आनन्ददेव भट्टको अनुवाद शिल्प - डा. अशोक थापा
लेखसार
प्रस्तुत लेख आनन्ददेव भट्ट (वि.सं १९९३) द्वारा अनूदित हेनरिक इब्सनको नाटक ‘जनताको शत्रु’ मा केन्द्रित छ । यस लेखमा नाटकीय अङ्गको आधारमा विश्लेषण नगरेर भट्टको नाट्यअनुवाद कलाको सरसर्ती अवलोकन गरिएको छ । भट्टका साहित्यिक योगदानका विविध (कविता, काव्य, निबन्ध, प्रबन्ध, समालोचना र अनुवाद) आयाम छन् त्यसमा पनि उनको नाट्यअनुवाद कलाको अनुसरण भएनभएको कुरा खोजी गर्नु यस लेखको मुख्य लक्ष्य रहेको छ । अध्ययनको क्रममा पाठकीय अवलोकन पद्धतिलाई ध्यानमा राखिएको छ । केही कमीकमजोरी भेटिए पनि भट्ट सफल नाट्यअनुवादक हुन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।
थालनी
आनन्ददेव भट्टले ‘जनताको शत्रु’ नर्वेका प्रसिद्ध नाटककार ‘एन इनिमिज अप द पिपल’ को नेपाली अनुवाद गरेका छन् । नाटककार इब्सेनको यो नाटक सन् १८८२ मा प्रकाशित भएको हो । इब्सेनले यस नाटकलाई उनको पछिल्लो नाटक ‘घोस्ट’को विरुद्धमा सार्वजनिक भएको आक्रोसको जवाफमा लेखेका थिए भनिएको छ । यस नाटकमा १९ औं शताब्दीमा नैतिकतामा देखिएको स्खलन र पाखण्डीपनलाई चुनौती दिइएको छ । साझा प्रकाशनबाट वि.सं. २०२० मा छापिएको अनुदित नाटक ‘जनताको शत्रु’ को अनुवाद कौशल केकस्तो छ भनी यस लेखमा निर्क्यौल निकालिएको छ ।
अनुवाद शिल्प
आनन्ददेव भट्टको अनुवाद कलाको भेउ पाउन ‘जनताको शत्रु’ पढ्नै पर्छ । आजभन्दा झन्डै ६ दशकअगाडि भट्टमा यसखालको चेतना आउनु एक आश्चर्यपूर्ण घटना हो भने त्यसभन्दा अर्को आश्चर्य उनले छनोट गरेको बुलन्द राजनीतिक मुद्दा बोक्ने नाटक इब्सनको जनताको शत्रु हो । युरोपेली नाट्यपरम्परामा नयाँ राजमार्ग बनाउन सक्ने इब्सनलाई नेपाली साहित्यमा भित्र्याउने जुन साहस भट्टले गरे यो राजनीतिक सचेत युवाले मात्र गर्न सक्थ्यो । यो काम युवाबयको प्रतिबद्ध लगाव र जुझारुपन भएका भट्टले गरे । सउद्देश्य प्रेरणा प्रभावबाट भट्टले यो अनुवाद कार्य थालनी गरेको देखिन्छ ।
अन्य पाठभन्दा नाटकको अनुवाद गर्दा मूल लेखकको भावमात्र ग्रहण गरेर पुग्दैन बरु दर्शकदीर्घाको मानसिकतालाई पनि नियालेर अनुगमन गर्नुपर्ने हुन्छ । अड्कल गर्नुपर्छ । अनुवाद गर्दा स्रोतपाठको परिवेश र लक्ष्य भाषाको परिवेश मिल्छ या मिल्दैन त्यसको भेऊ पनि पाउन जरुरी छ । कलाकारहरूले सजिलैसँग उच्चारण गर्न मिल्ने शब्दहरू छनोटमा पनि उत्तिकै चुनौती रहने गर्छ नाट्यअनुवादमा (भनूँन रिहर्सल गर्दा खोजिने स्थानीय शब्दहरू) । यी सबै चुनौतीलाई मिही ढङ्गले सामना गरेका छन् अनुवादक भट्टले । उनी सचेत अनुवाद हुन् भन्ने लखकाट्न गाह्रो छैन ।
