा फैलिए मेची, काली र कर्नालीको आयामजस्तै । जोशी कवि बने । लोकगीतका सङ्कलक बन्न पनि भ्याए । नाटकका पात्रसँग कुराकानी गरे । आफूले भोगेका देखेका पात्रलाई आख्यानीकरण गरे कथामा, कलम चलाइ रहे, प्रचीन मिथको बिमिथीकरण गरिरहे,  शताब्दीको उत्तरजीवन कालसम्म पनि ।

उनी निरन्तर लेखनकर्ममै जोतिए । उनको कर्म आनुवाद पनि हो । सम्पादन कर्ममा पनि उनले हातहाले । बालसाहित्य सर्जक बनेर आजका बच्चा भोलिका समाजका खम्बा हुन् भन्दै बालहृदयमा पुग्न पनि भ्याए । उनी नेपाल भाषामा भन्दा नेपाली भाषाका नाटककारकार रूपमा बढी चर्चित भए । उनले सामाजिक विषयका सिपाही र रैती (२०२७), दैलाको बत्ती (२०२८), फर्केर हेर्दा (२०३३), जब घाम लाग्छ (२०३४), सपना ब्यूँझन्छ (२०३५), मृत्यु एक प्रश्न (२०४२) जस्ता नाटकहरू सिर्जना गरे । बाघभैरव (२०६४), सुनकेशरी मैयाँ (२०६९), महर्षि याज्ञवल्क्य (२०६९), मजिपालाखे (२०७१) जस्ता सांस्कृतिक मिथकीय नाटक पनि सिर्जना गरे जो समयसमयमा मञ्चिन पनि भए । नेपाल भाषामा गौतम बुद्ध (नेसं १०७०), सिद्धिदास (१०७५), न्हय्दँ लिपा (१०९१), बैद्याबाः (१०९१), म्हगसय् नाप लाः म्ह (१११९), आजुद्य (११२८), चारुमती (११२८), बुद्धिमती घोँच्वलेचा (११२८), लाखे क्वथैगु (११३१) जस्ता नाटक सार्वजनिक भए । 

सिर्जित सबै नाटक मञ्चमा पुग्दैनन् । मञ्च चढे पनि चर्चित बन्दैनन् । जोशीको त्यस्तो भएन । उनका नाटक पञ्चायत कालमा नै निकै लोकप्रिय भए रङ्गमञ्चमा । उनको सिपाही र रैती (२०२७), दैलाको बत्ती (२०२८) जब घाम लाग्छ (२०३४) मृत्यु एक प्रश्न (२०४२) आदि नाटक त्यस समयमा प्रकाशित एवं चर्चित मञ्चित नाटक हुन् ।

उनको फर्केर हेर्दाशीर्षकको नाटक २०३३ मा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्रदर्शन भएर चर्चित बन्यो । त्यो समय अमूर्त मनोवैज्ञानिक नाटकको दबदवा भएको कालखण्ड थियो । विजय मल्ल, गोविन्द गोठालेजस्ता नाट्यहस्ती यही क्षेत्रमा थिए । रङ्गमञ्चमा दर्शक तान्न भनी ती नाटकहरू सही सावित भएनन् । यसै कारणले तत्कालीन एकेडेमीले नाटकसम्बन्धी थप कार्यक्रम बनाउन पनि सकिरहेको थिएन । त्यसै समयमा जोशी एकेडेमीको सदस्य सचिव भए । विजय मल्ल आदिले लेखेर प्रदर्शन गरेका नाटकहरू फाइदामा जाने त कुरै छाडौँ उल्टो घाटामा गए । उपकुलपतिबाट दर्शकले रुचाउने, सरस नाटक सिर्जना गर्नु प¥यो  भन्ने सल्लाह दिनु भयो । त्यसैका लागि जोशीले नाटक लेखे र फर्केर हेर्दाजस्तो नाटकको सिर्जना भएको कुरा जोशी सुनाउँछन् । संस्थागत रूपमै प्रज्ञा प्रतिष्ठातनमा नाटक महोत्सवको आयोजना गर्ने परम्पराको श्रीगणेश पनि जोशीले नै गरे । हरेक सालको बैशाख १ देखि नाटक महोत्सव सुरु हुन्छ भन्ने परम्पाजस्तै बसाले जोशीले ।