नाटकको अनुवादकले एकै साथ दुई बौद्धिक छुरा चलाउनु पर्ने हुन्छ ती हुन् अर्थ र रूप । जति सक्यो धेरै स्रोत भाषाको मौलिकताको नजिक पुर्याउन सकियो त्यति नै अनुवादकको सफलताको मापन हुने हो । भट्टले केही जटिल संस्कृत शब्दको प्रयोगबाहेक अन्य प्रविधिलाई त्यस तहसम्म पुर्याएको देखिन्छ । मूल लेखकले स्थापना गरेको नाट्यभाषा र निर्देशकीय निर्देश दुवै तहमा यथार्थको सन्निकट जति रहन सक्यो त्यस अनुवादलाई बढी प्रमाणिक मानिन्छ । यस मामिलामा पनि अनुवादक भट्ट सफल भएका छन् । उनले नाटकको भावमात्र होइन इब्सेनले प्रदान गरेको निर्देशकीय चित्रलाई पनि उतारेका छन् यस पाठमा । उनी अर्थ र रूपको भाषिक छुरा चलाउन सक्ने नाट्यअनुवादकका रूपमा देखिएका छन् ।
अनुवादकले सकेसम्म अधिक मानिसका आधारभूत साझा भावनाहरूको सम्बोधन गर्न सक्नुपर्छ चाहे ती जुनसुकै भूगोलमा रहून् । जस्तै संसारभरि जन्मदिने आमालाई समानखालको आदर गरिन्छ । अन्य जनावरका सबालमा समान धारणा नहुनसक्छ जस्तोः क्रिस्चियनहरूले गाईलाई मासुको थुप्रो देख्नु स्वाभाविक होला तर हिन्दूले लक्ष्मीको रूपमा गाईलाई देख्न सक्छन् यस्ता सांस्कृतिक पक्षहरूको छिद्रलाई नाट्यअनुवादकले पहिल्याउन आवश्यक छ । भट्टले नर्वेली समाजको यथार्थ र हाम्रो समाजको सामाजिक यथार्थलाई नाट्यानुवादमा न्याय गरेका छन् । त्यहाँका शोषकसामन्त र यहाँका जनताले पाउँदै गरेको सास्ती दुरुस्त हाम्रैजस्तो लाग्छ नाटकमा । यो भट्टको नाट्यअनुवादको भावानुवादको सबल पक्ष हो ।
नाट्यअनुवादले सरसर्ती मूल शब्दहरू, मूल विचारहरू, मूल शैली प्रतिबिम्बि दिन सक्नुपर्छ । अनुवादकले मूल पाठमा केही थपघट गर्नसक्छ तर मुख्य भावना नमर्ने गरी । प्रत्यक्ष र परोक्ष रूपमा मूललेखक र अनुवादकको बीचमा घनिष्ट सम्बन्ध स्थापित हुनुपर्छ यस कुराको प्रत्याभूत गर्न भट्ट सफल भएका छन् । उनले सकेसम्म अङ्ग्रेजी शब्दहरूलाई स्थानीय रूपमा दुरुस्त उतार्ने प्रयास गरेका छन् । कुनैकुनै जटिल सांस्कृतिक शब्द र हिन्दीबहुल शब्दको प्रयोगले कतैकतै अप्राकृतिक संवादको भान पाठकलाई हुनसक्छ । बहुलताको आधारमा भट्ट भावहरण होइन बरु भावग्रहण गर्न सक्ने नाट्यअनुवादक हुन् ।
अनुवादमा साहित्यिक शीर्षकबाट अनुवादलाई धेरै सुराक (क्लु) मिल्छ स्वाभाविक रूपमा अनुवादक भट्टलाई ‘जनताको शत्रु’ शीर्षकबाट धुप्रै महत्त्वपूर्ण सङ्कथनको आभास भएको सजिलै देख्न सकिन्छ । प्रसिद्ध नाटककार इब्सनका नाटक संसारका धेरै भाषामा अनूदित हुनेक्रममा हिन्दीलगायताको भाषामा पनि भएको छ । भट्टले अङ्ग्रेजीका साथै अन्य (हिन्दीलगायत) भाषाका अनुवादबाट सहयोग लिएको हुनुपर्छ भन्ने अनुभव त्यति खेर हुन्छ जति खेर पाठमा प्रशस्त हिन्दीशब्दहरू पाउन सकिन्छ । ‘जनता का दुश्मन’ शीर्षकमा यस नाटकको हिन्दी अनुवाद पनि पढ्न पाइन्छ । अनुवादको लागि कल्पनाशीलता निकै महत्त्वपूर्ण हुनेगर्छ । वास्तविक पाठबाट नबहकिने गरी अनुवादक भट्टले पनि हाम्रो समाजसापेक्ष काल्पनिकीलाई पनि यस पाठमा प्रयोग गरेका छन् । हाम्रो समाजमा विविध कालखण्डमा देखिएका विविध रूपमा जनताका शत्रुसँग तादात्म्य रहेको शीर्षकले पनि भट्टलाई यस कार्यमा अभिप्रेरित गरेको सजिलै बोध हुन्छ र अनुवादकको दिमागमा हाम्रो समाजभित्रका यावत बिम्बहरू कल्पनामा बसेको बुझ्न सकिन्छ ।