सत्यमोहन जोशी के स्वीकार्छन् भने तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका कुलपति सूर्यविक्रम ज्ञवालीको करबलले उनले नाटक लेख्ने निर्णय गरेका हुन् । त्यसपछि उनले नाटकलेखनका लागि कडा अभ्यास गर्न थाले । फलस्वरूप उनले फर्केर हेर्दा पूर्णाङ्की नाटक लेखे । यस विषयमा जोशी भन्दछन्कुलपति ज्ञवालीको आग्रहमा मैले नाटक लेखेँ तर उहाँले भनेको भन्दा पृथक् विषयको चयन मैले गरेको थिएँ । यद्यपि मेरो नाटक फर्केर हेर्दाचाहिँ त्यस समयकको चर्चित नाटक अनि देउराली रुन्छजस्तो खालको भएन ।

नाटक लेखन र मञ्चनका सन्दर्भमा जोशीले फर्केर हेर्दा नाटक लेखेपछि उनले उक्त नाटक कुलपति ज्ञवालीलाई देखाए । जोशीको मिहिनेत, सर्मपण र निष्ठाका कारण ज्ञवाली खुसी भए । जोशीले सो नाटकका सन्दर्भमा प्रज्ञाप्रतिष्ठानमा कार्यरत सङ्गीतकार अम्बर गुरुङसँग पनि कुरा गरे । त्यसपछि गुरुङको पनि यस विषयमा सकारात्मक सल्लाह मिल्यो । गुरुङकै सङ्गीतबाट नाटक फर्केर हेर्दा मञ्चन हुने पक्कापक्की भयो । अनि कुलपति सूर्य्विक्रम ज्ञवाली, उपकुलपति लैनसिंह वाङ्गदेल र सदस्यसचिव सत्यमोहन जोशी यस कार्यक्रमको लागि बजेट निकासामा लागे । सुरुमा एक हप्ताका लागि भनी मञ्चन सुरु गरिएको प्रस्तुत नाटकले यति धेरै दर्शक पायो कि सात दिनसम्म नाटक हेर्न जाने दर्शकहरूलाई टिकट काट्न मारामार पर्न गयो । यसका अतिरिक्त नाटक ४२ दिनसम्म सफलतापूर्वक चल्यो । नाटकले जताततैबाट चर्चा बटुल्यो । यही चर्चाका कारण लेखक सत्यमोहन जोशी, नाटक निर्देशक प्रचण्ड मल्ल र सङ्गीत निर्देशक अम्बर गुरुङ हर्षले गद्गद् भए । नाटकले सोचेको भन्दा ज्यादै धेरै पैसा कमायो । त्यसैले सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका कुलपति सूर्यविक्रम ज्ञवालीको उपस्थितिमा प्रज्ञासभासमक्ष एउटा प्रस्ताव राखेकुलपतिज्यूको मोटर अत्यन्तै थोत्रो भयो । त्यो मोटर हेर्दा पनि साह्रै घिनलाग्दो देखिन्छ । त्यस मोटरलाई ह्यान्डिल घुमाएर स्टार्ट गर्न पनि धेरै समय लाग्छ र कहिलेकाहीँ स्टार्ट नै पनि हुँदैन । साथै गुड्दागुड्दै पनि त्यो मोटर रोकिन्छ । कुलपतिजस्तो प्रज्ञामूर्ति चढ्नका लागि त्यो मोटर सुहाउँदैन । त्यसैले फर्केर हेर्दाबाट प्राप्त केही रकमले एउटा मोटर पनि किनौँ । यसरी टिकटबाट उठेको पैसाले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई नयाँ कोरियन कार किनिदिएको प्रसङ्ग ठट्यौली पारामा सुनाउँछन् जोशी ।

सत्यमोहन जोशीले व्यक्तिगत रूपमा नाटक त सिर्जना गरे उत्तिकै रूपमा संस्थागत लगावलाई पनि छोडेनन् । प्रतिष्ठानको सदस्य सचिव भएपछि उनले गाईजात्रा महोत्सवको आरम्भ गरे । केशवराज पिँडाली, यादव खरेल, रामकुमार पाण्डेले हास्यव्यङ्ग्य सुनाए । मदनकृष्ण श्रेष्ठे र हरिवंश आचार्यले पनि त्यस गाईजात्रामा सहभागिता जनाएबाट पछाडि फर्के हेर्न परेन । उक्त प्रहसनमा हानिएको व्यङ्ग्य बाँणले दरबारमा पनि धक्का प¥यो । दरबारबाट कार्यक्रम रोक्ने निर्देशन आयो तर जोशी त्यसबाट टसकोमस् नभई कार्यक्रमलाई मूर्त रूप दिएरै छाडे ।