अनुवादमा शब्दको मात्र बसाइसराइ हुँदैन बरु अर्थको पनि शैलीगत तथा प्रयोजनपरक भेद देख्न सकिन्छ । एकपटक जन्मेको शिशुलाई पुनः गर्भधारणमा राख्न सकिँदैन तर अनुवादकले यस प्रकृतिको जटिल काम पनि गर्नुपर्ने हुन्छ भट्टले यस नाटकको अनुवादमा यस प्रकारको जटिल मात्र होइन उल्टो प्रवाहमा बग्न पनि सफल भएको देखिन्छ । एक सांस्कृतिक तथा सामाजिक पृष्ठभूमिलाई अर्कोमा अनुकूल गर्ने काम अनुवादकको हुन्छ (भनूँन एउटा सिङ्गो रूखलाई अर्को ठाउँमा लगेर पुनः रोपेजस्तो) नाटकभित्रका अन्तः संरचनाको समेत अनुकूलन गरेर भट्टले सफल नाट्यअनुवादको परिचय दिएका छन् । अनुवादकलाई सताउने अर्को कुरा उखानटुक्का र महत्त्वपूर्ण सांस्कृतिक भनाइहरूले त्यसलाई पनि कलात्मक रूपमा रूपान्तरण गर्नु चुनौतीपुर्ण काम पनि हो यस काममा भट्ट निकै जोखिम मोलेका छन् ‘जनताको शत्रु’मा । भट्ट अभिव्यक्ति सिद्धान्तमा सचेत छन् । नाटकले भन्न खोजेको कुरालाई प्रस्ट पार्नु र अपव्याख्या एवं अतिव्याख्याको जोखिमबाट नाट्यअनुवादलाई स्थापित गरेको देखिन्छ नाटकमा । एउटा सांस्कृतिक परिवेशको पाठलाई अर्को छुट्टै भूगोल र फरक संस्कृतिमा सम्मिलन गर्ने मामिलामा अनुवाद भट्ट सफल भएका छन् ।
नाट्यअनुवाद मात्र नभएर सबैखाले साहित्यिक अनुवादमा हस्तक्षेपको समस्या हुन्छ । मूल लेखकको मर्मलाई भत्काउने गरी अनुवादक हावी भएर अनर्गल हस्तक्षेत हुने खतराबाट भट्ट सचेत देखिएका छन् । यो उनको अनुवादकलाको एउटा सफल पक्ष हो ।
अनुवादकलाई बाराम्बार पर्ने जटिलता साहित्यिक कालगत पक्षको हो । समयको हो । स्थान, शब्दार्थ, रचनागर्भको हो । भाषिक रूपमा पनि एक ठाउँबाट अर्को ठाउँमा प्रस्थान हुने क्रममा केही जटिलता हुन्छन् । अनुवादकले मूल चरित्रलाई गुमाउन सक्ने र अपव्याख्या हुनसक्ने सम्भावना पनि यहीँ हुन्छ । कुनै पनि प्रकारको अनुवाद कलात्मक तरिकाले गर्नका लागि एउटा स्तर हुनैपर्छ त्यस स्तरको मानक बनाउन सफल भएका छन् अनुवादक भट्ट । कृतिको पुनर्संरचनाले मात्र अनुवादको कुशलता बुझिँदैन बरु वाक्यात्मक भञ्जन पनि उत्तिकै हुने गर्छ जुन भाषारूपान्तरणबाट मात्र सम्भव छैन यो चुनौतीको सामना गरेर नै यो कृति अनूदित हुनसकेको हो । भट्टले समय, स्थान र भाषिक पुनर्संरचनालाई अनुवादको भावना अनुसार नै गर्न सफल भएका छन् ।