त्यसो त जोशीका नाटक आजको समयमा पनि उत्तिकै चर्चामा छन् । उनको नाटक बाघ भैरव’ (२०६४) गुरुकुल आरोहण, ‘सुनकेसरी मैयाँ’ (२०६९) मण्डलता थियटर, ‘चारुमती’ (२०७०) थियटर भिलेजले मञ्चन गराइसकेको छ । सत्यमोहन जोशीद्वारा लिखित मजिपालाखे२०७० मा घिमिरे युवराजद्वारा निर्देशित शिल्पी नाट्य समुहले नेपालका साथै भारतको कलकत्ता स्थित व्रत्याजोन थिएटरले आयोजना गरिएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन भएर चर्चित बन्यो । उनको धोंच्वलेचानेवारी लोककथामा आधारित सङ्गीत नाटक हो जुन २०७१ मा शिल्पी थियटरमै मञ्चिन भयो । यसको निर्देशन पशुपति राईले  गरेकी थिइन् ।

यस्तो सम्म पनि भयो एकै साल जोशीका चारचार नाटक लगालग मञ्चित पनि भए । सन् २०१३ मा शिल्पी थियटरले मजिपालाखे, मण्डला थियटरले सुनकेशरी (बङ्गला देश लगायतका ठाउँमा प्रदर्शन गरेको), थियटर भिलेजले चारुमती (राष्ट्रपतिबाट समेत अवलोकन भएको) र बुढानिलकण्ठ स्कुलमा मृत्यु एक प्रश्नसमेत मञ्चित भयो । यसको अर्थ हुन्छ आजको पुस्ताले पनि जोशीका नाटक उत्तिकै रुचाएका छन् । 

राष्ट्रिय बिम्ब र ऐतिहासिक चित्रको नाटकीकरण गरिएका जोशीका नाटकले नेपालमात्र होइन देशको सीमाना नागिसकेको छ । भारतमा मञ्चन भएको सुनकेशरी नाटक साँच्चै नेपाली लोकनाटकको स्वरूपमा छ । नाटक चारुमतीनेपाल र भारत बिचको मैत्री सम्बन्धको कडी स्वरूप लेखिएको नाट्यकृति हो भन्ने कुरा जोशी आफैँ स्वीकार्छन् । यसमा भारतका राजा अशोककी छोरी चारुमतीलाई नेपाली ठिटो देवपाललाई दिइएको र चारुमतीको नाममा चारुमती विहार र देवपालको नाममा देपथ बनेको प्रसङ्ग उल्लेख भएको हर्षित मुद्रामा स्वीकार्छन् जोशी । यसैगरी जोशी सुनकेशरी नाटकको रचना गर्भ सुनाउँदै भन्छन् म आफैँ नेपाली भाषाको व्युत्पत्ति थलो सिञ्जा पुगेको थिएँ र साथमा टि.भी., सञ्चारकर्मी पनि लगेको थिएँ । हामी बिचको सुनकेशरीको कथा र त्यहाँको कथामा फरक छ । त्यहाँको सुनकेशरी मैयाँको कहानीमा मैयाँलाई छप्पन लामाले अपहरण गरेर लैजान्छ । जहाँ मामाचेला र फुपूचेलीको कथा पाइन्छ । यो द्वन्द्वमा आधारित लोककथात्मक नाटक हो ।

जोशीले मजिपालाखेनाटकको रचनागर्भ सुनाउँदै भन्छन् मजिपालाखे नेवारी संस्कृतिसँग सम्बद्ध नाटक हो । ललितपुर जिल्लाको जैसिदेवल भन्ने ठाउँमा एउटा राक्षसले किसानीको छोरीलाई अपहरण गरेर लगेको कथा छ । किसानले पछि आफ्नी छोरीको पतिलाई घरज्वाइँका रूपमा राखेको र घरै समेत बनाइदिएको कुरा पनि जोशीले बताएका छन् । आज पनि त्यो लाखेको घर रहेको कुरा उनी बताउँछन् । जोशीले जैसिदेवलमा रहेको मजिपा लाखेसँगको मिथलाई प्रस्ट्याउने क्रममा जङ्गबहादुरको कथालाई समेत जोड्छन् । जङ्गबहादुरको सुरासुन्दरीको प्रसङ्गको सम्झना पनि उनले गरेका छन् । जङ्गबहादुरले लाखे अजालाई भाकल गरेको सन्दर्भ पनि उनले सुनाए । हिजोआज पनि टोलछिमेकमा कोही केटाकेटी बिरामी परे भने लाखे अजाको पूजाआजा गरी उनलाई सम्मान गर्ने प्रचलनसमेत रही आएको जानकारी पनि दिएका छन् । जङ्गबहादुर बेलायत यात्रा गएको बेलामा लन्डन पुग्नैलाग्दा आफू चढेको जहाज आँधीबेहरीको कारण डुब्न लागेको बेला नेपालको (पाटनको) लाखे आजुलाई सम्झेको र म बाँच्न सफल भएँ भने फलस्वरूप लाखे आजुको समीपमा केही उपहार टक्र्याउँछु भनी उल्लेख गरेको सन्दर्भलाई समेत निकै रोचक पारामा जोशीले बताए । संयोगवश आफू बाँचेपछि जङ्गबहादुर आफ्ना भाइ धीरशमशेरलाई भनी लाखे आजुलाई उपहार दिन भनिएको र धीरशमशेरले चारवटा हीरा उपहार स्वरूप दिएको प्रसङ्ग सुनाए । यी सबै प्रसङ्ग जोशीको मजिपालाखे नाटकमा उल्लेख गरेका  छन् ।

विषयवस्तुका हिसाबले जोशीका नाटक फरकफरक स्वादका छन् । जब घाम लाग्छसामाजिक विषयवस्तुको नाटक हो । शैक्षिक डिग्रीहासिल गरेपछि राविसे (राष्ट्रिय विकास सेवा) गएको समयमा एकजना छात्राले भोगेको यथार्थ कथामा यो नाटक डोरिएको छ । सुलेखा नाम गरेकी पात्रले दुर्गम गाउँमा, विद्यालयमा देखाएको अतिरिक्त क्रियाकलाप, नृत्य, कम्पोस्ट मल बनाउने विधि, खानेपानी परियोजना आदिजस्ता सकारात्मक क्रियाकलाप गरेर उत्प्रेरणामूलक सन्देश दिने मनशायका साथ यो नाटक सिर्जना भएको छ ।

जोशीको सिपाही र रैतीऐतिहासिक नाटक हो । यसमा विशेष गरी नेपाल देश सानो भएर पनि हिजो विशाल अङ्ग्रेज साम्राज्यसँग कसरी लडेको थियो भन्ने कुरा उठान गरिएको छ । राष्ट्रियता र जातीय वीरताको कुरालाई यस नाटकमा चर्चा गरिएको छ । दैलाको बत्तीउनको अर्को ऐतिहासिक नाटक हो । यसमा नेपाली वीरमात्र हुँदैनन्, स्वाभिमानी, चलाख र युद्धचतुर पनि थिए र छन् भन्ने कुरा चर्चा भएको छ । नेपाली राजा र रैतीको संयुक्त प्रयासले मात्र अगाडि बढ्ने जाति हो भन्ने भाव पनि यसमा प्रस्तुत छ ।

बाघभैरवकीर्तिपुर स्थित बाघभैरव मन्दिरको उत्पत्तिको कथासँग जोडिएको नाटक हो । यसमा ऐतिहासिक बिम्बलाई वर्तमानको सन्दर्भसँग जोडेर नाटकीकरण गरिएको छ । उनको अर्को नाटक मृत्यु एक प्रश्नविशेष गरी बालसुलभ कथालाई प्रस्तुत गरिएको नाटक हो । बालबालिकालाई जीवन, मृत्यु, सांसारिक जगतका विषयमा परिचित गराउने उद्देश्यले यो नाटक सिर्जना गरेको देखिन्छ 

जोशीको विश्वास हो रङ्गमञ्च र संस्कृतिबिच अन्योन्याश्रित सम्बन्ध रहन्छ । विदेशी नाटकलाई अनुवाद गरी प्रदर्शन गर्ने तर हाम्रो लोकसंस्कृतिमा रहेका नाटकलाई खोजी नगर्नेहरूप्रति उनी भन्छन्सधैँभरि अर्काको नाटक बोक्ने होइन हामीले हाम्रो संस्कृतिलाई छाड्नु हुँदैन । हामीसँग विषयवस्तु नै छैन भन्ने होइन । जति भने नि छन् । तर कहिलेकाहीँ हामीले अर्काको पनि देखाउनु पर्छ, अर्काको विषयमा पनि बुझ्नुपर्छ । यसो भन्दैमा सधैँ अर्काकै पछि दगुर्ने होइन । दुवैलाई समन्वयात्मक रूपमा अगाडि बढाउन सक्नुपर्छ ।