तेलसँग पानीलाई घुलाउनजस्तै हो अनुवाद । जब पाठकले पानीको सतहमा तेल तैरिएको भेउ पाउँछ अनुवादकको कला त्यस समयमा चिप्लन्छ । अनुवादक तेल हो भने मूल लेखक पानी हो । यी दुवैमा आआफ्ना गुण, धर्म र स्वभावहरू हुन्छन् । पानी र तेलको सम्रिश्रण गर्न जस्तो जटिल कामलाई त्यसमा पनि नाट्यकृतिको सन्दर्भमा जसरी काम भएको छ यो प्रशंशनीय नै छ । भट्टले नर्बेली तेललाई नेपाली पानीमा अन्तर्घुलन गर्न सफल भएका छन् ।
अनुवाद कार्यको मेरुदण्ड नै मूलभाषाको ज्ञान हो । स्रोत भाषाको संरचना, यसको प्रकार, भाषाप्रकार्य र यसको प्रारूपको जानकारीविना अनुवाद कार्य प्रायः असम्भव नै छ । शब्दार्थले मात्र पनि अनुवाद बन्दैन व्याकरणिक संरचनाको विश्लेषणात्मक बोध पनि उत्तिकै जरुरी हुन्छ । अङ्ग्रेजी भाषाका ज्ञाता भट्टलाई यो अनुवाकार्यमा जटिलताभित्र पनि एकखालको सहजता हुनुपर्छ र दोस्रो कुरा यस नाटकमा प्रस्तुत भएको प्रगतिशील र क्रान्तिकारी विचार । यी दुई पक्ष नै यस अनुवाद कार्यको रचनाकार्य हुनुपर्छ । भट्टको अनुवादमा शब्दानुवाद, भावानुवाद, सारानुवाद सबैको संयोजन भएको देखिन्छ ।
अनुवाद चुनौतीपूर्ण मात्र होइन स्वमानसिक प्रताडनायुक्त कार्य हो । निरन्तर अभ्यास, अनुशीलन तथा अध्ययनपारखी बुहुभाषिक ज्ञान सफल अनुवादकका लागि चाहिने कुराहरू पनि यिनै हुन् जुन कुरालाई भट्टलेसफल रूपमा निर्वाहा गरेका छन् ।
‘जनताको शत्रु’ मूल रूपमा नर्बेली भाषामा लेखिएको हो । त्यसलाई पछि अङ्ग्रेजीमा अनुवाद गरिएको हो । अङ्ग्रेजीपछि विविध भाषामा अनुवाद हुने क्रममा यसलाई नेपाली भाषामा अनुवाद गरिएको हो । यस अर्थमा यो अनुवादको पनि अनुवाद हो । यस अनुवादमा भट्टको अनुवाद शिल्प प्रस्ट रूपमा प्रकटीएको छ ।
निष्कर्ष
आनन्ददेव भट्टले युवावस्थामा विश्वचर्चित नाटक हेनरिक इब्सनको नाटक ‘एन इनिमिज अफ द पिपल’ को नेपाली अनुवाद गरेका छन् । यो प्रगतिशील नाटक हो । यसमा सामन्ती समाजमा जनताको रगत पसिना चुस्ने वर्गहरू कसरी क्रियाशील हुन्छन् । यस नाटकमा आफ्नो प्रवक्ता, आदर्शवादी पात्र डाक्टर थोमसलाई स्टकम्यानको मुखबाट हास्य भाषा बोलाइएको छ । स्टकम्यानका अनुसार ज्ञान वा नैतिकताको कुनै सिद्धान्त हुँदैन । यदि सिद्धान्तमा बाँधिने हो भने सत्यको मृत्यु हुन्छ । यस प्रकारको भावना भएको यस नाटकलाई अनुवादक भट्टले सपाट रूपमा सफल अनुवाद गरेका छन् । नाट्यअनुवादक शिल्पमा भट्ट सफल देखिन्छन् ।
सन्दर्भसूची
कँडेल, घनश्याम, पाश्चात्य यथार्थवाद नाटक, काठमाडौः सुभद्रा उपाध्याय, २०४६ ।
थापा, अशोक, नाट्यसमीक्षा र अन्य समालोचना, कीर्तिपुरः न्यू हिरा बुक्स इन्टरप्राइजेज, २०६५ ।
भट्ट, आनन्ददेव, जनताको सत्रु (अनु.), ललितपुरः साझा प्रकाशन, २०२० ।
Ibsen, Henerik, An
Enemy of the People, USA: Courier Corporation, 2012.
Comments
Post a Comment