सत्यमोहन जोशी नेपाली संस्कृतिलाई नजिकबाट हेर्ने, बुझ्ने, मनन गर्ने, बटुल्ने र समाजलाई जीवित राख्न निरन्तर खट्ने स्रस्टा हुन् एक अभियन्ता हुन् । उनको व्यक्तित्वको आयाम भङ्गालिएको ब्रह्मापुत्र नदीभन्दा विशाल लाग्छ । त्यसमा एउटा आयाम नाट्यसर्जकको हो ।

कलाका विविध रूपमध्ये नाट्यकला एउटा हो भन्ने बोध प्रस्ट रूपमा जोशीमा देखिन्छ । संस्कृति र रङ्गमञ्चको सम्बन्ध घनिष्ट हुन्छ भन्ने कुरामा पनि उनी उत्तिकै विश्वस्त छन् । जोशी नेपाली नाटकक्षेत्रका एकमात्र त्यस्ता हस्ताक्षर हुन जसले बालकृष्ण सम, गोविन्द गोठाले, विजय मल्ल, श्यामदास वैष्णव, प्रचण्ड मल्ल, सरुभक्त, अशेष मल्लदेखि आजका नाटककार सुनिल पोखरेल, अभि सुवेदी लगायत युवा नाट्यकर्मीसँग पनि निरन्तर सम्पर्कमा छन् । यो हजारौँ स्रष्टा हरूमा एक दुईले पाउने सौभाग्य हो । अवसर हो ।

जोशीले जति सिर्जनाकर्मको फसल रोपे नेपाली माटोमै रोपे । नेपाली संस्कृतिमा नै सिञ्चन गरे । आफ्नो मातृभाषा, सम्पर्कभाषाको सम्मानमै काम गरे । उनका नाटकमा नेपाली संस्कार र नेपाली आत्मा अभिसिञ्चित भएकाले देशविदेशमा उनका नाटक रुचाइए । धार्मिक, सांस्कृतिक, ऐतिहासिक बिम्बहरूलाई नाटककीकरण गर्ने मामिलामा जोशी अब्बल नै देखिए ।

उनी नेपाली संस्कृतिको उत्खननकर्ताका रूपमा मात्र देखिएनन् त्यसलाई सरलीकृत तरिकाले समाजमा प्रयोग गराउने एक शताब्दी पुरुष नै बने । उनले साहित्य सिर्जेर समर्पित भइरहे समाजमा । साहित्य सम्बद्र्धनका लागि संस्थागत दृष्टिले जिम्मेबार पदमा अशीन रही अविभाकत्व निर्वाह गरिरहे । यी यावत ऐतिहासिक र गुणात्मक योगदानले उनलाई हाम्रो सिर्जना इतिहासमा सर्वाधिक सम्मान प्राप्त व्यक्तिको रूपमा स्थापित गरिकसेको छ । तीनतीन पटकको मदन पुरस्कार प्राप्त व्यक्तित्वले पनि यस कुरालाई पुस्टि गरिरहेको छ । नेपाली नाटक र रङ्गमञ्च क्षेत्रबाट उनको योगदानको चर्चा लामो समयसम्म रहिरहेने देखिन्छ । यो समय उनको दीर्घजीवनको कामना गर्ने समय पनि हो । उनले नेपाली नाटक र रङ्गक्षेत्रलाई यति उर्बर बनाएका छन् जसका कारण जोशीलाई आगामी समयमा तमाम दशकौँ दशकसम्मका पुस्ताले निरन्तर याद गर्नेछन् । सम्झने छन् । नेपाली साहित्य संस्कृति र नाट्यक्षेत्रका चम्किला दैलोको बत्तीको रूपमा ।

सन्दर्भसूची

अधिकारी, वासुदेव, (सम्पा.), शब्द संयोजन सत्यमोहन जोशी विशेषाङ्क, काठमाडौँ: वासुदेव अधिकारी, २०६९ ।

उपाध्याय, केशवप्रसाद, नेपाली नाटक र रङ्गमञ्च उद्भव र विकास, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०५९ । 

थापा, अशोक, नाट्यसमीक्षा र अन्य समालोचना, कीर्तिपुरः न्यू हिरा बुक्स इन्टरप्राइजेज, २०६५ ।

पोखरेल, रामचन्द्र, (सम्पा.), ‘जीवन नाटकीय छ, नाटकमा जीवनको प्रतिबिम्ब छरङ्गदृष्टि , पोखराः नेपाल नाट्य प्रतिष्ठान, २०७५ ।

रिजाल शिव र अन्य (सम्पा.), रङ्गमञ्चसमीक्षा, काठमाडौँ: शिल्पी थियटर, २०७० ।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